मकवानपुर । विहिबारबाट सुरू गरिएको लम्पी स्किन विरुद्धको खोप अभियान जारी छ, ३ दिनमा सांढे १३ हजार पशुलाई खोप लगाइएको छ । ५० हजार पशुलाई खोप लगाउने लक्ष्यका साथ खोप अभियान विहिवारबाट सुरु गरिएको थियो ।
प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीका अनुसार साताव्यापी खोप अभियान अन्तरगत बिहीबार, शुक्रबार र शनिबार तीन दिनमा १३ हजार ५ सय १६ पशुलाई लम्पी स्कीन रोगविरुद्ध खोप लगाइएको हो । आज आइतबारको तथ्यांक प्रदेशको जिल्लाहरूबाट प्राप्त हुन बाकी रहेको अधिकारीले बताए ।
अभियानको पहिलो दिन ४ हजार ४ सय ६७ लाई खोप लगाइएको थियो । दोस्रो दिन ४ हजार ६ सय ९४ पशुलाई र तेस्रो दिन ४ हजार ३ सय ३३ पशुलाई लम्पी स्कीनविरुद्धको खोप लगाइएको मन्त्रालयका सूचना अधिकारीले बताए ।
उक्त अभियानअन्तरगत पछिल्लो तीन दिनमा सबैभन्दा बढी चितवनका पशुलाई खोप लगाइएको छ । त्यहाँ २ हजार ४ सय ८८ पशुमा लम्पी स्कीन रोगविरुद्धको खोप लगाइएको मन्त्रालयका सूचना अधिकारीले बताए ।
यसैगरी, मकवानपुरका २ हजार ४४, काभ्रेका १ हजार ५ सय २२, सिन्धुलीका १ हजार १९८, धादिङका १ हजार ५५, काठमाडौंका १ हजार ४२, नुवाकोटका ९९८, रामेछमपका ९८२, सिन्धुपाल्चोक ८५६, रसुवा ५८३, भक्तपुर ५५४, ललितपुरका १७ र दोलखाका ८३ पशुमा लम्पी स्कीन रोगविरुद्धको खोप लगाइएको हो ।
अभियान आगामी साउन ३२ गतेसम्म संचालन हुने छ । एक पटक खोप लगाईएको गाई भैंसी वा चौरीलाई एक बर्षसम्म लम्पी स्किन रोग विरुद्ध काम गर्छ । यो खोप बिरामी पशुलाई लगाउन नहुने र स्वस्थ्य पशुमा मात्रै लगाउन हुने पशु स्वास्थकर्मीले जनाएका छन् ।
हाल प्रदेशको सबै जिल्लामा गरी २ लाख ४ हजार ९८८ पशु लम्पी स्किनबाट प्रभावित छन् । जसमा १ लाख १० हजार ४४० पशु सक्रिय संक्रमित छन् । हालसम्म ६ हजार २९१ वटा पशुको मृत्यु भइसकेको छ । प्रकोप फैलिएसँगै १ लाख ३२ हजार ९ सय पशुलाई खोप लगाइसकिएको छ ।
यो खोप लगाबापत किसानले पैसा तिर्नु पर्दैन । यो खोप लगाइएपछि गाई भैंसी वा चौंरीलाई एक वर्षसम्म एन्टिभाइरसको रुपमा काम गर्ने मन्त्रालयका पशु विकास अधिकृत निशान्त शर्माले बताए ।
लम्पी स्किन यो रोगका कारण सामन्यतया १० देखि २० प्रतिशत पशुहरु बिरामी हुने र करिब ५ प्रतिशतसम्म मृत्युदर देखिन सक्ने उनले बताए । खास उपचार नभएको र लम्पी स्किनको कारण धेरै संख्यामा गाई/भैसी प्रभावित भई दूध उत्पादनमा ८० प्रतिशतसम्म कमी आएको मन्त्रालयले जनाएको छ ।
लम्पी स्कीन विरुद्धको खोप अभियान मार्फत प्रदेश भरी लम्पी स्किन न्यूनीकरणका लागि जनचेतना फैलाउने काम पनिसँगै गरिने सचिव शरण पाण्डेले बताए । अभियान कार्यक्रम प्रत्येक जिल्लाहरुमा स्थानीय तहहरुको समन्वयमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्फत खोप कार्य संचालन भइरहेको छ ।
तस्बिर सहयोग : प्रदिप सापकोटा/विज्ञ केन्द्र हेटौंडा ।
मकवानपुर । मकवानपुरमा १ सय १५ जना डेंगू संक्रमित भएका छन । जिल्लामा पछिल्लो २४ घण्टामा १२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ सय१५ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
कार्यालयका अनुसार गत साउन १ गतेदेखि आइतबारसम्ममा सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिमा रहेका छन् । हेटौंडा उपमहानगरमा हालसम्म ७० जनामा डेंगू संक्रमण पुष्टि भएको छ यसैगरी, मकवानपुरगढी २ जना, मनहरी १ जना, बकैया १ जना, राक्सिराङ गाउँपालिकामा १ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।
अहिलेसम्म कुलेखानी गाउँपालिका, कैलाश गाउँपालिका, बागमती गाउँपालिका, भीमफेदी गाउँपालिका र थाहा नगरपालिका डेंगू संक्रमती नभेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
मकवानपुर । नागरिकको रोग, भोक र विपद्सँग सरकार साथ नभएको गुनासो गर्दै बागमती सरकारले सत्तापक्षको बिरोध गरेको छ ।
नेकपा एमाले बागमती प्रदेश संसदीय दलले आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै सरकारलाई जिम्मेवार हुन आग्रह गरेको हो । विपद्को समयमा सरकार हराएको भन्दै एमालेले तत्काल संसद बैठक बोलाउन माग गरेको छ ।
जनताको लागि आवाज बोल्ने सभानै सुरू नगरेर सरकार मन्त्रालय फुटाउँदै मन्त्रीहरु थप्ने र राज्यलाई थप व्ययभार बढाउने तर्फ लाग्नु लज्जाको विषय भएको संसदीय दलका नेता जगन्नाथ थपलियाले आरोप लगाए ।
आज हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै एमाले संसदीय दलका नेता थपलियाले विपद्को समयमा सरकार चनाखो हुनुपर्नेमा बेपत्ता भएको र प्रदेशका नागरिरको समस्यालाई वेवास्ता गरेको बताए ।
गत असार २१ गतेबाट स्थगित भएको सदन हालसम्म बोलाउने कुनै तयारी नभएको प्रति एमालेले गम्भीर ध्यानकर्षण रहेको भन्दै सरकार जनताको समस्याबाट दिनहु भागिरहेको बताए ।
‘चामल, दाल जस्ता दैनिक उपभोग्यवस्तुहरुको महङ्गी बढेर नागरिकहरु तड्पिरहेका छन् । तर, सरकार कहाँ छ रु कसैलाई पत्तो छैन । अधिकांश मन्त्रीहरु राजधानी हेटौँडा बस्दैनन् । जनताका प्रतिनिधि प्रदेश सभा सदस्यहरु जनताका आवाज बोल्न चाहन्छन् । तर, सरकार प्रदेश सभा बैठकका लागि व्यवस्था मिलाउन सकिरहेको छैन’, उनले भने ।
प्रदेश सभाको निर्वाचन सम्पन्न भई प्रदेश सभा सञ्चालन भएको ७ महिना भइसक्दा पनि कुनैपनि संसदीय समितिको पहिलो बैठक समेत बस्न नसकेको भन्दै तत्काल समितिलाई सक्रीय बनाएर सरकारका काम कारबाहीहरुको निगरानी बढाउनुपर्नेनै एमालले भनेको छ ।
बर्षाको कारण प्रदेश विभिन्न जिल्लामा जन र धनको क्षती हुँदा सरकारले सम्बोधन गरेको छैन ।
मकवानपुर । त्रिभुवन राजपथको भैसे पालुङ सडकखण्ड अन्तरगत भीमफेदी ९ लामिडाँडामा आइतबार विहान गएको पहिरो हटाइएको छ ।
हेटौंडा काठमाडौ छोटो दुरीको मार्ग भने अबरुद्ध रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
अविरल वर्षासंगै पहिरो हटाइए पछि हेटौंडा पालुङ काडमाडौको यातायात सुचारु गरिएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिले हेटौंडा, पालुङ र काठमाडौँतर्फ चल्ने सबै प्रकारको यातायात सेवा सुचारु भएको छ ।
अविरल वर्षा सँगै पहिरोका कारण अवरुद्ध कान्तिलोकपथ खुलाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ । कान्तिलोकपथ अन्तर्गत बकैया -११ आपचौरमा खसेको चट्टान सहितको पहिरो हटाइएको प्रहरीले जनाएको छ । तर यातायात सुचारु गराउने प्रयास भइ रहेको बताइएको छ ।
यस्तै भैँसे भिमफेदी सडक पहिरोको कारण अबरुद्ध भएको छ भने कुलेखानी-सिस्नेरी-काठमाडौँ सडकखण्डमा पनि पहिरो खसेपछि अवरुद्ध भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ भालुडाँडास्थित कुलेखानी सिस्नेरी काठमाडौँ सडक खण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो ।
मकवानपुर । मनसुन सक्रिय रहदा देशभर सामान्यदेखि पूर्ण बदली रही मकवानपुर सहित देशैभर वर्षा भइरहेको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तर नेपाल नजिक अवस्थित रहेकोले वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
साथै भारतको उत्तर पूर्वी उत्तर प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको कारण केही स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको महाशाखाले जानकारी दिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बामगती, गण्डकी, लुम्बिनी प्रदेशका केही कर्णाली प्रदेशका एक दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ ।
दिउँसो देशभर पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरुमा वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै साथै मधेश प्रदेशको एक दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
राती भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरूमा वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। साथै सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा अति भारी बर्षाको समेत सम्भावना रहेको छ।
भारी वर्षाको कारण नदीको जल सतह बढ्ने, बाढी, पहिरो, भूक्षयको प्रकोप हुने भएकोले आबश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
