मकवानपुर । प्रहरीले गत भदौ २७ गते हेटौंडा–१ स्थित सञ्चो हस्पिटलमा चिकित्सकलाई आक्रमण गरेको अभियोग लागेका थप १ जनालाई पक्राउ गरेको छ ।
चिकित्सकमाथि आक्रमण गर्ने हेटौँडा–१२, सिक्रेनीका ३६ को सुवास स्याङ्तानलाई बुधबार दिउँसो हेटौँडा–१०, बसपार्कबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।पक्राउ परेका स्याङ्तानलाई विहीबार जिल्ला अदालतमा हाजिर गराइने मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।
सञ्चो हस्पिटलमा बिरामीको उपचार गरिरहेका चिकित्सक जनरल फिजिसियन विकास थापा र एनेस्थेसिया प्रशान्त विडारीमाथि सांघातिक आक्रमण भएको थियो । हेटौंडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै भदौ २७ गते डाक्टरमाथि आक्रामक भएको थियो । सन्चो अस्पतालमा उपचार गराउँदा डेंगु सङ्क्रमण भएका प्रधानलाई थप उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
पक्राउ परेका ६ जना धरौटीमा रिहा
यसैगरी उपचार गरिरहेका चिकित्सकलाई सांघातिक आक्रमण गरेको अभियोगमा पक्राउ परेका ६ जनालाई जिल्ला अदालत मकवानपुरले धरौटीमा रिहा गर्ने आदेश दिएको छ । मंगलबार जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीको इजलाशले धरौटी माग गर्ने आदेश गरेको हो ।
चिकित्सकमाथि आक्रमण गर्ने रमा प्रधानलाई २ लाख ५० हजार रुपैयाँ तथा रमिला प्रधान, रोहन प्रधान, अनुप प्रधान, सुनिल पाख्रिन र जीवन लामालाई जनही २ लाख रुपैयाँ धरौटी माग गर्ने अधिकारीले आदेश गरेका छन् । अदातलले धरौटीमा रिहा गर्न सकिने आदेशसँगै ६ जना नै मंगलबार नै धरौटी बुझाएर हिरासतमुक्त भएका छन् ।
यसैबीच प्रहरीले अदातलबाट पक्राउ पुर्जी जारी गरेका १३ जनामध्ये ६ जना अझै फरार रहेकाे बताएकाे छ ।
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित २ जनालाई नियन्त्रणमा लिएको । प्रहरीले पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटेबाट मंगलबार राति २ जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएकाहरुमा जिल्लाको राक्सिराङ गाउँपालिका ५ बस्ने २२ वर्षीय सन्देश प्रजा र ३४ वर्षीय युबराज प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
उनीहरुलाई प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त चेकिङ टोलीले हेटौंडा १५ रातोमाटेबाट नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार मंगलबार राती ११ बजेको समयमा हेटौंडाबाट बिरगंजतर्फ जाँदै गरेको ना ५३ प ३९३० नम्वरको मोटरसाइकललाई शंका लागि नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुको मोबाईल मार्फत हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको बा १२ च ९७४२ नम्वरको पिकअप गाडीमा लागूऔषध गाँजा आउँदै गरेको जानकारी प्राप्त भएको थियो ।
सूचना प्राप्त हुनासाथ उक्त पिकअपलाई चेकजाँचको लागि रोक्न खोज्दा प्रहरीलाई देखी भित्री सडकखण्डतर्फ भाग्ने क्रममा बिक्रम चोक नजिक पिकअप गाडी छाडी चालक फरार भएका थिए । उक्त गाडी चेकजाँच गर्दा गाडीको ढाला र क्याबिन मुनी ११ वटा पोकामा लागूऔषध गाँजा अन्दाजी ७० किलो बरामद भएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
बरामद गाँजा, पिकअप गाडी, मोटरसाइकल र प्रजा दुबै जनालाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । फरार रहेका पिकअप गाडी चालकको खोजीकार्य जारी राखेको समेत बताइएको छ ।
मकवानपुर । चैनपुर जेसीज (प्रस्तावित) को आयोजनामा मंगलबारबाट मनहरी गाउँपालिकामा जेसीज कप फुटबल प्रतियोगिता सुरु भएको छ ।
मंगलबारको उद्घाटन खेलमा सिमपानी एफसी र हाँडीखोला यूथ क्लवले विजयी सुरुवात गरेका छन् । सिमपानीले मनहरी ४ फुटबल टिमलाई २–० ले बिजयी गराउन सिमपानीका लागि दुवै गोल राहुल थापा मगरले गरे । उनी नै खेलको म्यान अफ द म्याच भए ।
दोस्रो खेलमा हाँडीखोलाले खरंगा एफसीलाई १–० ले हरायो । पहिलो हाफको अतिरिक्त समयमा विशाल प्रजाले गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच अभिषेक राई भए ।
जारी प्रतियोगितामा बुधबार बागमती प्रदेश प्रहरी गण हेटौंडा र रियल स्टार युवा क्लवको बीचमा खेल हुनेछ ।कात्तिक १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा मकवानपुरका १६ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ५० हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले २५ हजार ५ सय २५ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि नगदसहित ट्रफीको व्यवस्था रहेको आयोजकले जनाएको छ ।
चैनपुर जेसीजले मकवानपुरको पश्चिमी क्षेत्रका युवाहरुलाई समेट्दै युवाहरुको नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक कार्यलाई निरन्तरता दिँदै आएको अध्यक्ष गणेश अधिकारीले बताए ।
प्रतियोगिताको उद्घाटन मनहरी गाउँपालिकाका कार्यबाहक अध्यक्ष शिवप्रसाद खनालले गरेका थिए । चैनपुर जेसीजका अध्यक्ष गणेश अधिकारीको अध्यक्षता एवम् कार्यक्रम संयोजक प्रमोद अधिकारीको संयोजकत्वमा भएको उद्घाटन समारोहमा मनहरी गाउँपालिका ५ नम्बर वडा अध्यक्ष दीपेन्द्र अधिकारी, नेकपा एमाले मनहरी गाउँ कमिटी अध्यक्ष नवीन सुवेदी, जेसीआई हेटौंडाका अध्यक्ष श्रवणकुमार बर्तौला, चैनपुर जेसीजका श्रीकृष्ण ढकाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा मनहरी ७ नम्बर वडा अध्यक्ष ठाकुरराम तितुङ, ३ नम्बरका कार्यबाहक अध्यक्ष हिराबहादुर प्रजा, ४ नम्बर वडा अध्यक्ष प्रकाश थापा, कांग्रेस जिल्ला सदस्य नुरज पौडेल, मनहरी सभापति प्रकाश बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय सभापति सञ्जिव पाठक, कांग्रेस मनहरी ८ नम्बर वडा सभापति भीमसेन लामा, बसामाडी जेसीजका अध्यक्ष जनक भण्डारी, हेटौंडा लेडी जेसीजका अध्यक्ष डिलमाया घर्ती, मकवानपुरगढी प्रस्तावितका अध्यक्ष पुष्पराज पुडासैनी लगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । मकवानपुरगढी गाउँपालिका रनिङ्ग शिल्ड फुटसल प्रतियोगिता हुने भएको छ । आगामी असोज २९ गतेबाट सुरु हुने प्रतियोगिताको जानकारी गढी स्टार स्पोर्टस् क्लबले मंगलबार दिएको हो । क्लबले सूचना जारी गर्दै छैटौँ सस्करणको प्रतियोगिताको जानकारी दिएको हो ।
क्लब अध्यक्ष राजु दुलालले खेल र खेलाडीको क्षमता विकास तथा पहिचान गर्ने उद्देश्यसहित फुटसल प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।
प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित ७५ हजार, उपविजेता टिमले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ नगद प्राप्त गर्ने प्रतियोगिताको संयोजक तथा सचिव विदुर हुँमागाईले जानकारी दिए ।
प्रतियोगिता मकवापनुरगढी गाउँपालिका वडा नं.३ स्थित भानु मिनी पिचमा सञ्चालन हुनेछ । प्रतियोगितामा मकवानपुरगढी गाउँपालिकाभित्रका १८ वटा टोलीको सहभागिता रहने अनुमान छ ।
प्रतियोगितामा मकवानपुरगढी गाउँपालिकाभित्रका खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने छन् भने खेल लिग कम अकआउट विधिबाट खेलाइनेछ । बिजयादशमी तथा शुभदिपावलीको अवसरमा आयोजना गर्न लागिएको प्रतियोगिता सञ्चालनका लागि करिब ४ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान गरेको छ ।
मकवानपुर । मकवानपुरको हेटौंडामा साइकल रन प्रतियोगिता हुने भएको छ । हेटौंडा उपमहानगरपालिका र मकवानपुर जिल्ला साईक्लिङ्ग संघको आयोजनामा दोस्रो संस्करणको साइकल रन प्रतियोगिता हुने भएको हो । असोज २७ गते शनिबार प्रतियोगिता सञ्चालन गर्न लागिएको जिल्ला साईक्लिङ्ग संघले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपैयाँ, द्वितीय हुनेले ३० हजार रुपैयाँ र तृतीय हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिने छ । यस्तै प्रोत्साहन पुरस्कार स्वरुप दुई जनालाई १०–१० हजार रुपैयाँ प्रदान गरिने मकवानपुर जिल्ला साइक्लिङ संघले जनाएको छ ।
२५ किलोमिटरको दूरी पार गर्नुपर्ने प्रतियोगितामा १६ वर्ष पूरा भई ६० वर्ष उमेरसम्मकाले भाग लिन पाउने छन् । यस्तै प्रतियोगितामा मकवानपुर जिल्लाका स्थायीवासी नेपाली नागरिकले सहभागिता जनाउन पाउने आयोजकले जानकारी दिएको छ ।
