मकवानपुर । बागमती प्रदेश सरकारमा नेकपा (एकीकृत समाजवादी) पार्टीकी सांसद रमा आलेमगरलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार मन्त्री नियुक्त गरेका छन् । आलेमगरलाई मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनियताको सपथ खुवाए ।
सोमबार मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभाबाट विश्वासको मत लिए लगत्तै उनलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरेका थिए । उनलाई अहिले विनाविभागीय मन्त्रीका रुपमा सपथ गराइएको र एक साताभित्र विभागीय जिम्मेवारी दिइने बताइएको छ ।
सांसद आले एकीकृत समाजवादीका तर्फबाट प्रदेशमा प्रत्यक्ष निर्वाचित एक्ली महिला सांसद हुन् । उनी २०७९ मङ्सिर ४ को निर्वाचनमा काठमाडौ क्षेत्र नम्बर १० ‘ख’ बाट निर्वाचित भएकी हुन् । आफूलाई मन्त्री बनाइनुपर्ने भन्दै सोमबार आलेले प्रदेशसभा बैठकमा भग लिन समेत आनाकानी गरेको बताइन्छ । मन्त्री बनाउने आश्वासनपछि मात्रै आले बैठकमा सहभागी हुन काठमाडौबाट हेटौंडा आएकी थिइन् ।
१ सय १० सदस्य रहेको प्रदेश सभामा मुख्यमन्त्री जम्कट्टेलले सोमबार विश्वासकाे मत प्राप्त गरेका थिए । ५६ जनाले विश्वासको मत दिएपछि उनकाे सरकारले निरन्तरता पाएकाे छ ।
बागमती प्रदेशका १२ वटा मन्त्रालयहरुमध्ये माओवादी केन्द्रले मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालय सम्हालिरहेकाे छ । ती मन्त्रायलमा क्रमशः गंगानारायण श्रेष्ठ, युवराज दुलाल र कुमारी मुक्तान मन्त्री छन् । मुख्यममन्त्री जम्कट्टेलले उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालय र स्वास्थ्य मन्त्रालय समेतकाे कार्यभार सम्हाल्दै आएका छन् ।
बागमतीमा नेकपा (एकीकृत समाजवादी)बाट श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्साल र कृषि तथा पशुपन्छी विकासमन्त्री डा. राजेन्द्रमान श्रेष्ठ छन् । एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया चैत १७ गते आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भएका छन् । चैत १५ गते हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारी मन्त्री नियुक्त भएका थिए ।
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सहकारीलाई विश्वासिलो वित्तिय सारथीका रुपमा समाजमा स्थापित गराउनुपर्ने बताएका छन् ।
‘सहकारीमा सुशासनः प्रविधि र एकीकरण’ भन्ने नारासहित मंगलबार मनाइँदै गरिएको ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले सहकारीमा आइपरेका विकृति-विसंगतिको अन्त्य गर्नुका साथै यसका मूल्यमान्यतामा आधारित भएर सहकारी सञ्चालन गरिनुपर्ने बताए । ‘आफ्ना सदस्यहरुको बचत सुरक्षा गर्नु, सहकारीमा आइपरेका विभिन्न विकृतिको अन्त्य गर्नु र यसको मूल्य, मान्यता एवम् सिद्धान्त बमोजिम विश्वासिलो वित्तिय सारथीका रुपमा समाजमा स्थापित गराउनु सहरकारीको आफ्नै दायित्व हो ।’ प्रमुख शर्माले शुभकामना सन्देशमा भनेका छन् ।
पछिल्लो समय सहकारी क्षेत्रमा केही विकृतिहरु देखा परेको भन्दै प्रमुख शर्माले यस्ता विकृति र विसंगतिहरुलाई नियन्त्रण गर्दै नीति, विधि एवम् पद्धति अनुसार सहकारी सञ्चालनका लागि यसमा संलग्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् । प्रमुख शर्माले आफ्नो सन्देशमा हाम्रो देशमा वि.सं.२०१३ सालमा चितवन जिल्लामा बखानपुर ऋण सहकारी समिति स्थापित भएसंगै सहकारी अभियान सुरु भएको उल्लेख गर्दै समुदायमा छरिएर रहेको पुँजी र बैंकको पहुँच बाहिर रहेका विपन्न वर्गलाई समेटी उनीहरुको आर्थिक रुपान्तरणमा सहकारीहरुको योगदान अत्यन्त महत्वपूर्ण रहेको बताए ।
अहिले सहकारी अभियानले ग्रामीण र शहरी क्षेत्रमा तिब्रता पाएको भन्दै प्रमुख शर्माले ‘सबैका लागि एक र एकका लागि सबै’ भन्ने मूल ध्येयका साथ यो अभियान अगाडी बढिरहेको उल्लेख गरेका छन् । सहकारी अभियानले नागरिक सबलीकरणमा योगदान पुर्याइरहेको प्रमुख शर्माको भनाई छ ।
तीव्र आर्थिक वृद्धि र दिगो विकास गर्न सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र विकासमार्फत् उपलब्ध साधन एवं स्रोतको अधिकतम् परिचालन गर्ने कुरा संविधानमै उल्लेख गरी सहकारीलाई अर्थ नीतिको एक खम्बा मानिएको भन्दै शर्माले यसको विकास तथा निरन्तरताका लागि तीनै तहका सरकारको आवश्यक सहयोग र समुचित प्रबन्ध आवश्यक रहेको बताएका छन् ।
सहकारी आन्दोलनलाई राष्ट्रउत्थानको आधारस्तम्भ बनाउन सबैलाई यो दिवसले अभिप्रेरित गर्न सकोस भन्दै उनले शुभकामना व्यक्त गरेका छन् ।
बारीका रसिला टिपी फलहरू खाँदा मिठो हुन्न र !
आफ्नै आँगनमा फुले मखमली काे पाे खुसी हुन्न र !
के जान्छौ परदेशमा घर भुली बाबा नजानू अब
आए साहु भने म तिर्छु रिनको भारी म बोकूँ सब
ढुङ्गो दर्शनमा रगेट्छु बलले के अग्नि बल्दैन र ?
बाँझो खेत म जोत्न थाल्दछु भने के रत्न फल्दैन र ?
खाडीमा कति मूल्य आउँछ बुबा के चल्छ खै जिन्दगी
आफ्नै ढाँड गरा अजस्र पसिना फल्छन् म बेचूँ जति
अग्ला पर्वतमा पुगी गगनका तारा गनूँ सक्छु म
पौडी सागरमा पुगेर पिँधमा मोती चुमी टिप्छु म ।
भर्ने शिल्प कला र कौशल हुँदा औँला बने सुन्दर
औँला पाँचवटा समान नहुँदा के हात चल्दैन र ?
बाबा हाँक्छु म थाप्छु काँध बलियो चिन्ता नगर्नू कति
के बस्छौ परदेशमा घर भुली छाडी सबै सन्तति ।
खम्बा एक भएर थाम्छु घरको छानो म नै छाउँछु
तिम्रा ओठ खुलुन् अनेक सुखले आशा लिई आउँछु ।।
फल्ने वृक्ष कतै त्यहाँ छ र कुनै पैसा बनी पातमा
एक्लो व्यक्ति बसी विदेश घरमा निद्रा कहाँ रातमा ?
बाबा साथ बसौँ ढिँडो बरु टिपौँ यो सागको झोलमा
त्योभन्दा सुख शान्ति मिल्दछ यहीँ के बाँच्नु अन्योलमा ?
धनकुटा
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभामा विश्वासकाे मत प्राप्त गरेका छन् । सोमबारकाे प्रदेश सभा बैठकमा उनले विश्वासकाे मत प्राप्त गरेका हुन् ।
सोमबार प्रदेशसभामा उपस्थित कुल १ सय ८ सदस्यमध्ये जम्कट्टेलकाे विश्वासकाे मतकाे पक्षमा ५६ मत प्राप्त गरे । उनकाे विपक्षमा नेपाली काँग्रेसका ३७ जना सांसदले मात्रै मतदान गरे । १५ सांसद भने विश्वासकाे मत विभाजन हुँदा तटस्थ बसेकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ । जम्कट्टेललाई एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका सांसदले विश्वासको मत दिँदा कांग्रेसले मात्र विपक्षमा मतदान गरेको हो । यस्तै राप्रपा र नेमकिपाका सांसद भने तटस्थ रहे ।
केन्द्रिय सत्तासमिकरणमा एमाले प्रवेश गरी नेपाली काँग्रेस वाहिरिए पछि प्रदेश सरकारका मुख्यमन्त्री अल्पमतमा परेका थिए । बागमती प्रदेशमा नेपाली काँग्रेगका मन्त्रीले गत फागुन २३ गते राजिनामा दिदै सरकारबाट बाहिरिए पछि जम्कट्टेल अल्पमतमा परेका थिए । अल्पमतमा परेका १ महिना भित्र सभामा विश्वासकाे मत लिनु पर्ने संवैधानिक व्यवस्था भएकाेले उनले आज विश्वासकाे मत लिएका हुन् ।
१६ महिनाको अवधिमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत दिएका हुन् । २०७९ पुस २५ गते संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्री बनेका माओवादी केन्द्र संसदीय दलका नेता जम्कट्टेलले सत्ता समीकरणमा आएको फेरबदलसँगै सोमबार तेस्राे पटक प्रदेशसभाबाट विश्वासको मत लिएका हुन् ।
विश्वासकाे मत दिन नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सोमबारकाे बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएका थिए । उनले सभामा उपस्थित भएर मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएका थिए । सत्ता समीकरणमा शनिबार मात्रै एमाले बागमती प्रदेश सरकारमा सहभागी हुदै नेता थपलिया आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका थिए ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मत सम्बन्धमा राप्रपाले तटस्थ बस्ने निर्णय गरेकाे थियाे । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने सहमति भए पछि मत दिएकाे हो । हाम्राे नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यलाई मन्त्री नियुक्त गर्दै जम्कट्टेलले आफ्नाे विश्वासकाे मतकाे सिट सुरक्षित गरेका थिए ।
सोमबारको प्रदेशसभा बैठकमा जम्कट्टेलले नेपालको संविधानको धारा १८८ को उपधारा (४) एवम् प्रदेशसभा नियमावली (पहिलो संशोधन) २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम आफूलाई संसदको विश्वासको मत भएको जाँच गर्न विश्वासको मत सम्बन्धी प्रस्ताव प्रदेशसभामा पेश गरेका थिए । सभामुख भुवन पाठकले मत विभाजनपछि निर्णयार्थ प्रस्तुत गर्दा ५६ सांसदले उनलाई मतदान गरेका हुन् ।
मुख्यमन्त्री जम्कट्टेलले पहिलो पटक २०७९ माघ ३ मा विश्वासको मत लिएका थिए । जम्कट्टेलले गत २०७९ चैत १० मा दोस्रो पटक संसदबाट विश्वासको मत प्राप्त गरेका थिए ।
चितवन । भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानले विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको छ । आइतबार भरतपुर महानगरपालिकाले एक कार्यक्रमकाे आयाेजना गरी स्रस्टाहरूलाई सम्मान गरेकाे हो ।
प्रज्ञाप्रतिष्ठानले प्रदान गर्ने विभिन्न सम्मान, पुरस्कार तथा निबन्ध र कथा प्रतियोगितामा पुरस्कृत प्रतिभाहरूलाई सम्मान गरिएको हो । प्रज्ञाप्रतिष्ठानका कुलपति एवम् नगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले स्रस्टालाई सम्मान गरेका हुन् ।
भरतपुर प्रज्ञा सम्मानबाट प्रकाश थापा “प्रथा”लाई सम्मानित गरिएकाे छ । भरतपुर – ४ चितवन निवासी थापालाई ५० हजार ७८ रुपैयाँसहित सम्मानपत्रद्वारा सम्मानित गरिएकाे हो । त्यसैगरी कृष्णबम मल्ल प्रज्ञा सम्मान प्राडा कर्णबहादुर बानियाँलाई प्रदान गरिएको छ । भरतपुर- १२ चितवन निवासी बानियाँलाई ५० हजार ७८ रुपैयाँकाे उक्त सम्मान प्रदान गरिएकाे हाे ।
त्यसैगरी पुरस्कारतर्फ चित्रवन प्रज्ञा पुरस्कार डीआर पोखरेललाई प्रदान गरिएको छ । ‘संस्कृतिको सोपानमा चितवन´ कृतिका लागि भरतपुर-१० निवासी पोखरललाई ५० हाजार ७८ रुपैया राशीकाे उक्त पुरस्कारबाट सम्मानित गरिएकाे हाे । त्यस्तै वागीश्वरी प्रज्ञा पुरस्कार सिम्रन क्षेत्रीलाई प्रदान गरिएकाे छ । क्षेत्रीको `झुमर´ उपन्यासलागि उक्त पुरस्कार दिइएकाे हाे । भरतपुर-१ नारायणगढ निवासी क्षेत्रीलाई २५ हजार ७८ रुपैया राशीकाे उक्त पुरस्कारबाट सम्मानित गरिएकाे हाे ।
त्यस्तै भरतपुर प्रज्ञा पुरस्कार (काव्य) जगन्नाथ पण्डितको `घरबारीमा तोरी फुल्यो´ कवितासङ्ग्रह लाई प्रदान गरिएकाे छ । उक्त पुरस्कारको राशि २५ हजार ७८ रुपैया र सम्मानपत्र रहेको छ । भरतपुर प्रज्ञा पुरस्कार (आख्यान) अष्टदेव खनालको ‘अन्तश्चेतना´ उपन्यासले प्राप्त गरेकाे छ । उक्त पुरस्कारको राशि २५ हजार ७८ रुपैया र सम्मानपत्र रहेको छ ।
त्यसैगरी राष्ट्रिय खुल्ला कथा प्रतियोगिता २०८० मा पुरस्कृत स्रस्टालाई पनि सम्मान गरिएको छ । प्रतियोगितामा नुवाकोटका अनन्त लम्सालको ‘अन्तिम पथ. शीर्षकको कथा सर्वोकृष्ट भएकाे थियो । लम्साललाई ४० हजार ७८ रुपैयाँकाे उक्त पुरस्कार प्रदान गरिएकाे हाे । लमजुङकी अनिता पन्थीको ‘मृत्युको अपिल’ शीर्षकको कथाले उत्कृष्ट स्थान हासिल गरेको छ । पन्थीलाई ३० हजार ७८ रुपैयाँ राशीकाे उत्कृष्ठ कथा पुरस्कार प्रदान गरिएकाे हाे ।
त्यस्तै रामेछापका समीप खड्काको ‘भाग्यको कुरो’ शीर्षकको कथाले उत्तम स्थान गरेको छ । खड्काकाे कथा उत्तम हुदै २० हजार ७८ रुपैयाँ राशीकाे पुरस्कार प्राप्त गरे । त्यस्तै मोरङकी मन्दिरा मधुश्री (मन्दिरा कोइराला) को ‘पहिचान’ र राधिका कल्पित (राधिका गौतम पौडेल) को ‘अब लजाउँदैन लज्जावती’ शीर्षकका कथाले प्रोत्साहन पुरस्कार स्वरुप जनही १० हजार ७८ रुपैयाँ हात पारे ।
प्रतिष्ठानले ‘मेरो सपनाको भरतपुर’ शीर्षकमा चितवन जिल्ला स्तरीय निबन्ध प्रतियोगिता २०८० आयोजना गरेको थियो । निवन्ध प्रतियोगितामा हरिप्रसाद तिवारी रविको निबन्ध सर्वोकृष्ट घोषित हुदै १० हजार ७८ रुपैया र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै अनुस्का न्यौपाने को निबन्ध उत्कृष्ट हुदै ८हजार ७८ र प्रमाणपत्र प्राप्त गरिन । त्यस्तै चिरञ्जीवी दाहालको निबन्ध उत्तम घोषित भएको छ । उनले ६ हजार ७८ रुपैया प्राप्त गरे । प्रोत्साहन पुरस्कार प्राप्त गरेका सन्तोष सुवेदी र स्वस्तिक शर्मालाई जनही ४ हजार ७८ प्रदान गरिएकाे छ ।
प्रज्ञा परिषद्का उपकुलपति इन्द्रप्रसाद रेग्मीको अध्यक्षतामा भएकाे कार्यक्रमलाई प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलिया र सदस्य विष्णु तिवारी उषाले सहजीकरण गरेका थिए । कार्यक्रममा गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदी, पुरस्कृत स्रस्टा प्राडा कर्णबहादुर बानिया, सिम्रन क्षेत्री, भूपिन, केदारनाथ खनाल, नरेन्द्रकुमार राना, चित्रसेन अधिकारीले मन्तव्य राखेका थिए ।