मकवानपुर । हेटौडा १२ का राजेश प्रधानको परिवारकाे न्यायका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापन पत्र बुझाइएको छ । न्यायिक समिति पदमपोखरी संघर्ष समिति १२, १३ र १४ नम्बरले प्रधानले न्याय पाउनु पर्ने तथा परिवारकाे सदस्यलाई रिहा गर्नु पर्ने भन्दै मंगलबार ज्ञापनपत्र बुझाएकाे हाे ।
गत साउन २५ गते उपचारकाे क्रममा चितवनमा प्रधानको मृत्यु भएको थियो । डाक्टरकाे हेलच्याक्राई तथा लापरबाहीको कारणले समयमा पाउनु पर्ने उपचार नपाएकोले प्रधानको निधन भएको पिडित परिवारले बताएकाे छ । प्रधान परिवारले डाक्टरमाथि हातपात गरेकाे विषयलाई लिएर चिकित्साक संघले आन्दोलन गरी प्रधानका परिवारलाई कानुनी दायरामा ल्याउन समेत माग गरेका छन् । हातपात गर्ने प्रधानका परिवारका ४ सदस्य प्रहरी हिरासतमा रहेका छन् भने अन्य व्यक्तिलाई पक्राउ पुर्जी जारी गरिएकाे प्रहरीले बताएकाे छ ।
स्वर्गीय प्रधानका परिवारका सदस्यले प्रधानलाई चितवन रेफर गर्ने हेटौंडा १ मा रहेकाे सन्चो हस्पिटलमा कार्यरत् डाक्टरमाथि हातपात गरेका थिए । तर स्वर्गीय प्रधानका परिवार भने हामी पिडक होइन पीडित हो भन्दै आएका छन् । सम्बन्धित निकायले सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाही गरि पाउनको लागि अनुरोध गर्दा समेत वेवास्था गरिएको प्रशासन कार्यालयमा बुझाइएकाे विज्ञप्तिमा भनिएकाे छ ।
सन्चाे हस्पिटलका संचालक समितिको पदाधिकारीसँग छलफल गर्न जादाँ उपस्थित नभई डाक्टर विकास थापा र प्रशान्त विडारीलाई पठाइएकाे भन्दै प्रधानकाे श्रीमतीले श्रीमान गुमाएको आवेगमा सामान्य हातपात समेत गर्नुपर्ने अवस्था आएकाे तर उक्त घटनालाई सामन्यीकरण, समन्वय नगरी मिडियामा वढीचढाउ गरी सूचना सम्प्रेषण गरेको समेत विज्ञप्तीमा उल्लेख छ ।
सोहि घटनालाई सामाजिक संजालमा वास्तविक सत्य तथ्य कुरै नबुझी समग्र पदमपोखरीबासीलाई आँच आउन, सामाजिक साँस्कृतिकमा विचलन ल्याउने खालकाे अभिव्यक्ति सामाजिक सञ्जालमा पाेष्ट गर्ने कृष्ण थापालाई कारवाही गर्न समेत विज्ञप्तिमा भनिएकाे छ ।
साथै पिडित स्वर्गीय प्रधानको सपरिवारलाई यथाशीघ्र निसर्त रिहा गर्नु पर्ने न्यायिक समिति पदमपोखरी संघर्ष समिति १२, १३ र १४ नम्बरका संयोजक सुर्यबहादुर थोकरले बताए ।

