मकवानपुर । सन्चारमा बहिरा नागरिकको पहुँच बढाउन दोभाषे तालिम प्रदान गरिएको छ ।
सांकेतिक भाषा सन्चार बहिरा नागरिकहरूको अधिकार भन्ने नाराका साथ दुई महिने नेपाली सांकेतिक भाषा (दोभाषे) तालिम दिइएको हो । साङ्केतिक भाषामा दख्खल कृष्ण गजुरेलले सहभागीहरूलाई तालिम दिएका थिए ।
तालिममा धेरै सिकाइ भएको र यो तालिम दोभाषेको लागि कोशेढुङ्गा साबित हुने प्रशिक्षक गजुरेलले बताए। सात वटै प्रदेशबाट १८ जना सहभागीलाई साङ्केतिक भाषाको प्रशिक्षण दिइएको हो । “आ-आफ्नो स्थानमा दोभाषेको अमुल्य भूमिका हुनेछ” गजुरेलले भने ।
तालिम समापन कार्यक्रममा नेपाल सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रतिभा राईले सिपको लागि सरकारले लगानी गरेपछि तालिम प्राप्त जनशक्तिबाट सरकारले पनि अपेक्षा गर्ने बताइन् । व्यवसायीक दोभाषे जीवनको लागि निजि क्षेत्रबाट पनि आफैले पहल गर्न राइले सहभागीलाई आग्रह गरिन ।
हेटौंडा ५ का वडा अध्यक्ष सुशील घिमिरेले स्थानीय तहबाट सेवा दिने क्रममा समेत दोभाषेको आवश्यकता महसुस गरेको बताए । वडाले समन्वयको लागि सहकार्य गर्ने उनले बताए ।
बहिरा नागरिकको पहिलो अधिकारको रूपमा सांकेतिक भाषा सन्चार रहेको राष्ट्रिय अपांग महासँघ बागमती प्रदेश अध्यक्ष अश्विन लम्सालले बताए । “बहिरासंग सम्बन्धी संस्थाले मात्रै यो भाषा सीप लिएर हुँदैन, सबैमा यी सीप नभएसम्म सन्चार अधुरो हुन्छ” लम्सालले भने । सरकारले आफ्नो नीति कार्यक्रममा नै ब्यवस्थापन गरेर सांकेतिक भाषा सिपको विस्तार गर्नुपर्ने उनले बताए । हरेक नेपालीमा सांकेतिक भाषाको सीप अनिवार्य हुनुपर्ने उनले बताए ।
कार्यक्रममा बहिरा संघ जिल्ला अध्यक्ष सन्तोष पौडेलले जिल्ला प्रशासन कार्यालयमा सेवा लिदा होस् वा अन्य कार्यालयमा सेवा लिंदा भाषिक समस्या नहोस् भन्नेर यसतर्फ सोच्नुपर्ने केशीले बताए ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा कार्यरत सरस्वती कटुवालले बोल्न नसक्नेहरूको सवाललाई सम्बन्धित ठाउँको सम्बन्धित व्यक्तिलाई बुझाउन कठिनाइ हुँदै आएको बताइन् ।
“पूर्ण सिपको अभावमा आफूले पूर्ण जानकारी दिन सकिन जस्तो लाग्थ्यो अब तालिमले क्षमता बढाएको छ” उनले भनिन । मन्त्रालयमा प्रस्ताव पेश गर्न, अनुदान कार्यक्रम लिदा बहिरा नागरिकहरूको उपस्थिति हुने गरेको उनले बताइन् ।
ग्रामीण महिला सेवा केन्द्र अध्यक्ष सुलोचना स्ताङ्तानले भाषाकै कारण सेवा लिने समस्या अब समाधान हुने बताइन् । मकवानपुर बहिरा संघ अध्यक्ष दुर्गा बानियाँलगायतको उपस्थिति रहेको कार्यक्रममा राष्ट्रिय बहिरा महासंघ महासचिव सन्तोष केसीको अध्यक्षता कार्यक्रम भएको थियो ।
देशभरको सबै स्थानीय तहमा कम्तीमा एक एक जना दोभाषेको ब्यवस्थापन गर्ने महासंघको उदेश्य रहेको केसीले बताए । तालिम लिएका जनशक्ति देशको लागि सधै तत्पर रहने उनले बताए । नेपाल नगरपालिका संघ र गाउँपालिका महासंघले समेत यो उदेश्यको लागि तयार रहेको आश्वासन दिएको उनले बताए ।
कृष्ण गजुरेल र जशोदा कंडेलले प्रशिक्षण दिएको तालिममा ७ प्रदेशबाट ३ पुरुष सहित १८ जनाको सहभागीता रहेको थियो ।
मकवानपुर । प्रहरीले मकवानपुरको थाहा नगरपालिकाबाट २ सय २ किलो गाँजा सहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।
बैशाख १८ गते सोमबार बिहान ८ बजे लागू औषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाडौ र इलाका प्रहरी कार्यालय पालुङका प्रहरी नायब निरीक्षक उमेश प्रसाद कोईरीको कमाण्डमा खटिएको संयुक्त टोलीले थाहा नगरपालिका वडा नं.-७ आग्रा बस्ने वर्ष ७६ का भिम बहादुर थिङ, वर्ष ३९ का शिवराज थिङ र वर्ष ६७ का ईन्द्र बहादुर थिङको घरमा खानतलासी गर्दा लागू औषध गाँजा विक्री वितरण गर्ने उद्देश्यले लुकाई छिपाई राखेको अवस्थामा २ सय २ किलो बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
भिम बहादुर थिङ र शिवराज थिङको घरबाट ३० वटा पोकाहरुमा २७ किलो ग्राम गाँजाको धुलो र ईन्द्र बहादुर थिङको घरबाट १० वटा बोराहरुमा १ सय ७५ किलो लागू औषध गाँजा गरी २ सय २ किलो लागू औषध गाँजा तथा धुलो फेला सहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
बरामद गरिएको गाँजा र नियन्त्रणमा लिइएका तिनै जनालाई ईलाका प्रहरी कार्यालय पालुङ मकवानपुर ल्याइएको र कारबाहीको लागि थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
मकवानपुर । बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले १ सय ३४ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । हरेक वर्ष मे १ तारिखमा अन्तराष्ट्रिय श्रमिक दिवसका मनाउने गरिएकाे छ । आज मे १ मा मनाइने १ सय ३४ औं अन्तराष्ट्रिय श्रमिक दिवसका प्रदेश प्रमुख शर्माले शुभकामना सन्देश जारी गर्दै देश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवि दाजु भाइ तथा दिदिबहिनीहरुलाई शुभकामना दिएका छन ।
प्रदेश प्रमुख शर्माले सन् १८८६ मा अमेरिकाको सिकागोमा‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनका साथै विभिन्न श्रमिक संघर्षमार्फत् मजदुहरुले अधिकार पाएको दिनका रुपमा आजलाई लिइने शुभकामना सन्देशमा उल्लेख गरेका छन ।
नेपालको विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको सन्दर्भ उल्लेख गर्दै प्रमुख शर्माले आफ्नो अधिकारका लागि लड्ने मजदुरहरुको विशेष दिनलाई स्मरण गरिरहँदा उनीहरुले देश निर्माणका लागि पुर्याएको योगदानको उच्च मूल्यांकन हुनुपर्ने सन्देशमा बताएका छन ।
‘हाम्रो देश नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा लैजानका लागि श्रमिकहरुको अमूल्य योगदान रहेको छ ।’ प्रदेश प्रमुखको शुभकामनामा भनिएको छ,‘ नेपालको संविधानले सम्पूर्ण नागरिकहरूका लागि रोजगारीको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकका लागि उचित श्रम अभ्यासको अधिकारका साथै उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत सुनिश्चितता प्रदान गरेको छ ।’
प्रमुख शर्माको शुभकामना सन्देशमा श्रमिकहरुका अधिकारका सवालमा सबै पक्ष जिम्मेवार बन्नुुपर्नेमा जोड दिएको छ । ‘आज यो दिवस मनाइरहँदा श्रमिकहरुका लागि अनुकूल श्रम वातावरण,उचित पारिश्रमिक, क्षमता बमोजिम रोजगारीको ग्यारेण्टी, सामाजिक सुरक्षा लगायतका अधिकार प्राप्त गरी अघि बढ्न सम्बन्धित सबै पक्ष जिम्मेवार बन्नुपर्दछ ।’,सन्देशमा भनिएको छ ।
यो दिवसले संसारभरका सम्पूर्ण श्रमजिवीहरुलाई एउटै सूत्रमा बाँधी आफ्नो हक, अधिकार र स्वतन्त्रताका पक्षमा आवाज बुलन्द गर्न प्रेरित गरोस् भन्ने कामना प्रमुख शर्माले गरेका छन ।

मकवानपुर । अहिले देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेकोले हाल देशभर आँशिक देखि सामान्य बदली रहेको छ ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार वैशाख १८ गते सोमबार देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशै भरका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशका एक-दुई स्थानमा हावा हुरीको सम्भावना रहेको छ।
यसैगरी सोमबार राती देशभर आंशिक देखि सामान्य बदली रहने छ। । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ
यस्तै देशै भरका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र सडक तथा हवाई यातायात, कृषि, पर्यटन, खेलकुद लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिएकोले त्यसबाट हुन सक्ने क्षति/जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।
मकवानपुर । हेटौंडा साइकल रन प्रतियोगितामा पुजन मगर विजयी भएका छन् । शनिबार बिहान भएको खुल्ला प्रतियोगितामा निर्धारित २५ किमिकाे दुरी ३८ मिनेट १९.३७ सेकेन्डमा पार गर्दै मगर विजयी भएका हुन् ।
रनकाे उपाधी विजेतासँगै मगरले ५० हजार रुपैयाँसहित ट्रफी हात पारेका छन् । प्रतियाेगितामा सहभागी राजिव ठाकुरले ३७ मिनेट १४ सेकेन्डमा निर्धारित दुरी पार गरेकाेमा उनी मकवानपुर जिल्लाको स्थायी बासिन्दा नभएकोे पाइएपछि मगरलाई प्रथम घोषणा गरिएको हेटाैडा उपमहानगरपालिकाका खेलकुद शाखाका अधिकृत बसन्तकुमार सिटौलाले बताए ।
यसैगरी ३८ मिनेट १९.७७ सेकेन्डमा २५ किमिकाे दुरी पार गर्दै आशिष थापा मगर द्वितीय भएका छन् । ३९ मिनेट ३८.२३ सेकेन्डमा निर्धारित दुरी पार गरेका सुमन आले मगर तृतीय भएका छन् । द्वितीय र तृतीयले क्रमशः ३० हजार र २० हजार रुपैयाँ प्राप्त गर्दा प्रतियोगितामा सान्त्वना भएका प्रदिप थापा क्षेत्री र निशान श्रेष्ठले १०–१० हजार रुपैयाँ हात पारेका छन् ।

सिटाैलाका अनुसार ५० जनाको सहभागिता रहेको प्रतियोगिता हुप्रचौरबाट सुरु भएर गर्दौइ, क्याम्पा, चुच्चेखाेला, हटिया, कमाने हुँदै पुनः हुप्रचौरमा आएर समापन भएको थियो । नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम भएकाे हाे ।
प्रतियोगिताकाे समापनमा जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष वेश खड्की, हेटौंडा १ का वडाध्यक्ष सविन न्यौपाने र १४ का वडाध्यक्ष दीपक खड्का लगायतको आतिथ्यता रहेको थियो ।
