मकवानपुर । बागमती प्रदेश सभामा सभामुखमा उम्मेदवारी दिएका तीन जनाको लागि आज निर्वाचन हुंदैछ ।
हिजो बिहिबार मनोनयन दर्ता गरेको सभामुखको चुनाव बिहान ११ बजेका लागि समय तोकिएको छ। जसअनुसार ११ बजे बस्ने प्रदेश सभाको बैठकमा निर्वाचन हुनेछ ।
सत्ता गठबन्धन, नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीले सभामुखका लागि उम्मेदवारी दर्ता गरेका छन्।
सत्ता गठबन्धनबाट राप्रपाका महामन्त्री भुवन पाठक, नेपाली कांग्रेसका समानुपातिक सांसद शिवराज अधिकारी र नेमकिपाकी सांसद सिर्जना सायजुले सभामुखमा उम्मेदवारी दर्ता गराएका छन्।
बाग्मती प्रदेश सभामा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका सात, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई जना गरी एक सय १० जना प्रदेश सभा सदस्य रहेका छन्।
राप्रपाको भागमा यस प्रदेशमा सभामुख परेपछि बुधवार बसेको राप्रपा संसदीय दलको बैठकले महामन्त्री पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो। सत्तारूढ दलहरूबीच मुख्य पद भागबन्डा हुँदा बागमतीमा सभामुख राप्रपाले लिने सहमति भएको थियो।
केन्द्रको दलीय गठबन्धनको सत्ता भागबण्डामा बाग्मती प्रदेशको सभामुख राप्रपाको भागमा परेपछि राप्रपाका पाठक सभामुख बन्ने निश्चित जस्तै छ।
सत्तारूढ गठबन्धनले बाग्मती प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्र र नेकपा एमालेलाई आलोपालो, सभामुख राप्रपा तथा उपसभामुख एमालेलाई भाग लगाएको थियो। एमालेले दलको बैठक बसेर उपसभामुख पदका उम्मेदवार चयन गर्ने जनाएको छ।
विशेष अदालत काठमाडौंले ७८ लाख घुस प्रकरणमा मुछिएका अख्तियारका पूर्वआयुक्त राजनारायण पाठकलाई दोषी ठहर गर्दै तीन वर्ष कैद सजाय फैसला सुनाएको छ ।
विशेष अदालत अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरू यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले अख्तियारका पूर्वआयुक्त पाठक र नेपाल इन्जिनियरिङ कलेजका लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद र जनही ३९ लाख जरिमाना हुने फैसला सुनाएको हो ।
साथै, भ्रष्टाचार निवारण ऐनअनुसार तीन वर्ष र अख्तियारको बहालवाला आयुक्त भएकाले थप तीन महिना कैद गर्ने फैसला सुनाएको छ ।
पाठकले नेपाल इन्जिनियरिङ कलेजको जग्गा विवादमा ७० लाखभन्दा धेरै घुस लिएको खुलासा भएपछि उनी विवादमा तानिएका थिए । सो प्रकरण बाहिरिएपछि पाठकले पदबाट राजीनामा दिएका थिए ।
पाठकले राजीनामा दिएपछि अख्तियारले उनीविरुद्ध घुस रिसवतमा अनुसन्धान गरी ७८ लाख रुपैयाँ बिगो दावीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो । साथै, आयोगले पाठकको हकमा ‘पदमा बहाल रहेकै अवस्थामा भ्रष्टाचार गरेको’ भन्दै थप सजाय मागसमेत गरेको थियो ।
यी अपराध लुकाउन ७८ लाख घुस
२०५१ सालमा स्थापित नेपाल इन्जिनियरिङ कलेजमा लामो समयदेखि आर्थिक अनियमितता हुँदै आएको थियो । कलेज सञ्चालक समितिको मिलेमतोमा कर छली गर्ने र ठूलो रकम अपचलन भएपछि उजुरीकर्ताले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेका थिए ।
उजुरीकर्ताले संस्थापकहरू लम्बोदरकुमार न्यौपाने, रामरत्न उपाध्याय, उपेन्द्र गौतम, लवराज भट्टराई, सूर्यबहादुर केसी र तत्कालीन प्रिन्सिपल शोभाकान्त देव तथा भाइस प्रिन्सिपल तीर्थ निरौलालगायतले सामाजिक संस्थाका रूपमा दर्ता भएको कलेज निजीकरण गरेर बेच्न लागेको थाहा पाएपछि अख्तियारमा उजुरी दिएका थिए । सो विषय लामो समयसम्म आयोगमा थाँती रह्यो । उजुरी परेसँगै संस्थापकमध्येका लम्बोदरकुमार न्यौपानेलाई टाउको दुखाइ बनेको थियो ।
योजना मुताबिक नै न्यौपानेलगायत टोलीले संस्था हत्याउन २५ वैशाख २०७४ मा कम्पनी रजिष्ट्रारको कार्यालय, काठमाडौंमा ‘नेपाल इन्जिनियरिङ कलेज प्रालि’ दर्ता गरेका थिए ।
प्रालिमा दर्तासँगै न्यौपानेले २ अर्ब रुपैयाँमा कम्पनी बेच्न खोजेका थिए । गैरनाफामुलक सामाजिक संस्थालाई कम्पनीमा दर्ता गर्ने र ४० रोपनी जग्गामा फैलिएको कलेजलाई प्रालिमा लगेर नाफा हत्याउने र बेच्ने उद्देश्य राखेपछि सोविरुद्ध आयोगमा उजुरी दर्ता भएको थियो ।
त्यस्तै, सामाजिक संस्थाका नाममा खुलेको कलेजमा ३१ करोड ८६ लाख ४९ हजार १ सय ६८ रुपैयाँ नखुलेको स्रोतबाट आएको जी पौडेल एन्ड एसोसियट्स, चार्टर्ड एकाउन्टेन्ट्सको रिपोर्टले देखाएको थियो । त्यसमध्ये २१ करोड ४९ लाख २९ हजार ४४ रुपैयाँ अदृश्य तरीकाले नै बाहिरिएको छ ।
उजुरी पर्नेबित्तिकै आयोगले कागजात नियन्त्रण गर्दा झन्डै ५२ करोडभन्दा बढी ‘कालोधन’ विषयमा प्रश्न उठ्ने भएपछि लम्बोधर न्यौपाने आयोगका आयुक्त पाठकले भने जति रकम दिन राजी भएका थिए ।
व्यक्तिगत बेरुजु नै करोडौं
लम्बोदर न्यौपानेको चारवर्षे कार्यकालमा व्यक्तिगत बेरुजु मात्रै २३ करोडभन्दा बढी छ । जी पौडेल एन्ड एसोसियट्स, चार्टर्ड एकाउन्टेन्टस्को १३ भदौ २०७५ को अडिट रिपोर्टअनुसार २३ करोड १० लाख रुपैयाँ बेरुजु देखिन्छ । त्यसमध्ये सबभन्दा बढी न्यौपानेको नाममा १३ करोड ३२ लाख ३६ हजार ३ सय ९५ रुपैयाँ बेरुजु छ ।
त्यस्तै, अदुअआमा परेको उजुरीमा उल्लेख भएका रामरत्न उपाध्यायको नाममा ७९ लाख, लवराज भट्टराईको नाममा २ करोड ४३ लाख, उपेन्द्र गौतमको नाममा १ करोड ७८ लाख र सूर्यबहादुर केसीको नाममा २ करोड ७८ लाख बेरुजु छ ।
तत्कालीन प्रिन्सिपल शोभाकान्त देव र भाइस–प्रिन्सिपल तीर्थ निरौलाको नाममा पनि बेरुजु देखिन्छ । राजधानी दैनिकबाट

आँखाहरुले त सपना पठाउछँन् रहर पठाउँछन्
आफ्नाहरुले पो बद्लिएको अखबर पठाउँछ्न्
आफ्नो सोचेर काडा भाचेर पनि फूल पठाउँछु
प्रतिक्रिया दिनेहरूले त झन् पत्थर पठाउँछन्
डुब्ने बेलासम्म त हात माग्छन् किनारा खोज्छन्
उत्रेपछि पो खुट्टा भाँचेर लामो सफर पठाउँछन्
त्यो लास जलाएर फर्केको एक हप्ता पनि नहुँदै
कोसेली झन सिन्दुर पठाउँछन् ,जन्तर पठाउँछन्
मौसम बिना नै बद्लिएको यो मौसम जस्तो गरि
बद्लिन्छन् अनि अमृत मिसाएर सगर पठाउँछन
भरतपुर चितवन
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा जारी पाँचौ बागमती गोल्डकपमा विहीबारको खेलबाट भुटनीज युथ स्पोर्टस् क्लब सेमिफाइनल प्रवेश गरेको छ । विहीबार भएको क्वार्टरफाईनलमा हिमालयन शेर्पालाई २–० गोल अन्तरले पराजित गर्दै भुटनीज सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको पहिलो हाफको सुरुवाती २ मिनेटमै भुटनीजका जर्सी नम्बर ४७ का दिरज थजालले हेडबाट गोल गर्दै अग्रता दिलाएका थिए । त्यसैगरी दोस्रो हाफको ३८ औं मिनेटमा जर्सी नम्बर ७ का हेक्टर ओर्टेगले शेर्पाको पोष्टमा गोल गर्दै जीत सुनिश्चित गरेका थिए ।
भुटनीज क्लबका हेक्टर ओर्टेग आजको खेलमा म्यान अफ दि म्याच बन्दै नगद पाँच हजार पुरस्कार प्राप्त गरेका छन् ।
यसअघि आर्मीलाई हराउँदै हिमालयन शेर्पा क्वाटरफाइनलमा प्रवेश गरेको थियो । अब भुटनीज र जावलाखेल युथ क्लब बिच पुष ३० गते शनिबार सेमिफाइनलमा भेट हुनेछ । उद्धघाटन खेलमा जावलाखेलले आयोजक बागमतीलाई ५–० गोल अन्तरले पराजित गरेको थियो ।
यसैगरी भोली शुक्रबार संकटा क्लब र नेपाल एपिएफ क्लबबीच खेल हुनेछ । बुधबार भएको खेलबाट मच्छिन्द्रको आत्मघाती गोलको मद्दतले एपिएफले क्वाटरफाइनल यात्रा तय गरेको हो ।
बागमती खेलकुद विकास समितिको आयोजनामा माघ ३ गतेसम्म हुने प्रतियोगिता विजेताले ८ लाख र उपविजेताले ४ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा ७ विभागिय, १ अन्तर्राष्ट्रियर २ स्थानीय टिम सहित १० टिमको सहभागीता रहेको छ । चौथो सस्करणको बागमती गोल्डकपको बिजेता थ्रीस्टार क्लबले यो पटक सहभागिता जनाएन ।
मकवानपुर । बागमती प्रदेशको सभामुखमा ३ जनाको मनोनयन दर्ता भएको छ ।
सभामुखमा नेपाली कांग्रेस, नेमकिपाबाट मनोनयन दर्ता भएको हो । यसैगरी सत्तपक्षबाट पनि उम्मेदवारी दर्ता भएको छ ।
नेपाली काँग्रेसका शिवराज अधिकारीको मनोनयन दर्ता गरेका छन् । अधिकारीको प्रस्तावकको रूपमा कुन्दनराज काफ्ले र समर्थकमा रामकृष्ण चित्रकार रहेका छन् ।
यसैगरी नेमकिपाबाट सृजना सायजुको उम्मेदवारी दर्ता भएको छ । सायजु प्रस्तावक सुरेन्द्रराज गोसाइ र समर्थक गिता काफ्ले रहेका छन् ।
यसैगरी सत्तापक्षबाट राप्रपाका भुवन पाठकको पनि उम्मेदवारी दर्ता भएको छ । पाठकको लागी एमालेका जगन्नाथ थपलिया र माओवादी केन्द्रका युवराज दुलाल समर्थक रहेका छन् ।
