मकवानपुर । पर्सामा पटकाको छर्रा लागेर बालकको मृत्यु भएको छ । पर्साकाे पकहामैनपुरमा सोमबार बिहान पटका पट्काउने क्रममा छर्रा लागेर बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
मृत्यु हुनेमा स्थानीय रामगुलाम सहनीका ८ वर्षीय छोरा कुन्दन सहनी छन्। आफ्नै घरअगाडि पटका पट्काउने क्रममा पटकाको छर्रा छातीको बीच भागमा लाग्दा उनी गम्भीर घाइते भएका थिए। घाइते बालकलाई उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिएको थियो।
अस्पताल पुर्याउँनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मकवानपुर । तिहारको दोस्रो दिन आइतबार कुकुरतिहार र लक्ष्मीपूजा एकै दिन मनाइँदै छ । तिथिको घटबढका कारण दिउँसो चतुर्दशी तिथि र साझ औँसी तिथि लाग्ने भएकाले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शास्त्रसम्मत रूपमा एकै दिन यी दुवै पर्व मनाउने निर्णय गरेको हो ।
बिहान यमराजको दूतका रूपमा कुकुरको पूजा गरिँदै छ । साँझ धनधान्यकी देवी महालक्ष्मीको आराधना गरी दीपावली गरिने छ । कुकुरलाई केवल एउटा पशुका रूपमा मात्र नहेरिएर यमराजको दूत र भैरवको वाहनका रूपमा पूजा गरिन्छ । पौराणिक मान्यता अनुसार यमलोकको ढोकामा चार वटा आँखा भएका ‘श्यामा’ र ‘सबला’ नामका दुई वटा कुकुरले पहरा दिइरहेका हुन्छन् ।
तिनीहरूले नै मानिसको मृत्युको समय नजिकिँदा यमराजलाई खबर गर्छन् भन्ने विश्वास गरिन्छ । कुकुरलाई प्रसन्न राख्दा यमलोक जाँदा कडा सजाय भोग्नु पर्दैन र मृत्युको भय हुँदैन भन्ने धार्मिक विश्वासका साथ कुकुरको पूजा गरिएको हो । महाभारत कथा अनुसार जब पाँच पाण्डव र द्रौपदी स्वर्गारोहणका लागि हिमालयतर्फ प्रस्थान गर्छन्, बाटोमा एक एक गरी सबै ढल्छन् । अन्तिममा धर्मराज युधिष्ठिर र उहाँसँगै हिँडेको एउटा कुकुर मात्र जीवित रहन्छन् । स्वर्गको ढोकामा पुगेपछि देवराज इन्द्रले युधिष्ठिरलाई मात्र स्वर्गभित्र छिर्न अनुमति दिई कुकुरलाई बाहिरै छोड्न भन्नुहुन्छ तर युधिष्ठिरले आफ्नो सङ्कटको साथीलाई छोडेर आफू मात्र स्वर्ग नजाने अडान लिनुहुन्छ । युधिष्ठिरको यो धर्म र वफादारिता देखेर त्यो कुकुर वास्तविक रूपमा प्रकट हुन्छ, जो स्वयं ‘धर्मराज’ (यमराज) हुनुहुन्थ्यो ।
त्यस्तै तिहारको सबैभन्दा उज्यालो पक्ष लक्ष्मीपूजा हो । कात्तिक कृष्ण औँसीको रातलाई ‘सुखरात्रि’ भनिन्छ । पौराणिक कालमा जब देवता र असुर मिलेर अमृत प्राप्तिका लागि क्षीरसागरमा समुद्र मन्थन गरेका थिए, त्यस क्रममा कात्तिक कृष्ण औँसीकै दिन समुद्रबाट जगत्जननी देवी महालक्ष्मी प्रकट हुनुभयो । लक्ष्मी प्रकट भएपछि देवताले उहाँको स्वागतमा दीप प्रज्वलन गरी पूजाआजा गरेका थिए । त्यसैले हरेक वर्ष यो दिन लक्ष्मीको जन्मोत्सव र आगमनको खुसियालीमा दीपावली गरिन्छ ।
पौराणिक कथा अनुसार भगवान् विष्णुले वामन अवतार लिएर दानवीर राजा बलिलाई तीन पाइला भूमि माग्ने क्रममा पाताल लोक पठाउनुभएको थियो । राजा बलिको दानशीलताबाट प्रसन्न भई विष्णुले उनलाई पातालको राज्य सुम्पिनुभयो । सोही समयमा लक्ष्मीले बलि राजालाई आफ्नो भाइ बनाइ हातमा रक्षा बन्धन (धागो) बाँधिदिनुभयो र त्यसको बदलामा बलि राजाको कडा पहरामा रहेका आफ्ना पति नारायण (विष्णु) लाई मुक्त गराउनुभयो । बलि राजाको राज्यमा लक्ष्मीको आशीर्वादले सधैँ धनधान्य भरिपूर्ण रहने वरदान प्राप्त भएको खुसियालीमा पनि यो रात घर घरमा दीप प्रज्वलन गरी उज्यालो बनाउने गरिन्छ ।
पञ्चाङ्ग समितिका अनुसार कात्तिक २३ गते गाईतिहार, कात्तिक २४ गते गोरुतिहार, गोवर्धन पूजा र म्हपूजा गरिने छ । यसै दिनदेखि नेपाल संवत् ११४७ प्रारम्भ हुने छ । तिहारको अन्तिम दिन कात्तिक २५ गते भाइतिहार (भाइटीका) परेको छ । सो दिन भाइटीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेट उत्तम मानिएको छ ।
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पत्रकारिताले गर्ने आलोचना लोकतन्त्रको सुन्दर पक्ष भएको बताउनु भएकाे छ । शनिबार प्रेस चौतारी नेपाल मकवानपुरले हेटौंडामा आयोजना गरेको चाडपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश प्रमुख देवकोटाले यस्तो बताउनु भएकाे हाे ।
‘स्वतन्त्र प्रेसविना लोकतन्त्र बलियो हुन सक्दैन’ उहाँले भन्नुभयो ‘प्रेस स्वतन्त्र भएमा मात्र मुलुकमा लोकतान्त्रिक व्यवस्था सुदृढ हुनेछ ।’ पत्रकारिता समाचार लेख्ने माध्यम मात्र नभई समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउने महत्वपूर्ण क्षेत्र भएको उहाँले बताउनु भयो । ‘पत्रकारिताले समाजमा सकारात्मक परिवर्तन ल्याउन र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा भूमिका खेल्नुपर्छ’ उहाँले भन्नुभयो ।
‘लोकतन्त्रलाई बलियो र संस्थागत बनाउन पत्रकारिता स्वतन्त्र, निष्पक्ष तथा जिम्मेवार हुनु पर्ने उहाँकाे भनाई थियो । सञ्चारमाध्यमलाई राज्य र नागरिकबीचको महत्त्वपूर्ण कडीका रूपमा रहेकाेले समाजका विकृति र विसंगति विरुद्ध आवाज उठाउन तथा कुनै पनि राजनीतिक वा व्यक्तिगत आग्रह भन्दा माथि उठेर सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न पत्रकारलाई उहाँले आग्रह गर्नुभयो ।
‘अहिले सूचना प्रविधिको विकाससँगै चुनौती थपिएको छ’ उहाँले भन्नुभयो ‘पत्रकारको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्नु राज्यको दायित्व भएकोले श्रमजीवी पत्रकारको हितका लागि सम्बद्ध संस्थाहरू समेत क्रियाशील हुनुपर्छ । ‘प्रदेश प्रमुख देवकाेटाले देश राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणको चरणमा रहेको भन्दै सुशासन, समृद्धि र जनताका आकांक्षा पूरा गर्न राज्य, राजनीतिक दल र सञ्चारमाध्यमलगायतका पक्षबीच सहकार्य आवश्यक रहेको बताउनु भयो ।
प्रेस चौतारी नेपाल मकवानपुर अध्यक्ष सरिता दाहालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री एकालाल श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्णसारु मगर, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य पुष्पराज अधिकारी, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
मकवानपुर । नेपालीहरुकाे दोस्राे ठुलाे पर्व तिहार अन्तरगत शनिबार (आज) काग तिहार मनाइदै छ । काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठो मीठो चीजबीज खान दिएर मनाइँदै छ ।
सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय मान्यता रहेकाेले काग तिहार पर्व मनाइदै आइएकाे हाे । यमराजको दूतका रुपमा पुजिने कागलाई बिहान मनपर्ने खानेकुरा खान दिएर काग तिहार मनाउने चलन छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठो–मीठो खान दिई खुसी पार्ने चलन छ ।
काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास समेत गर्ने गरिन्छ । त्यसैले पनि काग घर वरिपरी आइ कराएमा ‘शुभ बोल, शुभ बोल’ भन्ने गरिन्छ । आजको दिन कागलाई दही–भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने विश्वास समेत रहिआएको छ ।
काग तिहारकाे दिन कागप्रति श्रद्धा प्रकट गर्दै पूजन गरेमा पितृले सोझै पाउँछन् भनिन्छ । अन्य दिन पनि कागलाई भोजन गराउँदा पितृ खुशी हुन्छन् भन्ने मान्यता छ । यमराज काग तिहारदेखि मर्त्यलोकमा पाँचदिनसम्म विचरण गर्न आएका हुन्छन् भन्ने जनविश्वासमा यो पाँचदिनलाई यमपञ्चक भन्ने गरिन्छ ।
कागलाई चतुर पन्छीका रुपमा लिइन्छ । फोहर कसिङ्गर र सिनुसमेत खाने भएकाले वातावरण स्वच्छ राख्न कागले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । तिहार हिन्दुहहरुको एक विशेष चाड कात्तिक शुक्ल पक्षको द्धितीया तिथिको भाइटिकासम्म पाँच दिन मनाइन्छ । यो पर्व पाँच दिन सम्म मनाइने भएकोले यस चाडलाई विशेष रुपमा हेरिन्छ ।
काग तिहारकाे दिन काठमाडौंकाे कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा विशेष पूजा आराधना हुने गर्छ । यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ ।
यसरी सुरु भयो तिहार मनाउँने प्रचलन
पौराणिक कथा अनुसार सुर्यको छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्विकार गरी बहिनीको घरमा गई रमाइलो गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो । यसरी यमुनाको घरमा बस्दा यमराजले बहिनी यमुनालाई ‘जे मन लाग्छ वर माग’ भनेपछि उनले ‘हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदी–भाई दाजु–बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाईको आयु, कीर्ति सदा बृद्धि होस्’ भन्ने वरदान मागेकी थिइन् ।
यमराजले पनि ‘तथास्तु’ भन्दै मनसा, वाचा, कर्मणा र शुद्धचित्तले पुजा गर्ने गराउनेहरुको सधै उन्नती हुने तथा कीर्ति पनि फिँजिने वर दिई बहिनीसँग बिदा भई गएका थिए । त्यस समयबाट यो पर्व मानिदै आएको छ । तिहारले पशुपक्षी तथा मानवबीचको प्रगाढ सम्बन्धको चित्रित गर्छ भने अर्कोतिर दाजुभाई तथा दिदी बहिनीबीचको आत्मीय र पवित्र स्नेर्ह वं सम्बन्धलाई पनि उजागर गर्छ ।
तिहारकाे पाँच दिनमा साँझमा घरको मुलढोकामा यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वासले घर–घरमा बत्ती बालेर दिपावली गर्ने गर्छन् ।जुन घरमा यसरी दिपावली हुन्छ त्यसघरमा कहिल्यै अपमृत्यु र अल्पमृत्यु हुँदैन भन्ने मान्यता चलिआएको छ । यमपञ्चकमा काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाई पुजा गरिन्छ । तिहार पिङ खेलेर, देउसीभैलो खेलेर र दीपावली गरी मिष्ठान्न भोजन गरेर रमाइलो गरी मनाइन्छ ।
मकवानपुर । पर्वहरूले आपसी सद्भाव र एकता सुदृढ पार्ने बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बताउनुभएको छ।
भाइटीका, नेपाल संवत् एवं छठ पर्व, २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गर्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो ।
प्रदेशका प्रमुख देवकोटाले नेपाल संवत् ११४७, भाइटीका तथा छठ पर्वको अवसरमा आज शनिबार शुभकामना सन्देश जारी गर्नुहुदै दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, ऐश्वर्य र प्रगतिको कामना गर्नुभएको हो।
उहाँको सन्देशमा भनिएको छ “हाम्रा सांस्कृतिक पर्वहरूले आपसी सद्भाव, सहिष्णुता, सामाजिक एकता र राष्ट्रिय पहिचानलाई अझ बलियो बनाएको उल्लेख छ ।”
नेपाल संवत् र राष्ट्रिय विभूति शंखधर साख्वाको योगदानको स्मरण गर्दै उहाँले यो संवत् हाम्रो मौलिकता र स्वाभिमानको परिचायक भएको बताउनुभएको छ।
दीपावली, म्ह पूजा र छठ पर्व जस्ता पर्वहरूले प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्दै सकारात्मक ऊर्जा र समृद्धिको मार्गमा अग्रसर हुन प्रेरणा प्रदान गर्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ।
