मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा जारी पाँचौ बागमती गोल्डकपमा विहीबारको खेलबाट भुटनीज युथ स्पोर्टस् क्लब सेमिफाइनल प्रवेश गरेको छ । विहीबार भएको क्वार्टरफाईनलमा हिमालयन शेर्पालाई २–० गोल अन्तरले पराजित गर्दै भुटनीज सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको पहिलो हाफको सुरुवाती २ मिनेटमै भुटनीजका जर्सी नम्बर ४७ का दिरज थजालले हेडबाट गोल गर्दै अग्रता दिलाएका थिए । त्यसैगरी दोस्रो हाफको ३८ औं मिनेटमा जर्सी नम्बर ७ का हेक्टर ओर्टेगले शेर्पाको पोष्टमा गोल गर्दै जीत सुनिश्चित गरेका थिए ।
भुटनीज क्लबका हेक्टर ओर्टेग आजको खेलमा म्यान अफ दि म्याच बन्दै नगद पाँच हजार पुरस्कार प्राप्त गरेका छन् ।
यसअघि आर्मीलाई हराउँदै हिमालयन शेर्पा क्वाटरफाइनलमा प्रवेश गरेको थियो । अब भुटनीज र जावलाखेल युथ क्लब बिच पुष ३० गते शनिबार सेमिफाइनलमा भेट हुनेछ । उद्धघाटन खेलमा जावलाखेलले आयोजक बागमतीलाई ५–० गोल अन्तरले पराजित गरेको थियो ।
यसैगरी भोली शुक्रबार संकटा क्लब र नेपाल एपिएफ क्लबबीच खेल हुनेछ । बुधबार भएको खेलबाट मच्छिन्द्रको आत्मघाती गोलको मद्दतले एपिएफले क्वाटरफाइनल यात्रा तय गरेको हो ।
बागमती खेलकुद विकास समितिको आयोजनामा माघ ३ गतेसम्म हुने प्रतियोगिता विजेताले ८ लाख र उपविजेताले ४ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा ७ विभागिय, १ अन्तर्राष्ट्रियर २ स्थानीय टिम सहित १० टिमको सहभागीता रहेको छ । चौथो सस्करणको बागमती गोल्डकपको बिजेता थ्रीस्टार क्लबले यो पटक सहभागिता जनाएन ।

