मकवानपुर । क्याम्पसमा हुने बेथिति, विसंगति तथा अराजकताका विरुद्ध स्वतन्त्र विद्यार्थी युनियन हेटौंडा क्याम्पसको ध्यानाकर्षण भएको जनाएको छ ।
सधैं विद्यार्थीको आवाज उठाउँदै आएको उल्लेख गर्दै शैक्षिक गुणस्तर सुधार र क्याम्पसको समग्र विकासमा आफूहरू प्रतिबद्ध रहेको बताउँदै हेटौंडा क्याम्पस स्ववियु इकाइ समितिका कार्यवाहक सभापति भरत मोहन देवकोटाको नेतृत्वमा क्याम्पस व्यवस्थापन समिति अध्यक्ष आनन्दराम पराजुलीलाई ध्यानाकर्षण पत्र बुझाइएको हो ।
विद्यार्थीहरूको साझा प्रतिनिधि संस्था स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले क्याम्पसमा देखिएका विभिन्न समस्या समाधानका लागि उक्त ध्यानाकर्षण पत्र पेश गरेको जनाएको छ।
स्ववियुले विद्यार्थीहरूको गुनासो र समस्यालाई मध्यनजर गर्दै आठ बुँदे माग अघि सारेको छ। जसअन्तर्गत त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित सबै कक्षा नियमित सञ्चालन गर्नुपर्ने, स्नातक तथा स्नातकोत्तर तहमा छुटेका छात्रवृत्तिको लागि तत्काल परीक्षा सञ्चालन गर्नुपर्ने, आन्तरिक परीक्षाको नतिजा समयमै सार्वजनिक गर्नुपर्नेलगायतका माग रहेका छन्।
यसैगरी, क्याम्पस प्रशासन, परीक्षा र लेखा शाखालाई पूर्ण रूपमा सञ्चालन गरी विद्यार्थीमैत्री र पारदर्शी सेवा सुनिश्चित गर्नुपर्ने, शौचालय मर्मत, ई–लाइब्रेरी व्यवस्थित सञ्चालन, कक्षाहरूलाई प्रविधिमैत्री बनाउने तथा चमेना गृहलाई स्वच्छ र व्यवस्थित बनाउने जस्ता माग समावेश गरिएको छ।
स्ववियुले प्रस्तुत मागहरूलाई गम्भीरतापूर्वक लिएर यथाशीघ्र समाधान गरिने विश्वास व्यक्त गरेको छ। उक्त पत्रको बोधार्थ क्याम्पस प्रमुख तथा क्याम्पस सञ्चालक समितिलाई समेत पठाइएको संगठनले जनाइएको छ।
मकवानपुर । बागमती प्रदेशमा सञ्चालनमा रहेको सुरक्षित आप्रवासन प्रभावकारी कार्यान्वयन, समन्वय सुदृढीकरण तथा आगामी रणनीति निर्धारणका लागि प्रदेश कार्यक्रम समन्वय समितिको बैठ भएको छ।
श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेशको आयोजनामा , श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाको अध्यक्षतामा सम्पन्न बैठकले कार्यक्रमको प्रगति समीक्षा गर्दै विभिन्न रणनीतिक निर्णयहरू गरेको छ।
बैठकमा चालु आर्थिक वर्ष २०८२।०८३ मा सञ्चालित गतिविधि तथा प्राप्त उपलब्धिहरूको विस्तृत समीक्षा गरिएको थियो।
बैठकमा विगतका निर्णयहरूको कार्यान्वयन अवस्थाको मूल्याङ्कन गर्दै सुधारका लागि आवश्यक निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।
साथै, कार्यक्रम समन्वय तथा कार्यान्वयन एकाइबाट भएका निर्णयहरूलाई औपचारिक रूपमा अनुमोदन गरिएको छ।
कार्यक्रमको दिगोपना सुनिश्चित गर्न स्थानीय तहमा प्रदान गरिँदै आएको प्राविधिक सहयोगलाई क्रमशः न्यूनीकरण गर्दै लैजाने रणनीति समेत बैठकले तय गरेको छ। यसका साथै प्रदेश सुशासन केन्द्रसँग सहकार्य गरी क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय पनि गरिएको छ।
बैठकलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा यातायात मन्त्रीले सुरक्षित आप्रवासन कार्यक्रमलाई थप प्रभावकारी, परिणाममुखी र दिगो बनाउनु अहिलेको आवश्यकता रहेको बताए। उनले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको अधिकार, सुरक्षा र सम्मान सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।
“सुरक्षित आप्रवासन कार्यक्रमले श्रमिकलाई सही सूचना, सीप र मनोसामाजिक सहयोग उपलब्ध गराउँदै आएको छ। यसलाई अझ सुदृढ बनाउँदै स्थानीय तहसम्म संस्थागत रूपमा स्थापित गर्न आवश्यक छ,” मन्त्री थापाले भने।
उनले कार्यक्रम कार्यान्वयनमा सबै तहका सरकारबीच समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै आगामी दिनमा सहकार्यलाई अझ मजबुत बनाइने बताए।
बैठकमा स्वास्थ्य निर्देशनालय र स्वास्थ्य तालिम केन्द्रले मनोसामाजिक सेवा प्रवाह सम्बन्धी प्रगति विवरण प्रस्तुत गरेका थिए। उक्त प्रस्तुतीकरणपछि सहभागीहरूबीच विस्तृत छलफल भएको थियो।
बैठकले सुरक्षित आप्रवासन कार्यक्रमलाई संस्थागत रूपमा मजबुत बनाउन आवश्यक कार्यविधि तर्जुमा गर्ने तथा आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन सम्बन्धमा सिफारिस गर्ने निर्णय समेत गरेको छ।
बैठकमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव, स्वीस विकास सहयोगका प्रतिनिधि, प्रदेशका विभिन्न मन्त्रालयका प्रतिनिधि, स्थानीय तहका प्रमुख, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रतिनिधि लगायत सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो।
मन्त्रालयका अनुसार बैठकबाट कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि स्पष्ट मार्गचित्र तय भएको र आगामी दिनमा समन्वयलाई थप सुदृढ बनाउँदै लैजाने विश्वास लिइएको छ।
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाको केन्द्रमा रहेको हुप्र लोकतान्त्रिक चौर अझ आकर्षक र सुविधा सम्पन्न बन्ने भएको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. ४ अन्तरगत रहेकाे लाेकतान्त्रिक चाैर लाई सुविधा सम्पन्न र आकर्षक चाैरकाे रूपमा विकास गरिने भएकाे छ ।
सबेरै हिड्न आउने, व्यायाम गर्न आउने, फुर्सदमा बालबालिकाको खेल्ने स्थान, युवाको खेलकुदको अभ्यासको उत्साह र अपरान्ह टहलिन आउने जेष्ठ नागरिकको शान्त उपस्थितिले पहिचान बनाउदै गएको चौरलाई नयाँ स्वरुपमा विकास गर्न लागिएको हो ।
दैनिक ५ हजार भन्दा बढीले उपस्थिति जनाउने हुप्र लोकतान्त्रिक चौरलाई करिव ३ कराेडकाे बजेट व्यवस्थापन गरि बागमती प्रदेशकै खुल्ला नमुना चाैरकाे रूपमा विकास गर्न लागिएको हो । हेटौंडा नगरलाई महिला मैत्री सहर निर्माण परियाेजना अन्तरगत चाैरकाे मास्टर प्लान बनाउने कार्य अन्तिम चरणमा पुगेकाे र मास्टर प्लान बनेसंगै निर्माण कार्यकाे लागि बाेलपत्र आव्हान गरिने भएको हो । यसको लागि महिला मैत्री शहर निर्माण परियाेजना र अन्य श्राेतबाट बजेटकाे व्यवस्थापन गरिने भएको छ ।
हेटौंडा उपमहानगरपालिका ४ नं. वडाध्यक्ष नवीन सिग्देलले चाैरलाई फुटबल, भलिवल र क्रिकेट खेल मैदानलाई थप व्यवस्थित बनाईने, खुल्ला जीम मर्मत र थप गर्ने, बालबालिका खेल्ने, जेष्ठ नागरिककाे लागि विशेष स्थलकाे व्यवस्था गर्ने, विभिन्न स्थान बस्ने र आराम गर्ने स्थान बनाईने, गेट र मञ्च थप सुविधाजनक र आकर्षक बनाईने बताए । यसअघि सार्वजनिक शाैचालय, हिँड्ने ट्रय्याक, भलिवल काेर्ट निर्माण गरिएकाे र क्रिकेट केज बनाउने कार्य भइरहेको छ ।
‘चौरलाई केवल खाली मैदानका रूपमा मात्र नभई बहुउद्देश्यीय सार्वजनिक स्थलका रूपमा रूपान्तरण गरिँदैछ’ उनले भने ‘चाैरलाई महिला, बालबालिका, अपाङ्ग र खेलमैत्री बनाउन विशेष ध्यान दिईएकाे छ ।’ वडा कार्यालयकाे व्यवस्थापनमा मर्मत र नियमित सरसफाई गरिदै आएकाे चाैरमा हालै ४ वटा हाईमाक्स जडान गरि रातमा पनि चाैर क्षेत्र उज्ज्यालाे बनाउने व्यवस्था गरिएकाे छ ।
मकवानपुर । मन्त्रिपरिषद्को मंगलबार बैठकले विभिन्न निर्णयहरू गरेको छ। बैठकले विश्व बैंककाे ८५ मिलिनियम अमेरिकी डलर बराबरकाे हुलियतपूर्ण ऋण स्वीकार गर्ने देखि पेट्रोलियम पदार्थमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने समेतकाे निर्णय गरेकाे छ ।
मंगलबारकाे मन्त्रिपरिषद् बैठकले गरेकाे अन्य निर्णयहरुः
- अर्थ मन्त्रालयअन्तर्गत बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि विश्व बैंकले प्रदान गर्ने ८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने
- पूर्वाधार विकासतर्फ नागढुंगा सुरुङमार्गको पश्चिम खण्डमा पर्ने धुनिबेसी नगरपालिका र पासाङल्हामु राजमार्गको वेत्रावती-धुन्चे-स्याफ्रुबेसी सडक खण्डमा पर्ने उत्तरगया गाउँपालिकामा निजी जग्गा प्राप्ति गर्न सरकारले स्वीकृति प्रदान
- काठमाडौं-तराई मधेश द्रुतमार्ग निर्माणका लागि काठमाडौं, ललितपुर र मकवानपुरका विभिन्न वन क्षेत्रको कुल ४६.३९ हेक्टर जग्गा प्रयोग गर्न दिने र १८ हजार ८९८ वटा रुख काट्न अनुमति दिने
- ललितपुरको पुल्चोकमा रहेको जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रलाई गोदावरी स्थान्तरण गरी उक्त भवनमा जल तथा ऊर्जा आयोगको सचिवालय सार्ने
- सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डोटीका डा. गुणाकर भट्ट र नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण पण्डितकाे नियुक्ति
- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष र सदस्यहरूको राजीनामा स्वीकृत
मकवानपुर । मकवानपुर प्रहरीले लागूपदार्थ सेवन गरी सवारी चलाउने १२ जनालाई पक्राउ गरेको छ । प्रहरीद्वारा सञ्चालित ‘अप्रेशन ड्रप’ अन्तर्गत सोमबार उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले ६५ वटा सवारी जाँच गरिएकोमा १२ जना चालकले लागूऔषध सेवन गरी सवारी चलाएको पाइएको हाे । मनहरी गाउँपालिका अन्तर्गतकाे सडकखण्डमा गरेको आकस्मिक सुरक्षाजाँचको क्रममा उनीहरु पक्राउ परेका हुन् । ‘अपरेशन ड्रप’ अन्तर्गत यसअघि मकवानपुर प्रहरीले १८ जनालाई पक्राउ गरेको थियो ।
लागूऔषध सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम अत्यधिक बढाउने भएकाले चेकजाँच गरिएको प्रहरीले जनाएकाे छ । सडक सुरक्षालाई मध्यनजर गर्दै आगामी दिनमा चेकजाँचलाई निरन्तरता दिइने भएकाे छ । मकवानपुर प्रहरीले चालकलाई लागूऔषध सेवन नगरी जिम्मेवार ढंगले सवारी चलाउन आग्रह समेत गरेकाे।