मकवानपुर । मकवानपुर ईन्द्रसरोबरबाट हराएको मानिस मृत फेला परेको छ ।
भदौ ३० गते ईन्द्रसरोबर २ ठुलोटारकी ९१ वर्षीय पुतलीमाया घलान हराएकोमा असोज २ गते मृत फेला परेको मकवानपुर प्रहरीले जनाएको छ । ईन्द्रसरोबर ३ स्थित छोरीको घरबाट घलान हराएको भनी आफन्तले भदौ ३१ गते प्रहरी चौकी सिस्नेरीमा जानकारी गराएका थिए ।
प्रहरी र आफन्तले खोज तलास गरिरहेकोमा भिरबाट करिब २०० मिटर तल खसी लडी मृत्यु भएको अवस्थामा घलानलाई असोज २ गते आफन्तले फेला पारी प्रहरीलाई खबर गरेका थिए ।
बागमती प्रदेश प्रहरी कार्यालयको बिपद ब्यबस्थापन टोली र ईलाका प्रहरी कार्यालय भिमफेदी मकवानपुरबाट खटिएको टोलीले भीरबाट घलानको शव निकालिएको थियो ।
शवको मुचुल्का पश्चात पोष्टमार्टमका लागि हेटौंडा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर । मकवानपुरको बकैयामा मिक्सरमाथि टिपर खस्दा २ जना घाइते भएका छन् । हेटौडा काठमाडाै कान्तिलोकपथ अन्तरगत बकैया– ११ घट्टेपाखा मिक्सरमाथि टिपर खसेकाे थियाे ।
तराई–मधेस दुर्तमार्ग निर्माणकालागि बाराको निजगढबाट गिट्टि बोकेर आएको ना ८ ख ४९९० नम्बरको टिपर अनियन्त्रित भई सडक बाट अन्दाजी १०/१२ मिटर तल दुर्तमागको सुरुङ्मार्गबाट कान्तीलोकपथ तर्फ निस्कदै गरेको बागमती प्रदेश ०१-००४ ख ०२८५ नम्बरको मिक्सर माथी खसेको हाे ।
दुर्घटनामा मिक्सर चालक मकवानपुर गढी–१ पुतलीडाडाका ३३ बर्षीय जित बहादुर भोलन र टिपर चालक मकवानपुगढी– ४ का ३३ बर्षीय सन्तबहादुर भोलन घाइते भएको मकवानपुर प्रहरीले जनाएकाे छ । मिक्सर चालक भोलनको कम्मरको भागमा चोट रहको र टिपर चालक भोलनको दुबै खुट्टा र छातिमा चोटले अवस्था गम्भीर रहेको जनाइएको छ ।
घाइते दुवै जनालाई हेटौँडामा उपचार सम्भव नभएपछि थप उपचारको लागि चितवन रिफर गरिएको प्रहरीले जानकारी दिएकाे छ ।
मकवानपुर । मकवानपुर प्रहरीले हेटौँडाबाट लागूऔषध गाँजा १० केजी सहित २ जनालाई नियन्त्रणमा लिएकाे छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका ११ थानाभर्याङ स्थित पूर्व–पश्चिम सडक खण्डमा लागूऔषध गाँजा सहित उनीहरुलाई नियन्त्रणमा लिएकाे जनाएकाे छ ।
मंगलबार राति मनहरी तर्फबाट बिरगंज तर्फ जादै गरेको ना ६ ख १५८६ र ग ७ ख २२४० नम्बरको बसलाई जाँच गर्ने क्रममा १५८६ नम्बरको बसलाई नियमित जाँच गरेकाे थियाे । साे क्रममा १५८६ नम्बर बसमा सवार पर्सा मधुवन गाउँपालिका–२ का ४० वर्षीय सलामा खातुनकाे साथबाट लागुऔषध गाँजा ३ केजी १ सय ग्राम फेला परेकाे प्रहरीले जनाएकाे छ ।
यसैगरी २२४० नम्बरको बसमा सवार हेटौंडा–१५ का ३२ वर्षीया सामुएल प्रजाकाे साथबाट ७ केजी २ सय ५० ग्राम गाँजा फेला परेकाेले नियन्त्रणमा लिइएकाे प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ । खातुन र प्रजाले बाेकेकाे झोलाबाट उक्त परिमाणकाे गाँजा फेला परेकाे हाे । दुवै जनालाई गाँजा सहित नियन्त्रणमामा लिइ आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
मकवानपुर । हेटौडा १२ का राजेश प्रधानको परिवारकाे न्यायका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापन पत्र बुझाइएको छ । न्यायिक समिति पदमपोखरी संघर्ष समिति १२, १३ र १४ नम्बरले प्रधानले न्याय पाउनु पर्ने तथा परिवारकाे सदस्यलाई रिहा गर्नु पर्ने भन्दै मंगलबार ज्ञापनपत्र बुझाएकाे हाे ।
गत साउन २५ गते उपचारकाे क्रममा चितवनमा प्रधानको मृत्यु भएको थियो । डाक्टरकाे हेलच्याक्राई तथा लापरबाहीको कारणले समयमा पाउनु पर्ने उपचार नपाएकोले प्रधानको निधन भएको पिडित परिवारले बताएकाे छ । प्रधान परिवारले डाक्टरमाथि हातपात गरेकाे विषयलाई लिएर चिकित्साक संघले आन्दोलन गरी प्रधानका परिवारलाई कानुनी दायरामा ल्याउन समेत माग गरेका छन् । हातपात गर्ने प्रधानका परिवारका ४ सदस्य प्रहरी हिरासतमा रहेका छन् भने अन्य व्यक्तिलाई पक्राउ पुर्जी जारी गरिएकाे प्रहरीले बताएकाे छ ।
स्वर्गीय प्रधानका परिवारका सदस्यले प्रधानलाई चितवन रेफर गर्ने हेटौंडा १ मा रहेकाे सन्चो हस्पिटलमा कार्यरत् डाक्टरमाथि हातपात गरेका थिए । तर स्वर्गीय प्रधानका परिवार भने हामी पिडक होइन पीडित हो भन्दै आएका छन् । सम्बन्धित निकायले सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाही गरि पाउनको लागि अनुरोध गर्दा समेत वेवास्था गरिएको प्रशासन कार्यालयमा बुझाइएकाे विज्ञप्तिमा भनिएकाे छ ।
सन्चाे हस्पिटलका संचालक समितिको पदाधिकारीसँग छलफल गर्न जादाँ उपस्थित नभई डाक्टर विकास थापा र प्रशान्त विडारीलाई पठाइएकाे भन्दै प्रधानकाे श्रीमतीले श्रीमान गुमाएको आवेगमा सामान्य हातपात समेत गर्नुपर्ने अवस्था आएकाे तर उक्त घटनालाई सामन्यीकरण, समन्वय नगरी मिडियामा वढीचढाउ गरी सूचना सम्प्रेषण गरेको समेत विज्ञप्तीमा उल्लेख छ ।
सोहि घटनालाई सामाजिक संजालमा वास्तविक सत्य तथ्य कुरै नबुझी समग्र पदमपोखरीबासीलाई आँच आउन, सामाजिक साँस्कृतिकमा विचलन ल्याउने खालकाे अभिव्यक्ति सामाजिक सञ्जालमा पाेष्ट गर्ने कृष्ण थापालाई कारवाही गर्न समेत विज्ञप्तिमा भनिएकाे छ ।
साथै पिडित स्वर्गीय प्रधानको सपरिवारलाई यथाशीघ्र निसर्त रिहा गर्नु पर्ने न्यायिक समिति पदमपोखरी संघर्ष समिति १२, १३ र १४ नम्बरका संयोजक सुर्यबहादुर थोकरले बताए ।
मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानले परिकल्पना गरेको विकास र समृद्धिको शिखरमा पुग्ने अभियानमा निरन्तर अघि बढ्न संविधान दिवसले सबैलाई प्रेरित गरोस् भन्ने कामना गरेका छन् । ‘संविधान दिवस २०८०’ का सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले हामीले प्राप्त गरेको संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सुत्रमा बाँध्ने काम गरेको बताएका छन् ।
प्रमुख शर्माले नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानपछि जननिर्वाचित प्रतिनिधीहरुले संविधान निर्माण गरी जारी गरेको ऐतिहासिक दिन आश्विन ३ गते रहेकाले यो दिनलाई भरपुर उत्साह र उमङ्गका साथ ‘संविधान दिवस’ का रुपमा मनाईरहेका उल्लेख गरेका छन् । प्रमुख शर्माले संविधान दिवस सम्पूर्ण नेपालीहरुले राष्ट्रिय पर्वका रुपमा मनाउने गरिएको बताउँदै शुभकामनामा विभिन्न आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने वीर सहिदहरुप्रति गहिरो सम्मान प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली समेत अर्पण गरेका छन् ।
जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार,आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणा लगायत लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने संकल्पसहित संविधान जारी भएको प्रमुख शर्माको भनाई छ ।
जनजीविकाको लागि अपरिहार्य शिक्षा, स्वास्थ्य र रोजगारीको हकसहित ३१ वटा मौलिक हकको व्यवस्था गरी नागरिकहरुलाई यो संविधानले अधिकार सम्पन्न बनाएको छ साथै, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्धारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने मार्गरेखा समेत यही संविधानमार्फत कोरिएको पनि प्रमुख शर्माको शुभकामना सन्देशमा उल्लेख छ ।

