मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेकपा एमालेसंगको गठबन्धन टुट्नुमा एमाले अध्यक्ष केपी शर्मा ओली जिम्मेवार रहेको बताएका छन । शनिबार हेटौंडामा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती, नेपाल राष्ट्रिय कर्मचारी संगठन, कर्मचारी संगठन महासंघ र प्रगतिशिल स्वास्थ्यकर्मी महासंघको संयुक्त भेलाको उद्घाटन गर्दै जम्कट्टेलले यस्तो बताएका हुन् ।
‘शान्तिप्रक्रिया टुंगोमा पु¥याउने मुद्धा ओलीले वास्ता नगरेको कारण गठबन्धनमा सम्बन्ध चिसिएको हो उनले भने ‘बाहिर हेर्दा राष्ट्रपती पदको मात्र मुद्दा जस्तो देखिएपनि भित्रीरुपमा शान्तिप्रक्रियाको बिषयमा कुरा नमिलेकोले गठबन्धन टुटेको हो।’
कर्मचारी संगठनहरुले बिषय र योजना बनाउदा करार र अस्थाई कर्मचारीहरुको पनि हकहितको बिषय समेट्न उनले आग्रह गरे । उनले तल्लो दर्जाको कर्मचारीको हकहितको बिषयमा पनि गम्भिर बन्न सुझाए ।कर्मचारीहरुको समग्र समस्या समाधानको लागि र कर्मचारीलाई सेवाग्रहीप्रती थप उत्तरदायी बनाउन प्रदेश सरकारले गर्नुपर्ने कामको बिषयहरुमा सुझाव दिन समेत उनले कर्मचारीहरुलाई नै आग्रह गरे । ‘कर्मचारीहरुले पनि सरकारलाई सफल बनाउन लागि पर्नुपर्छ’ उनले भने ।
कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारले बागमती प्रदेशको कृषि क्षेत्रमा गरेको लगानी उपलब्धीमुलक बनाउन समुहमा लगानी गर्ने बताए । बिगतमा प्रदेश सरकारले गरेको लगानीले जनजिवनमा प्रभाब परेको नदेखिएकोले यसपटक भने समुह वा वडालाई नै पकेट क्षेत्र बनाएर कृषिमा लगानी गर्ने उनले बताए । प्रदेश सरकारले हरेकक्षेत्रमा उपलब्धीमुलक कार्य गर्नको लागि ठुला आयोजनाहरुमा लगानी गरेर जनताले महशुस गर्न सक्ने विकास गर्ने योजना रहेको उनले बताए ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका अध्यक्ष राजु अर्यालको अध्यक्षता भएको कार्यक्रममा प्रदेश सांसद प्रेम बहादुर पुलामी, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका केन्द्रिय अध्यक्ष हरीबहादुर रावल, केन्द्रिय सदस्य बसन्तराज गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
मकवानपुर । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती मकवानपुरको अध्यक्षमा बसन्तकुमार सिटौंला चयन भएका छन् ।
शनिवार हेटौंडामा भएको संगठनको ५ औं जिल्ला अधिवेशनले सिटौंलाको नेतृत्वमा २१ सदस्य नयाँ कमिटि सर्वसम्मत गठन गरेको हो ।
संगठनको पुरुष उपाध्यक्षमा गणेश भूजेल, महिला उपाध्यक्षमा शान्ति खनाल, सचिबमा गोपाल लम्साल र कोषाध्यक्षमा मिरा अधिकारी सर्बसम्मत चयन भएका छन ।
संगठनका अध्यक्ष राजु अर्यालको अध्यक्षतामा भएको अधिवेशनमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकटेलको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेकपा माओवादीका जिल्ला संयोजक सर्केश घलान, निती तथा योजना आयोग बागमती प्रदेशका सदस्य प्रल्हाद लामिछाने, संगठनका केन्द्रीय अध्यक्ष हरीबहादुर रावल, हेटौंडा अस्पतालका मेडिकल सुपरीटेण्डेन डाक्टर रामचन्द्र सापकोटा लगाएतकाले शुभकामना मन्व्य व्यक्त गरेका थिए ।
मकवानपुर । राष्ट्रिय भूमि अधिकार मन्च हेटौंडा नगर अध्यक्षमा गोविन्दप्रसाद न्यौपाने चयन भएका छन ।
हेटौंडामा भएको प्रथम नगर अधिवेशनले नगर अध्यक्षमा न्यौपानेलाइ सर्वसहमत चयन गरेको हो । यसैगरि मन्च उपाध्यक्षमा टिकाप्रसाद भट्टराई, सचिवमा ज्ञानबहादुर थिङ, सहसचिवमा रुकमणी तिमल्सिना, कोषाध्यक्षमा अनुपा घलान लाइ चयन गरिएको छ । यस्तै सदस्यहरुमा जमुना राई, कृष्ण बल, सोमबहादुर थोकर र दुर्गादेवी न्यौपाने पौडेल चयन भएका छन् ।
मन्च जिल्ला सदस्य बिष्णु आचार्यको सभाध्यक्षतामा भएको अधिवेशनमा हेटौंडा ११ की वडा सदस्य गोपिनी साप्कोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मन्चका जिल्ला अध्यक्ष यज्ञबहादुर श्रेष्ठ , जिल्ला सदस्य देवकृष्ण थोकर , टोल विकास संस्था वडा समन्वय समितिका हेटौंडा ११ अध्यक्ष यज्ञबहादुर आचार्य लगायतकाको आतिथ्यता रहेको थियो ।
मकवानपुर । हेटौंडामा सुरु भएको मोहन श्रेष्ठ स्मृति एट ए साइड भेट्रान्स नकाउट फुटबल प्रतियोगितामा वडा नम्बर ७ ले विजयी सुरुवात गरेको छ ।
पशुपति युवा क्लब हेटौंडा ९ को आयोजनामा
हेटौंडा ८ स्थित औधोगिक क्षेत्रको खेल मैदानमा शनिवारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा हेटौंडा १८ लाई टाईब्रेकरमा हराउँदै हेटौंडा ७ ले विजयी सुरुवात गरेको हो । निर्धारित ४० मिनेटको समयमा दुबै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाईब्रकरबाट लिइएको थियो ।
टाईब्रकर ७ नम्बर वडाका लागी भरत तितुङ, बिनोद घिमिरे र अमर गुरुङले गोल गर्दा ७ रण संग्राम दुलालको पेनाल्टि प्रहार गोलपोष्ट भन्दा माथीबाट बाहिरिएको थियो । शनिवारको खेलको म्यान अफ दि म्याच ७ नम्बर वडाका रण संग्राम दुलाल घोषित भए ।
प्रतियोगिता अन्तर्गत आइतबार चारवटा खेल हुने संयोजक सचिन जोशीले जानकारी दिए । भोली विहान साँढे ८ बजे हुने पहिलो खेलमा वडा नम्बर २ र ८, साँढे ९ बजे हुने दास्रो खेलमा वडा नम्बर ६ र १६, दिउँसो २ बजे हुने तेस्रो खेलमा वडा नम्बर १४ र १५ तथा चौथो तथा अन्तिम खेलमा ३ बजे वडा नम्बर ९ र १७ बीच खेल हुने छ ।
प्रतियोगितामा हेटौंडा उपमहानगरको २, ४, ५, ६, ७, ८, ९, १०, १४, १५, १६, १७ र १८ वडा गरी १३ वटा वडा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एकलाख ५ हजार ५ सय ५५ तथा उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।
यस्तै विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही नगद ५ हजार ५५५ रुपैयाँ प्रदान गरिने आयोजक क्लबले जनाएको छ ।
मकवानपुर । ऐन, कानुनमा समेत बिभेदकारी व्यवस्था भएको कारण मनोसामाजिक समस्या भएकाहरुको अधिकारको सम्मान नभएको बताइएको छ ।
ऐनहरुमा भाषिक बिभेद र अपमानजनक शब्दावलीसंगै मनोसामाजिक अपाङ्गतालाई अयोग्यताको पर्यायको रुपमा परिभाषित गरिएको प्रति पैरवीको खांचो औल्याईएको हो । मानसिक सन्तुलन ठीक नभएमा वा मगज बिग्रेमा पद रिक्त हुने, पदबाट हटाइने, पदमा कायम नरहने, पदमा नियुक्त नहुने जस्ता अयोग्य ठहरिने व्यवस्था कानुनले नै गरेकोले बिषम परिस्थितिपछि समेत अधिकारबाट बन्चित हुने अवस्था रहेकोमा ऐन कानुन मै संशोधन हुनुपर्ने बताइएको हो।
मनोसामाजिक अपाङ्गता भएका कारणले प्रमाणपत्र रद्द गरिने व्यवस्था कानुनले गरेको छ । नेपाल कानून आयोग ऐन, २०६३ को दफा २२ मा मगज बिग्रेमा परिषद्ले सदस्यको नाम सदस्यता दर्ता किताबबाट हटाउन आदेश दिन सक्नेछ भनिएको प्रति संशोधनको खांचो औल्याइएको हो ।
नेपाल इन्जिनियरिङ परिषद्ऐन, २०५५ को दफा १८ मा मगज बिग्रेमा दर्तावाला इन्जिनियरको नाम दर्ता किताबबाट हटाइने उल्लेख छ । यस्तै नेपाल फार्मेसी परिषद् ऐन, २०५७ को दफा १८ मा मगज बिग्रेम दर्तावाला फर्मासिष्ट तथा फार्मेसी सहायकको नाम दर्ता किताबबाट हटाइने भनिएको छ । यसैगरी अध्यागमन नियमावली, २०५१ को नियम २८ ले मगज विग्रेमा वा बहुलाएमा भिसा रद्द गर्न सक्ने भनेको छ ।
नेपाल पक्षधर रहेको अन्तर्राष्ट्रिय महासन्धिका साथै अपाङ्गता अधिकार ऐन २०७४ ले रोजगारीमा अपाङ्गताको आधारमा गरिने भेदभावलाई वर्जित गरेको छ । तर मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरू राज्यले छुट्याउने आरक्षण, समावेशीता र दिएको प्राथमिकतामा पर्न अझै सकेका छैनन् । कानुनहरुले नै मनोसामाजिक अपाङ्गता भएका व्यक्तिलाई रोजगारीका लागि समेत अयोग्य बनाइदिएको प्रति पैरवी आवश्यक रहेकोले यसमा मिडिया समन्वय र सहकार्य अपेक्षा गरिएको कोशिशको कार्यक्रम संयोजक थमकुमारी कुवरले बताइन् ।
कोशिशको आयोजनामा आज मकवानपुरमा आयोजना गरिएको मिडिया अन्तरक्रिया कार्यक्रममा यस बिषयमा छलफल गरिएको हो । पछिल्लो समय केही सकारात्मक पहलको काम स्थानीय तहबाट सुरूभएको भएपनि अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको उनले बताइन् ।
समुदायबाट उपेक्षा विभेद र तिरस्कार भोग्न बाध्य ९४८ महिलालाई कोशिसले हालसम्म देशको विभिन्न स्थानबाट उद्दार गरेर अल्पकालीन मानसिक सहायता प्रदान गरेको कोशिसको कुंवरले बताइन् ।
स्थानीय तहहरूले पनि मनोसामाजिक अपाङ्गता भएकाहरूको क्षेत्रमा काम गर्नको लागि सहजीकरण आवश्यक रहेको तथा स्वास्थ क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्दै मानसिक स्वास्थ उपचारको लागि सहज पहुँच बढाउनु पर्ने उनले बताइन् ।
राज्यले निशुल्क औषधि र मनोसामाजिक परामर्शको व्यवस्थापन गर्न सकेमा मात्रै पनि मानसिक अपाङ्गता भएकाहरूको हकमा धेरै उपलब्धि हासिल हुन सक्ने परामर्शकर्ता संगिता खड्काले बताइन् । सेवा सुबिधा नपाएकै कारण परिवार र समाजले मनोसामाजिक अपाङ्गता भएकाहरूलाई स्वीकार गर्न नचाहेको खड्काले बताइन् । मनोसामाजिक अपाङ्गता भएकालाई बौद्धिक अपाङ्गताको परिचयपत्र दिएको कारण पनि उनीहरूको उचित संरक्षण हुन नसकेको उनले बताइन् ।
मनोसामाजिक अपाङ्गता भएका व्यक्ति विरुद्ध हुने भेदभाव अन्त्य गरी उनीहरूको नागरिक, राजनीतिक, आर्थिक, सामाजिक तथा सास्कृतिक अधिकारको सम्मान गर्न तथा अपाङ्गता भएका व्यक्तिलाई सशक्तिकरण गर्न, अपाङ्गताकै आधारमा राजनीतिक, आर्थिक, सामाजिक वा साँस्कृतिकू क्षेत्रका अधिकार उपयोग गर्नबाट बञ्चित हुनबाट रोक्न समाजकै अभिन्न अंग भएकोले मिडियाको पनि दायित्व रहेको खड्काले बताइन् ।
समाचारहरुमा पनि अयोग्य, असक्षम, भाषिक बिभेद, अपमानजक शब्दहरु प्रयोग भएको पाइएकोमा यस्तो पाटोको सुधार आवश्यक भएको उनलेे बताइन् ।
अहिले आत्महत्या विश्वकै लागि चिन्ताको विषय बनेको छ । हरेक ४० सेकेन्डमा एक जना र प्रत्येक वर्ष आठ लाख मानिसले आत्महत्या गर्दै आएको तथ्यांक छ।
जसमा १५ देखि १९ वर्ष उमेर समूहको व्यक्तिहरूको मृत्यु हुने प्रमुख तेस्रो कारण पनि आत्महत्या नै हो । विश्वमा हुने ७९ प्रतिशत आत्महत्या कम र मध्यम आय भएका देशहरूमा भएका छन् ।
नेपालमा आर्थिक वर्ष २०७५/७६ मा ५ हजार ७८५ जनाले आत्महत्या गरेका थिए भने आव २०७७/७८ मा ७ हजार १४१ जनाले आत्महत्या गरेको तथ्यांक छ । आव २०७८/७९ मा ६ हजार ८३० र आव २०७९/८० को पुस महिनासम्म ३ हजार १६४ जनाले आत्महत्या गरिसकेका छन् । जसमा ९० प्रतिशत आत्महत्या मानसिक समस्याको उपज खड्काले बताइन् । नेपालमा अहिले दैनिक १८ जनाले आत्महत्या गर्ने गरेको खड्काले बताइन् ।
