जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको तयारीप्रति निर्वाचन आयोग आक्रमक बनेको छ । बजेटको अनुसूचीमार्फत सरकारले ७० जिल्लामा रहेका जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने तयारी गरिरहेको छ ।
सरकारले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने तयारी गरेपछि आयोगले १ साउनबाट नै स्थानीय तहबाटै मतदाता नामावली संकलन गर्नेगरी छुट्टै तयारी गरेको छ । हाल जिल्ला निर्वाचन कार्यालयमार्फत आयोगले मतदाता नामावली संकलन गरिरहेको छ ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संविधान र निर्वाचन कानुनले नै स्वायत्त निकाय मानेको निर्वाचन आयोगको अधिकार आयोगले कुनै हालतमा सीडीओलाई जिम्मा नलगाउने बताए । ‘संविधानले नै निर्वाचन आयोगलाई अधिकार सम्पन्न स्वायत्त निकाय मानेको छ, आयोगले आफ्नो क्षेत्राधिकार सीडीओलाई जिम्मा लगाउँदैन,’ निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले राजधानीसँग भने, ‘बरू हाल जिल्ला निर्वाचन कार्यालयबाट हुँदै आएको मतदाता नामावली संकलनको कार्यलाई १ साउनबाट जिल्ला निर्वाचन कार्यालय मातहत रहनेगरी स्थानीय तहबाटै संकलन गर्नेगरी आयोगले तयारी गरिरहेको छ ।’
प्रमुख आयुक्त थपलियाले संविधानविपरीत आयोगको अधिकार हस्तक्षेप गरिए जिल्ला निर्वाचन कार्यालयबाट हुँदै आइरहेको मतदाता नामावलीसमेत रोकिने बताए । यसैगरी, मतदाता नामावली प्रमाणीकरणसमेत आयोगले रोक्ने उनले चेतावनी दिए । ‘दल दर्ताको व्यवस्थापन गर्ने र दलमाथि नियमन गर्ने अधिकार निर्वाचन आयोगलाई छ, यो अधिकार कार्यकारी निकायलाई दिन सकिँदैन,’ थपलियाले अघि थपे, ‘त्यस्तो अवस्था आए मतदाता नामावली प्रमाणीकरणसमेत रोकिन्छ ।’
आयोगले १ साउनबाट मतदाता नामावली संकलन गर्नका लागि स्थानीय सरकारसँग कर्मचारी माग्ने तयारी गरिरहेको छ । एक स्थानीय तहबाट दुईजना कर्मचारी उपलब्ध भएपछि ती कर्मचारीलाई आयोगले जिल्ला निर्वाचन कार्यालयमार्फत तालिम उपलब्ध गराउनेछ भने त्यसपछि स्थानीय तहबाटै मतदाता नामावली संकलन सुरु गर्ने आयोगले जनाएको छ ।
आयोगले बजेटको अनुसूचीमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णय तत्काल फिर्ता लिन सरकारसँग आग्रह गर्ने तयारीसमेत गरेको छ । सो विषयमा छलफल गर्न आयोगले प्रधानमन्त्रीसँग समय माग गरिसकेको छ ।
गत सोमबार गृहमन्त्री नारायणकाजी श्रेष्ठलाईसमेत आयोगका पदाधिकारीले सो विषयमा आयोगका तर्फबाट ध्यानाकर्षण गराइसकेका छन् ।
डाकियो सर्वदलीय बैठक
निर्वाचन आयोगले पाँच महत्वपूर्ण विषयमा छलफल गर्न भन्दै सर्वदलीय बैठक बोलाएको छ । प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई आयोगले सर्वदलीय बैठकमा डाकेको हो । सर्वदलीय बैठक शुक्रबार बस्नेछ ।
सर्वदलीय बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट वक्तव्यमा जिल्ला निर्वाचन कार्यालयहरू खारेजी’bout, नयाँ निर्वाचन व्यवस्थापन विधेयक प्रस्तुत गर्ने विषय, नगरपालिका र गाउँपालिकाबाट आवश्यक संयन्त्र खडा गरी मतदाता नामावली संकलन गर्ने विषयमा छलफल हुने आयोगले जनाएको छ ।
यस्तै, विदेशमा रहेका नेपालीहरूको प्रारम्भिक मतादाता नामावली संकलन प्रारम्भ गर्ने विषय र राजनीतिक दलले पेस गरेको लेखा तथा लेखापरीक्षण गरी पाँच विषयमा छलफल गर्नेगरी बैठक बोलाइएको आयोगले जनाएको छ ।
मतदाता नामावलीमा नाम दर्ता अब विदेशबाट पनि
निर्वाचन आयोगले विदेशमा रहेका तर मतदाता नामावलीमा नाम समावेश नभएका नेपाली नागरिकको मतदाता नामावली संकलन गर्ने तयारी गरेको छ ।
आयोगले विदेशमा अवस्थित नेपाली राजदूतावास र एनआरएनएसँगको सहकार्यमा आगामी आर्थिक वर्षदेखि विदेशबाट पनि नामावली दर्ता गर्न सकिने गरी तयारी गरिरहेको हो ।
आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दुतावासमार्फत पासपोर्टका आधारमा नामावली संकलन गर्ने गरी तयारी अघि बढाइएको जानकारी दिए ।
‘विदेशमा रहेका, नामावलीमा नाम दर्ता गर्न उमेर पुगेका तर, नाम दर्ता हुन बाँकी नेपाली नागरिकले दूतावासमा पुगेर फोटोसहितको नाम दर्ता गर्न मिल्ने गरी काम गरिरहेका छौं, आगामी आर्थिक वर्षदेखि यो व्यवस्था हुन्छ,’ आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले राजधानीसँग भने ।
प्रमुख आयुक्त थपलियाले आगामी साउनदेखि नै सो व्यवस्था गर्ने विषयमा एनआरएनएसँग पनि सो विषयमा छलफल भइरहेको जानकारी दिए ।
विदेशमा खिचिएको फोटोसहितको मतदाता नामावलीका आधारमा आयोगले आगामी निर्वाचनमा देशबाहिर रहेका नेपाली नागरिकले विदेशबाट नै मतदान गर्न सकिने गरी व्यवस्था मिलाइने अपेक्षा लिएको छ । समाचार राजधानी दैनिकबाट
मकवानपुर । हेटौडामा प्रथम हेटौंडा स्काउट क्याम्प-२०८० शु्क्रबार (आज) बाट हुदैछ । हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोग र नेपाल स्काउट, स्थानीय स्काउट कार्यालय हेटौंडा उपमहानगरपालिका समितिको आयोजनामा प्रथम हेटौंडा स्काउट क्याम्प-२०८० हुने भएको हाे ।
स्थानीय तहकामा स्काउटको माध्यमबाट यूवा तथा बालबालिकाहरुको सर्वाङ्गिण विकास गरी देश विकासमा अग्रसर असल नागरिक बनाउने उद्देश्यले आजदेखि २८ गतेसम्म स्काउट क्याम्प हुने संयोजक दीपेन्द्र रोक्काले बताए ।
हेटौंडा–१८ स्थित गोरक्षनाथ माविमा हुने क्याम्पमा क्याम्पमा नगरभित्रका २५ भन्दा बढी सामुदायिक तथा संस्थागत विद्यालयहरुका चार सयभन्दा बढी स्काउटमा आबद्ध प्रशिक्षार्थिहरू सहभागि रहने संयोजक रोक्काले बताए । क्याम्पका लागि जिल्लाका अन्य गाउँपालिकामा रहेका विद्यालयका स्काउटको समेत सहभागिता रहनेछ ।
कार्यक्रममा स्काउटरहरुले ओमेगा जम्प, सुपरम्यान जम्प,टायर क्रसिङ,मंकी ब्रिज क्रसिङ,कमान्डो ब्रीज क्रसिङलगायत स्काउटिङ गतिविधिमा सहभागिता जनाउने छन् ।
क्याम्पमा निबन्ध प्रतियोगिता, नृत्य प्रतियोगिता, क्याम्प सजावट प्रतियोगिता रहनेछ । क्याम्पमा विद्यार्थीहरुलाई विपद् व्यवस्थापन तालिम, प्राथमिक उपचार तालिम, वातावरण संरक्षण सम्बन्धी तालिम समेत दिने व्यवस्था मिलाइएको राेक्काले जानकारी दिए ।
क्याम्प सञ्चालनका लागि १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । जसमध्ये हेटौंडा उपमहानगरपालिकाले ८ लाख सहयाेग गर्ने तथा बाँकी रकम अन्य सहयोगी दाताहरुको सहयोग र हेटौंडा उपमहानगर समितिले सहयाेग गर्ने बताइएकाे छ ।
मकवानपुर । मकवानपुरको हेटौंडा अस्पतालमा गरिब परिवारका लागि १० प्रतिशत शैया निःशुल्क गर्न संघीय सरकारका स्वस्थ्य मन्त्रीले निर्देशन दिएका छन् । संघीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालमा अनुगमन गरेपछि यस्तो निर्देशन दिएका हुन् ।
मन्त्री बस्नेतसँगै प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशी पनि सहभागी भए । गरिब परिवारका लागि १० प्रतिशत शैया निःशुल्क रुपमा प्रयोग गर्ने वातावरण तयार गर्न पनि मन्त्री बस्नेतले निर्देशन दिएका हुन् । संघ र प्रदेशका दुबैजना मन्त्रीहरुले मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालको अनुगमन गरेपछि सकारात्मक निर्देशन प्राप्त भएको बताइएको छ ।
अस्पतालको आकस्मिक कक्ष, ओपीडी कक्ष, भर्ना भएका बिरामीहरुको अवस्था, अस्पतालको फार्मेशीलगायतका स्थानको दुबै मन्त्रीले अनुगमन गरेका थिए । हेटौंडा अस्पतालमा परेको समस्या र आम सर्बसाधरणहरुलाई उपचारमा परेको समस्याका बिषयमा दुबै जना मन्त्रीहरुले जानकारी लिए । अस्पतालमा उपचार गरिरहेका सर्बसाधरणका समस्या, गुनासाहरु सुन्नुका साथै अस्पताल प्रशासनले राखेको समस्याहरु समेत समाधान गर्न पहल गर्ने संघीय स्वास्थ्यमन्त्री बस्नेतले बताए ।

देशैभरी स्वास्थ्यकर्मीहरुको समस्या बढेको भन्दे हेटौंडा अस्पतालमा पनि त्यो समस्या रहेकाले यहाँ थप स्वास्थ्यकर्मी पठाउनका लागि पहल गर्ने बस्नेतले पत्रकारहरुसँगको प्रतिक्रियामा बताए । अहिलै पनि स्वास्थ्यकर्मीहरु सरकारी अस्पतालमा काम थोरै गर्ने र निजी क्लिनिकहरुमा धेरै समय बस्ने गरेको बताउँदै मन्त्री बस्नेतले भने ‘पहुँचका आधारमा कर्मचारीहरु खटाएको ठाउँमा नजाने, कोही अस्पतालमा थुप्रिएर बस्ने अस्पतालमा स्वास्थ्यकर्मी नहुने समस्या धेरै छ । अब यस्तो हुन दिदैनौं ।’
हेटौंडा अस्पतालका प्रमुख डाक्टर रामचन्द्र सापकोटाले हेटौंडा अस्पताल अहिले पनि सरकारी स्तरबाट ५० वटा शैयामा मात्र सञ्चालनमा रहेको र प्रतिष्ठान अनी व्यवस्थापन समिति मार्फत अरु १५० थप गरेर सञ्चालन गरिएको बताए ।
मकवानपुर । देशभर अझैं गर्मी बढ्ने संकेत देखिएकाेले तराईमा आगामी ५ दिनसम्म तातो हावा वहने तथा लु लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाले अत्यधिक गर्मीका कारण अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन सुझाव दिएको छ ।
महाशाखाका अनुसार अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्ने भएकाले हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन गर्दा तत्काल मनसुन भित्रिने सम्भावना नरहेको पनि महाशाखाले जनाएको छ । तराई, पहाड तथा खोँचहरुमा समेत अझै तापक्रम वृद्धि हुने पूर्वानुमान छ । तराई मधेशका अधिकांश जिल्लामा अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको छ । तराईका जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा पनि माथि पुगेको छ ।
यस वर्ष सरदरभन्दा बढी गर्मी हुने र मनसुन अवधिमा कम पानी पर्ने यसअघि नै जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेको थियो । तातो हावा तथा लूबाट बच्न गर्मीको समयमा घर भित्र अर्थात् चिसो स्थानमा रहन, बाहिरी वातावरणमा बढी नजान, बाहिर निस्किँदा टाउको छोप्न, पानी तथा झोल पदार्थ प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

