मकवानपुर । केन्द्रीय राजनीतिक समीकरण बदलिए संगै प्रदेशको समेत समीकरण बदलिएको छ । केन्द्रीय सत्ता गठन पछि मात्रै प्रदेश सरकार गठनको आव्हान गर्ने तयारीमा प्रदेश प्रमुखको कार्यालय रहेको थियो । एक्कासी बदलिएको केन्द्रीय सत्ता समीकरणले प्रदेशको समीकरण बदलिएको अबस्थामा बागमतीका दलहरूले संसदीय दलको नेता छान्ने गरि मिति घोषणा गरेका छन ।
बागमती प्रदेशको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले पुस १३ गते भोलि हेटौंडामा दलको नेता छान्न निर्वाचन गर्दै छ । दलको नेताको लागि कांग्रेसबाट प्रदेश सभापति इन्द्रबहादुर बानीयाँ तथा केन्द्रीय सदस्य बहादुर लामाबीच प्रतिस्पर्धा हुने देखिएको छ । बानियाँ मकवानपुरबाट र लामा नुवाकोटबाट प्रदेशमा प्रत्यक्ष निर्वाचित सदस्य हुन ।
मगलबार पार्टीबाट निर्वाचित सदस्यको बधाई स्वागत कार्यक्रम पछि दलको नेताका प्रत्यासी यी दुई नेताले आ-आफ्नो गुटगत भेला समेत गरेको बताइएको छ । ३७ सदस्य रहेको काग्रेसको ससदीय दलको नेता हुन १९ मतको आबश्यक पर्छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेशको संसदीय दलको नेता चयनको लागि पुस १४ गते हेटौंडामा निर्वाचन हुने भएको छ। एमालेमा संसदीय दलको नेतामा धेरैले आकांक्षा राखेका छैनन् । मुख्यमन्त्रीका दावेदार नेताहरु मंसिर ४ गतेको चुनावमा पराजित भएपछी जगन्नाथ थपलीया संसदीय दलको नेता हुने संभावना रहेको छ ।
एमालेका केशवप्रसाद पोखरेलको नाम समेत दलको नेतामा चर्चामा रहेको अबस्थामा एमाले केन्द्रीय सदस्य थपलीया सर्बसहमतीबाट बागमती प्रदेशको संसदीय दलको नेतामा चुनिने संभावना प्रबल रहेको बताइन्छ ।
प्रदेश सभाको दोस्रो ठूलो दल एमालेको यस प्रदेशमा २७ जना सदस्य रहेका छन् ।
यसैगरि नेकपा माओवादी केन्द्रले पुस १६ गतेभित्र दलको नेता छान्ने बताएको छ । माओवादी केन्द्रको संसदीय दलको नेतामा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेल, माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल, सिन्धुलीबाट माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गङ्गानारायण श्रेष्ठ र प्रदेशका पूर्वमन्त्री युवराज दुलालको दाबी रहेको छ । माओवादी केन्द्रको यस प्रदेशमा २१ जना सदस्य छन् ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बागमती प्रदेशको संसदीय दलको नेतामा उद्धव थापा चयन भएका छन् । काठमाडौँ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ८ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित थापा काठमाडौँमा सोमबार भएको संसदीय दलको बैठकबाट सर्वसम्मत संसदीय दलको नेता चयन भएका हुन् । बागमती प्रदेश सभामा राप्रपाको १३ जना सदस्य रहेका छन् ।
प्रदेश सभामा ७ जना प्रदेश सभा सदस्य रहेको नेकपा (एकीकृत समाजवादी) को नेतामा कृष्णप्रसाद शर्मा खनाल सर्वसम्मत चयन हुने सम्भावना रहेको छ । यसैगरी प्रदेश सभामा तीन जना प्रदेश सभा सदस्य रहेको नेपाल मजदुर किसान पार्टीको संसदीय दलको नेताको निर्वाचन प्रदेश सभा सदस्यको शपथपछि मात्र हुने भएको छ ।
प्रदेशका निर्वाचित सदस्यहरुको सपथ ग्रहण पुष १४ गते हुने गरी तयारी भएको छ । त्यस अघि प्रदेश सभा संचालनको लागि जेष्ठ सदस्यको सपथ पुष १३ गतेको लागि प्रदेश प्रमुखको कार्यालयले तोकेको छ । प्रदेश सभा सदस्यहरू मध्येका ज्येष्ठ सदस्य ७२ वर्षिय रामप्रसाद ढुंगानाले १३ गते सपथ लिए पछि सभामुख निर्वाचित नभएसम्म सभाको संचालन गर्नेछन ।
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलको नेतामा उद्धव थापा चयन भएका छन् । १३ सदस्यले प्रतिनिधित्व गरेको प्रदेशसभामा राप्रपा बागमतीको बैठकले थापालाई संसदीय नेता चयन गरेको हो ।
सोमबार काठमाडौंमा बसेको राप्रपा बागमतीको बैठकले दलको नेतामा थापालाई सर्वसम्वत चयन गरेको राप्रपा बागमती प्रदेशका सचिब गुञ्जन बहादुर न्यौपानेले जानकारी दिए ।
काठमाडौको नागार्जुन नगरपालिका वडा नम्वर २ निवासी ५५ वर्षीय थापा गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा काठमाडौं–८ को २ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका हुन् ।
मकवानपुर । सिविन नेपाल मकवानपुरले जोखिम परिस्थितिका बालबालिकालाई सहयाेग गरेकाे छ । बालश्रम, बालविवाह तथा आर्थिक अभाव लगायतका जाेखिम परिस्थितको कारण पढाइबाट बालबालिका बञ्चित नहुन् भन्ने उद्देश्यले सहयाेग गरिएकाे सिविन नेपाल मकवानपुरले जनाएकाे छ ।
बालबालिकाले विद्यालयकाे पढाइलाई निरन्तरता दिन मनहरी भीमफेदी कैलाश बकैया गाउँपालिका र हेटौडा उपमहानगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत २ सय ४० जना विद्यार्थीलाई सिविन–नेपालद्वारा संचालित बालहेल्पलाइनले शैक्षिक सहयोग एवं न्यानो कपडा वितरण गरेकाे सिविन नेपालका झविन्द्र ज्ञवालीले जानकारी दिए ।
मनहरी गाउँपालिका १६ वटा विद्यालयका २ सय ६ जना, श्रीकृष्ण मावि भैसेमा अध्ययनरत ५ जना, श्री कालिका मावि नामटार कैलाशका ७ जना, बंशगोपाल मावि हेटौंडा ६ चौघडाका ६ जना, नवज्योति मावि हेटौडा ७ नागस्वतीका ५ जना, प्रभात मावि बकैया ४ श्रीपुरका ५ जना, बकैया ५ कर्मप्राप्ती मावि कर्मचुली का ६ जना गरि जम्मा २४० जना विधार्थीहरुलाई सिविन–नेपालद्वारा संचालित बालहेल्पलाइनले शैक्षिक सहयोग एवं न्यानो कपडा वितरण गरिएको बालहेल्पलाइनले जनाएको छ ।
शैक्षिक सामाग्रीहरु विद्यालय पोशाक, स्वीटर, मोजा, झोलासहित स्टेशनरी सामाग्री वितरण गरिएको बालहेल्पलाइनका झबिन्द्र ज्ञवालीले जानकारी दिए । शैक्षिक सामाग्री वितरण कार्यक्रमा स्थानीय जनप्रतिनिधि, विद्यालय ब्यवस्थापन समिति, शिक्षक तथा अभिभावक समेतको उपस्थिति रहेको थियो । बालहेल्पलाइन १०९८ मा बालबालिकाको लागि शैक्षिक सहयोगको माग भए बमोजिम स्थानीय तह तथा विद्यालयको सिफारिसको आधारमा सहयोगको लागि छनौट गरिएको बताइएको छ ।
राहत, आयआर्जन एवं सिपमूलक तालिम प्रदान
सिविनले बालबालिकाको शिक्षामा सहयोग गर्नुको साथै मनहरी गाउँपालिका २, ६ र ८ नम्बर वडाका ३ जना बालबालिकाका अभिभावकलाइ कृषी खेतीको लागि आर्थिक सहयोग समेत गरेको छ ।
कृषी खेतीकालागि आलुको बीउ, भण्टाको बीउ, सीमी, टमाटर, गाजर, मूला, प्याज, लसुन आदिको बीउ साथै आवश्यक भिटामिन, किटनासक औषधी,औषधी छर्ने पम्प, रसायनिक मल, कुटो कोदालो लगायतका सामागीहरु उपलब्ध गराएको बालहेल्पलाइनले जनाएको छ ।
अभिभावको आय आर्जनमा बृद्धि भई बालबालिकाहरुले अध्ययनलाई निरन्तरताको लागि सहज होस भन्ने उद्देश्यले आयआर्जनमा सहयोग गरिएको बालहेल्पलाइनका ज्ञवालीले बताए ।
त्यसैगरि सिविनले ३४ जना विपन्न तथा विभिन्न कारणले जोखिमपूर्ण अवस्था र विद्यालय छोड्न सक्ने सम्भावना भएका बालबालिकाहरुलाई चामल, दाल, गेडागुडी, नुन ,तेल, साबुन लगायतका खाद्यान्न सामाग्री उपलब्ध गराइएको छ । मनहरी गाउँपालिका वडा नम्बर २ का ६ जना, वडा नम्बर ४ का ६ जना, वडा नम्बर ६ का १६ जना र वडा नम्बर ८ का ६ जना गरि ३४ जना विपन्न तथा विभिन्न कारणले जोखिमपूर्ण अवस्था र विद्यालय छोड्न सक्ने सम्भावना भएका बालबालिकालाई उक्त खाद्यान्न उपलब्ध गराइएकाे बालहेल्पलाइनले जनाएको छ ।
यस्तै सिविन–नेपाल मार्फत मनहरी गाउँपालिका वार्ड न ८ की १७ बर्षिय किशोरीलाई ६ महिने ब्यूटी पार्लर तालिम र मनहरी गाउँपालिका वार्ड न २ की १७ बर्षिय किशोरीलाई १ वर्षे कोर्ष कम्प्युटर तालिम तालिम प्रदान गरिरहेको ज्ञवालीले जानकारी दिए ।
मकवानपुर । राजनीतिमा प्रचुर सम्भावना रहन्छ भनिन्छ । यस्तै सम्भावना आइतबार एकाएक भएकाे छ । गत निर्वाचनमा प्रतिनिधि सभामा कुनै पनि दलले बहुमत प्राप्त गर्न नसके पछि राष्ट्रपतिले ७ दिनकाे समय दिएर बहुमतकाे सरकार गठनकाे लागि आव्हान गरेकी थिइन् ।
धेरैकाे अनुमान थियाे सत्तागठबन्धन दलहरुकै समर्थनमा प्रधानमन्त्रीकाे दावी हुन्छ र गठबन्धनकै सरकार बन्नेछ । सत्तागठबन्धनकाे शनिबारसम्म पदीय सहमति जुटाउने प्रयास सम्भव नभए पछि आइतबार त्यसकाे टुङ्गाे लगाउने कसरत भयाे । तर एकाएक नेपाली काँग्रेसले सहमती पालन नगरेकाे भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारबाट बाहिरिए पछी नेकपा एमाले सहितका ७ दलिय गठबन्धन प्रधानमन्त्रीमा दावी पेश गर्न बन्याे । साेही अनुसार प्रधानमन्त्रीमा माओवादी अध्यक्ष प्रचण्डकाे दावी संविधान संमत भएकाेले उनलाई प्रधानमन्त्रीमा नियुक्ति गरिएकाे छ ।
संघीय गठबन्धनमा एक्कासी आएकाे परिवर्तनकाे असर बागमती प्रदेशमा समेत पर्ने निश्चित छ । गत निर्वाचनमा बागमती प्रदेशमा समेत कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेकाे छैन । आइतबारकाे केन्द्रीय राजनीतिकाे घटनाक्रमले नेपाली काँग्रेस प्रतिपक्षमा सिमित हुने छ । प्रदेशहरुकाे अंक गणितमा आकस्मिक फेरबदल नभए ७ वटै प्रदेशमा नेपाली काँग्रेस प्रतिपक्षमा रहने चुनावी परिणामले बताउँछ ।
बागमती प्रदेशमा प्रत्यक्ष र समानुपातिक गरी १ सय १० सिट रहेकाेमा नेपाली काँग्रेसले ३७ सिट प्राप्त गरी पहिलाे दल बनेकाे छ । नेकपा एमाले २७ सिट सहित दाेस्राे बनेकाे प्रदेशमा नेकपा माओवादी केन्द्र २१ सांसद सहित तेस्राे स्थानमा रहेकाे छ । यस्तै राप्रपाकाे १३ सांसद रहेकाेमा नेकपा एकिकृत समाजवादीकाे ७ सिट रहेकाे छ । प्रदेशमा नेपाल मजदुर किसान पार्टी ले ३ सिट प्राप्त गर्दा हाम्राे नेपाली पार्टीले २ सिट ल्याएकाे छ ।
यसरी संसद संख्या हेर्दा नेपाली काग्रेस र नेकपा एसकाे बहुमत पुग्ने देखिदैन । संघीय सहमतीकाे अहिलेकाे गठबन्धनमा तलमाथि नभए बागमती प्रदेशमा नेकपा एमाले, नेकपा माओवादी र राप्रपाकाे बहुमतकाे सरकार बन्ने लगभग पक्का जस्तै छ । ती तीन दलकाे सांसद संख्या ६१ रहेकाेले स्पष्ट बहुमत पुग्ने छ । प्रदेशमा बहुमतकाे सरकार बन्न ५६ सांसदकाे आवश्यक हुन्छ ।
बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने दलहरुले संसदीय दलकाे नेता चयन गरी सकेका छैनन् । प्रदेशमा पनि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आव्हान समेत गरेका छैनन् । सांसदहरुकाे सपथ ग्रहण पुष १३ र १४ गतेकाे लागि ताेकिएकाे छ । यस अघी २०७४ काे निर्वाचनबाट पहिलाे पटक गठन भएकाे प्रदेशमा नेकपा एमालेबाट डाेरमणी पौडेल र अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री भएका थिए । ३ वटा मुख्यमन्त्री पाएकाे बागमतीमा तत्कालिन नेकपा विभाजन भए पछी एमालेलाई मुख्यमन्त्री हुन सघाएकाे माओवादीले माैका पाएन । यस पटक प्रदेशहरुकाे गठबन्धन र पदीय बाडफाँड मिल्न गए बागमती प्रदेशमा माओवादी केन्द्रकाे नेतृत्वमा सरकार बन्ने अवस्था भने देखिन्छ ।
केन्द्रीय सरकारको नेतृत्व माओवादी केन्द्रले गर्ने भएकाेले बागमती प्रदेश सरकारमा भने एमाले र माओवादी केन्द्र दुवैको दाबीलाई नकार्न भने सकिदैन । विगतमा वाम गठबन्धनमा रहेर प्रदेश सरकारको नेतृत्वमा एमालेलाई सहयोग गरेकाले यस पटक बागमती प्रदेशमा आफूहरुले सरकार बनाउन पाउनु पर्ने माओवादी केन्द्र दावी गर्नु स्वभाविक देखिन्छ ।
माओवादी केन्द्रबाट संसदीय दलको नेताका लागि यसअघि २०७४ मा दलको नेता भइसेकाका शालिकराम जम्कट्टेल, माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेल, युवराज दुलाल ‘शरद’ र माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरेर जितेका नेपाल समाजवादी पार्टीका नेता गंगा नारायण श्रेष्ठ बीच प्रतिस्पर्धा हुने देखिन्छ । संसदीय दलको नेता छान्ने रस्साकस्सी भने जारी छ । सम्भव भए सहमतीमा नभए चुनावै गरेर दलको नेता चयन गर्ने मनस्थितिमा माओवादी देखिन्छ ।
यता एमालेबाट भने पार्टीका केन्द्रीय सदस्य जगन्नाथ थपलिया संसदीय दल नेताकाे एक्ला दावेदारको रुपमा देखिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली निकट रहेका थपलिया यस अघी मुख्यमन्त्रीका राजनैतिक सल्लाहकार भएर काम गरिसकेका व्यक्ति हुन् । चितवनबाट निर्वाचित थपलिया बागमती प्रदेश सरकारकाे नेतृत्व एमालेले गर्ने सहमती भए मुख्यमन्त्रीका दावेदार रहेकाे बताइएकाे छ ।
शीर्ष तहका नेताहरुबीच हुने समझदारीका आधारमा प्रदेश सरकारको नेतृत्व कुन पार्टीले गर्ने भन्ने कुराको टुंगो लाग्ने प्रतिनिधित्व गर्ने दलहरुले बताएका छन् । संघीय सरकारमा शक्ति बाँडफाँट भएपछि प्रदेश सरकार गठनका विषयमा छलफल अघि बढ्ने बताइएकाे छ ।
मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
गत मंसिर ५ मा सम्पन्न प्रतिनिधसभामा निर्वाचनमा कुनै पनि दलको स्पष्ट बहुमत नआएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान अनुसार बहुमतकाे सरकार बनाउन गत पुष ३ गते आइतबार बेलुकी ५ बजेसम्मको समय दिएर दलहरुलाई आव्हान गरेकी थिइन् । आइतबार प्रचण्डले आफ्नो दल नेकपा माओवादीसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन सहित प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए ।
स्वतन्त्र सांसदहरु प्रभु साह, किरणकुमार साह र अमरेशकुमार सिंहले पनि उनलाई समर्थन गरेपछि २७५ सदस्यीय प्रतिनिधिसभामा प्रचण्डले १६९ सांसदको समर्थन पाएका छन् । बहुमतकाे सरकार गठनकाे लागि राष्ट्रपतिले दिएकाे समय सिमा सकिने दिन आइतबार नेपाली काँग्रेससँग पद बाडफाडमा कुराे नमिले पछि माओवादी अध्यक्ष प्रचण्ड एमाले अध्यक्ष निवास बालकाेट पुगेका थिए ।
बालकाेटमा भएकाे सहमति अनुसार राष्ट्रपति समक्ष आजै प्रचण्डले पेश भएको निवेदनमा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठको हस्ताक्षर रहेको छ ।
प्रतिनिधि सभामा एमालेको ७८, माओवादीको ३२, रास्वपाको २०, राप्रपाको १४, जनमतको ६, नागरिक उन्मुक्ति पार्टीको ४ र जसपाको १२ सांसद रहेका छन् । नव नियुक्त प्रधानमन्त्रीको शपथ ग्रहण भोलि (सोमबार) हुने राष्ट्रपति कार्यालयले जनाएकाे छ ।
याे समेत माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्री भएका छन् । प्रचण्ड पहिले पटक २०६४ सालको पहिलो संविधान सभा निर्वाचनपछि गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएका थिए । माओवादी शान्ति प्रक्रियामा आएपछिको पहिलो पटक प्रचण्ड प्रधानमन्त्री हुन सफल भएका थिए । वि.सं. २०७२ साल असोज ३ गते नेपालको संविधान घोषणा भएपछि प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री भएका थिए ।
प्रचण्ड पहिलो संविधान सभा चुनावमा रोल्पा २ र काठमाडौँ १० बाट प्रत्यक्ष निर्वाचित हुन सफल भए । दोस्रो संविधान सभा चुनावमा काठमाडौँ १० बाट पराजित भए भने सिराहा–५ बाट निर्वाचित हुन सफल भए । २०७४ सालको चुनावमा चितवन ३ बाट र यस निर्वाचनमा गोरखा २ बाट निर्वाचित भएका हुन् ।

