मकवानपुर । आज भाद्र कृष्ण अष्टमी अर्थात श्रीकृष्ण जन्माष्टमी पर्व देशभर मनाइदैछ । श्रीकृष्ण जन्माष्टमीमा भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइन्छ । हिन्दु धर्मावलम्वी अनि श्री कृष्णका भक्तहरुले भगवान कृष्णको जन्मदिवस मनाउँदैछन्।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई “श्रीकृष्ण जन्माष्टमी” र रातलाई “मोहरात्री” भनिन्छ । आज हिन्दु धर्मावलम्बी महिलाहरू “व्रत” बसी रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्ने प्रचलन छ । कृष्ण जन्माष्टमीको दिन विभिन्न धार्मिक संघसंस्थाले झाँकीसहित शोभायात्रा निकाल्ने श्रीकृष्णको विभिन्न रूप दर्शाएको सचित्र झुला झुलाउने चलन छ ।
पौराणिक कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताइन्छ । कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद् भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।
हिन्दू धर्म शास्त्रका अनुसार कृष्ण भगवान विष्णुको दश मुख्य अवतारहरू मध्यको एक अवतार मानिन्छन् । भगवान श्री कृष्णको जन्म आधुनिक भारतको मथुरा शहरमा भएको थियो। श्रीकृष्णलाई जन्मिएकै घडी कंशबाट बचाउन उनका पिता वसुदेवले गोकुलवासी नन्द गोपका घरमा छोडेका थिए। त्यसैले श्रीकृष्णको बाल्यकाल नन्द गोपका घरमा बितेकाले उनलाई गोपाल तथा नन्दलाल नामले पनि पुकारिन्छ।
यस पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।
मकवानपुर । महिलालाई जवरजस्ती करणी गरेको आरोपमा मकवानपुरको हेटौंडाबाट १ जना डाक्टर पक्राउ परेका छन् ।
महिलालाई आफ्नै कोठामा जवरजस्ती करणी गरेको आरोपमा हेटौंडा १ स्थित हेटौंडा सिटी अस्पतालमा कार्यरत डाक्टर बसिम राइलाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो । काठमाडौं बुढानिलकण्ठ घरभइ हाल हेटौंडा–१ स्वर्गलोकमा हेटौंडा सिटी अस्पताल संचालन गर्दै आएका ३६ वर्षका राईले ३१ बर्षकी महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार आफ्नै अस्पतालमा कार्यरत एक जना पूर्व महिला कर्मचारीलाई १८ गते राति जवरजस्ती करणी गरेको भन्दै पिडीत महिलाले राई विरुद्ध जाहेरी दिएकी थिइन । महिलाले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मकवानपुर जिल्ला अदालतबाट डाक्टर राईलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति लिएको छ ।
मकवानपुर । बागमती प्रदेश सभा बैठक भोली पनि नबस्ने भएको छ । २ महिनापछि हिजोको लागि बोलाइएको बैठक हिजो दिनभर दलको नेताहरुबीच सहमती हुन नसकेपछि भोली बुधबारको लागि तय भएको थियो । तर भोली पनि बैठक नबस्ने भएको छ ।
दलहरुबीचको सहमती अनुसार अब भदौं २४ गते अपराह्न साढे ११ बजे बस्ने गरी सरेको प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए । भोलि बस्ने भनिएको बैठक सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुको सहमतिअनुसार भदौ २४ गतेका लागि सारिएको सभामुख पाठकले बताए ।
सोमबार बस्ने भनिएको बैठक सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुबीच सहमती हुन नसक्दा बुधबार बस्ने गरी स्थगित गरिएको थियो । बागमती प्रदेश सभाको बैठक यसअघि गत असार २१ गते बसेको थियो । चालु आर्थिक वर्षको लागि छुट्याइएको बजेटमा प्रतिपक्षीदलसँग भएको सहमती कार्यन्वयनमा नआएको कारण बैठक बस्न समस्या भएको पाइएको छ ।
मकवानपुर । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा सदस्य कुन्दनराज काफ्लेले प्रमुख सचेतकबाट राजीनामा दिएका छन् । उनले बागमती प्रदेशको नेपाली कांग्रेसका बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकबाट राजीनामा दिएका हुन् ।
उनले कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामालाई राजीनामा बुझाएका हुन् । राजीनामा बुझाएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘गतिशील र सवल कांग्रेसले मात्र यो देश र लोकतन्त्रको भविष्य सुनिश्चित हुने सबैमा बोध भएकै कुरा हो । प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखाली जनसेवामा समय अभाव महसुस गरेको छु । अतः केन्द्रीय सदस्यको रुपमा कांग्रेसमा नवीन उर्जा भर्न थप क्रियाशील रहन र दोलखाली जनताको सेवामा थप समर्पित हुन सो पदबाट राजीनामा दिएको छु ।’
काफ्लेलाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको २०७९ माघ २ गते बसेको बैठकले प्रमुख सचेतकमा नियुक्त गरेको थियो ।
काफ्ले प्रदेशसभामा दोलखा निर्वाचन क्षेत्र नम्बर–१ (क) बाट निर्वाचित सांसद हुन् । नेविसंघका पूर्वमहामन्त्री रहेका उनी कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यसमेत भएका थिए ।
काठमाडौ । सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौले १३ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको छ । कार्यालयले ३ वटा निर्माण कम्पनीलाई २ वर्ष, २ वटा निर्माण कम्पनीलाई २ वर्ष, १ निर्माण कम्पनीलाई डेढ वर्ष र ७ निर्माण कम्पनीलाई १ वर्षसम्मका लागि कालो सूचीमा राखेको मंगलबार सूचना प्रकाशित गरी जनाएको छ ।
भदौ १९ गतेदेखी कालो सूचीमा राखिएका १३ निर्माण कम्पनीले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने कार्यालयले जनाइएको छ ।
गणपति कन्स्ट्रक्सन कञ्चनपुर, तथ्य इन्जिनियरिङ एण्ड इन्फास्टक्चर मुम्बई र जोशी विज हाउस प्रालि ३ वर्षसम्मका लागि कालो सूचीमा परेका छन् । यसैगरी शिवालय बिल्डर्स प्रालि मकवानपुर र आज्ञा एण्ड कम्पनी प्रालि विराटनगर २ वर्षसम्मका लागि कालो सूचीमा परेका छन् । यसैगरी चुलीडाँडा निर्माण सेवा, स्वयम्भू काठमाडौंलाई एक वर्ष ६ महिना (डेढ वर्ष) सम्म कालो सूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार प्रकाशित गरेको सूचनामा उल्लेख छ ।
इपिक कम्प्युटर्स ट्रेडर्स काठमाडौं, मकर गणेश कन्स्ट्रक्सन प्रालि काठमाडौ, बाबा इन्फ्राप्रोजेक्ट प्रालि बाँके, नवनिर्माण कन्स्ट्रक्सन एण्ड बिल्डर्स पोखरा, यू.डी. एलिस कन्स्ट्रक्सन एण्ड सप्लायर्स टेकु काठमाडौ, पुतलीकाठ निर्माण सेवा प्रालि दोलखा र अरबिन्द्र कन्स्ट्रक्सन भरतपुर चितवन १ वर्षका लागि कालो सूचीमा परेको कार्यालयले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।
