बारीका रसिला टिपी फलहरू खाँदा मिठो हुन्न र !
आफ्नै आँगनमा फुले मखमली काे पाे खुसी हुन्न र !
के जान्छौ परदेशमा घर भुली बाबा नजानू अब
आए साहु भने म तिर्छु रिनको भारी म बोकूँ सब
ढुङ्गो दर्शनमा रगेट्छु बलले के अग्नि बल्दैन र ?
बाँझो खेत म जोत्न थाल्दछु भने के रत्न फल्दैन र ?
खाडीमा कति मूल्य आउँछ बुबा के चल्छ खै जिन्दगी
आफ्नै ढाँड गरा अजस्र पसिना फल्छन् म बेचूँ जति
अग्ला पर्वतमा पुगी गगनका तारा गनूँ सक्छु म
पौडी सागरमा पुगेर पिँधमा मोती चुमी टिप्छु म ।
भर्ने शिल्प कला र कौशल हुँदा औँला बने सुन्दर
औँला पाँचवटा समान नहुँदा के हात चल्दैन र ?
बाबा हाँक्छु म थाप्छु काँध बलियो चिन्ता नगर्नू कति
के बस्छौ परदेशमा घर भुली छाडी सबै सन्तति ।
खम्बा एक भएर थाम्छु घरको छानो म नै छाउँछु
तिम्रा ओठ खुलुन् अनेक सुखले आशा लिई आउँछु ।।
फल्ने वृक्ष कतै त्यहाँ छ र कुनै पैसा बनी पातमा
एक्लो व्यक्ति बसी विदेश घरमा निद्रा कहाँ रातमा ?
बाबा साथ बसौँ ढिँडो बरु टिपौँ यो सागको झोलमा
त्योभन्दा सुख शान्ति मिल्दछ यहीँ के बाँच्नु अन्योलमा ?
धनकुटा

