मकवानपुर । बागमती प्रदेशसभाको बुधबारको बैठकमा बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको प्रतिवेदन सर्वसम्मतिबाट पारित भएको छ। चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमहरूको व्यवस्थापनका लागि गठित विशेष समितिले तयार गरेको उक्त प्रतिवेदनमा प्रदेशको समग्र विकासका लागि महत्वपूर्ण सुझावहरू समेटिएका छन्।
सभामुख भुवन कुमार पाठकको अध्यक्षतामा बसेको बैठकमा नेकपा एमाले, नेपाली कांग्रेसका सांसदहरूले प्रतिवेदनमाथि छलफल गरेका थिए। एमाले सांसद केशव प्रसाद पोखरेलले प्रतिवेदनलाई बजेट कार्यक्रम व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। उनले सरकारलाई प्रतिवेदनमा उल्लेख भएका विषयहरू यथाशीघ्र कार्यान्वयन गर्न आग्रह गरेका छन्।
अर्का एमाले सांसद भरतबहादुर केसीले सरकारलाई सन्तुलित विकास बजेट विनियोजनको निर्देशन दिएको बताए। कांग्रेस सांसद मदुकुमार श्रेष्ठले आर्थिक वर्ष अन्त्य तीर नजिकिँदै गरेकाले प्रतिवेदनका विषयहरू ३ महिनाभित्रै कार्यान्वयन गर्नुपर्ने बताए। छलफल समाप्त भएलगत्तै सभामुख पाठकले प्रतिवेदनलाई निर्णायार्थ पेस गरेका थिए । सभामुख पाठकले निर्णायार्थ पेस गरेको उक्त प्रतिवेदन सर्वसम्मत पारित भएको थियो ।
बागमती प्रदेशसभाको बुधबारकाे बैठक १५ मिनेट सञ्चालन भएर स्थगित गरिएको छ । बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको प्रतिवेदन पारित सभामुख पाठकले प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको जानकारी गराएका थिए ।

