मकवानपुर । बागमती प्रदेशसभाको सोमबार बसेको पहिलो बैठकले ५ वटा अध्यादेशलाई संशोधन गर्न स्वीकृती प्रदान गरेको छ ।
बैठकले तत्कालिन मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वको मन्त्रीपरिषद्ले जारी गरेको ५ वटा अध्यादेशलाई संशोधन गर्न स्वीकृती प्रदान गरेको हो । प्रदेशको सोमबारको पहिलो बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले उक्त अध्यादेशलाई स्वीकृती प्रदान गर्न प्रस्ताव टेबुल गरेका थिए ।
मुख्यमन्त्री जम्मकट्टेलले प्रदेश निजामति सेवा गठन, संचालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९, स्थानीय सेवा गठन तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ लाई स्वीकृती प्रदान गर्न प्रस्ताव टेबुल गरेका हुन् ।
यस्तै, उनले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७९, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ र प्रदेश हस्तकलाग्राम स्थापना तथा संचालन सम्बन्धी अध्यादेश २०७९ लाई स्वीकृती प्रदान गर्न प्रस्ताव टेबुल गरेका हुन् ।
आजैको दोस्रो बैठकले आइतबार भएको विमान दुर्घटनामा परि ज्यान गुमाएकाहरू प्रती शोक प्रस्ताव पारित गरेको छ । अर्को बैठक भोलि सांढे १२ बजे बस्ने छ ।
मकवानपुर । बागमती प्रदेशसभाकोे उपसभामुखमा अप्सरा चापागाई खत्री निर्वाचित भएकी छन। सोमबार प्रदेशसभामा भएको उपसभामुखको निर्वाचनमा खत्री निर्वाचित भएकी हुन ।
उनले नेकपा एमाले, नेकपा माओेबादी केन्द्र, राप्रपा र हाम्रो नेपाली पार्टीका सांसदहरु समेतको गरी ६१ मत प्राप्त गरी विजयी भएकी हुन । ११० सदस्यीय प्रदेशसभामा मतदानका क्रममा १०८ जना सांसद उपस्थित थिए । खत्रीको विपक्षमा ३९ सांसदले मतदान गरे भने ७ सांसद तटस्थमा रहेका थिए ।
यसअघि भएको मतदानको विभाजनमा प्रदेशको उपसभामुख पदका उम्मेद्वार नेपाल मजदुर किसान पार्टीकी गिता काफ्लेले जम्मा ३ मत प्राप्त गरिन् । उनको विपक्षमा ६१ सांसदले मतदान गरे भने र तटस्थमा ४४ सांसद रहेका छन् ।
एमालेकी चापागाईंलाई माओवादी सांसद कुमारी मोक्तान प्रस्तावक तथा आशा लामा समर्थक रहेका थिए । ललितपुरकी खत्री नेकपा एमालेबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रदेश सभामा निर्वाचित भएकी हुन ।
उपसभामुखमा नेपाली कांग्रेसकी सोना परियार, नेपाल मजदुर किसान पार्टीकी रीता काफ्ले र एमालेकी अप्सरा चापागाईं खत्रीले उम्मेदवारी दर्ता गराएका थिए । उपसभामुख पदको निर्वाचनको लागि तीन जनाले उम्मेदवारी दर्ता गराएकोमा दुई जनाबीच मात्रै प्रतिस्पर्धा भएको थियो । नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी सुना परियारको भने उपसभामुखमा निर्वाचन भएन ।
प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिन भित्र प्रदेश सभाका सदस्यहरु आफूहरु मध्ये सभामुख र उपसभामुख चयन गर्नु पर्ने संबैधानिक ब्यबस्था रहेको छ । प्रदेश सभाको पहिलो बैठक पुष १८ गते बसेको थियो ।
यस अघि पुष २९ गते प्रदेश सभामुखमा राप्रपाका भुवन कुमार पाठक निर्वाचित भएका छन । सभामुख पाठकको अध्यक्षतामा बसेको प्रदेश सभाको चौथो बैठकले उपसभामुख चयन गरेको हो ।
पोखरामा आइतबार भएको कहालीलाग्दो हवाई दुर्घटनामा ठूलो मानवीय क्षति भएको छ । यती एयरको एटीआर–७२–५०० दुर्घटनामा ज्यान गुमाउनेमध्ये ६८ जनाको शव संकलन गरिएको छ । विमानमा चालक दलका ४ सहित ७२ जना यात्रु सवार थिए । अन्य ४ जनाको शव संकलनमा कठिनाइ भएको छ । नेपालको आन्तरिक हवाई उडानमा यति धेरै यात्रुको मृत्यु भएको यो पहिलो घटना हो । पोखराको यो घटनाले आइतबार सिंगो मुलुक नै शोकमय बन्न पुगेको थियो । सरकारले सो घटनाको शोकमा सोमबार सार्वजनिक बिदा दिएको छ ।
पोखरामा कहालीलाग्दो हवाई दुर्घटना
काठमाडौंदेखि पोखरा उडेको यती एयरलाइन्सको ९एन–एएनसी, एटीआर–७२ ५०० वायुयान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा बिहान १०ः५२ बजे सेती खोंचमा दुर्घटनाग्रस्त भएको थियो । काठमाडांैंबाट १०ः३२ मा उडेको जहाज पोखरा टावरसँग सेती नदीको खोंचमा अन्तिम सम्पर्क भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
विमानमा सवार यात्रुमध्ये ५३ नेपाली र १५ विदेशी यात्रु थिए । विदेशीमध्ये ५ भारतीय, ४ रसियन, २ कोरियन, १ अर्जेन्टिनी, १ अस्टे«लियन, १ आइरिस र १ फ्रान्सेली नागरिक थिए । जहाजमा चालक दलका सदस्यमा पाइलट कमल केसीसहित कोपाइलट अञ्जु खतिवडा तथा एयरहोस्टेज सिर्जना होंगचु र ओसिन आलेमगर थिए ।
विमान खसेको स्थान पुरानो विमानस्थलको पूर्वपट्टिको नेपाली सेनाको ब्यारेक पछाडि पर्छ । नयाँ विमानस्थलतर्फ ल्यान्ड गर्न मोडिएको अवस्थामा विमान दुर्घटनामा परेको स्थानीय बताउँछन् । विमानस्थलले अतवरणको अनुमति लिइसकेको अवस्थामा दुर्घटना भएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । उनका अनुसार मौसमको समस्या नभए पनि विमानको प्राविधिक कारणले दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।
विमानमा सवार हुनेमा किसान आचार्य, निशान्त आचार्य, शालिकराम आचार्य, सदाकत अलिमियाँ, पूर्णबहादुर गुरुङ, जीतेन्द्रबहादुर कुँवर, एलिना बन्ड्रो, अनिशा बानियाँ, स्लक भट्ट, निरा छन्त्याल, आशिमा गुरुङ, अनुशा गुरुङ, बेलमान गुरुङ, विजयकुमार गुरुङ, जीवनकला गुरुङ, माया गुरुङ, लक्की गुरुङ, शिवकुमार गुरुङ, सीता गुरुङ, यमुना गुरुङ, यास्मिन गुरुङ, रविन हमाल, सन्जय जैसवाल, सोनु जैसवाल, रचना काप्mले, सीताकुमारी खड्का थिए । यस्तै, अनिलकुमार राजभार, भगवती कुँवर, अविशेक कुशवाह, ओममाया गुरुङ, सुस्मा पाण्डे, हरि परियार, लक्ष्मी परियार, रीता परियार, अरुण पौडेल, लक्ष्मी पौडेल, प्रसिद्धि पौडेल, त्रिभुवन पौडेल, पोजन राना, सविना रायमाझी, राजन सापकोटा, अनिल शाही, संगिता शाही, जमुना शर्मा, विशाल शर्मा, युवराज शर्मा, मोहन श्रेष्ठ, डा. शोना दिवाकर, बन्दना सुनार, राजुसिंह ठकुरी, चूर्ण थापा, गणेश थापा, लवराज तिमिल्सिना थिए ।
विदेशी नागरिकमा मेरोल लभ, आयुरी ल्यागिन, भिक्टर ल्यागिन, जेनितसन्डरा पालाभेकिनो, भिक्टोरिया अतुनिना, इलिना बन्डुरो, रुअनकालुम क्रिघ्टोन, एलेक्जेन्डर आइरिडोरे थिए । शिशुहरूमा कृष परियार, प्रसिद्धि पौडेल, आयुर्दी शर्मा, बेबी शर्मा थिए । अन्य २ शिशुको नाम खुलेको छैन ।
१३ जनाको सनाखत
शव भेटिएमध्ये १३ जनाको पहिचान भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान)को शवगृहमा राखिएको शवमध्ये परिवारका सदस्य तथा आफन्तले गरेको पहिचानमा निशान्त आचार्य, संगीता शाही, डा. सुशील श्रेष्ठ, डा.सोना दिवाकर, रियान पौडेल, सदाकत अलिमियाँ, लक्ष्मी पौडेल, प्रसिद्धि पौडेल, त्रिभुवन पौडेल, अरुण पौडेल, पूर्णकुमार गुरुङ, कोरियन नागरिक यु क्युन घुल, युन्जु मेन हुन् । अन्यको सनाखत हुन बाँकी छ ।
पहिचान भएका शव सोमबार मात्र आफन्तलाई जिम्मा लगाइने कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए । पहिचान नभएका शवको डीएनए परीक्षण गरिने छ । त्यसका लागि शवको डीएनए सोमबार नै काठमाडौं पठाइनेछ । अस्पताल परिसरमा भने मृतकका परिवारजन, आफन्त र शुभचिन्तकको दिनभर रुवावासी चलेको थियो ।
उद्धारमा कठिनाइ
सेती खोंचमा विमान दुर्घटना भएकाले उद्धारमा कठिनाइ भएको छ । त्यसमाथि मानिसको अत्यधिक भीडले उद्धारकर्तालाई कठिनाइ भएको थियो । सुरक्षाकर्मीसहित एम्बुलेन्स, दमकल र स्थानीय उद्धारमा दिनभर खटिएको नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ । उद्धारमा सशस्त्र प्रहरीको गोताखोर टोलीसमेत सेती नदीमा परिचालन गरिएको थियो । उद्धार कार्यमा क्रेनको समेत प्रयोग गरिएको थियो ।
पत्रकार पौडेल रहेनन्
जहाज दुर्घटनामा पत्रकार त्रिभुवन पौडेलको पनि मृत्यु भएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पत्रकार पौडेल प्रेस सेन्टरका उपाध्यक्षसमेत हुन् ।
प्रेस सेन्टरको सचिवालय बैठकमा सहभागी हुनका लागि उनी काठमाडौं गएका थिए । उनको पाइन्टमा रहेको बालेट र परिचयपत्रका आधारमा शव सनाखत भएको हो । नेपाल पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्षसमेत रहेका ३७ वर्षीय पौडेल पोखरा हटलाइन दैनिकका सम्पादक हुन् । पर्वत स्थायी घर भई हाल पोखरा ११, फूलबारी बस्ने उनका श्रीमती र एक छोरा छन् ।
दुर्घटनामा बागलुङकी लोक तथा दोहारीगायिका निरा छन्त्यालको मृत्यु भएको छ । उनी पोखरा छन्त्याल समाजको कार्यक्रममा सहभागी हुन विमानमा सवार भएकी थिइन् ।
यस्तै, दुर्र्घटनामा २ चिकित्सक दम्पतीसहित उनका छोराको मृत्यु भएको छ । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ३८ वर्षीय डा. सुशील श्रेष्ठ र उनका पति डा. सोना दिवारकको पनि निधन भएको हो । विमान दुर्घटनामा १० वर्षको छोराको पनि मृत्यु भएको हो । उनीहरू छुट्टी मनाउन पोखरा आउँदै थिए ।
सोमबार शोक बिदा
सरकारले यती एयरको विमान दुर्घटनामा मृतकप्रति शोक व्यक्त गर्दै २ माघमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सोमबार शोकपूर्ण घटनाको सन्दर्भका शोक बिदा दिने निर्णय भएको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
विमान एक्कासि कोल्टियो र खस्यो : प्रत्यक्षदर्शी विवेक क्षत्री
पर्वतको फलेबास, कुर्घा घर भई हाल म पोखरामा बस्दै आएकोे छु । म सवारीचालक हुँ । आइतबार बिहान साढे १० बजे म कामविशेषले रामबजारदेखि कारमा फर्किंदै थिएँ । पोखराको चाइनापुल (पृथ्वीचोक) आइपुग्दा आकासमा जहाज देखें ।
आज किन यता जहाज आयो भनी मनमा खुल्दुली पस्यो । जहाजको अवस्था हेर्दा त्यति राम्रो लागेन । टाढैबाट भए पनि जहाजको एकातिरको पंखा नचलेको देखे । जहाज एक्कासि मोड लिँदै हुत्तिँदै गयो ।
जहाज कता गयो भनी मैले कार चाइनापुलदेखि स्यालदुलेतिर मोडें । चोरसाँघु नजिक सीतारामको पुल नआउँदै जहाज फरक्कै फर्किएर दुर्घटनाग्रस्त भएको देखें । आगोको मुस्लोले पुरै ठम्याउन सकिएन । त्यहाँ पुग्ने स्थानीयबाहेक म नै पहिलो थिएँ ।
जहाजको पखेडा वारिपट्टि थियो भने ठोक्किएर पारिको भित्ता (सेतीपारि) दुर्घटनाग्रस्त भएको थियो । त्यहाँ जम्मा भएका केही मानिसहरू आगो निभाउनपट्टि लागे । तत्काल पानी थिएन । स्याउला टिपेर निभाइयो । वारिपट्टिको आगो भने नियन्त्रणमा लिन सकियो । तर, जहाज नै खसेको स्थानमा तत्काल जान सकिएन ।
दुर्घटना भएको करिब १० मिनेटपछि दमकल, एम्बुलेन्स, पानीको गाडी साइरन बजाउँदै आउन थाले । क्रमशः त्यहाँ मानिसको भीड बाक्लिँदै गयो । उद्धारकर्तालाई समेत उद्धारमा कठिनाइ भएको थियो । गाडी सिधैं छिराउन सक्ने अवस्था थिएन । पहिलोपटक यस्तो ठूलो जहाज दुर्घटनाको साक्षी भइयो । राजधानी दैनिकबाट
मकवानपुर । संकटा क्लब मकवानपुरमा जारी पाँचौ बागमती गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको अन्तिम सेमिफाइनल खेलमा संकटाले मकवानपुर –११ लाई २–० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।
संकटाको लागि खेलको पहिलो हाफको १६ औ र दोस्रो हाफको १७ औं मिनेटमा एण्डिभ थेरी वियेकले १/१ गोल गरेर जीत सुनिश्चित गरेका थिए । आजको खेलको म्यान अफ दि म्याच संकटाकै एण्डिभ थेरी वियेक भएका छन् । उनले नगद पाँच हजार प्राप्त गरेका छन् ।
संकटाले भुटनीज युथ स्पोर्टस् क्लबसंग माघ ३ गते फाइनल खेल खेल्नेछ । शनिबारको पहिलो सेमिफाइनल खेलबाट भुटनिज युथले जावलाखेल युथलाई १–० गोलअन्तरले हराउदै फाइनल यात्रा तय गरेको हो ।
बागमती–८ स्थित जनता माविको खेल मैदानमा जारी प्रतियोगिताको फाइनल खेल माघ ३ गते हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ८ लाख रुपैयाँ र उपविजेता टिमले नगद ४ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक बागमती खेलकुद विकास समितिले जनाएको छ । राष्ट्रिय, स्थानीय तथा अन्तर्राष्ट्रिय गरी प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।
मकवानपुर । यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएको छ । काठमाडौँबाट पोखराका लागि उडेको यतिको विमान आइतबार बिहान पोखरा विमानस्थलबाट नजिकै सेती खोचमा दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।
काठमाडौँबाट उडेको ६९N कल साइन भएको विमान दुर्घटना भएको हो । विमानमा क्रु मेम्बरसहित ७२ जना सवार रहेको बताइएको छ । प्राधिकरणका अनुसार विमान चालकदलका ४ जनासहित ८ जना विदेशी नागरिक र ६० जना नेपाली नागरिक थिए । जसमा ६२ जना वयस्क, तीन जना बालबालिका, तीन जना असक्त भएका व्यक्ति सवार थिए ।
मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै
यसै बिच मन्त्रिपरिषदको आकस्मिक बैठक बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् । पोखरामा विमान दुर्घटनालगतै प्रधानमन्त्रीले प्रचण्डले साढे १ बजे आकस्मिक बैठक बोलाएका हुन् ।
दुर्घटनाप्रति प्रचण्डले दुख व्यक्त गर्दै प्रभावकारी उद्दारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन समेत दिएका छन् ।
