मकवानपुर । मकवानपुरकाे मकवानपुरगढी गाउँपालिका वडा ४ ले वडा भित्र रहेकाे भूमिहीन तथा अव्यवस्थित बसोबास व्यवस्थापन गर्नकाे लागि सहजिकरण समिति गठन गरेकाे छ ।
आज वडा कार्यालयमा भएकाे सराेकारवालाहरुकाे भेलाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासको लगत संकलन सम्बन्धी कार्यविधि, २०७८ अनुसार वडा स्तरकाे सहजिकरण समिति गठन गरिएकाे हाे ।
कार्यविधि अनुसार स्थानीय तहको प्रमुख वा अध्यक्ष संयोजक रहेकाे सहजिकरण समिति गर्नु पर्ने प्रावधान छ । यस अनुसार वडास्तरमा वडा अध्यक्षकाे अध्यक्षतामा समिति गठन गरिएकाे हाे । वडा अध्यक्ष अर्जुन प्रसाद तिमल्सिनाकाे अध्यक्षतामा समिति गठन गरिएकाे हाे । समितिकाे सदस्यहरुमा सानुकान्छा मोक्तान, संगीता परियार, सुमित्रा लामिछानेरहेका छन् ।
यसैगरी राजनीति दलको तर्फबाट नेपाली कांग्रेसका श्यामबहादुर पाख्रीन, नेकपा एमालेबाट केदार नाथ सापकोटा, नेकपा माओबादी केन्दबाट हेमबहादुर योन्जन राप्रपा नेपालबाट हस्तबहादुर लोप्चन रास्वपा स्वतन्त्रबाट जनश्याम सिं ठकुरी रहेका छन् । यसैगरी दलित सदस्यको रुपमा काजी मान विक किसान प्रतिनिधिको रुपमा जानुका सिं ठकुरी, संघा संस्था प्रतिनिधिको रुपमा टुकप्रसाद हुमागाई र समितिको सदस्य सचिवको रुपमा वडा सचिब सरस्वती चालिसे रहेका छन् ।
वडा कार्यालयले केही समय अघि लक्ष्यित वर्गकाे निवेदन संकलन गरेकाेमा ३ दर्जन निवेदन वडामा प्राप्त भएकाे वडा अध्यक्ष तिमल्सिनाले बताए । सहजिकरण समितिले वडामा देखिएकाे समस्याबारे भुमि आयाेगसँग छलफल गरेर समस्यालाई सहजिकरण गर्ने छ ।
काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार माध्यममा खोजमूलक कम र ‘ढाकछोप पत्रकारिता’ बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । उनले पत्रकारिताको विकृतिका रुपमा ढाकछोप र बार्गेनिङ पत्रकारितालाई बढावा हुन नदिन काउन्सिलले सार्थक पहल गरिरहेको बताए ।
कसैको गलत प्रवृत्तिलाई उजागर गर्नुपर्नेमा सञ्चार माध्यमले नै ढाकछोप गरेर भ्रम पैदा गर्नु चिन्ताको विषय भएको भन्दै उनले सञ्चार माध्यमले सम्प्रेषण गरेका विषयमाथि फरक अनुसन्धान र खोज गर्ने अवस्था आएको उल्लेख गरे ।’कुनै नयाँ र खोजमूलक सामग्री कम तर केही बेथितिका कुरा आउला भनेर ढाकछोप गर्नका लागि पनि अनलाइन खुलेका देखियो’ उनले भने, ‘त्यस्ता प्रवृत्ति रोक्नका लागि काउन्सिलले विभिन्न कदम चालिरहेको छ ।’
बिहिबार काउन्सिलमा आयोजित पत्रकार आचारसहिंता अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले नयाँ दर्ता भएका अनलाइन पत्रिकाले व्यावसायिक पत्रकारिता गर्ने विश्वास व्यक्त गरे । काउन्सिलले अरू मिडियासँगै अहिले युट्युबको सामग्री पनि अध्ययन गरिरहेको उनको भनाइ थियो ।कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पत्रकार कुनै एउटा जाति, धर्म, पार्टीप्रति नभएर सिङ्गो समाजप्रति नै जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
काउन्सिलका सदस्य दिपक पाण्डेले सम्पादक नै व्यवस्थापक र व्यवस्थापक सम्पादक हुँदा समस्या हुने भन्दै सूचना खोज्ने पत्रकारले नै विज्ञापन पनि खोज्न नहुने सुझाव दिए । कार्यक्रममा काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसाल, वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल तथा ४२ सञ्चार माध्यमका प्रकाशक र सम्पादकको सहभागिता थियो । कार्यक्रमको सहजीकरण काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले गरेका थिए ।
मकवानपुर । मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिताका लागि बकैया युबा क्लब र पञ्चशिल युवा क्लब छनोट भएको छ । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशाला जारी मकवानपुर जिल्ला लिग छनोट फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाउँदै बकैया र पञ्चशील जिल्ला लिगकाे लागि छनोट भएका हुन् ।
छनोट प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा पञ्चशील युवा क्बलले जनहित युबा क्लबलाई ३ –० गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको हो । खेलमा पञ्चशील युवा क्लबका रोनिम मोक्तान, सुमन लोप्चन र राजन गोलेले १–१ गोल गरेका थिए ।
त्यस्तै प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बकैया युबा क्लबले जनप्रवाह क्लबलाई १०–० गोलको फराकिलो अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको हो । बकैयाको जितमा सुरेन्द्र राईले ३ गोल, जेओङ लामा र सुजन गुरुङले समान २ गोल गर्दा अभिषेक ब्लोन, निशान गोले र आयुष नेगीले समान एक गोल गरेका थिए ।
मकवानपुर जिल्ला फुटबल संघका सचिव सुनिल लोप्चनले जिल्ला लिग क्वालिफाईबाट फाइनलमा पुग्ने दुई टोली जिल्ला लिगमा छनोट हुने र जिल्ला लिगको पुछारमा हुने दुई वटा क्लव रेलिगेसनमा पर्ने जानकारी दिए । बकैया र पञ्चशिल क्लबले आगमी चैतमा हुने मकवानपुर जिल्ला लिग खेल्न पाउँनेछन् ।
जिल्ला लिग क्वालिफाईमा यी दुई टोलीको फाइनल खेल शनिबार दिउँसो २ बजे हुनेछ । छनोटका लागि जिल्लाबाट १२ टिमले सहभागिता जनाएका थिए । प्रतियोगिताको विजेता तथा उपविजेत क्लबले शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै विधागत उत्कृष्ट हुने र म्यान अफ द म्याच हुने खेलाडीलाई पुरस्कृत गरिने आयोजनले जनाएको छ ।
करिब ४ लाख ८५ हजार लागत अनुमान गरिएकाे प्रतियाेगितामा बागमती प्रदेश खेलकुद परिषद् र नारायणी कलेज हेटौडाले सहयाेग रहेकाे छ । २०७६ सालपछि एन्फा रेलिगेटेड लिग गर्नुपर्ने नियम लागू भएपछि मकवानपुरले लिग सुरु गरेको हाे ।
मकवानपुर । मानवसेवा आश्रम ७९ लाख ४४ हजार रुपैयाँ घाटामा रहेको छ । गत आर्थिक वर्ष २०७९।०८० काे आयव्यय सार्वजनिक गर्दै आश्रम ७९ लाख ४४ हजार ७ सय ५३ रुपैयाँ घाटामा रहेको जानकारी दिएकाे हाे ।
मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका –९ स्थित मानवसेवा आश्रमले आर्थिक वर्ष २०७९/८० को आयव्यय विवरण र प्रगति प्रतिवेदन सार्वजनिक गरी कुल सम्पत्ति २१ करोड २४ लाख ५२ हजार ६७१ रुपैयाँ रहेको जनाएको छ । आश्रमले दानबाट सबै भन्दा बढी २ करोड ४७ लाख ५६ हजार १५० रुपैयाँ आम्दानी गरेकाे जनाएकाे छ । यसैगरी अन्य दान, चन्दा तथा सहयोगबाट ४४ लाख ९० हजार ८९३ रुपैयाँ आम्दानी गरेकाे हाे । याे समेत आश्रमकाे २ करोड ९२ लाख ४७ हजार ४३ रुपैयाँ आम्दानी गरेको जनाएको लेखा प्रमुख अस्मिन गौतमले जानकारी दिए ।
गत आवमा आश्रमको खर्च ३ करोड ७१ लाख ९१ हजार ७ सय ९७ रुपैयाँ भएको गौतमले बताए । आश्रमलाई सरकारी कार्यालयबाट भौतिक निर्माण तथा व्यवस्थापनको लागि २ करोड ४ लाख ९४ हजार ५ सय ७७ रुपैयाँ प्राप्त भएको बताइएकाे छ । नेपथ्य कार्यक्रम–२०८० मा ४४ लाख २५ हजार ५१९ रुपैयाँ आम्दानी भएको गौतमले जानकारी दिए। हाल ३ करोड ६३ लाख ३२ हजार ३१ रुपैयाँ आश्रमको अक्षयकोष तथा वार्षिक भोजन सेवा कोषमा रहेको छ ।
आयव्यय सार्वजनिक कार्यक्रममा मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले विभिन्न कारणबाट सडकपेटी र सार्वजनिक स्थलहरुमा जीवन विताउन बाध्य भएका अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, सडकआश्रित मानवहरुको उद्दार, परामर्श, औषधोपचार एवम् पारिवारिक पुनर्मिलन गराउँदै आएको जानकारी दिए । ‘हामीले साप्ताहिक रुपमा सडक अवलोकन, सहयोगापेक्षीहरुको खोजी, उद्धार, संरक्षण र पारिवारीक पुर्नमिलन कार्य गरीरहेका छौ’ अध्यक्ष अधिकारीले भने स्वास्थ्य शिविर संचालन र बालबालिकाहरुका लागि आश्रम भित्रै अतिरिक्त क्रियाकलापहरु समयसमयमा गर्ने गरेका छाैं ।
बागमती प्रदेश सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणाको तयारीमा रहेको उनले बताए । यसअघि गण्डकी र कर्णाली प्रदेश सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा भइसकेकाे छ ।
बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर सहयोगापेक्षीको आश्रय र सेवाका क्षेत्रमा काम गर्दै आएको मानव सेवा आश्रमले हेटौँडा-९ लामसुरेधापमा आफ्नै भवन निर्माण गरेको छ । करिब १४ करोड रुपैया लागतमा निर्मित उक्त भवनको मङ्सिर ३० गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम रहेकाे अध्यक्ष अधिकारीले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डसहित गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत, लगायतको उपस्थितिमा भवन उद्घाटन गरिने बताइएकाे छ ।
२०६९ साल भाद्र १३ गते मकवानपुरकाे हेटौंडामा स्थापना भइ शुभारम्भ भएको मानवसेवा आश्रमकाे सेवा ७ प्रदेशको विभिन्न १९ वटा जिल्लाका २४ वटा सेवा केन्द्रमार्फत सञ्चालनमा छन् । बागमती प्रदेशमा ६ वटा, गण्डकी प्रदेशमा ५ वटा, लुम्बिनी प्रदेशमा ४ वटा, मधेश प्रदेशमा ३ वटा, कोशी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एउटा मानवसेवा आश्रम रहेको छ ।
मानवसेवा आश्रम हेटौंडामा २१ जना बालबालिका, ७६ जना महिला र १०७ जना पुरुष गरी २०४ जना आश्रित रहेका छन् । हालसम्म आश्रमले १ हजार ५ सय ८१ जनाको उद्दार गरेकोमा ८ सय ३६ जनाको पारिवारिक पुनर्मिलन भएको, १ सय ८४ जनाको शरीर शान्त, ४ सय २० जनाले स्वेच्छाले आश्रम छोडेको, ५१ जनाको सामुदायिक पुनर्मिलन गरेको र ३४ जनाको पुनउद्दार गरेको छ ।
मकवानपुर । जिल्ला खेलकुद विकास समितिकाे आयाेजनामा आगामी पुष ५ गतेबाट हुने लागेको बृहत् खेलकुद तथा व्यापार महोत्सवकाे तयारी सुरु भएसँगै आयोजनास्थल सरसफाई गरिएकाे छ । खेलकुद विकास समितिमा आबद्ध विभिन्न संघका पदाधिकारी तथा खेलाडीहरुले महोत्सव आयोजना स्थल टीसीएन चौरको सरसफाई गरेका छन् ।
खेलकुद र खेलाडीको हितको लागि आयोजना गर्न लागिएको महोत्सवकाे तयारीकाे लागि चौरको झाडी तथा फोहोर सरसफाई गरेका हुन् । खेलकुद विकास समितिका अध्यक्ष बेश खड्गीले विभिन्न संघका पदाधिकारी एवम् खेलाडीहरुको साथ र सहयोगले नै खेलकुद महोत्सव सफल हुने धारणा राखे । ‘मकवानपुरको खेलकुदको विकासमा लागि केही रकम जोहो गरौं भन्ने पवित्र उद्देश्यले महोत्सव गर्न लागेका हौं । हाम्रो एउटै उद्देश्य छ यहाँको खेलकुद क्षेत्रको विकासमा टेवा पु¥याउने’, अध्यक्ष खड्कीले भने, ‘सबै खेलकुद संघका पदाधिकारी र खेलाडीको सहयोगले थप उर्जा मिलेको छ ।’
१३ वटा विभिन्न विधामा खेलकुद प्रतियोगिता हुने
महोत्सवमा महिलाको राष्ट्रिय उसु प्रतियोगिता, महिलाकै राष्ट्रिय भलिबल, कबड्डीतर्फ महिला पुरुष दुवै विधाको प्रदेशस्तरीय प्रतियोगिता हुनेछ । यस्तै कराँतेको जिल्लास्तरीय प्रतियोगिता, फुलकन्ट्याक्ट कराँतेको जिल्ला स्तरीय, आर्चारीको खेल प्रदर्शन, रेस्लिङको आमन्त्रित र कुस्तीको अन्तर्राष्ट्रिय प्रदर्शन गर्ने आयोजकको तयारी छ । ब्याड्मिन्टनको खुला प्रतियोगिता, आइटीएफ तेक्वान्दो र हक्कीको प्रदेशस्तरीय प्रतियोगिता र महिलाको लागि ७ ए साइड फुटबल प्रतियोगिता गर्ने आयोजकले जानकारी दिएको छ ।
मकवानपुरकाे हेटौडामा पुस ५ गतेदेखि हुने वृहत् खेलकुद तथा व्यापार महोत्सवमा १५ वटा खेलका प्रतिस्पर्धा हुने भएको छ ।मकवानपुर जिल्ला खेलकुद विकास समितिकाे आयोजना १७ गतेसम्म संचालन हुने महोत्सवमा विभिन्न १५ वटा खेलका प्रतियाेगिता सञ्चालन गरिने भएकाे हाे ।
महोत्सव उद्घाटनकाे दिन पुस ५ गते प्रभाकर पाण्डेको संयोजकत्वमा एथलेटिक्स खेल हुने भएको छ । सोही दिन सुनिल खड्कीको संयोजकत्वमा कराँते खेल हुने आयाेजकले जनाएकाे छ । पुस ९ गते मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिका सचिव बिक्रम लामिछानेको संयोजकत्वमा तेक्वान्दो खेल हुनेछ ।

केवल बानियाँको संयोजकत्वमा ब्याडमिन्टन खेल हुनेछ भने विश्वनाथ पाठकको संयोजकत्वमा पुस ११ र १२ गते राष्ट्रियस्तरको उसु खेलको आयोजना गरिने भएकाे छ । यस्तै, प्रकाश माझीको संयोजकत्वमा आइटीएफ हुनेछ भने आशीष थापाको संयोजकत्वमा फुटबल हुने भएको छ ।
सुनिल लोप्चनको संयोजकत्वमा रेस्लिङ, सन्तोष श्रेष्ठको संयोजकत्वमा भलिबल, मनोज शर्माको संयोजकत्वमा आठवटा नगरपालिकासहित अन्तरपालिका हक्की खेल आयोजना हुनेछ । अनिल दहालको संयोजकत्वमा बक्सिङ, किशोर श्रेष्ठको संयोजकत्वमा फुल कन्ट्रयाक्ट कराँते, सुमन नेपालीको संयोजकत्वमा कबड्डी र करन महत्रा क्षेत्रीको संयोजकत्वमा क्रिकेट आयोजना गरिने निर्णय गरिएको छ ।
महोत्सवमा खेलकुदको स्पर्धासँगै कृषि, पर्यटन, हस्तकला, खेलकुद सामग्री, धार्मिक, सामुदायिक, स्वास्थ्य, जनचेतनामूलक र खानाखाजाका स्टलसमेत रहनेछन् । यस्तै, बालउद्यान, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, खुला नृत्य प्रतियोगिता र लाइभ दोहोरीसमेत आयोजना हुने आयोजकले जानकारी दिएको छ ।
सबै प्रतियोगिताको विजेता उपविजेताले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खेलकुद महोत्सवबाट कम्तिमा २५ लाख रुपैयाँ खेलकुद विकास समितिले बचत गर्ने लक्ष्य राखेको छ । महोत्सवबाट प्राप्त हुने रकम खेलकुद समितिमै राखेर खेल र खेलाडीको बृत्तिविकासमा लगाउने योजना रहेको खड्कीले जानकारी दिए ।
