मकवानपुर । हेटौंडा साइकल रन प्रतियोगितामा पुजन मगर विजयी भएका छन् । शनिबार बिहान भएको खुल्ला प्रतियोगितामा निर्धारित २५ किमिकाे दुरी ३८ मिनेट १९.३७ सेकेन्डमा पार गर्दै मगर विजयी भएका हुन् ।
रनकाे उपाधी विजेतासँगै मगरले ५० हजार रुपैयाँसहित ट्रफी हात पारेका छन् । प्रतियाेगितामा सहभागी राजिव ठाकुरले ३७ मिनेट १४ सेकेन्डमा निर्धारित दुरी पार गरेकाेमा उनी मकवानपुर जिल्लाको स्थायी बासिन्दा नभएकोे पाइएपछि मगरलाई प्रथम घोषणा गरिएको हेटाैडा उपमहानगरपालिकाका खेलकुद शाखाका अधिकृत बसन्तकुमार सिटौलाले बताए ।
यसैगरी ३८ मिनेट १९.७७ सेकेन्डमा २५ किमिकाे दुरी पार गर्दै आशिष थापा मगर द्वितीय भएका छन् । ३९ मिनेट ३८.२३ सेकेन्डमा निर्धारित दुरी पार गरेका सुमन आले मगर तृतीय भएका छन् । द्वितीय र तृतीयले क्रमशः ३० हजार र २० हजार रुपैयाँ प्राप्त गर्दा प्रतियोगितामा सान्त्वना भएका प्रदिप थापा क्षेत्री र निशान श्रेष्ठले १०–१० हजार रुपैयाँ हात पारेका छन् ।

सिटाैलाका अनुसार ५० जनाको सहभागिता रहेको प्रतियोगिता हुप्रचौरबाट सुरु भएर गर्दौइ, क्याम्पा, चुच्चेखाेला, हटिया, कमाने हुँदै पुनः हुप्रचौरमा आएर समापन भएको थियो । नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम भएकाे हाे ।
प्रतियोगिताकाे समापनमा जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष वेश खड्की, हेटौंडा १ का वडाध्यक्ष सविन न्यौपाने र १४ का वडाध्यक्ष दीपक खड्का लगायतको आतिथ्यता रहेको थियो ।

