जुनु घिमिरे
ए ! प्यारो जून ,
उस्का लगि मैले केही लेख्नु छ
यो मनको खोलामा बगेको
बिचारलाई हृदयको ड्याममा जमाई
बिजुली निकाल्नु छ
र
उसको मनको खम्बा सम्म अक्षरहरूको
तार जोडेर मायाको बत्ती बाल्नु छ ।
के तिम्रा मोती झै टल्किएका
हिरा झै चम्किएका अक्षरहरू
सापटी दिन्छौ मलाई ?
जुन तिमीले ,ताराको
प्रशंसामा लेख्ने गरेका छौ।
सोच्दै छु, कस्ता शब्दहरू हुन्छन् होला
तिम्रा शब्दकोषमा
के उपमा दिने गरेका छौ प्रेमको प्रतीकमा ?
अक्सर हामी मान्छेहरू
तिमीलाई प्रतीक बनाउँछौँ
जून जस्तै
तारा जस्तै
मेरो माया कस्तो कस्तो
पुर्णिामाको उज्यालो जस्तो ।
यही त लेख्छौँ नी हामी मान्छेहरू
तर
हामीलाई जून र ताराको त्याग थाहा छैन
लाखौं ,करोडौं माइल टाढाको प्रेम
नभेटेरै,नबोलेरै,नछोएरै
पनि कति स्निग्ध सम्बन्ध
कति ठुलो त्याग बोकेको छ
के हामी यस्तो प्रेमको महसुस गर्न सक्छौ?
पुर्णिामाको उज्यालोलाई विम्ब बनाएर
आफ्नो प्रेम प्रस्तुत त गर्छौँ
तर ,
चन्द्रमाले पृथ्वीलाई पुरै चक्कर लगाएपछि
मात्रै प्राप्त हुने आधा उज्यालोको लागि
चन्द्रमाले गरेको संघर्ष केलाउन
सक्दैनौँ
हो त्यसैले त,
जूनका अक्षरहरू सापटी चाहिएको छ मलाई
जून पढ्न चाहन्छु म
तारा चिन्न चाहन्छु
आफ्नै मनको विश्वविद्यालय भित्र
प्रेममा विद्यावारिधी गर्न चाहन्छु
त्यसैले मलाई
कसैले नखेका अक्षहरूमा
शब्दमाला तयार पार्नु छ
त्यो पनि
तिम्रै शीतको मसीले
शीत जस्तै, सफा,स्वच्छ अनि चहकिलो
सफेद रङ्गको पानाहरूमा
आफैलाई अलङ्कार बनाएर
एउटा भिन्नै कविता लेख्नु छ
तिम्रो जस्तै अमिट प्रेमको भाषा
प्रयोग गरेर
जुन आजसम्म कसैको नलेखिएको होस्
हो, म मेरो माया
अकाट्य बनाउँन चाहन्छु
तिम्रा अक्षरहरू सापटी लिएर
ए!प्यारो जून
त्यति एउटा गुन लगाइ देउ ल!
कसम म तिमीलाई पुरै
साँवा व्याज सहित
फिर्ता गर्ने छु ।
भक्तपुर

