काठमाडौ । काठमाडौमा एकै मन्चबाट २५ कृति लोकार्पण गरिएको छ । ३ भदौमा साहित्यकार अम्बिका धिताललगायतका २४ लघुकथा कृति १ लघुकथा समालोचना गरी २५ कृतिकाे एकैसाथ लोकार्पण गरिएको हो ।
लघुकथाकार श्रीओम श्रेष्ठ रोदन, खेमराज पोखरेल,साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, कल्याण पन्तलगायतले उक्त कृतिको संयुक्त रूपमा बिमोचन गरेका थिए।
साहित्यकार अम्बिका धितालको जूनको जात्रासहित छविलाल खड्का, खेमराज पोखरेल, ममता मृदुल, त्रिलोचन ढकाल, गंगा खड्का, गोपाल संग्रौला, अन्जु शर्मा, कुमुदप्रसाद शर्मा प्याकुरेल, भाभा शर्मा, निर्मल बराल, विश्वराज अधिकारी, डा. कुसमाकर शर्मा गौतम, तुलसी पण्डित, तेजप्रकाश श्रेष्ठको लघुकथा संग्रहको विमोचन गरिएको हो ।
यस्तै रन्जु खनाल, शुक्रराज कुँवर, हिरण्यकुमारी पाठक, रमेन्द्र कोइराला, नवराज शर्मा, डा. हरिप्रसाद भण्डारी, रोशन पराजुली, पीपी कोइराला र सुनिता निरौला पौडेलका लघुकथा कृति लोकार्पण गरिएको हो । यसैगरी प्राडा कपिल लामिछानेको लघुकथा समालोचना कृतिको लोकार्पण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि रहेका श्रेष्ठले लघुकथाको मानक सिद्धान्त, लघुकथाको अवस्थाबारे आफ्नो भनाइ व्यक्त गरेका थिए । विशिष्ट अतिथि लेकालीले तीसको दशकमा लघुकथाको अवस्था, लघुकथाले पाएको विधागत मान्यतालगायत बताए ।
लघुकथाकार खेमराज पोखरेलको अध्यक्षतामा भएको कृतिहरूको लोकार्पण कार्यक्रममा नेपाल लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदन प्रमुख अतिथि र साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली र कल्याण पन्त विशिष्ट अतिथि थिए।
बृहत् लघुकथा कृति लोकार्पण समूहले आयोजना गरेको कार्यक्रममा लघुकथाकार पोखरेलको जन्मदिन समेत मनाइएको थियो । स्वागत मन्तव्य साहित्यकार रमेन्द्र कोइरालाले गरेको कार्यक्रमको सहजीकरण ममता मृदुलले गरेकी थिइन् ।
संगमकाे सन्ध्या दिवसमा ४ कविले सुनाए दर्जन कविता
Tags: No Comments
मकवानपुर । साहित्य सङ्गम मकवानपुरले स्थापना दिवसकाे अवसरमा आइतबार हेटौंडामा संयुक्त कविता वाचन कार्यक्रम गरेकाे छ । लेखनका हिसाबले चार पुस्ताका चार कविले कविता सुनाएका थिए ।
संगमले हरेक वर्ष मनाउँदै आएकाे स्थापना दिवस अन्तरगत ३५ औं सन्ध्या दिवसकाे अवसरमा आइतबार संयुक्त कविता कार्यक्रम गरिएकाे हाे । कविता वाचनमा एउटै मञ्चमा ४ पुस्ताका कविहरुले आफ्ना ३/३ वटा कविताहरु वाचन गरेका थिए ।
म जस्तै मेरा कविता पनि साना छन्, मसँगै मेरा कविता पनि ठूला हुनेछन् कवि अनसूया खनालले कविता वाचन अघि आफ्ना भनाइ यसरी व्यक्त गरिन् । उनले आफ्ना तीनवटा कविता सुनाइन् । बिचरी चरी, मेरो गाउँ र आमा शीर्षकका कविता उनले सुनाइन् ।
नवपुस्ताकी अनसूयापछि प्रतिमा पाठकले आफ्ना तीन कविता प्रस्तुत गरेकी थिइन् । लामो समयपछि मन्चबाट कविता सुनाउँदै गर्दा उनले अग्रज पुस्ताबाट आफूले धेरै सिकेकाे तर आफूले सिकेका कुरा पुस्तान्तरण गर्न नसकेकाे बताइन् । प्रतिमाले कैदी सम्भावना, बुद्ध र बाँकी अर्कोपटक शीर्षकका कविता वाचन गरेकी थिइन् ।
यसैगरी कवि सुवास खनालले सानो छँदा बुबाको कविता चोरेर स्कुलमा सुनाउँदा पुरस्कृत भएकाे बताउँदै बुबाकाे कवितासँगै आमा पुस्ताले गाउने लाेक भाकाले लेख्न सिकाएकाे बताए । उनले कलेज एक यातना शिविर शीर्षकको कविताबाट वाचन सुरु गरे । यससँगै उनले वजनको वजन र राहत शीर्षकको कविता सुनाए ।
अग्रज पुस्तालाई प्रतिनिधित्व गर्दै कवि साम्ब ढकालले पनि अन्तराल, युक्रेनमा युद्ध :सम्वेदनामय सम्वेदना र फुटपाथबाट सङ्घम् शरणम् गच्छामी शीर्षकका कविताहरु सुनाए ।
सन्ध्या सम्मानबाट पौडेल सम्मानित
साहित्य सङ्गम मकवानपुरले यस वर्षकाे सन्ध्या सम्मानबाट चेतप्रसाद पौडेललाई सम्मानित गरेको छ । संगमकाे सन्ध्यामा नियमित उपस्थित भएका पौडेललाई सम्मान गरिएकाे सचिव मनाेज पोखरेलले जानकारी दिए । सैँपुले साइँलो उपनामले चिनिने पौडेलले त्रिसत्यमा आधारित महाकाव्य समेत लेखेका छन् ।
मकवानपुर । आज ३ भदौ श्रावण शुक्ल पूर्णिमा । प्रत्येक वर्ष हिन्दु धर्मावलम्वीहरुले श्रावण शुक्ल पूर्णिमाका दिनलाई जनै पूर्णिमा (ऋषि तर्पणी) रक्षाबन्धन पर्व मनाउँदै आएका छन् । यो पर्व देशभर जनै (नवयज्ञोपवीत) एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।
पूर्णिमाकाे दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्ने गर्छन् ।यो पबित्र दिनलाई काठमाडौंका नेवार समुदायमा गुन्हुपुन्ही भनि मनाइने चलन छ ।
रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ मन्त्रोचारण गरी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको छ । ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ अर्थात् “जसरी सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई बचाउन गुरु वृहस्पतिले रक्षाविधान गरी तयार गरेको रक्षाबन्धन(डोरो)बाट अत्यन्त वलशाली दानवराज वलिलाई बाँधेका थिए, त्यसरी नै म तिमीलाई बाँद्दछु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ” भन्ने अर्थ भएको पौराणिक मन्त्र पढेर रक्षाबन्धन बाँध्ने परम्परा आज पनि प्रचलित छ ।
जनैमा प्रयुक्त हुने नौ डोरा ३ ग्रन्थि वा शिखाहरूले ईश्वरीयज्ञान र जीवनचक्रबारे वास्तविक रहस्य बुझ्ने कुरामा मार्गदर्शन गर्न सहयोग गर्छन । यी कर्महरू गर्दा व्यक्ति, देवऋण, ऋषिऋण र पितृ ऋणबाट मुक्त हुने धार्मिक विश्वास छ। दानवी शक्तिबाट रक्षित हुनका लागि आजैका दिन रक्षाबन्धन वा हातेडोरो बाँध्ने गरिन्छ । जनैपूणिर्माको दिन बाँधिएको रक्षाबन्धन गाई तिहारका दिन गाईको पुच्छरमा बाँधि दिएमा मृत्युपछि वैतरणी नदी सजिलै पार हुने जनविश्वास छ ।
सिद्धार्थ गौतमले आजकै दिनमा काम शक्तिमाथी विजय प्राप्त गरेको स्मरण गर्दै बौद्ध धर्मावलम्वीहरूले पवित्र तिर्थहरूमा गई मेला भर्ने गर्दछन्। आजका दिन शैलुङ, कालिञ्चोक, हलेसी, नगरकोट लगायतका पर्वतीय शिखरहरूमा समेत मेला लाग्ने गर्दछ ।
नेवार समुदायमा आजको दिनलाई गुन्हु-पुन्ही भनी मनाइने परम्परा छ। नेवार समुदाय का हिन्दू द्विज तागाधारी जाती राजोपाध्याय ब्राह्मण र क्षेत्री (छ-थरी) श्रेष्ठहरू ले संकल्प गरी नयाँ जनै लगाउने चलन छ भने सबैले आजकै दिन परम्परा अनुसार नौ थरीका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई खाने चलन छ । यसरी तयार गरिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षाका कारण चिसो भएको मौसममा शरीरमा तापसञ्चार हुने विश्वास गरिन्छ ।
यसैगरी उपत्यका का कृषक तथा ज्यापु जातीले यस दिन विभिन्न प्रकारको स्वरबाट वर्षा र खेतीको कामबारे कृषकहरूलाई जानकारी दिने भ्यागुताले गठेमङ्गलका दिन नरभक्षी घण्टासुरलाई बाटो भुलाई धापमा जाकिदिएकाले आजको दिन भ्यागुताको पनि पूजा गर्ने प्रचलन छ। तराई क्षेत्रमा रक्षाबन्धनलाई दिदी-बहिनी र दाजु-भाइको आपसी मायाको चाडका रूपमा पनि लिइन्छ। यो दिन दिदी-बहिनीले आफ्ना दाजु-भाइको दीर्घायु र सफल जीवनको कामना गरी हातमा कलात्मक राखी बाँधी आफ्नो रक्षाको बचन लिने चलन छ ।
काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, जनकपुरधामको गङ्गासागर तथा धनुषसागर, जुम्लाको दानसाधु त्रिवेणी आदि स्थानमा पवित्र स्नान गरी महादेवको पूजा अर्चना गर्न भक्तजनहरूको ठूलो घुइँचो लाग्छ ।
रक्षा बन्धन हिन्दू धर्मावलम्बीहरूले मनाउने एउटा पवित्र दिन हो । रक्षाबन्धन शब्दमा दुई शब्द जोडिएको छ । यो चाड श्रावण शुक्ल पूर्णिमाको दिन मनाईन्छ । जनै लगाउनेहरू यस दिन पुरानो जनै फेरेर नयाँ जनै लगाउने गर्दछन् । यस दिन वर्षभरीका लागि आवश्यक पर्ने जनै तयार गरी मन्त्रेर राख्ने गरिन्छ ।
यो पर्व भारतमा अलगै प्रकारले मनाईन्छ । यस दिन बहिनीहरूले आफ्नो भाइको हातमा पवित्र धागो रक्षाबन्धन(राखी) बाँधेर, टिका लगाएर मिठाई खुवाउछन । भाईले बहिनीलाई केही उपहार अथवा दक्षिणा पैसा दिन्छन् तथा बहिनीको रक्षा गर्ने वचन दिन्छन् ।
पौराणिक कथाको अनुसार देवराज इन्द्र र दैत्यराज वृतासुरका साथ १२ वर्षसम्म भयकंर युद्ध चलेको थियो । यस युद्धमा असुरहरूले देवताहरूमाथि विजय प्राप्त गरेका थिए । पराजित देवगण धर्म एवं संस्कार विहीन भएर जीवनयापन गर्न लागे । यसरी गौरवहीन जीवनदेखि देवराज इन्द्र बांच्नु भन्दा मर्नु नै श्रेयस्कर सम्झेर असुरसंग अन्तिम युद्ध गर्ने संकल्प लिएकाे पौराणिक ग्रन्थहरुमा उल्लेख छ । त्यो दिन श्रावण शुक्ल चतुर्दशीको दिन थियो । अतः देवगुरु वृहस्पतिले अघिल्लो दिन इन्द्रको कल्याण एवं विजय कामना होस् भनी श्रावण महिनाको पूर्णिमाको शुभमूहूर्तमा इन्द्रलाई रक्षाबन्धन बाँधेर वल प्रदान गरेका थिए ।
त्यो कुन रक्षासूत्र थियो जुन रक्षासूत्र बांध्नाले देवराज इन्द्र विजयी बने । वास्तवमा त्यो पवित्रताको रक्षासूत्र थियो । जसको भावार्थ यही हो कि यदि मानिसले आफ्नो आसुरी वृतिहरू माथि विजय प्राप्त गर्न चाहन्छ भने आफ्ना धर्मपत्नीसंग पनि रक्षासूत्र अवश्य बांध्नु पर्दछ । मन, वचन र कर्मलाई पवित्र बनाउनु पर्दछ । एक अन्य शास्त्र कथा अनुसार जब यमदूतले आफ्नो बहिनी यमुनासंग राखी बांध्ने समयमा भनेको हुन्छ कि जसले यस पवित्रताको राखी बँधाउछ उ यमदूतको सजाय अथवा भयबाट मुक्त हुन सक्दछ । रक्षाबन्धन एक धार्मिक उत्सव पनि हो । जसको सम्बन्ध जीवनमा श्रेष्ठता एवं निर्विकारितासंग छ । यसकारण यस पर्वलाई विषतोडक पर्व पनि भनिन्छ ।
विजयको प्रतीक
रक्षाबन्धन मर्यादा र आत्मा निग्रहद्वारा मृत्युमाथि विजय प्राप्त गर्ने पर्व हो । रक्षासूत्रको बन्धन र टिका यस उत्सवको प्रमुख विधान हो । सूत्र आत्माको मयादा र संयमको प्रतीक हो र टिका आत्म स्वरुप स्थितिमा स्थित हुने प्रतीक हो । सूत्र कुनैपनि वस्तुलाई अविच्छिन गर्ने वस्तु हो । सुनियोजित एवं सुव्यवस्थित वस्तु एक सूत्रमा ग्रथित मानिन्छ । रक्षाबन्धनको सही अर्थ आफू आत्म स्थितिमा अचल, अडोल भएर पवित्रताको पालन गर्नु हो किनकि पवित्रताद्वारा नै मृत्युमाथि विजय प्राप्त गर्न सकिन्छ ।
मानव रक्षाका लागि जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरूले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्त्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
यसैदिन ब्राहृमण, क्षेत्री र वैश्यगरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवित) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनितो गरी बसिन्छ ।
यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ । स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पणगरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ ।
अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ । वैदिक गुरु परम्पराअनुसार जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायक, वाग्मती नदी किनार र मठमन्दिरमा भक्तजनको भीड लागेको छ ।
क्वाँटी खाने दिन
जनैपूर्णिमाका दिन ११ थरीका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।
नेपालको तराईक्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइबीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।
जनैपूर्णिमाका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको छ। गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने मनोमानी ढङ्गले चलेको भन्दै आइतबार कार्यालयमा तालाबन्दी गरिएको हाे ।
गाउँपालिकामा अनियमितता बढेको विषयमा आफूहरुले पटकपटक ध्यानाकर्षण गर्दासमेत अध्यक्ष लामिछाने आफूखुसी एकलैटी गरेकाेले गाउँपालिकामा क्रियाशील ५ राजनीतिक दलले तालाबन्दी गरेकाे हाे । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, नेकपा बहुमत, रास्वपा लगायतका ५ राजनैतिक दलले आइतबार कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका हुन्।
५ दलले आइतबार एक विज्ञप्ति जारी गर्दै यसअघि पालिकामा बुझाइएकाे ज्ञापनपत्रमा विभिन्न विषय उल्लेख गरिएकाे जनाएकाे छ । विज्ञप्तिममा शिक्षक तथा कर्मचारीहरुलाई नियम विपरित सरुवा गरेको,प्रध्यानाध्यापकलाई दबाब दिएर राजीनामा गर्न लगाएकाे, विद्यालयहरुमा विषयगत शिक्षक नपठाएको, विद्यार्थीको अनुपातमा शिक्षक नियुक्ति नगरेको, कार्यरत शिक्षकलाई विस्थापित गर्नेगरि शिक्षक थप गरेको, सरकारी सवारी साधनको दुरुपयोग भएको, कृषिमा दिएको अनुदानमा पारदर्शिता नभएको, योजना सम्पन्न भएको महिनौं समयसम्म समेत भुक्तानी नपाएको,राजस्व संकलनमा पारदर्शिता नभएको लगायतका विषयमा वेवास्ता गरेको भन्दै तालबन्दी गरेका हुन् ।
अध्यक्षले छलफल र समन्वय नै नगरी मनलाग्दी गर्न लागेपछि आफूहरुले बाध्य भएर तालाबन्दी गर्नुपरेको जनाएकाे ५ राजनैतिक दलले विज्ञप्ति मार्फत अराजक क्रियाकलाप नसच्याए थप कडा आन्दोलनको चेतावनी समेत दिएका छन्। केही दिन अघि गाउँपालिका उपाध्यक्ष भक्त बहादुर खत्रीले पालिका अध्यक्ष लामिछानेले स्वास्थ्य शाखाका कर्मचारीकाे जिम्मेवारी हेरफेरमा एकलौटी गरेको भन्दै तालाबन्दी गरेका थिए।

मकवानपुर । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त भएका छन् ।
दोलखा तामाकोशी गाउँपालिका वडा नम्बर ३ निवासी काफ्लेलाई आइतबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेशको मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरेका हुन् ।
नेपालको संविधानको धारा १६० उपधारा (२) बमोजिम प्रदेश मुख्यमन्त्री बहादुर सिंह लामाकाे सिफारिसमा काफ्लेलाई मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी प्रकाश चापागाईंले बताए ।
२५ वर्षदेखी निरन्तर कानून व्यवसायीको रुपमा कार्य गर्दै आएका काफ्लेले यसअघि पूर्व कानून तथा न्यायमन्त्री भीम बहादुर तामाङ र पूर्व महिला तथा समाज कल्याण मन्त्री लिला कोइरालाको सल्लाहकार भएर समेत काम गरिसकेका छन् ।
नेपाल बार एसोसिएसनको सदस्य रहनु भएको काफ्ले नेपाल बार एशोसिएसन र काठमाडौं जिल्ला बारका विभिन्न समितिमा संलग्न भई काम गरिसकेका छन् ।