मकवानपुर । हेटौंडा उपमहानगरपालिका १७ ठुलोगङ्गटेमा सातदिने “राजयोग मेडिटेशन” सुरु भएको छ । अङ्गारेश्वर मन्दिर संरक्षण तथा व्यस्थापन समितिको आयोजनामा राजयोग मेडिटेशन उद्घाटन गरियो हो ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र मकवानपुरकि प्रमुख ब्रह्माकुमारी सुशिला दिदीको प्रमुख आतिथ्यता र अङ्गारेश्वर मन्दिर समितिका अध्यक्ष कृष्णदेव भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा मेडिटेशन उद्घाटन भएको हो।
कार्यक्रममा ब्रह्माकुमारी बिष्णु दिदीले चित्र मार्फत म र मेरो शरीरबीचको भिन्नता बताउँदै शरीर, आत्मा र प्रमात्माको बारेमा जानकारी दिएकी थिइन् ।
अध्यक्ष भण्डारीले यस्ता सत्सङ कार्यक्रमले मानिसलाई धर्म र धार्मिकता; शरीर, आत्मा र परमात्माको बारेमा ज्ञान दिने र ध्यानमार्गमा अघि बढाउने विश्वास व्यक्त गरे।
केशव भुजेलले स्वागत गरेको कार्यक्रम सीता दाहालले संचालन गरेकी हुन । कार्यक्रममा ब्रह्माकुमारी रेवती दिदी, ब्रह्माकुमार मणि भाइले शुभकामना व्यक्त गरेका थिए ।
अंगारेश्वर मन्दिर संरक्षण तथा व्यबस्थापन समितिको सभाहलमा भएको कार्यक्रम जेठ ३२ गतेसम्म दैनिक साझ ५ देखि ६ बजेसम्म संचालन हुनेछ बताइएको छ।
जुनु घिमिरे
ए ! प्यारो जून ,
उस्का लगि मैले केही लेख्नु छ
यो मनको खोलामा बगेको
बिचारलाई हृदयको ड्याममा जमाई
बिजुली निकाल्नु छ
र
उसको मनको खम्बा सम्म अक्षरहरूको
तार जोडेर मायाको बत्ती बाल्नु छ ।
के तिम्रा मोती झै टल्किएका
हिरा झै चम्किएका अक्षरहरू
सापटी दिन्छौ मलाई ?
जुन तिमीले ,ताराको
प्रशंसामा लेख्ने गरेका छौ।
सोच्दै छु, कस्ता शब्दहरू हुन्छन् होला
तिम्रा शब्दकोषमा
के उपमा दिने गरेका छौ प्रेमको प्रतीकमा ?
अक्सर हामी मान्छेहरू
तिमीलाई प्रतीक बनाउँछौँ
जून जस्तै
तारा जस्तै
मेरो माया कस्तो कस्तो
पुर्णिामाको उज्यालो जस्तो ।
यही त लेख्छौँ नी हामी मान्छेहरू
तर
हामीलाई जून र ताराको त्याग थाहा छैन
लाखौं ,करोडौं माइल टाढाको प्रेम
नभेटेरै,नबोलेरै,नछोएरै
पनि कति स्निग्ध सम्बन्ध
कति ठुलो त्याग बोकेको छ
के हामी यस्तो प्रेमको महसुस गर्न सक्छौ?
पुर्णिामाको उज्यालोलाई विम्ब बनाएर
आफ्नो प्रेम प्रस्तुत त गर्छौँ
तर ,
चन्द्रमाले पृथ्वीलाई पुरै चक्कर लगाएपछि
मात्रै प्राप्त हुने आधा उज्यालोको लागि
चन्द्रमाले गरेको संघर्ष केलाउन
सक्दैनौँ
हो त्यसैले त,
जूनका अक्षरहरू सापटी चाहिएको छ मलाई
जून पढ्न चाहन्छु म
तारा चिन्न चाहन्छु
आफ्नै मनको विश्वविद्यालय भित्र
प्रेममा विद्यावारिधी गर्न चाहन्छु
त्यसैले मलाई
कसैले नखेका अक्षहरूमा
शब्दमाला तयार पार्नु छ
त्यो पनि
तिम्रै शीतको मसीले
शीत जस्तै, सफा,स्वच्छ अनि चहकिलो
सफेद रङ्गको पानाहरूमा
आफैलाई अलङ्कार बनाएर
एउटा भिन्नै कविता लेख्नु छ
तिम्रो जस्तै अमिट प्रेमको भाषा
प्रयोग गरेर
जुन आजसम्म कसैको नलेखिएको होस्
हो, म मेरो माया
अकाट्य बनाउँन चाहन्छु
तिम्रा अक्षरहरू सापटी लिएर
ए!प्यारो जून
त्यति एउटा गुन लगाइ देउ ल!
कसम म तिमीलाई पुरै
साँवा व्याज सहित
फिर्ता गर्ने छु ।
भक्तपुर
मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा जारी मेयर कप फुटबल प्रतियोगिताको फाइनल खेल शनिबार आज हुदैछ । फाइनलमा उपाधीकाे लागि ११ नम्बर बडा र १५ नम्बर वडाकाे टिम फाइनलमा भिड्ने भएका छन् ।
नगर खेलकुद विकास समितिको आयोजनामा भएको तेस्रो मेयर कप अन्तरगत विहीबार हेटौंडा–५ पिप्लेक्याम्पा रंगशालामा भएको अन्तिम सेमिफाइनल खेलमा १३ नम्बर वडालाई ट्राइब्रेकर ३–१ गोलअन्तरले हराउँदै ११ नम्बर फाइनलमा प्रवेश गरेको हाे । यसअघी बुधबार भएकाे पहिलाे सेमीफाइनलमा १५ नम्बर वडाले १४ नम्बर वडालाई सडनडेथमा १–० गोलअन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको थियाे ।
प्रतियोगिताको विजेता टिमले नगद २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । सेमिफाइनल प्रवेश गर्ने दुई टिमले ५०–५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीहरुले ५–५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
जेठ १६ गतेबाट सुरु प्रतियाेगितामा हेटाैडा उपमहानगरपालिकाका १९ वटै वडाले सहभागिता जनाएका थिए ।
शर्मिला खतिवडा
बिना गल्ती सजाय दिएर पिरोल्नु किन होला?
शंका गरी प्रमाण विहीन शब्द बोल्नु किन होला?
कसैको नमिठो वाणीले मन डढाउँछ यदि भने
तिनै मन्त्रजपी कसैको मन पोल्नु किन होला?
अमृत पिउन दिएर सबै सामु खुसी पारेझैँ गरी
त्यही पीयूषमा टन्नै जहर घोल्नु किन होला?
आफ्नै खोइरो खन्नेहरु सामु झुकिकन
तिनकै जयकार गर्दै पाउ मोल्नु किन होला?
आफूलाई महान ठान्ने स्वभाव भएकाले
आफ्ना कुरा पराइलाई खोल्नु किन होला?
विराटनगर
मकवानपुर । न्यूनतम सेवा मापदण्डको आधारमा मकवानपुर जिल्लाको ४ वटा स्वास्थ्य संस्था उत्कृष्ट भएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरले गरेकाे स्थलगत अवलोकन र मूल्यांकनको आधारमा ४ वटा स्वास्थ्य चौकी उत्कृष्ट भएका हुन् ।
जिल्लाको थाहा नगरपालिकाको बज्रबारही स्वास्थ्य चौकी पहिलाे भएकाे छ । स्थलगत अवलोकन र मूल्यांकनमा बज्रबारही स्वास्थ्य चौकीले ९७ प्रतिशत अंक प्राप्त गर्दै पहिलाे नम्बरमा परेकाे हाे । यसैगरी, थाहाकै टिस्टुङ स्वास्थ्य चौकी र आग्रा स्वास्थ्य चौकी दोस्रो भएकाे छ । दुबै स्वास्थ्य चौकीले समान ९६ प्रतिशत अंक नै प्राप्त गर्दै दाेस्राे नम्बरमा परेकाे हाे । यस्तै हेटौंडा उपमहानगरपालिका ६ स्थित हेटौडा स्वास्थ्य चौकीले ९३ प्रतिशत अंक प्राप्त गर्दै तेस्रो नम्बरमा रहेकाे छ ।
जिल्लाको १० वटै स्थानीय तहको स्थास्थ्य चौकीहरुको न्यूनतम सेवा मापदण्ड मूल्यांकन गर्ने क्रममा १२ स्वास्थ्य चौकी छनोट भएका थिए । जसमा ४ वटा स्वास्थ्य चौकी उत्कृष्ट बन्न सफल भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
उत्कृष्ट ४ वटै स्थास्थ्य चौकीहरुलाई शुक्रबार हेटौंडामा न्यूनतम सेवा मापदण्ड सम्बन्धी जिल्ला स्तरीय समीक्षा कार्यक्रममा प्रशंसा पत्रसहित सम्मान गरिएकाे हाे । कार्यक्रममा स्वास्थ्य कार्यालय प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपकप्रसाद तिवारीले स्वास्थ्य चौकी स्वास्थ्यकर्मी, जनप्रतिनिधि र स्थानीय तहको राम्राे कार्य सम्पादनले उत्कृष्ट हुन सफल हुन सकेको बताए ।
न्यूनतम सेवा मापदण्ड सम्बन्धी जिल्ला स्तरीय समीक्षा कार्यक्रममा जनप्रतिनिधिहरु, जिल्लाको १० वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, उत्कृष्ट हुने स्वास्थ्य चौकीका कर्मचारी तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
