मकवानपुर । सामुदायिक विकास तथा सचेतना नेपाल र समृद्धि फाइनान्स हेटौडाले वित्तिय साक्षरता र तिज विशेष कार्यक्रम गरेकाे छ । शुक्रबार सचेतना र समृद्धिले हेटौँडा ५ मा वित्तिय साक्षरता तथा तिज विशेष कार्यक्रम गरेकाे हाे ।
कार्यक्रमका आरती पाठकले हरितालिका तिजको अवसरमा शुभकामना व्यक्त गर्दै महीला उद्यमीहरुले काष्ठ हस्तकलाको उत्पादन र विक्रीलाई थप व्यवस्थापन गर्नका लागि वित्तिय साक्षरता कार्यक्रम महत्वपूर्ण रहेको बताइन् । कार्यक्रममा समृद्धि फाइनान्स हेटौँडा शाखाका गम्भीर बतौला, श्रीदा श्रेष्ठ र सम्झना पौडेलले वित्तिय साक्षरता सम्बन्धी अभिमुखीकरण गरेका थिए ।
हेटौँडा ५ का महिला उद्यमीहरुको उपस्थिति रहेकाे कार्यक्रममा सामुदायिक विकास तथा सचेतना नेपाल र समृद्धि फाइनान्स हेटौडाले सहभागीहरुलाई तिजको कोशेली प्रदान गरेकाे थियाे ।
सामुदायिक विकास तथा सचेतना नेपालका अध्यक्ष ध्रुवप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा गैर सरकारी संस्था महासंघ बागमती प्रदेशका अध्यक्ष आरती पाठक, हेटौँडा उपमहानगरपालिका वडा नं ५ का वडा सदस्य रन्जिता सिलवाल, समृद्धि फाइनान्सका शाखा प्रमुख निश्चल लम्साल सामुदायिक विकास तथा सचेतना नेपालका सचिब अनन्त कुमार बानिया, कोषाध्यक्ष सर्मिला अधिकारी लगायतको आथित्यतामा भएको थियाे ।
तिमल्सिनाकाे ‘हार्न नसक्ने मान्छे म’ मामाघरमा विमाेचन
Tags: No Comments
मकवानपुर । मकवानपुरे कवि गणेशकुमार तिमल्सिनाको ‘हार्न नसक्ने मान्छे म’ पुस्तककाे मामाघर नेपालमा विमाेचन गरिएकाे छ । तिमल्सिनाकाे कविता तथा गजल संग्रह ‘हार्न नसक्ने मान्छे म’ को शुक्रबार हेटौडा ११ स्थित मामाघरमा आश्रित ५ जना भान्जाहरुले विमाेचन गरेका हुन ।
पुस्तक विमाेचन पछि पुस्तकका सम्पादक कवि निमेष निखिलले तिमल्सिनाका कविता र गजलहरु उत्कृष्ट रहेको बताए । जीवन भोगाईका सुखदुखकाे अवस्था र अनुभूतिको अभिव्यक्ति नै तिमल्सिनाको कविताको मूल भाव रहेको उनले बताए । प्रतिकुल समयसँग पौँठेजोरी खेल्ने हिम्मत र बाटो बिराएको राजनीतिले सहि बाटो पहिल्याउनु पर्छ भन्ने सन्देश उनको कविता तथा गजलमा समेटिएको निमेषकाे भनाई थियो।
पुस्तक विमाेचन कार्यक्रममा कवि आरसी रिजालले तिमल्सिनाको कविता तथा गजलहरुले वर्तमान मानिसहरुको भावनालाई बोलेको बताए । लामो समयदेखि विभिन्न पत्रपत्रिकामा आफ्ना रचनाहरु प्रकाशन गर्दै आईरहेका तिमल्सिनाले कृति प्रकाशन मार्फत समाजमा भएको समसामयिक विषयलाई उजागर गर्न खोजेको रिजालले जानकारी दिए । कार्यक्रम अनलाईन मिडिया एसोसियसन (ओमान) का अध्यक्ष धर्मेन्द्र दाहालले तिमल्सिनाको कविता तथा गजल संग्रहले मकवानपुरे साहित्यमा थप योगदान दिएको बताए । तिमल्सिनाकाे कविता तथा गजल मार्फत समाजमा ब्याप्त असन्तोष, राजनीतिक खिचातानीलाई ब्याङ्ग्यात्मक शैलीमा उजागर गर्न खोजेको दाहालकाे भनाई थियो ।
‘हार्न नसक्ने मान्छे म’ का सर्जक तिमल्सिनाले आफूले लामो समयदेखि साहित्यको क्षेत्रलाई नियालेको, विभिन्न सञ्चार माध्यममार्फत आफ्ना कविता, गजल सहितका साहित्यक विचारहरुलाई प्रस्तुत गर्ने गरेको बताए । “हार्न नसक्ने मान्छे म” पहिलो पुस्तक भएको भन्दै उनले आगामी दिनमा अन्य साहित्यिक कृतिको तयारी गरेको समेत बताए ।
मामाघर नेपालका सञ्चालक अर्पण पराजुलीको अध्यक्षतामा भएको पुस्तक विमाेचन कार्यक्रममा मकवानपुरका साहित्यकार, राजनैतिककर्मी तथा पत्रकारलगायतका उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । नेकपा एमालेले बागमती प्रदेशकाे प्रथम अधिवेशनकाे तयारी थालेको छ । एमालेकाे आगामी असाेजमा काठमाडाैंमा हुने प्रथम बागमती प्रदेश अधिवेशनकाे लागि तयारी थालिएको हो ।
आगामी असाेज ८ र ९ गते काठमाण्डाैँमा हुने प्रथम बाग्मती प्रदेश अधिवेशनकाे लागि मकवानपुर जिल्लाका ११ हजार ६ सय ८४ पार्टी सदस्यबाट १ सय २५ बरावर १ जना, मजदुर, पेशागत र उत्पिडित क्षेत्रबाट ५० जना बरावर १ जनाकाे व्यवस्था भएकाे र करिव १ सय जना प्रतिनिधि चयन हुने जिल्ला कमिटीका सचिव नवीन सिग्देलले बताए । पालिकाकाे १०, मजदुर र पेशागत क्षेत्रबाट १ जना र उत्पीडित क्षेत्रकाे प्रतिनिधिसभा २ क्षेत्र गरि १३ वटा प्रतिनिधि छनाैट केन्द्र रहने छ । भाद्र २७ गते एकै दिन केन्द्रमा प्रतिनिधि छनाैट हुनेसमेत सचिव सिग्देलले बताए ।
यसैबीच पार्टीलाई बलियाे बनाउनकाे लागि नेता कार्यकर्ताले त्याग गर्न तयार हुनुपर्ने नेकपा एमाले केन्द्रीय पाेलिटव्यूराे सदस्य तथा मकवानपुर ईञ्चार्ज देवी ज्ञवालीले बताएका छन् । नेकपा एमाले मकवानपुरकाे १० औँ जिल्ला कमिटीकाे बैठकलाई सम्बाेधन गर्दै ज्ञवालीले विभिन्न पार्टीबाट प्रवेश गर्नेलाई जिम्मेवारी दिन र नयाँ पुस्तालाई समेटेर नै पार्टी बलियाे बनाउनु पर्ने बताए । पार्टी कामकाे जिम्मेवारी सहमति र समझदारीका साथ लिनकाे लागि उनले निर्देशन समेत दिए । ‘जनविराेधी शक्तिहरूकाे घेराबन्दीकाे बीचमा राष्ट्र र जनताकाे पक्षमा दृढतापूर्वक उभिएकाे एउटा मात्र पार्टी एमाले हाे’ उनले भने ‘एमालेका नेता, कार्यकर्ता त्यागी हुन आवश्यक रहेकाे र पार्टीलाई पहिलाे बनाउने सारथी बन्नु पर्छ ।’
पार्टी मकवानपुर जिल्ला अध्यक्ष एकालाल श्रेष्ठकाे अध्यक्षतामा भएकाे बैठकमा पार्टी केन्द्रीय सदस्यहरू केदार न्याैपाने, रामेश्वर राना, कृष्णप्रसाद दाहाल, केन्द्रीय सल्लाहकार परिषद्का सदस्य सूर्यचन्द्र न्याैपाने, केन्द्रीय निर्वाचन विभागका सदस्य अनन्त पाैडेल, प्रदेश कमिटी सदस्यहरूकाे उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । भदौ २२ गते शुक्रबार आज निजामती सेवा दिवस मनाइदै छ । यस वर्ष ‘व्यावसायिक र सृजनशील प्रशासन: विकास, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ २०औँ निजामती सेवा दिवस मनाउँदै छ।
वि.सं. २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्य नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर वि.सं. २०६२ भदौ २२ गतेबाट औपचारिक रूपमा निजामती दिवस मनाउन थालिएको हो । नेपालमा निजामती सेवा गठन भएको भने ६० वर्ष भएको छ ।
दिवसको अवसर पारेर केन्द्रमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अन्य मन्त्रालयहरूले विभिन्न कार्यक्रमको आयोजना गर्दैछन् भने प्रदेश तथा स्थानीय तहमा समेत विविध कार्यक्रम गरी दिवस मनाइदै छ । केही स्थानीय तहका कर्मचारीले संघीय निजामती ऎन सरकारले ल्याउन नसकेको तथा मन्त्रीपरिषद् बाट संसदमा पेश हुने निर्णय भएको ऎनको बिधेयकमा असहमती जनाउदै दिवस नमनाउने निर्णय गरेका छ्न ।
हरेक वर्ष जस्तै यस वर्ष पनि निजामती दिवसको अवसरमा निजामती कर्मचारीलाई सम्मान तथा पुरस्कार वितरण गरिँदै छ । सरकारले निजामती सेवा दिवसको दिन पुरस्कार पाउनेहरुको नामावली सार्वजनिक गरेको छ ।
एक लाख रुपैयाँ राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार १० जनालाई र ५० हजार रुपैयाँ राशीको निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गर्ने निर्णय बिहीबारको मन्त्रिपरिषद बैठकले गरेको थियो ।
यस वर्ष पनि २ लाख रुपैयाँ पुरस्कार राशीको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाउने कर्मचारी भने सरकारले छनोट गरेको छैन । यो पुरस्कारबाट बिगत वर्षहरु समेत निजामती कर्मचारी पुरस्कृत भएका थिएनन् । करिब ८३ हजार निजामती कर्मचारी कार्यरत रहेकोमा १ जना सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाउने कर्मचारी छनौट गर्न नसक्नु सरकारको कमजोरी रहेको प्रशासनविद बताउछन् ।
२० औँ निजामती सेवा दिवसमा पुरस्कृत ४० कर्मचारीहरु

मकवानपुर । दारको ठेकी र मकवानपुर कुनै समय देशमै चिनिन्थ्यो । पछिल्लो समय काठको ठेकी लोप हुँदै गएको छ भने दार प्रजातीको रुखको संरक्षण नहुदा हराउदै गएको छ ।
कुनै समय मकवानपुरमा बनेका ठेकी देशभरी बिक्रि हुन्थे । मानिसहरु खोजिखोजि मकवानपुरे ठेकी लिन आउथे तर अहिले यो लोभ भएको छ । यो ठेकी बन्ने काठ चाही के को हो भनेर सोध्यो भने यो दार हो भन्ने हामी मध्ये धेरैलाई थाहा छैन । मकवानपुर जिल्लामा दार करिव नगन्य र लोप हुने अवस्थामा छ ।
यसै तथ्यलाई मध्यनजर गरेर डिभिजन वन कार्यालय मकवानपुरले यसको प्रवर्धन गर्न अभियान नै संचालन गरिरहेको छ । मकवानपुरको चिनारी दार र काठको ठेकीको संरक्षण गर्दै पहिचान कायम राख्न मकवानपुर जिल्लामै पहिलो पटक दार पकेट क्षेत्र घोषणा गरिएको छ ।
डिभिजन वन कार्यालय राप्ती मनहरीको सहयोग तथा दरबारडाँडा सामुदायिक वन उपभोक्ता समूह भीमफेदी गाउँपालिका १ को ब्यबस्थापनमा दार पकेट क्षेत्र घोषणा गरिएको हो । विहीबार बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञप्रसाद दाहाल र गाउँपालिकाका अध्यक्ष हिदम लामाको उपस्थितिमा दार पकेट क्षेत्र घोषणा गरिएको हो ।
भीमफेदी १ स्थित दरबारडाँडा सामुदायिक वन उपभोक्ता समूहको जमिनमा दारका बिरुवा रोप्ने तथा संरक्षण समेत गर्ने लक्ष्यले पकेट क्षेत्र घोषणा गरिएको हो । सामुदायिक वनको करिब २ हेक्टर क्षेत्रफल जमिनमा १ हजार ४ सय ५० वटा दारको बिरुवा रोप्ने लक्ष्य लिइएकोले पकेट क्षेत्र घोषणा गरिएको डिभिजन वन कार्यालय राप्तीका प्रमुख विष्णुप्रसाद आचार्यले बताए ।
डिभिजन वन कार्यालय राप्ती मनहरीको आयोजनामा भएको दार वृक्षरोपणअन्तर्गत पहिलो चरणमा ८ सय वटा विरुवा र दोस्रो चरणमा ६ सय ५० वटा विरुवा रोप्ने कार्यक्रम रहेको आचार्यले जानकारी दिए । लोपोन्मुख दारको संरक्षणमा सबै सामुदायिक वनकर्मीहरू लाग्नुपर्ने उनले बताए ।
दारको ठेकी लोप हुँदै गएपछि मकवानपुरमा दारको वृक्षारोपण तथा संरक्षण कार्यलाई डिभिजन वन कार्यालयले निरन्तरता दिदै आएको छ । डिभिजन वनको सक्रियतामा बकैया गाउँपालिका–१२ चपकीमा समेत १ हजार दारको विरुवा रोपिएको थियो ।
