मकवानपुर । नेकपा एमाले बाग्मती प्रदेशको प्रथम अधिवेशनको अबधी लम्बिएको छ । असोज ८, ९ र १० गतेका लागि तय भएको अधिवेशन अरू १ दिन लम्बिएको हो ।
नेकपा एमाले बागमती प्रदेश कमिटीको नेतृत्व सहमतिमै चयन गर्ने प्रयास सफल हुन सकेन । निर्वाचन मार्फत पदाधिकारी चयन गर्नु पर्ने भएकोले अधिबेशन लम्बिएको हो । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित २ सय ४० सदस्यीय पहिले भन्दा सानो नयाँ नेतृत्व चयन गर्दैछ ।
असोज ८ गते उद्घाटन गरिएको अधिबेशनको हिजाे बन्द सत्र सकिएको छ । बन्द सत्रले बागमती प्रदेश इन्चार्ज समेत रहेका गुरु बरालको नेतृत्वमा ११ सदस्यीय निर्वाचन मण्डल गठन भएको छ । निर्वाचन मण्डलको सदस्यहरूमा शेरबहादुर तामाङ, देवी ज्ञवाली, आनन्दप्रसाद पोखरेल, गोकुलप्रसाद बाँस्कोटा, कमल चौँलागाईँ, रामेश्वर फुयाँल, कृष्णबहादुर राई, सुशीला नेपाल, पार्वत गुरुङ र रत्ना गुरुङ छन् ।
नेतृत्व चयनपछि अधिवेशन समापन हुने भएकाले अधिवेशन अवधि लम्बिएको हो । अधिबेशन अन्तरगत असोज १० गते बिहान ९ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिने तालिका सार्वजनिक गरिएको छ । यस्तै बिहान ९:३० बजेदेखि ११:३० बजेसम्म उम्मेदवारको मनोनयन दर्ता, दिउँसो ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन र असोज ११ गते बिहान ८ बजे मनदान सुरु हुने अधिवेशनमा सहभागी एक प्रतिनिधिले जानकारी दिए ।
केन्द्रीय नेताहरूले समेत चासोका साथ हेरेको अधिबेशनमा नेतृत्वका लागि आकांक्षिहरूको लर्को लाग्दा अधिवेशन थप रोचक बनेको ती प्रतिनिधिले बताए ।
एमाले बागमती प्रदेश कमिटी अध्यक्ष पदमा नेतृत्वले सहमतिको प्रयास गरे पनि सफल हुन सकेको छैन । प्रदेश अध्यक्ष पदका लागि नेताहरू कैलाश ढुंगेल, कृष्णप्रसाद दाहाल, कृष्णभक्त पोखरेल, केशव पाण्डे र सानु श्रेष्ठले आकाक्षा देखाएका छन् ।
अध्यक्षमा पाँच आकांक्षि देखिए पनि अन्तिममा केन्द्रीय सदस्यहरू रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्ण दाहालबिच प्रतिस्पर्धा हुने देखिएको अधिबेशन प्रतिनिधि बागमतीका नेता बताउछन् । आकांक्षिहरूले एकले अर्कालाई छोड्न तयार नभएकाले निर्वाचनमार्फत नै नेतृत्व चयन गर्नु पर्ने अबस्था आएको हो ।
सोमबार भृकुटीमण्डपमा अविधेशनको उद्घाटन गर्दै अध्यक्ष केपी ओलीले प्यानल बनाएर प्रतिस्पर्धामा गए उम्मेदवारी नै खारेज गर्ने चेतावनी दिएर सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि दबाब सहितको आग्रह गरेका थिए ।
लुम्बिनी प्रदेशमा आफ्नो इच्छा विपरीत नेतृत्व चयन भएपछि बागमतिमा पनि प्रतिस्पर्धा हुने बुझेका ओलीले ‘प्रतिष्पर्धा गरौं, तर प्यानल बनाइएको थाहा भयो भने प्यानल नै खारेज हुनेछ भन्ने अभिव्यक्ति दिएका हुन ।
प्रदेश अधिवेशनको उद्घाटन सभा गृहमा भएकोमा बन्दसत्र प्रज्ञा प्रतिष्ठानमा भएको थियो । मतदान पार्टी कार्यालय च्यासलमा हुने बताइएको छ ।
मकवानपुर । हेटौडामा रहेकाे किताबघरले पुस्तक प्रदर्शनी यात्रा २०८० सुरु गरेकाे छ । हेटौडा ५ भैरबराेडमा रहेकाे किताबघरले मंगलबारबाट पुस्तक प्रदर्शनी यात्रा सुरु गरेकाे हाे ।
मंगलबार हेटौंडा–८, कमानेस्थित कमाने एकेडेमीबाट ‘किताबघर पुस्तक प्रदर्शनी यात्रा २०८०’ सुरु गरिएको किताबघरका सञ्चालक छवि अनित्यले जानकारी दिए ।
सञ्चालक छविका अनुसार असोज महिनाभर चल्ने प्रदर्शनीमा हेटौंडा उपमहानगरपालिकामा सञ्चालित सामुदायीक र संस्थागत गरी ८ वटा विद्यालय समेटिने छन् । बालबालिकामा पठन संस्कृतिको विकासकाे लागि किताबघरले स्कुलस्कुलमै पुगेर प्रदर्शनी गर्ने योजना बनाएको संचालक छवि बताउँछन् ।
‘नेपाली तथा अङ्ग्रेजी भाषासाहित्य, इतिहास, विज्ञान, खेलकुद लगायतका ४ सय बढी शीर्षकका बालपुस्तक प्रदर्शनीमा उपलब्ध हुनेछ’ उनले भने ‘प्रदर्शनीमा विद्यार्थीहरूले आफूलाई मनपरेका किताब खरिद गर्न सक्नेछन् ।’ मंगलबार कमाने एकेडेमीबाट सुरु भएको प्रदर्शनी यात्रा बुधबार कमानेकै माउन्ट एभरेष्ट बोर्डिङ र शुक्रबार हेटौडा १८ हर्नामाडीस्थित मकवानपुर बाल विद्या सदनमा हुनेछ ।
यस्तै, असोज १६ गते जनप्रिय मावि हेटौडा १६, हटिया, १९ गते रेड रोज इङलिस स्कुल, २३ गते प्रगति मावि हेटौडा ९ लामसुरे, २६ गते बालजागृति इङलिस स्कुल हेटौडा २ र ३० गते ज्ञानदीप शिक्षा (जीएस) निकेतन हेटौडा ५ मा पुस्तक प्रदर्शनी गरिने उनले बताए ।

मकवानपुर । मकवानपुर प्रहरीले चिरान काठसहित ३ जनालाई नियन्त्रणमा लिएकाे छ । असाेज ९ गते दिउँसाे ३८.२५ क्यु फिट सालकाे काठ सहित उनीहरुलाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ ।
अस्थायी प्रहरी पाेष्ट हटिया मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका १६ शक्तिश्वरबाट चिरानकाे काठ सहित ५५ वर्षीय बालकृष्ण चौलागाईं, ३८ वर्षीय नेत्र बहादुर मगर, ५३ वर्षीय धन बहादुर पुलामीलाई नियन्त्रणमा लिएकाे मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।
चौलागाईको घर नजिकै बारीमा काठ काटिरहेको अवस्थामा सालको चिरान काठ र गोलाई काठ २५.२८ क्यु फिट र चौलागाईकै घरबाट १२.९७ क्यु फिट सालको काठसहित चौलागाई, मगर र पुलामीलाई नियन्त्रणमा लिएकाे भण्डारीले बताए । नियन्त्रणमा लिइएका ३ नै जनालाई आवश्यक अनुसन्धान र कारवाहीकाे लागि सब डिभिजन बन कार्यालय हर्नामाडी, मकवानपुरमा पठाईएको प्रहरीले बताएकाे छ ।
मकवानपुर । मकवानपुर प्रहरीले गाँजा खेती नष्ट गरेकाे छ । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मकवानपुरबाट खटिएकाे प्रहरी टाेलीले १५ बिगाहा अवैध लागूऔषध गाँजा खेती नष्ट गरेकाे हाे ।
असोज ६, ७ र ८ गते प्रहरीले राक्सिराङ गाउँपालिका ९ धाधुङ, सुकेल तेन्चुराङ्, वडा ४ स्थित खुर्कोट, चौकीटार, साईता र वडा ५ स्थित बोटबारीलगायतको स्थानहरुमा अवैध रुपमा लगाईएको १५ बिगाहा लागूऔषध गाजाँ खेती नष्ट गरिएको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले बताए ।
खोलाले बगाँउदा बालकको मृत्यु
Tags: No Comments
मकवानपुर । मकवानपुरमा खाेलाले बगाउँदा बालककाे मृत्यु भएकाे छ । हेटौंडा ४ निवासी १० वर्षीय बालकको राप्ती खाेलाले बगाउँदा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएकाे छ ।
हेटौंडा ४ भैरब रोड बस्ने फिरज अन्सारीको छोरा १० वर्षीय संसाद अन्सारी राप्ती खाेलामा नुहाउने क्रममा बगाउँदा मृत्यु भएकाे हाे । संसाद घर परिवार सहित हेटौंडा १ मा रहेको तरकारी बजार नजिक रहेको राप्ति खोलामा नुहाउने क्रममा खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उनलाई खाेलाले बगाएर ५ सय मिटर तल राप्ति पुल नजिक पुर्याएकाेमा बेहोस अबस्थामा फेला पारी उपचारको लागि हेटौडा हस्पिटल लगिएकाेमा डाक्टरले मृत घोषणा गरेकाे मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार बालकको शव हेटौंडा अस्पतालको शव गृहमा राखिएको तथा कानूनी प्रक्रिया पुरा गरी आफन्तलाई बुझाउने तयारी भइरहेको छ ।
