मकवानपुर । सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट निजामती कर्मचारी पाउन सकेन । विगत ८ वर्षदेखि सर्वोत्कृष्ट कर्मचारी खोजी गरिरहेको सरकारले यस पटक पनि नभेटेको हो ।
हरेक वर्ष भदौ २२ गते मनाइने निजामती कर्मचारी दिवसको दिन १ जना सर्वोत्कृष्ट,१० जनालाई उत्कृष्ट र ३० जना कर्मचारीलाई निजामती पुरस्कार दिने कानूनी व्यवस्था रहेको छ । तर यो वर्ष समेत सरकारले सर्वोत्कृष्ट बाहेक १० जनालाई उत्कृष्ट र ३० जनालाई निजामती पुरस्कारद्वारा पुरस्कृत गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले २२ भदौको निजामती सेवा दिवसको अवसरमा १० जनालाई उत्कृष्ट र ३० जनालाई निजामती पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरेको हो ।
निजामती सेवा दिवस २२ भदौमा सर्वोत्कृष्ट राष्ट्रसेवक कर्मचारी घोषणा गरी २ लाख रुपैयाँ दिने व्यवस्था छ । तर पछिल्लो ८ वर्षदेखि सरकारले सर्वोत्कृष्ट कर्मचारी घोषणा गरेको छैन ।
सरकारले दिने निर्णय गरेपनि उत्कृष्ट निजामती र निजामती सेवा पुरस्कार पाउनेहरूको नाम समेत टुंगो लागिसकेको छैन ।
पशुपति,पोताला,सक्षम,न्यु डाँफे,परेली र हेटौडा एकेडेमी विजयी
Tags: No Comments
मकवानपुर । मकवानपुरकाे हेटौडामा जारी मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगितामा शुक्रबार ६ खेल भए । मकवानपुर जिल्ला फुटबल संघको आयोजना भएकाे प्रतियोगिता अन्तरगत शुक्रबारकाे खेलमा पशुपति युवा क्लब, एफसी पोताला, सक्षम, न्यु डाँफे, परेली र हेटौडा फुटबल एकेडेमी विजयी भएका छन् ।
बिहीबार वर्षाका कारण भएका २ खेलहरु शुक्रबार बिहान हेटौंडा ६ स्थित गौरीटार रंगशाला र हेटौंडा–११, स्थित सिमलटार मैदानमा खेलाइएकाे थियाे । सिमलटार मैदानमा भएको खेलमा एफसी चाइना क्वाटरलाई १–० गोलअन्तरले हराउँदै पशुपति युवा क्लब विजयी भयाे । यसैगरी गौरीटार रंगशालामा भएको खेलमा विजय युथ क्लबलाई ५–३ ले हराउँदै एफसी पोताला विजयी भयाे ।
यसैगरी शुक्रबार गौरीटार रंगशालामा भएकाे खेलमा सक्षमले एफसी ईन्टरनेटलाई २-० गोल अन्तरले पराजीत गरेकाे छ भने न्यु डाफेले एफसी ईन्टरनेट सिटिलाई ५-१ ले पाखा लगाएकाे छ । शुक्रबार नै सिमलटार मैदानमा भएकाे खेलमा परेली युवा क्लबले हेटौंडा भेट्रान्सलाई ६ -० ले पराजीत गरेकाे छ भने हेटौंडा फुटबल एकेडेमीले महावीर क्लबलाई १-० गोल हराउँदै जीत हात पारेकाे छ ।
यस्तै शनिबार जिल्ला लिग अन्तरगत ४ खेल हुनेछ । गौरीटार रंगशालामा २ खेल तथा सिमलटार मैदानमा २ खेल हुने आयोजकले जनाएकाे छ । गौरीटार रंगशालामा पहिलाे खेल दिउँसाे १ बजे पदमपोखरी युथ क्लब र सानाेपाेखरा क्लब बीच हुनेछ भने दाेस्राे खेल दिउँसाे ४ बजे ७ नम्बर फुटबल क्लब र एफसी मल्टिभिजन बीच हुनेछ । यसैगरी सिमलटारमा दिउँसो १ बजे रियल स्टार र गोर्खा व्वाइज बीच तथा दिउँसो ४ बजे न्यु कम्बाइन र एफसी नामटार बीच हुने आयोजकले जनाएकाे छ ।
१४ भदौबाट सुरु लिगको प्रतियोगिताको फाइनल खेल असोज ९ गते हुनेछ । लिग विजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्ने छन् भने प्रदेशस्तरीय लिगमा सहभागिता जनाउने छन् । उपविजेता टिमले ५० हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडीहरुले नगद पुरस्कार प्राप्त गर्नेछन् । जिल्लामा रहेका २८ वटा क्लवलाई वर्गीकरण गर्ने गरी जिल्ला लिग सुरु गरिएको हो । फुटबल संघमा आबद्ध रही अघिल्लो पटकको लिग खेलेका २८ क्लवलाई ४ समूहमा विभाजन गरि प्रतियाेगिता संचालन गरिएकाे हाे ।
यसअघि भएको जिल्ला लिगको उपाधि न्यु डाँफे युथ क्लबले जितको थियो भने हटिया स्र्पोटर्स एकेडेमी उपविजेता बनेको थियो।
मकवानपुर । आज भाद्र शुक्ल तृतीया अर्थात हरितालिका तीज पर्वकाे दोस्राे दिन । हिन्दु नेपाली महिलाहरूले हरितालिका तीज पर्व हर्षोल्लासका साथ मनाउँदै छन् । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ ।
भाद्र शुक्ल द्वितीयाको दिन दर खाएर सुरु हुने तीज पर्व ४ दिनसम्म मनाइन्छ । तीजमा व्रत बस्न सहज होस् भन्ने उद्देश्यले अघिल्लो दिन दर खाने परम्परा रहेको छ । भाद्र शुक्ल तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज पर्व समापन गरिन्छ ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।धर्मशास्त्र अनुसार महिला र पुरुष दुवैले हरितालिका(तीज) को व्रत गर्नुपर्ने भए पनि प्रायः महिलाहरुले मात्रै व्रत वस्ने गरेका छन् । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित पुरुष, महिलाले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् बताउछन् ।
संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा आजैको दिन नीराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकोले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबै नारी नीराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् बताउँछन् ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । वरदान विपरीत पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ ।
“निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन् । सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत बस्नु उत्तम हुने बताइन्छ । स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने धर्मशास्त्रविद् बताउँछन् ।
समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेको धार्मिक मान्यता छ । आत्मावादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन् । समग्रमा परिवारको यस लोकमा सुख, शान्ति र पारलौकिक सद्गतिका लागि तीजको व्रतको महत्त्व छ । व्रत सकाम, निष्काम, नित्य, नैमित्तिक, र काम्य गरी पाँच किसिमका छन् । तीजको व्रत नित्य र काम्य दुवै खालको भएको धर्मशास्त्रीय मान्यता छ । तीजको व्रत हिन्दु मात्रका लागि नभई मानव मात्रका लागि भएको कुरा धर्मशास्त्रीय ग्रन्थहरूमा उल्लेख गरिएको छ ।
मकवानपुर । हरितालिका तिजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने गरेको भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै जानु आवश्यक रहेकाे बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकाेटाले बताएका छन् । नेपाली महिलाको महान् पर्व हरितालिका तिज २०८१ को पावन अवसरमा शुभकामना सन्देश दिंदै उनले यस्ताे बताएका हुन् ।
‘तीजकाे अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदी बहिनीहरूमा पारिवारिक सुख, शान्ति र समृद्धिकाे शुभकामना व्यक्त गर्दछु’ उनले सन्देशमा भनेका छन् । हरितालिका तिजलाई नेपाली महिलाले एक सनातन सांस्कृतिक पर्वको रूपमा मनाउँदै आएका छन् । ‘भाद्र शुक्लपक्ष तृतीया तिथीका दिन पर्ने यस पर्वको अवसरमा सम्पूर्ण दीदी, बहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दछु’ प्रदेश प्रमुख देवकाेटाले भनेका छन् ‘यस्ता सांस्कृतिक पर्वहरूले सबै नेपालीहरूको बिचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पु-याइरहेका छन् ।’
उनले शुभकामना सन्देशमा भनेका छन् ‘हरितालिका तिजले सम्पूर्ण नेपाली महिलाहरुलाई समाजमा विद्यमान लैंगिक विभेद, जातीय विभेदलगायत सबै प्रकारका असमानताहरूको अन्त्य गर्दै समतामूलक प्रगतिशील समाजको निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु । मौलिक संस्कृति र परम्पराहरूलाई संरक्षण तथा प्रवर्द्धन गर्ने गरी यो चाड मनाउनु हुनेछ भन्ने आशा गर्दछु ।’
मकवानपुर । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेकोले मकवानपुर जिल्लालगायतका जिल्लामा वर्षा भइरहेकाे छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। देशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र बाँकी भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
शुक्रबार राति देशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।