मकवानपुर । मकवानपुरकाे हेटौडामा कृशु अर्यालको कविता सङ्ग्रह ‘पल्लवित पाइला’ विमोचन गरिएकाे छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको बालजागृति इङ्लिस सेकेण्डरी स्कुलकी पूर्व विद्यार्थी अर्यालकाे कविता संग्रह विद्यालयले बुधबार एक कार्यक्रमको आयोजना गरी विमोचन गरेको हो ।
पुस्तक विमोचन कार्यक्रममा सर्जक संजाल मकवानपुर अध्यक्ष निमेष निखिलले कविले समाजलाई सही बाटो पहिल्याउन र देखाउनु पर्नेमा जोड दिए । ‘साहित्य भाषामा अनेक विधा हुन्छन्’ निखिलले भने ‘कविता विधा अरु साहित्य भन्दा फरक हुनुपर्छ।’ साहित्य सङ्गम मकवानपुरका सल्लाहकार श्याम कुमार बानियाँ र आचल साहित्य कला पुञ्चकी अध्यक्ष भावना सापकोटाले कृशु अर्यालको कविता सङ्ग्रहको समिक्षा गरेका थिए ।
३७ वटा कविता समावेश भएको अर्यालको पुस्तकमा थोरै सम्पादनको खाचो आवश्यक रहेको बानियाँले औल्याएका थिए । अर्यालद्वारा लिखित पुस्तकमा सामाजिक विकृति र विसङ्गति, व्याप्त भ्रष्टाचार, नारीको विभेदलगायतको विषयवस्तु कवितामा समावेश भएको सापकोटाले बताइन् । पल्लवित पाइला अर्यालको पहिलो कृति हाे ।
स्थानीय पत्रपत्रिकामा प्रकाशित आफ्ना रचनाहरु समावेश गरी पुस्तक तयार गरेको अर्यालले बताइन् । स्कुलकाे माया, शिक्षक तथा हजुरबुवा दुण्डिराज पोखरेलको हौसलाले गर्दा पुस्तक प्रकाशनमा सहयोग मिलेको उनले बताइन् । उक्त पुस्तकको प्रकाशक अर्यालको हजुरबुवा हुन् । दृढ स्वभाव भएकी कृशु अर्यालले सानै उमेरदेखि शब्द खेलाउँदै आएकाे विद्यालयका प्रधानाध्यापक विनोद सुवेदीले बताए ।
प्रधानाध्यापक सुवेदीको अध्यक्षता तथा सर्जक सञ्जाल अध्यक्ष निखिलको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष दिनेश भण्डारी, साहित्यकार मुना अर्याल, कृशुका बुवा कृष्ण अर्याल, विभिन्न साहित्य संस्थाका प्रतिनिधि तथा साहित्यकारलगायतकाे उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । बागमती प्रदेशसभाको बुधबारको बैठकमा बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको प्रतिवेदन सर्वसम्मतिबाट पारित भएको छ। चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमहरूको व्यवस्थापनका लागि गठित विशेष समितिले तयार गरेको उक्त प्रतिवेदनमा प्रदेशको समग्र विकासका लागि महत्वपूर्ण सुझावहरू समेटिएका छन्।
सभामुख भुवन कुमार पाठकको अध्यक्षतामा बसेको बैठकमा नेकपा एमाले, नेपाली कांग्रेसका सांसदहरूले प्रतिवेदनमाथि छलफल गरेका थिए। एमाले सांसद केशव प्रसाद पोखरेलले प्रतिवेदनलाई बजेट कार्यक्रम व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। उनले सरकारलाई प्रतिवेदनमा उल्लेख भएका विषयहरू यथाशीघ्र कार्यान्वयन गर्न आग्रह गरेका छन्।
अर्का एमाले सांसद भरतबहादुर केसीले सरकारलाई सन्तुलित विकास बजेट विनियोजनको निर्देशन दिएको बताए। कांग्रेस सांसद मदुकुमार श्रेष्ठले आर्थिक वर्ष अन्त्य तीर नजिकिँदै गरेकाले प्रतिवेदनका विषयहरू ३ महिनाभित्रै कार्यान्वयन गर्नुपर्ने बताए। छलफल समाप्त भएलगत्तै सभामुख पाठकले प्रतिवेदनलाई निर्णायार्थ पेस गरेका थिए । सभामुख पाठकले निर्णायार्थ पेस गरेको उक्त प्रतिवेदन सर्वसम्मत पारित भएको थियो ।
बागमती प्रदेशसभाको बुधबारकाे बैठक १५ मिनेट सञ्चालन भएर स्थगित गरिएको छ । बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको प्रतिवेदन पारित सभामुख पाठकले प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको जानकारी गराएका थिए ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा आठौं प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी हुने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिले आगामी चैत्र २ गतेदेखि बागमती प्रदेशको राजधानी हेटौडामा महिला उद्यमी प्रदर्शनी आयोजना गर्न लागेकाे बुधबार हेटौंडामा पत्रकार भेटघाट गर्दै जानकारी दिइएकाे हाे ।
“पर्यटन, कृषि, लघु उद्यमशीलता,महिला सहभागिता आजको आवश्यकता” नाराका साथ समितिले ११ वर्षपछि प्रदर्शनी गर्न लागेकाे महिला उद्यमी विकास समिति सभापति अंकिता सुमार्गीले जानकारी दिइन् । प्रदर्शनीले महिलाहरुको उद्यमशीलताको प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा राखिएकाे बताउँदै उनले प्रदर्शनीमा महिला उद्यमीहरुको हस्तकलाका उत्पादनहरु, अन्य वस्तु तथा सेवाहरुको प्रदर्शनी साथै कृषि सम्बन्धी स्टलहरु रहने बताइन् ।
चैत्र ६ गतेसम्म हेटौंडाको पल्पसा सदनमा आयोजना हुने प्रदर्शनीमा ३७ वटा स्टलहरु रहने बताइएकाे छ । मकवानपुर, सिन्धुली, चितवन, काठमाडौं, नुवाकोट, सुनसरीलगायतका जिल्लाका उद्यमीहरुबाट स्टल बुक भएको समेत उनले जानकारी दिइन् । विशेष गरी मकवानपुर जिल्लाकाे उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रदर्शनी निः शुल्क अवलोकनको व्यवस्था गरिएको उनले बताइन् ।
प्रदर्शनी अवधीभर महिला उद्यमीहरुको बस्तु तथा सेवाहरुको प्रदर्शनी तथा बिक्री, कृषि उपजहरुको प्रदर्शनी तथा बिक्री, स्थानीय कलाकारहरुको दैनिक मनोरञ्जनात्मक प्रस्तुति, महिला उद्यमीहरुको सफलताको कथा प्रस्तुति, महिला उद्यमशीलता लगायतका विषयमा प्यानल छलफल, कृषि सम्बन्धी खुल्ला अन्तक्रिया कार्यक्रम हुनेछ ।
मकवानपुर । पुर्व उपप्रधानमन्त्री तथा बहुल राष्ट्रिय मुक्ति क्रान्ति अभियानका नेता राजेन्द्र महताेले बहुल राष्ट्रिय राज्यकाे पहिचान मेटाउन नहुने बताएका छन् । बुधबार हेटौडामा पत्रकारसँगकाे भेटघाटमा महतोले उक्त कुरा बताएका हुन् ।
‘बहुल राष्ट्रिय राज्य नेपाल बन्नुपर्छ भन्ने मूल्य मान्यतालाई स्थापित गराउने अभियान थालनी गरेका छाै’ महताेले भने ‘नेपालमा सुरुदेखि नै वहुल राष्ट्रियता थियाे, सबै पहिचानललाई एकैठाउमा राखेपछि नेपाल बनेकाे हाे ।’ हाल नेपालकाे पहिचान मेटाउने प्रयास भैरहेकाे बताउदै उनले भने ‘भाषा, संस्कृति, अधिकारका सवालमा बहुलतालाई विभिन्न कानुन बनाएर पहिचान मेटाउने काम भईरहेकाे छ ।’ ‘पटक पटक संविधान वन्छ तर फेल हुन्छ’ उनले भने जनताकाे लागि भनेर बनाइएकाे संविधान समेत जनताकाे लागि भएन भने शासन कसरी जनताकाे लागि हुन्छ ।’
नेपालमा ७० बर्षमा ७ वटा संविधान बने तर जनताकाे जिवनस्तर उकालाे लाग्न सकेकाे छैन झन झन गरिवीकाे चपेटामा परेकाे उनकाे भनाइ थियाे । ‘नेपाली युवाहरु विदेशकाे मात्र सपना देख्ने स्थितिमा पुगेका छन्’ महताे भने, प्रकृतिले वरदान दिएकाे देशमा एकाध क्षेत्रमा मात्रै विकास भएकाे छ ।’ अन्य क्षेत्र समेतकाे भरपुर उपयाेग गर्न सकेकाे भए दुनियाकाे सवैभन्दा उत्कृष्ट देश बन्ने उनले बताए । ‘देशले हालकाे अवस्थाबाट पार पाउन अधिकार, पहिचान, सभ्याता, संस्कृतिमाथि भएकाे प्रहारलाई अन्त्य गर्न जरुरी रहेकाे छ ।’
यसैगरी उनले शासन र संविधानकाे आधारमा बहुल राष्ट्रिय राष्ट्र निर्माण गर्नु पर्ने बताए । ‘देशमा विभिन्न पहिचानलाई स्थान दिनुपर्छ, एकल जातीय चिन्तनबाट मुलुक बन्दैन, देशमा स्थिरता प्रदान गर्नका लागि संविधान र शासन स्थिर हुनुपर्छ’ महताेले भने । देशमा अप्राकृतिक ढंगले शासन भइरहेकाे बताउँदै उनले प्राकृतिक रुपमा शासन हुन स्वेदशबादकाे भावना जागृत हुनुपर्ने बताए । संघीयताकाे नाममा वेइमानी भएकाे समेत उनले बताए । ‘संघीयता त आयाे तर जनताले चाहेकाे र मागेकाे संघियता आएन’ उनले भने संघीयता स्वायत्त हुनुपर्छ तर याे संघीयता केन्द्रीकृत छ।’ नेपालकाे सभ्यता पुर्विय हाे तर नेपालमा पश्चिमाकरण संस्कृति हावि हुँदै गएकाे बताउँदै महताेले भने ‘कम्युनिजम हाम्राे हुँदै हाेइन ।’
नेपाल सदभावना पार्टीबाट राजनीतिक जीवन सुरु गरेका महाताेले राजनीतिमा मधेशवासी जनजातिले पाउने उच्च स्थान भनेकाे उपप्रधानसम्म मात्र भएकाे बताए । प्रधानमन्त्री पद त हामिलाइ मरे पनि नदिने बताउँदै महताेले नेपालमा भएका दर्जनाै जातीलाई समेत स्थान दिइनुपर्ने बताए । ‘सवै कुराले सुन्दर देश नेपाल भए पनि विकास नहुनुमा उपनिवेशबादी साेच कारक भएकाे छ’ उनले भने ‘ सत्ता केन्द्रित कुर्सी बचाउने लडाइमै रहेका शासक भएकाले केही हुन सक्ने देखिदैन् । शाषकले आफ्नाे लागि कानून बनाए ।’
उनले हाल अभियान, संघर्ष , विराेध र अन्तमा क्रान्ति गर्ने याेजनामा रहेकाे तथा २०८२ सम्ममा राष्ट्रिय मुक्ति क्रान्ति सकाउने अभियान रहेकाे बताए ।
बेवास्ताको मारमा बालबालिका
Tags: No Comments
जन्म दिने तर जन्मिनेको जीवनको बारेमा परवाह गर्ने अभिभावकका बालबालिका विभिन्न जोखिममा परिरहेका छन् । हुँदा खाने परिवारमा मात्र होइन हुने खाने परिवारमा पनि यो समस्या देखिन्छ । भनिन्छ– मानिसको पहिलो पाठशाला घर हो । तर परिवारको व्यस्तता र बेवास्ताको कारण बालबालिकाले अभिभावकबाट उचित संरक्षण, सुरक्षा र स्याहार प्राप्त गर्न सकिरहेका छैनन् ।
वैदेशिक रोजगारीमा जाने परिपाटी बढ्दो छ । परिवारमा श्रीमान् मात्र नभई श्रीमतीसमेत ससाना छोराछोरीलाई अरूको जिम्मा लगाएर विदेशिँदा बालबालिकाको पालनपोषण र स्याहारसुसारमा मात्र होइन सामाजिकीकरणमा ठूलो असर परिरहेको छ । यस्ता बालबालिकामा सामाजिक भावको अभाव देखिन्छ भने परिस्थितिजन्य व्यवहार गर्न सिकिरहेका हुँदैनन् । स्वदेशमै भए पनि पेसा/व्यवसायमा व्यस्त बाबुआमाका छोराछोरीले अभिभावकसँग बिताउन पर्याप्त समय पाइरहेका छैनन् ।
बालबालिकालाई खाना खुवाउने र सुताउने बेला गीत, कविता, श्लोक, कथा, लोरी, चुट्किला सुनाउने परिपाटीमा परिवर्तन हुँदै गइरहेको छ । रुँदा होस् वा खाना खुवाउँदा, झगडा गर्दा फकाउन वा बिदाको समय कटाउन अभिभावकले मोबाइल, ट्याब दिने गर्छन् । यसले बालबलिकालाई एकोहोरो बनाएको छ । सामाजिक संस्कार, पारिवारिक रहनसहन, धर्म तथा संस्कृतिमा घुलनशील हुनेभन्दा पनि बाहिरी विषयवस्तुमा रमाइरहने परिवेशको सिर्जना गरेको छ । जसका कारण कतिपय बालबालिकामा भर्चुअल अटिजमसमेत देखा पर्न थालिसकेको छ ।
बाबुआमा वा परिवारका सदस्यबीच रहने सद्भाव, सम्मान, एकअर्काले गर्ने व्यवहार, हाउभाउ, चालचलनको प्रत्यक्ष असर बालबालिकामा पर्छ । कतिपयले बालबालिकाको सिकाइलाई बेवास्ता गरेर उनीहरूकै अगाडि झगडा गर्ने, मादक पदार्थ सेवन गरी गालीगलौज गर्ने, रिसाउने, अपशब्द बोल्ने गर्दा पनि बाल मस्तिष्कमा नराम्रो प्रभाव पर्छ । यस्तो परिवेशमा हुर्किएका बालबालिका हिंस्रक हुने, कुलतमा लाग्ने, आदर, सम्मान गर्न नजान्ने, झर्किने तथा अवाञ्छित गतिविधिमा संलग्न हुने गर्छन् । कतिपयमा मानसिक तथा मनोसामाजिक समस्या देखापर्न सक्छ ।
विगतमा अधिकांश मागी विवाह बालविवाह हुन्थे । अहिले अभिभावकले नचाहँदा पनि धेरैजसो बालविवाह भागी विवाह हुने गरेका छन् । बालविवाह कानुनले बर्जित गरे पनि सामाजिक दायित्वको मुद्दा बन्न सकिरहेको छैन । परिवार, आफन्त र समुदायको मौन समर्थनले बालविवाहले निरन्तरता पाइरहेको छ । इज्जत, प्रतिष्ठा र मानसम्मानसँग जोडेर बाल भविष्यलाई जोखिममा पर्न दिने र बेवास्ता गर्ने प्रचलनले समस्याको शृंखलामा जोडिन पुगेका छन् बालबालिका । अभिभावकले सम्बन्धविच्छेद गर्दा पनि बालबालिका उचित हेरचाह र संरक्षणमा हुर्किन पाएका छैनन् । अभिभावकविहीन बालबालिकालाई परिवार वा आफन्तको संरक्षकत्वमा हुर्काउन पहल गर्नुपर्नेमा बालगृहमा लैजाने परिवेशको सिर्जना हुँदा बालबालिकाले व्यावहारिक शिक्षा प्राप्त गर्न सकेका हुँदैनन् ।
सुविधाभोगी र निष्क्रिय जीवनशैली बढ्दै गएको छ । घरमा उपभोग गर्ने खानेकुरा मात्र होइन छोराछोरीलाई विद्यालयमा समेत पत्रु खाजा पठाउने गरिएको छ । यतिसम्म कि परिवार सबै मिलेर घरमा खाना पकाएर खाने चलन हराउँदै गयो । होटल तथा रेस्टुरेन्टमा गएर वा घरमै मगाएर खाने रमाउने बानीको विकास भएको छ । यसले बालबालिकाको क्रियाशीलता, सामञ्जस्य, अनुभव र सिकाइमा प्रत्यक्ष प्रभाव पार्नुका साथै स्वास्थ्यमा नकारात्मक असर परेको छ ।
बालबालिकाको भविष्य कस्तो बनाउने भन्ने कुरा बाल्यावस्थामा उनीहरूले पाएको वातावरणले निर्धारण गर्छ । उनीहरूको उज्ज्वल भविष्यका लागि सामाजिकीकरण प्रक्रिया र स्वस्थकर जीवनशैलीमा परिवारले विशेष ध्यान दिनुपर्छ । छोराछोरीलाई साधन स्रोत उपलब्ध गराउँदा हुने उपयोग र दुरुपयोग तथा त्यसले गर्ने असर सम्बन्धमा अभिभावक सचेत हुनुपर्छ । सबैभन्दा नजिकको संरक्षक परिवार भएकाले छोराछोरीप्रति समस्या निम्तिएपछि उपचारको खोजीभन्दा जोखिम आकलन गरी सोहीबमोजिम सुरक्षा, सावधानी अपनाउँदै विशेष हेरचाह र संरक्षणको उचित व्यवस्था मिलाउनु जरुरी देखिन्छ । कान्तिपुरबाट