मकवानपुर । प्रहरीले गत भदौ २७ गते हेटौंडा–१ स्थित सञ्चो हस्पिटलमा चिकित्सकलाई आक्रमण गरेको अभियोग लागेका थप १ जनालाई पक्राउ गरेको छ ।
चिकित्सकमाथि आक्रमण गर्ने हेटौँडा–१२, सिक्रेनीका ३६ को सुवास स्याङ्तानलाई बुधबार दिउँसो हेटौँडा–१०, बसपार्कबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।पक्राउ परेका स्याङ्तानलाई विहीबार जिल्ला अदालतमा हाजिर गराइने मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।
सञ्चो हस्पिटलमा बिरामीको उपचार गरिरहेका चिकित्सक जनरल फिजिसियन विकास थापा र एनेस्थेसिया प्रशान्त विडारीमाथि सांघातिक आक्रमण भएको थियो । हेटौंडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै भदौ २७ गते डाक्टरमाथि आक्रामक भएको थियो । सन्चो अस्पतालमा उपचार गराउँदा डेंगु सङ्क्रमण भएका प्रधानलाई थप उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
पक्राउ परेका ६ जना धरौटीमा रिहा
यसैगरी उपचार गरिरहेका चिकित्सकलाई सांघातिक आक्रमण गरेको अभियोगमा पक्राउ परेका ६ जनालाई जिल्ला अदालत मकवानपुरले धरौटीमा रिहा गर्ने आदेश दिएको छ । मंगलबार जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीको इजलाशले धरौटी माग गर्ने आदेश गरेको हो ।
चिकित्सकमाथि आक्रमण गर्ने रमा प्रधानलाई २ लाख ५० हजार रुपैयाँ तथा रमिला प्रधान, रोहन प्रधान, अनुप प्रधान, सुनिल पाख्रिन र जीवन लामालाई जनही २ लाख रुपैयाँ धरौटी माग गर्ने अधिकारीले आदेश गरेका छन् । अदातलले धरौटीमा रिहा गर्न सकिने आदेशसँगै ६ जना नै मंगलबार नै धरौटी बुझाएर हिरासतमुक्त भएका छन् ।
यसैबीच प्रहरीले अदातलबाट पक्राउ पुर्जी जारी गरेका १३ जनामध्ये ६ जना अझै फरार रहेकाे बताएकाे छ ।

