मकवानपुर । क्याम्पसमा हुने बेथिति, विसंगति तथा अराजकताका विरुद्ध स्वतन्त्र विद्यार्थी युनियन हेटौंडा क्याम्पसको ध्यानाकर्षण भएको जनाएको छ ।
सधैं विद्यार्थीको आवाज उठाउँदै आएको उल्लेख गर्दै शैक्षिक गुणस्तर सुधार र क्याम्पसको समग्र विकासमा आफूहरू प्रतिबद्ध रहेको बताउँदै हेटौंडा क्याम्पस स्ववियु इकाइ समितिका कार्यवाहक सभापति भरत मोहन देवकोटाको नेतृत्वमा क्याम्पस व्यवस्थापन समिति अध्यक्ष आनन्दराम पराजुलीलाई ध्यानाकर्षण पत्र बुझाइएको हो ।
विद्यार्थीहरूको साझा प्रतिनिधि संस्था स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले क्याम्पसमा देखिएका विभिन्न समस्या समाधानका लागि उक्त ध्यानाकर्षण पत्र पेश गरेको जनाएको छ।
स्ववियुले विद्यार्थीहरूको गुनासो र समस्यालाई मध्यनजर गर्दै आठ बुँदे माग अघि सारेको छ। जसअन्तर्गत त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित सबै कक्षा नियमित सञ्चालन गर्नुपर्ने, स्नातक तथा स्नातकोत्तर तहमा छुटेका छात्रवृत्तिको लागि तत्काल परीक्षा सञ्चालन गर्नुपर्ने, आन्तरिक परीक्षाको नतिजा समयमै सार्वजनिक गर्नुपर्नेलगायतका माग रहेका छन्।
यसैगरी, क्याम्पस प्रशासन, परीक्षा र लेखा शाखालाई पूर्ण रूपमा सञ्चालन गरी विद्यार्थीमैत्री र पारदर्शी सेवा सुनिश्चित गर्नुपर्ने, शौचालय मर्मत, ई–लाइब्रेरी व्यवस्थित सञ्चालन, कक्षाहरूलाई प्रविधिमैत्री बनाउने तथा चमेना गृहलाई स्वच्छ र व्यवस्थित बनाउने जस्ता माग समावेश गरिएको छ।
स्ववियुले प्रस्तुत मागहरूलाई गम्भीरतापूर्वक लिएर यथाशीघ्र समाधान गरिने विश्वास व्यक्त गरेको छ। उक्त पत्रको बोधार्थ क्याम्पस प्रमुख तथा क्याम्पस सञ्चालक समितिलाई समेत पठाइएको संगठनले जनाइएको छ।

