मकवानपुर । नेपाल आयल निगमनले पेट्राेलियम पदार्थकाे मूल्य बढाएको छ । शुक्रबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा लिटरको १ रुपैयाँ तथा डिजेल र मटिट्तेलमा लिटरको ३ रुपैयाँ मूल्य बढाएको निगमले प्रेस विज्ञप्ति मार्फत जनाएकाे हाे ।
यसअनुसार अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मुल्य एक लिटरको १८३ रुपैयाँ पर्नेछ । चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज र नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १८० रुपैयाँ ५० पैसा र सुर्खेत र दाङ क्षेत्रमा १८२ रुपैयाँ पर्नेछ ।
इन्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्यमा क्रमशः प्रतिलिटर १ रुपैयाँ १२ पैसा र २ रुपैयाँ ९१ पैसा वृद्धि भई आएकाले खुद्रा बिक्री मूल्य बढाउनु परेको निगमद्वारा जारी विज्ञप्तीमा भनिएकाे छ ।

हुलाक सेवालाई जिवन्त राख्न स्मार्ट बनाउन जरुरी : मन्त्री श्रेष्ठ
Tags: No Comments
मकवानपुर । बागमती प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री गंगानारायण श्रेष्ठले हुलाक सेवालाई जीवन्त राख्न स्मार्ट बनाउन जरुरी रहेकाे बताएका छन् । हुलाक सेवा विभागले शुक्रबार हेटाैँडामा गरेकाे ‘एक पालिका एक हुलाक कार्यालयको अवधारणा बमोजिम हुलाकको पुनर्सरचना सम्वन्धी अन्तरक्रिया कार्यक्रम’मा मन्त्री श्रेष्ठले यस्ताे बताएका हुन् ।
हुलाक सेवाले ७ सय ५३ स्थानीय तहमा प्रदेश र स्थानीय तहका चिठीपत्र मात्रै होइन, सवारीलाइसेन्स, राहदानी, नागरिकता, जेष्ठ नागरिक परिचयपत्र, राष्ट्रिय परिचयपत्र जस्ता आधारभूत कागजात हुलाक सेवा मार्फत जनताको घरदैलोमा पुर्याउने व्यवस्था मिलाउन सक्नुपर्ने श्रेष्ठले बताए । ‘सूचना प्रविधिबाट भाग्ने होइन, त्यसलाई आत्मसात गर्न सक्नु पर्छ’ मन्त्री श्रेष्ठले भने हुलाकलाई पनि प्रविधिमैत्री बनाएर सफ्टवेयरकाे विकास गर्न सकेमा मात्रै सेवालाई प्रभावकारी रुपमा अगाडि बढाउन सकिन्छ ।’
बागमती प्रदेशका १३ जिल्ला निर्देशनालय तथा बारा, पर्सा, राैतहट, सर्लाही, महाेत्तरी र धनुषा गरि कुल १९ जिल्लाका हुलाक अधिकृत तथा केही स्थानीय तहका प्रतिनिधिहरुसमेतलाई बिद्यमान डाँक रेखा र भावि डाँक व्यवस्थापन, वर्तमान हुलाक सेवा र समसामयिक सुधार,सूचना प्रविधि र प्रणालिकाे प्रयाेगलगायत विषयमा छलफल गरिएकाे विभागका महानिर्देशक प्रदिपराज अधिकारीले जनाकारी दिए ।
पदमपाेखरीमा प्रहरी चौकी भवन
मकवानपुरको पदमपोखरीमा प्रहरी चौकी भवनकाे उद्घाटन गरिएको छ । शुक्रबार प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।
प्रवक्ता श्रेष्ठले बिज्ञान र प्रविधिको जमानामा प्रहरीहरुले पनि सोही अनुरुप अन्तराष्ट्रिय तहको बिज्ञान प्रविधिको प्रयोग गर्न जरुरी रहेको उल्लेख गरे । मन्त्री श्रेष्ठले अहिलेको प्रहरीको क्षमतालाई गुणात्मक ढगले बृद्धि गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले प्रहरीहरुलाई नागरिक मैत्री बनाउने कुरामा प्रदेश सरकार लागि परिरहेको बताउँदै एउटा हातले मात्र तालि नबज्ने भनेझै नागरिकहरु पनि प्रहरी मैत्री बन्न सक्नुपर्नेमा जोड दिए ।

यस्तै, कार्यक्रममा सामाजिक विकास मन्त्री कुमारी मोक्तानले पदमपोखरीमा प्रहरी चौकी स्थापना हुनु खुसीको कुरा भएको बताउँदै यहाँ नागरिक र प्रहरीले समन्वय र सहकार्यमा कार्य गर्नुपर्नेमा जोड दिइन् । मन्त्री मोक्तानले पदमपोखरीमा इलाका प्रहरी कार्यालय आवश्यक रहेको भन्दै यसका लागि प्रदेश सरकारले पहल गरिरहेको बताइन् ।
बागमती प्रदेश सरकारको २ करोड २६ लाख १५ हजार १ सय १७ रुपैयाँ बजेटमा तीन तल्ले प्रहरी चौकीको निर्माण गरिएको हो । १ कठ्ठा ९ धुर क्षेत्रफलमा बनेको प्रहरी चौकी भवनमा महिला र पुरुषका लागि अलग–अलग हिरासत कक्ष, महिला ब्यारेक, कार्यालय प्रमुख निवास रहेका छन् । प्रहरी चौकी निर्माणमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।
मकवानपुर । प्रतिनिधसभा सांसद महेश बर्ताैलाले निकुञ्ज ऎनमा संसाेधन दर्ता गराएका छन् । मकवानपुर जिल्लाकाे मनहरी गाउँपालिका र हेटौडा उपमहानगरपालिकाका विभिन्न वडामा मध्यवर्ती क्षेत्रले समस्या सृजना गरेकाे भन्दै मकवानपुर क्षेत्र नम्बर २ का सांसद बर्तौलाले कानुनी रुपमै समाधान गर्न राष्ट्रिय निकुञ्ज ऎन २०२९ लाई संसोधन गर्न केही संसोधन प्रस्ताव संसद सचिवालयमा दर्ता गरेका हुन् ।
सांसद बर्तौलाले आफ्नो निर्वाचन क्षेत्र मनहरी र हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाका स्थानीयलाई मध्यवर्ती क्षेत्रले समस्या पारेकाेले साेकाे समाधानकाे लागि पटकपटक संसद मार्फत सरकारकाे ध्याकर्षण गराउदै आएका छन् । राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रले सिर्जना गरेको समस्या समाधानकाे लागि नेकपा एमालेका सचेतक समेत रहेका बर्तौलाले यस अघी पीडित मनहरीका स्थानीयहरु सहित प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रीहरूलाई समेत भेटे गरेका थिए ।
मध्यवर्ती क्षेत्रको समस्यालाई दीर्घकालीन समाधान गरी अव्यवस्थित बसोबासी, भूमिहिन सुकुम्बासीलाई जग्गा धनी पुर्जा वितरण गर्न उनले माग गर्दै आएका छन् । निकुञ्ज प्रशासनले मनहरी गाउँपालिका विभिन्न वडाहरु मध्यवर्ती क्षेत्र भित्र पर्ने भन्दै त्यस क्षेत्र भित्र बिकास निर्माण, बाटो, सडक आदि निर्माणमा समेत अवरोध गर्दै आइरहेको छ । मध्यवर्ती क्षेत्र भित्र पर्ने भएकै कारण मनहरी गाउँपालिकामा ५० औं बर्ष अघि देखी बसोबास गर्दै आइरहेका अव्यवस्थित बसोबासी तथा भुमिहिन सुकुम्बासीहरुलाई जग्गा धनी पुर्जा वितरणमा समस्या भएको छ ।
‘प्रधानमन्त्री तथा मन्त्रीलाई भेटेर समस्या अवगत गराउँदा समाधान हुने भयो भनेर ढुक्क हुन्छौं तर महिनौं बित्दा समेत सरकार कानमा तेल हालेर बस्छ, कुनै चासो र चिन्ता नै देखाउदैन’ उनले भने ‘सरकारको त्यही थकाउने गलाउने र केही नगर्ने रवैया कै कारण आफूले राष्ट्रिय निकुञ्ज सम्बन्धी कानुन संसोधनको लागि संसोधन प्रस्ताव दर्ता गरेकाे हुँ । राष्ट्रिय निकुञ्ज सम्बन्धी कानूनमा परिमार्जन नभएमा अझै लामो समय सम्म नागरिकले सास्ती र दुःख भोगिरहनु पर्ने अवस्था जिउँकातिउँ रहीरहने उनले बताए । ‘समस्याको दिर्घकालिन समाधान गर्न कानुनमै परिमार्जन गर्नुपर्ने आवश्यक्ता भएकोले यो संशोधन प्रस्ताव दर्ता गरिएको हाे’ उनले भने ।
बर्तौलाका अनुसार “राष्ट्रिय निकुञ्ज ऐन २०२९ माथि आफूले संसद सचिवालयमा दर्ता गरेको दुबै संशोधन प्रस्ताव पारित भएमा मध्यवर्ती क्षेत्रका देश भरिका जनताले लामो समय देखी भोगिरहेका पिडा र समस्याहरु स्थायी ढंगले कानून बमोजिम नै समाधान हुनेछन् । निकुञ्ज प्रशासनको हुकुमी शासन समाप्त हुनेछन् । निकुञ्ज प्रशासन र मध्यवर्ती क्षेत्रका कारण स्थानीय जनताहरुले भोग्नु परेको समस्याहरुलाई कानूनलाई नै परिमार्जन गरि दीर्घकालीन रूपमा समाधान गर्न संसोधन प्रस्ताव दर्ता भएकोमा यस प्रस्तावलाई सत्ता पक्षले कसरी लिन्छन् भन्ने कुरामा आफूले नजीकबाट अध्ययन गरिरहेको र यस विषयमा उनीहरुको परीक्षा समेत भएको सांसद बर्तौला बताउँछन् ।
मध्यवर्ती क्षेत्रले सिर्जना गरेका समस्याहरु कानुनी रूपमै समाधानको माग पुरा नभएसम्म आफू संसद मार्फत एक्लै भए पनि लडिरहने र यो समस्या कुनै पनि हालतमा आफ्नो कार्यकाल भित्र कानुनी रुपमै समाधान गराई छाड्ने समेत उनले बताए ।
राष्ट्रिय निकुञ्ज सम्बन्धी विद्यमान कानूनमा संशोधनकाे लागि दर्ता गरिएकाे प्रस्ताव
१. विभिन्न कानूनमा संरक्षित क्षेत्र भन्ने शब्द प्रयोग हुँदै आएको र हालसम्म उक्त शब्द परिभाषित नभएकोले स्पष्टताको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २ को खण्ड (ञ३) पश्चात् देहायको खण्ड (ञ४)थप गर्नेः
(ञ४) “संरक्षित क्षेत्र भन्नाले राष्ट्रिय निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्रलाई सम्झनु पर्दछ ।
२.राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २(ङ२) मा गरिएको मध्यवर्ती क्षेत्रको हालको परिभाषाले वन पैदावार लगायतका प्राकृतिक स्रोतको उपभोग गर्न, भुमिहिनहरु र अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी पुर्जा वितरण गर्न तथा धनी पुर्जा भएको निजी जग्गामा समेत घर गोठ बनाउन अवरोध भएकोले सो परिभाषाको सट्टामा देहायको परिभाषा राख्न प्रस्ताव गरिएको छ ।
२(ङ२) “मध्यवर्ती क्षेत्र”(वफर जोन) भन्नाले स्थानीय जनतालाई नियमित रुपमा वन पैदावार लगायतका प्राकृतिक स्रोत उपभोग गर्न पाउने सहुलियत, सुविधा र पहुँच प्रदान गर्नको लागि स्थानीय समुदाय र सम्बन्धित स्थानीय तहसँगको परामर्श र सहमति बमोजिम बसोवास क्षेत्र र निजी जग्गा जमिन नपर्ने गरी राष्ट्रिय निकुञ्ज वा आरक्ष वरिपरी दफा ३(क)बमोजिम निर्धारण गरिएको क्षेत्र सम्झनु पर्दछ भन्ने परिभाषा प्रस्ताव गरिएको छ ।
मकवानपुर । हेटौंडा १८ रामधुनी स्थित भावना आधारभूत विद्यालयका बिद्यार्थीहरुलाई पूर्व विद्यार्थीले पाेसाक सहयाेग गरेका छन् । ५९ औं राष्ट्रिय बाल दिवस एंव विद्यालयको ३४ औं स्थापना दिवसका अवसरमा ८२ जना विद्यार्थीहरुका लागि विद्यालयका पूर्व विद्यार्थी प्रदिप पौडेलले पोसाक सहयोग गरेका हुन् ।
जीतपुरसिमरा उपमहानगरपालिका ४ बाराका सामाजिक अभियन्ता बिनोद सापकोटा समेतकाे सहयाेग रहेकाे कार्यक्रममा १ लाख १ हजार रुपैयाँ बराबरको ट्र्याक सुट पौडेलले विद्यार्थीलाई बितरण गरेका हुन् । ‘विद्यालयलाई केही सहयाेग गर्ने इच्छा पहिलेदेखी हाे’ पाेसाक वितरण गर्दै पौडेलले भने ‘आफूले कखरा अध्ययन गरेको बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ट्र्याक सुट सहयोग गरेको हुँ ।’ आगामी दिनमा अन्य बिद्यालयहरुमा सहयोग गर्ने प्रतिबद्धता पौडेलले गरेका छन् ।
हेटौंडा उपमहानगरपालिका १८ नम्बर वडा अध्यक्ष अनिल कुमार बानियाँले पूर्व विद्यार्थीबाट बिद्यालयले सहयोग पाउनु सह्रानीय कार्य भएको बताउँदै बिद्यालयको खाजघर निर्माणका लागि ५ लाख बजेट बिनियोजन भएको जानकारी दिए । बिद्यालयकी प्रधानाध्यापक रुपा श्रेष्ठले अध्ययनरत विद्यार्थी बिपन्न परिवारका रहेकोले पढाउने खर्च समेत नहुँदा यस्ताे सहयोगले अध्ययनमा टेवा पुग्ने भएकाेले खुशी व्यक्त गरिन् । उनले ट्र्याक सुट सहयोगले बिद्यार्थीकाे पाेशाकमा एकरुपता आउनु र अभिभावकलाई आर्थिक भार कम पर्ने भएकाेले पौडेललाई धन्यवाद व्यक्त गरिन् ।
यसैगरी २०४८ देखि २०७३ सालसम्म उक्त बिद्यालयमा अध्यापन गराउनु भई सेवा निवृत्त भएकी शिक्षक सुमित्रा भण्डारीलाई सम्मान समेत गरिएको छ । पौडेलले आफूलाई सुरुवाती समयमा कखरा सिकाउने गुरुआमा भण्डारीलाई मायाकाे चियाे दाेसल्ला सहित सम्मान गरिएकाे बताए । स्थायी घर हेटौडा १८ हर्नामाडी रामधुनी भएका पौडेल हाल काठमाडाै बस्दै आएका छन् ।
२०४६ सालमा स्थापना भएको भावना आधारभूत विद्यालय नर्सरीदेखी ५ कक्षासम्म अध्यापन हुँदै आएकाे छ । अहिले ८२ जना विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । सहयाेग कार्यक्रममा १८ नम्बर वडा सदस्य पुजा मंग्राती, भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र हेटौंडाका लेखा अधिकृत प्रकाश खतिवडा, अभिभावक, विद्यार्थीलगायतको सहभागिता रहेको थियो ।
मकवानपुर । मकवानपुर बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्षमा अनन्तप्रसाद पौडेल चयन भएका छन् । सत्रौं क्याम्पस सभाबाट पौडेल सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।
शुक्रबारकाे क्याम्पस सभाबाट दोस्रो कार्यकालका लागि पौडेल अध्यक्ष चयन हुँदा सञ्चालक समितिको सदस्यमा नवराज विष्ट, विष्णुप्रसाद दाहाल, बद्रीप्रसाद लम्साल, माइकल रामचन्द्र अर्याल, कृष्णप्रसाद धिताल, अशोक शाक्य, प्रल्हाद लामिछाने र सर्केश घलान चयन भएका छन्।
यसैगरी क्याम्पस सभाले नवराज अर्यालकाे संयाेजकत्वमा ध्रुब बहादुर भुजेल, रमिला कुमारी सापकोटा र अप्सरा बस्नेत सदस्य रहेकाे लेखा समिति समेत सर्वसम्मत चयन गरेको छ । समितिको कार्यकाल ४ वर्षको हुनेछ ।
यसअघी सभाका जेष्ठ सदस्य तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा क्याम्पस सभा भएकाे हाे । सभामा मकवानपुर क्षेत्र नम्बर–१ का सांसद दिपक बहादुर सिंह, क्षेत्र नम्बर –२ का सांसद महेशकुमार बर्तौला, प्रदेश सांसदहरु प्रेम बहादुर पुलामी, एकालाल श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, संबिधान सभा सदस्य प्रल्हाद लामिछाने, जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित घलान, बागमती गाउँपालिकाका अध्यक्ष सर्केस घलान लगायतकाको आतिथ्यता रहेको थियो ।
क्याम्पस संचालक समितिका अध्यक्ष अनन्त पौडेको अध्यक्षताम भएको सभामा संचालक समितिका कोषाध्यक्ष हिरालाल श्रेष्ठले कोषाध्यक्षको प्रतिवेदन, क्याम्पस सेवा समितिका अध्यक्ष बद्री प्रसाद लंसालले सेवा समितिले प्रतिवेदन र लेखा समितिका अध्यक्ष हरिप्रसाद हुमागाईंले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
