मकवानपुर । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले शुक्रबार राति १२ बजेबाट लागु हुनेगरी मट्टितेल र डिजेलकाे साबिक मूल्यमा ३ रुपैयाँ बढाएको हो ।
पेट्रोल, खाना पकाउने ग्याँस र हवाई इन्धनकाे मूल्य भने यथावत् रहेकाे निगमले जनाएकाे छ । इण्डियन आयल कर्पोरेसनले शुक्रबार पठाएको मूल्यसुची अनुसार मट्टितेल र डिजेलकाे पैसा बढेर आएको हाे । भारतबाट मुल्य बढेर आएकाेले आयल निगमले राति १२ बजेपछि डिजेल र मट्टितेलमा ३ रुपैयाँ बढाएको जनाएको हो ।
योसँगै काठमाडौं र पोखरामा डिजेल र मट्टितेलको मूल्य १५३ रुपैयाँ पर्नेछ । यसैगरी दाङ र सुर्खेतमा १५२ रुपैयाँ तथा बाँकी क्षेत्रमा १५०.५० रुपैयाँ पर्ने निगमले जनाएकाे छ ।
मकवानपुर । बागमती प्रदेश उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्द कुमार श्रेष्ठले प्रदेश हस्तकला ग्राम स्थापना तथा संचालनको सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक २०८१ को कार्यान्यनका लागि आफूहरुले जोड दिइरहेको बताएका छन् ।
जनपत्र मिडिया प्रालि हेटौंडाले आयोजनामा प्रदेश हस्तकला ग्राम स्थापना तथा संचालनको सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक २०८१, प्रदेश राजपत्रमा प्रकाशित भएपछी यसले सरोकारवाला पक्षलाई पार्ने प्रभावकारी कार्यान्वयनका विषयमा गरेकाे पत्रकार भेटघाटमा सभापति श्रेष्टले उक्त कुरा बताएका हुन् । उक्त कानून पाइलट प्रोजेक्टका रुपमा कार्यान्यन गर्न लागिएकाे समेत उनले जानकारी दिए ।
संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा भएकाे कार्यक्रममा मकवानपुर हस्तकला संघका संस्थापक अध्यक्ष ज्ञानभक्त लामाले हस्तकलाको क्षेत्रमा धेरै काम भएको र यसलाई फराकिलो रुपमा बुझ्नका लागि प्रदेश सरकार र सांसदहरुलाई आग्रह गरे । हस्तकलाको क्षेत्रमा आफूले बिगत ५० वर्षदेखि काम गर्दै आएको तर राज्यले कुरा नबुझ्दा यस क्षेत्रमा थप समस्या भएको लामाले बताए ।
हस्ताकला संघका सल्लाहकार तथा नेपाल उद्योग बाणिज्य संघका पूर्व केन्द्रीय सदस्य सर्मिला डंगोलले हस्तकलाका कारण नेपाललाई बिदेशमा चिनाउन सकिएकोले यस क्षेत्रमा सरकारले विशेष ध्यान दिन जरुरी रहेको बताइन् । ‘हस्तकलाको क्षेत्रमा थोरै लगानीबाट धेरै कामदार राखेर काम गर्दा थप रोजगारीको समेत सृजना भएकाे छ’ डंगोलले भनिन् ‘यसक्षेत्रकाे लागि कानून मात्र होइन काम गरिरहेकाहरुलाई प्रोत्साहनका कार्यक्रम पनि सरकारले ल्याउनुपर्छ ।’
जनपत्र मिडियाले संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोगमा बिधेयक समितिमा छलफलमै रहेका बेला सरोकारवाहरुको सुझाब लिने कार्य गरेकाे मिडियाका अध्यक्ष हरि हुमागाईंले जानकारी दिए । उक्त कार्यक्रमबाट आएका सुझावहरुलाई समेटेर तीन महले लिखित समितिलाई बुझाइएको उनले बताए । त्यसपछी समिति हुँदै प्रदेश सभाबाट विधेयक पारित भई प्रदेश राजपत्रमा प्रकाशित भएको छ ।
मकवानपुर । बागमती प्रदेशमा जलवायु परिवर्तनबाट हुने असर न्यूनीकरणमा सबै एक जुट हुनुपर्नेमा जोड दिइएको छ । जलवायु परिवर्तका कारण बागमती प्रदेशका बिभिन्न क्षेत्रमा परेको असरका विषयमा शुक्रबार हेटौंडामा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो कुरामा जोड दिएका हुन् ।
जनपत्र मिडिया प्रालि हेटौंडा–२ को आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा भएकाे जलवायु परिर्वतनका कारण धेरै खालका समस्या भएको र यसको समस्या विश्वव्यापी रुपमा भएकाले पनि सबैले आफ्ना क्षेत्रबाट लाग्नका लागि कार्यक्रममा सहभागी प्रदेशसभाका समितिका सभापति, पूर्वमन्त्री, सरोकारवालाहरु, बिभिन्न क्षेत्रका व्यक्तित्वहरुले कार्यक्रममा सुझाब दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशसभा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले जलवायु परिवर्तनको रोकथाम र न्यूनिकरणका लागि तीन तहका सरकारबीच समन्वय अभाव भएको बताए । उनले बागमती प्रदेश सरकारमा वातावरण क्षेत्र हेर्ने कानून, कार्यालय र कर्मचारीसमेत नभएको जानकारी दिए । ‘स्थानीय तहले जलवायु परिवर्तनका क्षेत्रमा काम गर्न सकेनन् । जलवायु परिर्वतनबाट नेपाल पहिल्यैदेखि प्रभावित रहँदै आएको छ’ उनले भने ।
‘जलवायु परिवर्तको असर सम्बन्ध थाहा हुन थालेकाे धेरै समय भएकाे छैन्’ सभापति श्रेष्ठले भने ‘नेपालको विकास प्रणाली र उत्पादनका हिसाबले जटिलता बढ्दै गइरहेको छ ।’ ‘प्राकृतिक प्रकोपको सबैभन्दा बढी प्रभाव गरिब र विपन्न वर्गलाई परेको उनले बताए । उनले जलवायु परिवर्तनका कारण पृथ्वी मानिसको बसोबासका लागि अयोग्य बन्दै गइरहेकोले न्यूनिकरण गर्न पहल गर्नु पर्ने बताए ।
बागमती प्रदेशसभा सदस्य तथा पूर्वसामाजिक विकास मन्त्रीकुमारी मोक्तानले बागमती प्रदेशमा जलवायु परिवर्तनका प्रभावका विरुद्धमा गरिने कार्यका लागि वातावरण क्षेत्रका विज्ञ तथा कार्यालय नै नरहेको बताइन् । ‘प्रदेशमा जलवायु परिवर्तनका प्रभावसँग प्रतिकाका रुपमा काम गर्ने सरकारी संरचना आवश्यक रहेकोछ’ उनले भनिन् ‘जलवायु परिवर्तनबाट कृषि क्षेत्रको उत्पादन घटेकाे छ, विषादीको प्रयोगले किसानहरुमा क्यान्सरकाे संक्रमण छ ।’ हिमाली क्षेत्रमा पानीको स्रोत सुकेकाले पहाडी र तराईका क्षेत्रमा समस्या आएको उनले बताएन् । पूर्वाधार विकासमा इन्जिनियरले आफ्नो ढंगले काम गर्न नपाउनु र जनप्रतिनिधि नै हाबी हुँदै आइरहेको प्रवृतिले विपदजन्य घटनालाई बढावा दिइरहेको उनले बताइन् । ‘जलवायु परिवर्तनका असरसँगै मानवीय त्रुटीलाई रोकथामको नीति लिएर राज्य अगाडि बढ्नुपर्छ’ उनले भनिन् ।
कार्यक्रममा डिभिजन वन कार्यालय मकवानपुरका अधिकृत राधिका शर्माले जलवायु परिवर्तनका कारण समाजमा परेको असर र सम्भावित असरका विषयमा प्रस्तुतीकरण गरेकी थिइन् ।
कार्यक्रममा सहभागि कसले के भने ?
नेपालमा र प्रमुखतः बागमती प्रदेशमा जलवायु परिवर्तनको असर डरलाग्दो रुपमा छ । विगतमा जस्तै मनसुन बाहिरिसक्ने असोज महिनाको दोस्रो हप्तामा अविरल वर्षाका कारण बागमती प्रदेशमा ठूलो जनधनको क्षती भएको छ । यो जलवायु परिवर्तनको प्रमुख कारण हो । गैसस महासंघ मकवानपुरले जिल्लाका अधिकांश स्थानीय तहमा जलवायु परिवर्तनको क्षेत्रमा काम गर्नेगरी नीति बनाउन पहल गरेको छ । बागमती प्रदेशलाई हरित प्रदेश घोषणा गर्ने सरकारको घोषणा कागजमै सीमित बनेको छ । प्रदेश सरकारले जलवायु परिवर्तनको असर न्यूनिकरणका क्षेत्रमा काम गर्न नसकेको र बिनियोजित बजेट परिचालनमा पनि कमजोर देखिएको छ ।
रमिला सापकोटा, अध्यक्ष, गैरसरकारी संस्था महासंघ मकवानपुर
खोलामा किनारमा बसोबास गर्दै आइरहेको माझी समुदायको पानीको स्रोत सुकेका कारण जीवनयापनमै समस्या भइरहेको छ । बागमती नदीको कालो पानी खानुपर्ने बाध्यतामा माझी समुदाय रहेको छ । जोखिमपूर्ण जीवन बिताउँदै आएका नागरिकको संरक्षणमा पनि राज्यले ध्यान दिनुपर्छ । जलवायु परिवर्तनका कारण मात्र नभई क्रसर उद्योगलगायतका पूर्वाधारका संरचनाहरुले विपदजन्य घटना बढाएको छ । राजनीतिक नेतृत्वले जलवायु परिवर्तनका क्षेत्रमा काम गर्ने गरी योजना बनाउन सकेको छैन् ।
लक्ष्मी माझी, महासचिव, माझी राष्ट्रिय मुक्तीमोर्चा नेपाल तथा गाउँकार्यपालिका सदस्य, बकैया गाउँपालिका कार्यालय ।
नागरिक समाजले उठाएका विषयमा राज्य गम्भीर हुन जरुरी छ । जलवायु परिवर्तनको रोकथाम र न्यूनिकरणका लागि तीन तहको सरकारको समन्वय आवश्यक छ । समन्वय अभावका कारण यसका क्षेत्रमा काम नै हुन सकेको छैन् ।
कुमारी वाइवा, संयोजक, हिमराइट्स मकवानपुर
धुँवा, धूलो, ग्यास र प्लाष्टिकजन्य पदार्थको प्रयोग घटाएर जलवायु परिवर्तनको असर न्यूनिकरणको लागि सहरमा मात्रै केन्द्रित नगरी ग्रामिण क्षेत्रमा पनि क्रियाकलापहरु गनुपर्ने देखिन्छ । राज्यले जलवायु परिवर्तनको रोकथाम र न्यूनिकरणका लागि मुख्य बिन्दुमा पुगेर काम नै गर्न सकेको छैन् । डढेलो रोक्न राज्यसँग उपयुक्त नीति र योजना नै छैन् । पानीको रिचार्ज हुने गरी संरचना निर्माणमा जोड गर्नुपर्छ ।
दीपक पुडासैनी, सचिव, राष्ट्रिय कृषक समूह महासंघ नेपाल बागमती प्रदेश
विकासको नाममा विनास भइरहेकोले यसलाई रोक्न आवश्यक छ । जंगली जनावर र मानवबीचको द्वन्द्व रोक्नु पर्नेछ । जनावर र मानवको संरक्षणका लागि राज्यले उपयुक्त नीति अबलम्बन गर्नुपर्नेछ । वनजंगलको विनाश र अव्यवस्थित विकासले जलवायु परिवर्तन गराइरहेको छ । यसलाई रोक्न नसके जीवनयापन संकट बन्दै गइरहेको छ ।
नानीमैया रुम्बा, कोषाध्यक्ष, सामुदायिक वन उपभोक्ता महासंघ बागमती प्रदेश
जलवायु परिवर्तनका प्रभावका उत्पन्न समस्याका कारण कृषि पेशा गर्न अप्ठेरो भइरहेको छ । खोलानालामा पानी सुक्दै जानुले सिचाईमा समस्या र जंगली जनावर मानवबस्ती र खेतियोग्य जग्गामा आइपुग्नुले ठूलो नोक्सानी किसानहरुले व्यहोर्नु परेको छ ।
अर्जुनप्रसाद घिमिरे, अध्यक्ष, चालिसे कृषक समूह हेटौंडा–१७ राजदेवी
राज्यले जलवायु परिवर्तनका कारणहरुको साना–साना समस्याहरुमा ध्यान नै दिन सकेको छैन् । किसानहरुले उठाएका सबालमा स्थानीय तहले चासोका साथ लिने गरेको छैन् । कृषि उत्पादनमा विषादीको प्रयोग र प्लाष्टिकको प्रयोग घटाउन सके जलवायु परिवर्तनको असर कम गर्न सकिन्छ । यसको समस्या समाधानका लागि पहिला साना विषयहरुबाट काम गर्न जरुरी छ ।
गोविन्द पौडेल, राष्ट्रिय कृषक समूह महासंघ नेपाल, मकवानपुर संयोजक
जनपत्र मिडिया प्रालिका अध्यक्ष हरि हुमागाईको अध्यक्षतामा भएकाे कार्यक्रममा बागमती प्रदेशसभा उद्योग, पर्यटन तथा वातावरण समितिका सचिव राजु श्रेष्ठ लगातयकाे आतिथ्यता रहेको थियाे ।
- बिष्णु गिरी ‘निश्चल’
केही दिनको लामो बिदा भयो की पदयात्रामा निस्कीहाल्ने हाम्रो टिमको बानी थियो । विश्व हेर्न नपाएपनि आफ्नो देश त घुम्नै पर्छ भन्ने सोच सानैदेखि थियो । हुन् त विश्वका एक दर्जन बढी देशको भ्रमण गरेको छु तर शहरीक्षेत्रमा मात्रै । आफ्नै देशको मनाङ्ग मुस्ताङ्ग घुमेपछि भने मलाई कम्तीमा बर्षको एकपटक आफ्नै देशको नयाँ ठाउँ घुम्ने हुटहुटी लाग्थ्यो त्यसैले लामो बिदा या चार्डबर्वको समयममा कतै घुमौ भन्ने योजना मनमनै बनाउँदै थिए ।
तिहारको टिका सकिएसँग घरमा एक्लै बसिरहको थिए बिबेक भान्जाको फोन आयो मामा लाङटाङ पदयात्रामा जाने । मैले नजाने केही तयारी छैन भने भान्जाले केही तयारी चाहिदैन जुत्ता लुगा भएभईहाल्छ भने मैले जुत्ता छैन भनेपछि अहिले पदयात्रालाई लक्ष्क्षीत गरेर गोल्डस्टार कम्पनीले नयाँ जुत्ता बजारमा ल्याएको छ सस्तो पनि छ त्यो भए हुन्छ भने राती अबेर भईसकेको थियो । गोल्डस्टारको सोरुममा फोन गरियो खुल्ला रहेछ त्यसपछि २ हजार ३०० मा जुत्ता किनेर इसेवा मार्फत रसुवाको स्याप्रुबेसीसम्मको बस टिकट काटे । कार्तिक १९ गते बिहान लाङटाङ पदयात्रामा जाने कुरा भयो । घरमा कसैलाई भनेको थिइन घरबाट सजिलै अनुमति पाएपछि अरु के नै चाहियो र ।
विश्व पर्यटन बजारमा लाङटाङ क्षेत्रले बेग्लै पहिचान बनाएको छ । नेपालको पदयात्रा मार्गमा यो तेस्रो पदयात्रा गन्तव्यका रूपमा चिनिएको छ । रसुवा, नुवाकोट र सिन्धुपाल्चोक तीन जिल्लामा फैलिएको लाङटाङ राष्ट्रिय निकुञ्ज २०३२ सालमा स्थापना गरिएको हो ।१,७१० वर्ग किमि क्षेत्रमा फैलिएको छ भने ४१० वर्ग किलोमिटर मध्यवर्ती क्षेत्रमा समेटिएको छ । ४६ प्रजातिका स्तनधारी, ३ सय १५ प्रजातिका चरा, ११ प्रजातिका घस्रिने जनावर, ३० प्रजातिका माछा, १० प्रजातिका माकुरा र ५८ प्रजातिका पुतलीलगायत हजारभन्दा बढी प्रजातिका वनस्पति पाइन्छ । विश्वमै दुर्लभ रेडपाण्डा, हिमचितुवा, बँदेल, हिमालयन कालो भालु, घोरल, लंगुर, आसामी बाँदर, सेता बाँदर, झारल, घोरल, कस्तुरी मृगलगायत वन्यजन्तु पाइन्छन् त्यसकारण पनि ति सबैको अवलोकलन वन्यजन्तु र वातावरणबारे जानकारी पाउने उदेश्यले मन प्रफुल्ति भएको थियो ।
हुन्त पैदल हिँड्नु भनेको आफैंले आफैंलाई चिन्नु पनि हो । आफ्नै देश, संस्कृति, रहनसहन र भूगोल हेर्न, बुझ्न बिबेक भान्जा सहित हामी ४ जनाको टोली धादिङको गल्छी भएर अगाडि बढ्यौ । यात्राको क्रममा बाटो कतै ढलान, कतै कच्ची, कतै पक्की । तन मन सिरिङ्ग हुने बाटो । काठमाडौंबाट हिँडेको करिब ६ घण्टामा धुन्चे (१९६० मि) पुग्यौं । धुन्चेबाट करिब सवा घन्टामा हामी स्याफ्रुबेंसी (१५०३ मि) पुग्यौं । पानी परिरहेकोले प्लाष्टिकको छाता ओडेर स्याप्रुबेशीमा दुनोट र चिया खाएर हिड्यौ । बाटोमा लाङटाङ खोला जलबिधुत आयोजनाले २० मेगाबाटको बिद्युतको लागि बाटो बनाएको रहेछ । मोटरबाटो भएपनि मोटर चाहि नचन्ने । आयोजनाका गाडिहरु मात्र चल्ने रहेछन् । बास बस्न हामीलाई ‘ब्याम्वो’ पुग्नु थियो, त्यसैले स्याफ्रुबेंसीमा कत्ति पनि अलमल गरेनौं । भोटेकोशीमाथिको झोलुङ्गे पुल र लाङटाङ खोलाको पुल तरेर अगाडि बढ्यौं ।
लाङटाङ खोलासँगै बाटो हिँड्छ, बाटोसँगै खोला, हामी उसैलाई पछ्याउँदै, उसकै संगीत सुन्दै हिँड्छौं। बुद्धमन्त्र लेखिएका लुङता फहराइरहेको पहिरो भन्ने ठाउँमा पुग्यौं । पहिरोमा जाँदा–आउँदा पदयात्रीहरू तथा सहयोगीहरू सुस्ताउने र चिया खाजा खाना खाने ठाउँ रहेछ । हाइड्रोपावर कटेपछि होटलका आँगन हुँदै हामी चरक्क चर्केको घामसँगै सुनका धर्काधर्की र चाँदीले लेपन गरेका बाटाभरिका ढुंगामा आफ्ना पैताला राख्दै वनैवनको बाटो ब्याम्बो (१९७० मि) पुग्यौं । यो क्षेत्र रेड पाण्डाको बासस्थान पनि रहेछ । यहाँ तीन वटा होटल थिए शेर्पा, ब्याम्बो र टिवेटन। हामीले टिवेटनलाई रोज्यौ । बिजुली बत्ती छैन, सोलारको धिपिधिपी उज्यालोमा बस्न परेको छ । स्याप्रुबाट यत्ति नजिक पनि सञ्चार सुविधा टेलिफोन सेवा छैन । टावरै देखाउँदैन, डाटा चल्दैन । मोबाइल चार्ज गर्न कठिन छ । तै होटलको साहुजीलाई अनुरोध गरेर वाइफाइ चाहिँ चलाउने सुविधा एकछिन पाएर घरपरिवारसँग कुराकानी भयो ।
राम्चे (२२२३ मिटर) भीरको एउटा ढुङ्गामा टाँगिएको फोटो देखेर हाम्रा हिँडाइ टक्क रोकियौ फोटोले २०७२ सालको महाभूकम्पको त्रासदी सम्झायो । लाङटाङ पदयात्रामा निस्केका इजरायली युवाको भूकम्पसँगै ओइरिएको पहिरोमा ढुङ्गाले किचेर यहीँ मृत्यु भएको रहेछ । उनकै सम्झनामा सो फोटो राखिएको रहेछ । ठाउँठाउँमा भेट्टाइने पहेंलपुर ऐंसलुको स्वाद लिँदै अघि बढ्छौ । दुइटा डाँडाका बीचमा अलिकति आफ्नो अनुहार देखाएर मुसुक्क हाँसेको ‘चदाङ पिक’ देख्दा रमायौ । झण्डै ३ घण्टाको हिडाईपछि हामी ब्याम्बोबाट लामा होटल (२४१०मि) पुग्यौं। यहाँ १०/१२ वटा होटल रहेछन् । पहिले लामा भन्ने व्यक्तिले यता चौंरी पालेर खर्क बनाएर होटल चलाएकाले यस ठाउँलाई उनकै सम्झनामा ‘लामा होटल’ भनिएको रहेछ ।
त्यसबाट पनि हामी अगाठि बढ्यौ रिभर साइड (२७६९ मि.) पुगेर खाना खायौ । अघाएको पेट बोकेर हिड्दाँ घोडा तवेला पुगियो । केही समय आराम गरेपछि हामी अगाडि बढ्यौ । झोलामा दिदीले हालीदिएको भाईमसला खादै हाम्रो यात्रा अगाडि बढायौं । ठाडै उकालो आयो, गलेको जिउलाई झन् गलायो । उकाली ओराली गर्दै थाङसाप भिलेज ( ३२०० मि) पुग्यौं । यहाँ २/३ वटा होटल रहेछन् । हामी टिब्बत होटलमा बास बस्यौ । भोलीपल्टको ब्रेकफास्टपछि फेरी हाम्रो यात्रा निरन्तर अगाडि बढ्यो ।
चिसो सिरेटो चल्न सुरू गर्यो । लाङटाङ पुग्नु अघि म त बेस्सरी थाकें, हिड्नै गाह्रो हुन थाल्यौ । पदयत्रा छोडेर फर्कियौ कि जस्तो पनि लाग्यो । मलाई चिसोले समातेको रहेछ । डाँडामा रहेको होटलवालाले टोपी लाउन, लुगा थप्न सल्लाह दिए । मैले चिसिएको जिउमा लुगा थपेँ, ज्याकेट लाएँ । त्यसपछि अलि आरामको महसुस भयो । त्यहीबेला ‘इनर्जी जुस पनि खाए । एक गिलास जुसको ३ सय रुपैँयाका पर्दोरहेछ । लाङटाङ पुग्नु अघिको एउटा बस्ती ढुङ्गै ढुङ्गाले पुरिएको रहेछ । २०७२ सालको भुकम्पको क्षती रहेछ त्यो । सिजनको बेला भएकाले भूकम्पसँगै आएको ठूलो हिउँ पहिरोले धेरै जनधनको नोक्सानी भएको रहेछ । लामो यात्रापछि लाङटाङ भिलेज (३४७५ मि)पुग्यौ ।
विशेष खालको फलामे चिम्नी चुल्होमा दाउरा हालेर आगो सल्काएपछि कोठा रनक्क तात्यो। त्यसकै वरिपरि बसेर तातो भात खायौं । तरकारी भने जुन होटलमा पनि आलुकै पाइने । वन साग अलिअलि मिसाएको र स्कुसको तरकारी मात्रै पाईने । सबै होटलमा सुकेको याक चौंरीको मासु मात्र पाइने रहेछ । यात्रामा भेटिएका सबैले बोन पो धर्म मान्ने यताकाले आफ्नो डाइनिङ हलको एउटा छेउमा बुद्धधर्म अनुसारको मन्दिर स्थापना गरेका हुँदा रहेछन् । सबै ठाउँमा दलाई लामाको फोटो पनि देखिन्थे ।
क्यानजिन गुम्पा (३८५० मि.) तिर निरन्तर अगाडि बढ्यौ । खुटा दुखेर हिड्न नसक्ने अवस्था थियो तथापी बिस्तारै यात्रालाई निरन्तरता दिईरहयौ । बाटामा पानीबाट चलाइएको माने, छोर्तेन, लुङदार र साना गुम्बा देख्दा मनै आनन्दित भयो । ढुङ्गैढुङ्गाको अजङ्गका भिराला पहाड, ढुङ्गाकै लामा लामा छोर्तेनहरू, ढुङ्गै छापेका बाटाहरू, ढुङ्गैले ठडिएका घर र गुम्बाहरू र बाटाभरि फुलेका फूलहरूले हाम्रो प्रफुल्लित थियो । लाङटाङ र क्यानजिनको बीचमा पर्ने दुई वटा मुन्दुम (३२१३ मि) र सिन्दुम (३५५५ मि) लुङता फहराइ रहेका भ्याली काटेर सानो उकालो चढ्ने बित्तिकै क्यानजिनका होटलहरू र छेउका चौंरी खर्क छयाङ्ग देखिए ।
क्यानजिन रि (४३५०) चढ्न तयारी थियो तर मलाई सन्चो नभएर मैले चाहि चढिन् । यसरी लाङटाङको यात्रा सफलता पूर्व पुरा गरी क्यानजिनबाट हामी एकै दिनमा स्याफ्रुबेसी पुग्न सक्दैन्थ्यौं । बीचमा कहीँ न कहीँ बास बस्नै पर्ने थियो । हिजो अस्ति हिँडेका बाटाहरूसँग फेरि पिरति गास्दै लामा होटलमै बास बसियो । लामा होटलबाट हिँडेर बाटा, जङ्गल र लाङटाङ खोलासँग अन्तरङ्ग गर्दै स्याप्रुबेंसी आइपुग्यौँ । स्याप्रु बजार घुम्यौँ । अविस्मरणीय लाङटाङ, क्यानजिन भ्याली र क्यानजिन रिको सम्झना बोकेर आठौ दिनको दिन काठमाडौं आई पुग्यौ ।
लाङटाङ पदयात्रामा बाटाभरी कहिले इजरायली, कहिले क्यानेडियन, न्युजिल्याण्डवासी, जापानी, भारतीय र इन्डोनेसियन, अझ बढी त इटालियन, कोरियान कोही एकल, कोही जोडी, कोही गाइड र सहयोगीका हिडिरहेका भेटिन्थे । म सबैजसोलाई दुई हात जोडेर नमस्ते भन्थें। मुसुक्क हाँसेर उनीहरू पनि नमस्ते भन्थे। दुःख त भयो, गाह्रो त भयो तर घरै बसेको भए यो भूस्वर्ग, यो हिमाली जनजीवन, यहाँको संस्कृति, यहाँको भू–बनोट, कहाँ देखिनु र कहाँ भोग्न पाउनु बाटो सम्झिंदा कष्टकर लागेपनि यात्राको क्रममा नयाँ कुरा देख्न भोग्न र सिक्न पाउने हुनाले यात्रा सकिने बितिकै मान्छेले आन्नदको अनुभूति गर्छ । यसैले जीवनमा एकपटक यात्रा गर्ने पर्ने गन्तब्य हो लाङटाङ ।
मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडाबाट ३१ किलो गाँजासहित २ जनालाई नियन्त्रणमा लिएकाे छ । बिहीबार हेटौंडा १५ रातोमाटेबाट ३१ किलो १ सय २० ग्राम गाँजासहित उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएकाे हो ।
प्रहरीले मनहरी गाँउपालिका ७ पेन्चेका ३३ वर्षीष शंकर स्याङ्तान र ४० वर्षीय रामशरण प्रजालाई नियन्त्रणमा लिएकाे जनाएकाे छ । हेटौंडा–१५, रातोमाटेस्थित प्रहरी चेकपोष्टकाे टोलीले मनहरीबाट पथलैयातर्फ जाँदै गरेको ना १ ह ८३२४ नम्बरको अटोलाई जाँच गर्दा उक्त परिमाणकाे गाँजा बरामद गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ ।
प्रहरीले गाँजासँगै अटो चालक स्याङ्तान र आटोमा सवार प्रजालाई नियन्त्रणमा लिएको हाे । लागूऔषध र अटोसहित नियन्त्रणमा लिइएका उनीहरुलाई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।