मकवानपुर । मकवानपुरगढी गाउँपालिका रनिङ्ग शिल्ड फुटसल प्रतियोगिता हुने भएको छ । आगामी असोज २९ गतेबाट सुरु हुने प्रतियोगिताको जानकारी गढी स्टार स्पोर्टस् क्लबले मंगलबार दिएको हो । क्लबले सूचना जारी गर्दै छैटौँ सस्करणको प्रतियोगिताको जानकारी दिएको हो ।
क्लब अध्यक्ष राजु दुलालले खेल र खेलाडीको क्षमता विकास तथा पहिचान गर्ने उद्देश्यसहित फुटसल प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।
प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित ७५ हजार, उपविजेता टिमले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ नगद प्राप्त गर्ने प्रतियोगिताको संयोजक तथा सचिव विदुर हुँमागाईले जानकारी दिए ।
प्रतियोगिता मकवापनुरगढी गाउँपालिका वडा नं.३ स्थित भानु मिनी पिचमा सञ्चालन हुनेछ । प्रतियोगितामा मकवानपुरगढी गाउँपालिकाभित्रका १८ वटा टोलीको सहभागिता रहने अनुमान छ ।
प्रतियोगितामा मकवानपुरगढी गाउँपालिकाभित्रका खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने छन् भने खेल लिग कम अकआउट विधिबाट खेलाइनेछ । बिजयादशमी तथा शुभदिपावलीको अवसरमा आयोजना गर्न लागिएको प्रतियोगिता सञ्चालनका लागि करिब ४ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान गरेको छ ।

