मकवानपुर । हेटौंडा जेसीजकाे वतृत्वकला प्रतियोगितामा नवलपुर जिल्लाकी यमकला पौडेल प्रथम भएकी छिन् । हेटौंडा जेसीजकाे आयोजना भएकाे राष्ट्रियस्तरको वकृत्वकलामा पौडेल प्रथम हुँदै पुरस्कार स्वरुप नगद २५ हजार प्राप्त गरिन् ।
‘कहाँ छ खुसी’ शीर्षकमा देशैभरबाट छनौट भएका १० जना विद्यार्थीहरुबीच आज फाइनल प्रतियोजिता भएको हो । फाइनल प्रतियाेगितामा पौडेल प्रथम भइन् भने पोखराकी सुस्मा आचार्य द्वितीय र नवलपुरकै पुजा पराजुलीले तृतीय स्थान प्राप्त गरेकी थिइन् । द्वितीय र तृतीय हुने आचार्य र पराजुलीले क्रमशः नगद १५ हजार र १० हजार प्राप्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाल सरकारका उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले विजयी तथा सहभागीहरुलाई नगद सहित प्रमाणपत्र प्रदान गरेका थिए । हेटौंडा जेसीजले सन् २०२० बाट वर्षेनी वतृत्वकला (पब्लिक स्पिकिङ) प्रतियोगिता आयोजना गर्दै आएको हेटौंडा जेसीज वर्ष २०२३ का अध्यक्ष श्रवणकुमार बर्तौलाले जानकारी दिए ।
कार्यक्रममा प्रतियोगिताका निर्णायक घनश्याम घिमिरे, निमेष निखिल, निरा शर्मा र दिपकराज मिश्रलाई सम्मान गरिएको थियो ।वतृत्वकला (पब्लिक स्पिकिङ) प्रतियोगितामा सन् २०२० मा प्रिन्सि काफ्ले, २०२१ मा रिमा काफ्ले र सन् २०२२ मा गरिमा घिमिरे प्रथम भएका थिए ।
मकवानपुर । संघीय सरकार उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको लोकतान्त्रिक आन्दोलन सफल बनाउन तथा राजनीति परिवर्तनकाे लागि संचार जगतकाे योगदान रहेकाे बताएका छन् । साेमबार हेटाैडामा श्रेष्ठले भने “हामीले धेरै दुख र मेहनतले आजको ब्यबस्था ल्याउन सफल भएका हौं यसमा संचार जगतकाे याेगदान भुल्न सिकदैन ।’ मकवानपुरबाट प्रसारित रेडियो सन्देश, निकास साप्ताहिक र अनलाइन मिडिया थाहा नेपाल डटकमको संयुक्त वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।
‘नेपालमा जुन प्रकृतिको राजनीतिक परिवर्तन भयो सो अनुरुप समृद्धि र बिकासको क्षेत्रमा जनभावना अनुरुप काम गर्न नसकिएको सत्य हो’ उनले भने ‘परिवर्तनलाई संस्थागत गर्नु र जनताको जीवनस्तर उकास्नु आजको आवश्यकता हो ।’ ‘सुशासन, समृद्धि, समाजिक न्याय सरकारकाे मुल मन्त्रको रुपमा रहेको छ’ उनले भने । अहिलेको सरकारले नागरिकको अपेक्षा अनुसार काम गर्न नसके वर्तमान राजनीतिक व्यवस्थाको औचित्य नरहने बताउँदै उनले नागरिकले अनुभूति गर्ने गरी सरकारले काम गर्न नसकेको खण्डमा लामो संघर्ष पछि प्राप्त भएको राजनीतिक व्यवस्था परिवर्तनको औचित्य नहुने तर्क गरे ।
मन्त्री श्रेष्ठले सरकारले चलाएको भ्रष्टाचार विरुद्धको अभियानलाई प्रभावित बनाउने प्रयासहरू भइरहेको दाबी गरे । सरकारले सञ्चालन गरेको सुशासनको अभियानविरुद्ध सङ्गठित शक्ति आक्रामक ढङ्गले प्रस्तुत भइरहेको उनले आरोप लगाए । ‘सरकारले सुरु गरेको सुशासनको अभियानलाई तुहाउन खोजिँदै छ । सुशासन अभियानविरुद्ध सङ्गठित शक्तिबाट आक्रामक ढङ्गले प्रहार भइरहेका छन्’ उनले भने ‘सरकार सुशासनको अभियानमा निरन्तर चलिरहन्छ । भ्रष्टाचार र तस्करी नियन्त्रणको प्रयास निरन्तर रूपमा चलिरहन्छ । यो अभियानमा पूर्ण विराम लाग्नेवालामा छैन ।’
गृह मन्त्रीको निरन्तरता र भ्रष्ट्राचारको निरन्तरता तैं चुप मैँ चुपको यथास्थिति कायम हुन नसक्ने उनले बताए । सरकारले जुनसुकै परिस्थितिमा सुशासन र भ्रष्ट्राचारविरुद्धको अभियानलाई जारी राख्ने उनको भनाई रहेकाे थियाे । सरकारले सुशासन अभियानअन्तर्गत ललिता निवास, मिटर ब्याज, भुटानी शरणार्थी, सुन तस्करीसम्बन्धी भ्रष्टाचारका विभिन्न घटनाको छानबिन गरिरहेको उनले बताए ।
‘सरकारले सुशासन अन्तर्गत नै मन्त्रीहरुकाे अनावश्यक खर्चको कटौती , अनावश्यक पदक वितरण खारेजी, मिटर ब्याजी समस्या लाई समाधान गर्न समिति बनाइ पीडितहरु लाई न्याय दिने प्रक्रिया , प्रहरी प्रशासन भित्र हुने सरुवा बढुवालगायतमा हुने चलखेल लाई शुन्य मा झारेको छौ’ उनले बताए । ‘भ्रष्टाचार, कुशासन विरुद्ध सरकारले काम गरिरहदा त्यसको संरक्षकहरु आत्तिएका छन् र सरकार बिरुद्ध बोलिरहेका छन्’ उनले भने ‘हामी भ्रष्टाचार विरुद्धको अभियान, सुशासनको अभियान , समृद्धि को अभियानमा लागिनै रहने छौ ।’
सरकारले विशेषत चार विषयमा जोड दिएकाे भन्दै श्रेष्ठले राष्ट्रिय स्वाधीनता, राष्ट्रिय एकता र राष्ट्रिय अखण्डता कायम राख्न, राजनीतिक परिवर्तनलाई कायम राख्न, मुलुकमा सुशासनको अभियानलाई जारी राख्न र विविधता बिचको एकता, सद्भावलाई कायम राखी सामाजिक एकता र सद्भाव माथि खलल आउन नदिन चुनौती रहेकाे बताए ।
मन्त्री श्रेष्ठले साेमबार जिल्ला प्रशासन कार्यालय मकवानपुर, नेकपा माओबादी केन्द्र मकवानपुरको कार्यक्रम, प्रेस सेन्टरको पत्रकार सम्मेलन, मकवानपुरबाट प्रसारित रेडियो सन्देश, निकास साप्ताहिक र अनलाइन मिडिया थाहा नेपाल डटकमको संयुक्त वार्षिकोत्सव कार्यक्रम, हेटौंडा जेसीजको आयोजनामा ‘पब्लिक स्पिकिङ प्रतियोगिता’ लगायतका आधा दर्जन कार्यक्रममा सहभागी भएका थिए ।
बागमती मन्त्रिपरिषद्ले गर्यो ५ निर्णय मकवानपुर । बागमती प्रदेश सरकार मन्त्रीपरिषद्को बैठकले ५ निर्णय गरेको छ ।
असोज १५ गते सोमबारको बैठकले प्रदेशको संगठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गर्ने लगायतका ५ वटा निर्णय गरेको छ ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता गगा नारायण श्रेष्ठले जानकारी दिए ।
यस्तो छ प्रदेश सरकारको ५ निर्णय
१ संगठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गर्ने ।
२ प्रदेश सुशासन केन्द्र (स्थापना तथा कार्य सन्चालन) आदेश २०७७ संशोधन सम्बन्धमा
३ प्रदेश प्रशिक्षण प्रतिष्ठान बिधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने।
४ हस्तकला ग्राम स्थापना तथा सन्चालन गर्न बनेको बिधेयक २०८० प्रदेश सभामा पेश गर्ने ।
५ चलचित्र बिधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने ।
मकवानपुर । मकवानपुरको हेटौंडा–१५ चुरियामाइस्थित पूर्व–पश्चिम राजमार्गमा साेमबार बिहान सवारी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ज २११ नम्बरको विङ्गर र नेपालगंजबाट सिन्धुली तर्फ जाँदै गरेको ना ७ ख १६४३ नम्बरको बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा ९ जना घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनका अनुसार, दुर्घटनामा परेर घाइते भएकाहरुको हाल पहिचान खुलेको छैन । उनीहरुलाई उद्दार गरेर उपचारको लागि हेटौंडा अस्पताल ल्याइएकाे छ । दुवै सावारी साधनसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएकाे छ ।
मकवानपुर । २०७९ सालको मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनलाई प्रदान गरिने भएको छ । यसैगरी जगदम्बा श्री पुरस्कार टेकवीर मुखियालाई दिइने भएको हो ।
आइतबार बसेको मदन पुरस्कार गुठीको बैठकले ऐँठनलाई मदन पुरस्कार र मुखियालाई जगदम्बाश्री पुरस्कार दिने निर्णय गरेको हो । दुवै पुरस्कारको राशि चार लाख रुपैयाँ छ।
अक्षरलाई कलाको आवरण मार्फत पाठकसँग जोड्न तथा स्रष्टालाई मुहारचित्र मार्फत साहित्यानुरागी माझ पुर्याउन महत्त्वपूर्ण योगदान दिएकाले मुखियालाई जगदम्बा-श्री सम्मान अर्पण गर्ने निर्णय गरिएको गुठीले जनाएको छ ।
लामो समय साझा प्रकाशनमा आबद्ध मुखिया ६ दशकदेखि कला क्षेत्रमा सक्रिय छन्।
त्यस्तै, २०७९ सालको मदन पुरस्कार ओझाको ऐंठन उपन्यासलाई प्रदान गर्ने निर्णय भएको छ। विगतमा नेपाल राष्ट्र एवं नेपाली समाजले बेहोरेको द्वन्द्वको दुःस्वप्न र अहिले पनि त्यस दुःस्वप्नले ऐंठनको पीडामा डुबाइरहेको यथार्थलाई स्वप्नलेखनको प्रविधि पनि मिसाई उत्कृष्ट औपन्यासिक कलाको उपयोगद्वारा नवीन किसिमले व्यक्त गरेको हुँदा ओझाको ऐंठनलाई मदन पुरस्कार अर्पण गर्ने निर्णय भएको गुठीले जनाएको छ।
लेखक ओझाको यो तेस्रो पुस्तक हो। यसअघि उनका ऐलानी र एक पाइला आकाशमा पुस्तक प्रकाशित छन्।
यसअघि मदन पुरस्कार गुठीले श्रेष्ठ पाँच पुस्तकको सूची प्रकाशित गरेको थियो। जसमा सुविन भट्टराईको इजोरिया, ओझाको ऐंठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटोको घर पुस्तक समावेश थिए।
२०७९ सालको मदन पुरस्कारका लागि ३सय १३ पुस्तक प्राप्त भएको गुठीले जनाएको छ।
२०७८ सालको जगदम्बा-श्री सम्मान भाषा-साहित्यसेवी दुर्गाप्रसाद श्रेष्ठलाई र मदन पुरस्कार नवराज लम्सालको अग्नि महाकाव्यलाई प्रदान गरिएको थियो। जगदम्बा-श्री २०४५ सालबाट र मदन पुरस्कार २०१३ सालबाट प्रदान गरिंदै आएको छ।
नेपाल तथा नेपाल बाहिरबाट नेपाली भाषामा प्रकाशित पुस्तकमध्ये एक पुस्तकलाई मदन पुरस्कार तथा विभिन्न माध्यमबाट नेपाली भाषा, वाङ्मय र संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई जगदम्बा-श्री सम्मान प्रदान गरिदै आएको छ ।
