मकवानपुर । मनसुन सक्रिय रहदा देशभर सामान्यदेखि पूर्ण बदली रही मकवानपुर सहित देशैभर वर्षा भइरहेको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तर नेपाल नजिक अवस्थित रहेकोले वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
साथै भारतको उत्तर पूर्वी उत्तर प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको कारण केही स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको महाशाखाले जानकारी दिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बामगती, गण्डकी, लुम्बिनी प्रदेशका केही कर्णाली प्रदेशका एक दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ ।
दिउँसो देशभर पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरुमा वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै साथै मधेश प्रदेशको एक दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
राती भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरूमा वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। साथै सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा अति भारी बर्षाको समेत सम्भावना रहेको छ।
भारी वर्षाको कारण नदीको जल सतह बढ्ने, बाढी, पहिरो, भूक्षयको प्रकोप हुने भएकोले आबश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

