मकवानपुर । बागमती प्रदेशसभाको हिउँदे अधिवशेन १८ माघ (आज) बाट सुरु हुदैछ । प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले १८ माघको लागि अधिवेशन आव्हान गरेका हुन् ।
बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख देवकोटाले गत मंगलबार प्रदेशसभाको पन्ध्रौं अधिवेशन आव्हान गरेका हुन् ।
गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको हिउँदे अधिवेशन आव्हानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो । विपक्षी दलले माग गरे पनि सरकारसंग पर्याप्त ‘बिजनेस’ नभएपछि प्रदेश सभाको वर्षे अधिवेशन सकिएको ४ महिनासम्म प्रदेश सरकारले आव्हान गर्न सकेको थिएन ।
बागमती प्रदेशसभा सचिवालयमा ४ विधेयकहरु दर्ता भएका छन् । प्रदेश सरकारले विभिन्न ४ वटा संशोधन विधेयक दर्ता गराएको सचिवालयले जनाएको छ । १८ माघबाट सुरु हुने अधिवेशनका बैठकहरुबाट पारित गर्नेगरी ४ वटा संशोधन विधेयक दर्ता भएको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज कुमार गुप्ताले जानकारी दिए ।
उनका अनुसार प्रदेशसभाको हिउँदे अधिवेशनमा पेश हुनेगरी प्रदेश खेलकुद ऐनलाई संशोधन गर्न बनेको विधेयक, प्रदेश औद्योगिक व्यवसाय ऐनलाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसायी सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता भएको हो ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक यसअघि नै प्रदेशसभामा दर्ताका लागि पेश भएको भए पनि सभामुख भुवन कुमार पाठकले प्रतिष्ठानको पदाधिकारी नियुक्तिमा समस्या देखिएपछि उक्त विधेयक फिर्ता गरेका थिए ।
१६ असोज २०८१ राति १२ बजेदेखि प्रदेशसभाको १४ औं वर्षे अधिवेशन अन्त्य गरिएको थियो ।
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सहिद दिवस २०८१ को अवसरमा सहिदहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ ।
प्रदेश प्रमुख देवकोटाले बुधबार सहिद दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्नुहुँदै सहिदहरुको योगदानलाई उच्च सम्मान सहित श्रद्धाञ्जली व्यक्त गर्नु भएको हो ।
इतिहासका विभिन्न कालखण्डमा देशको निम्ति आफ्नो प्राणको आहुती दिने ज्ञात अज्ञात सहिदहरूप्रति उहाँले श्रद्धाञ्जली अर्पण गर्नु भएको हो ।
सहिदहरूको बलिदानको मर्मलाई बुझी समृद्ध नेपालको साझा सपना साकार पार्न जिम्मेवारी पूर्वक आ आफ्ना कर्तव्य पालन गर्नमा सबैलाई प्रेरणा मिलोस भन्ने कामना गर्नुभएको छ ।
“बर्षौं पहिले कसैले रोपेको बिरुवाले आज छहारी र शीतलता प्रदान गरेजस्तै देशको निम्ति जीवन उत्सर्ग गर्ने राष्ट्रप्रेमी मानवको बलिदानको परिणामले आज हामी सम्पूर्ण नेपाली स्वाधीन, स्वतन्त्र र स्वाभिमानी भएर अग्रगामी मार्गमा छौँ” सन्देशमा भनिएको छ “सहिदहरूको त्याग, साहस र बलिदानको गौरवपूर्ण गाथाले देशलाई माया गर्न र आफ्नो कर्तव्यमा निष्ठापूर्वक लागिरहन हामीलाई हौसला मिल्ने कुरामा म बिश्वस्त छु ।”
आजको यो महत्वपूर्ण दिनमा सम्पूर्ण राजनैतिक दल र आम नागरिक गम्भीर भई आत्मसमीक्षा गरेर देशको हीतलाई सर्वोपरी राखी अघि बढेमा मात्र सहिदप्रति वास्तविक सम्मान हुनेछ विज्ञाप्तीमा भनिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको यो उत्कृष्ट व्यवस्था तिनै महामानवका बलिदानको उपज भएको उहाँले उल्लेख गर्नु भएको छ ।
मकवानपुर । निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा हेटौंडामा राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव हुने भएको छ ।
निर्माण व्यवसायी महासंघको सहयोगमा आगामी फागुन महिनामा दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ को आयोजना गर्न लागिएको संघले मंगलबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । १० वर्षपछि हुन लागेको दोस्रो संस्करणको महोत्सव ६ फागुन देखि १८ फागुन २०८१ सम्म हुने निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कंडेलले जानकारी दिए ।
महोत्सव तथा प्रदर्शनी निर्माण व्यवसायसँगै यस क्षेत्रको आर्थिक गतिविधिमा थप योगदान पुऱ्याउने उद्देश्यका साथ आयोजना गर्न लागेको उनले बताए । महोत्सव निर्माण सामाग्री उद्योगी, विक्रेता र उपयोगकर्ताबीच सोझो सम्पर्कको स्थापना गराई व्यवसाय वृद्धि गर्ने, उत्पादित बस्तुहरुको बजार प्रवर्द्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, निर्माण उद्योगी र व्यवसायीहरुका वीच समस्या, अवसर र चुनौतीबारे अन्तक्रिया गर्ने र स्थानीय औद्योगिक, निर्माणलगायत उत्पादन तथा सेवाहरुको विशेष प्रवर्धनमा सहयोग पुऱ्याउने उद्देश्यले आयोजना गरिएको अध्यक्ष कडेलले बताए ।
महोत्सवमा निर्माण उद्योग क्षेत्रको वर्तमान समस्या, चुनौति, अवसरका बारेमा छलफल, गोष्ठीलगायतका अन्तरक्रियात्मक कार्यक्रम समेत आयोजना गरिने छ । नेपालमा क वर्गका निर्माण व्यवसायी सहभागी भई सरोकारवालासमेतको सहभागितामा हुने छलफल, गोष्ठीका निष्कर्षहरु बाट नीति निर्मातालाई ध्यानाकर्षण गराइने कंडेलले बताए । महोत्सवमा निर्माण क्षेत्रमा प्रयोगमा आएका अत्याधुनिक उपकरणहरु र निर्माण सामाग्रीहरुको प्रदर्शनी, विक्री र प्रदर्शनीमा विशेष जोड दिइने अध्यक्ष कंडेलले जानकारी दिए ।
महोत्सव अवधिमा निर्माण उद्योग क्षेत्रका नयाँ सम्भावनाको खोजी, सान्दर्भिक गोष्ठी, अन्तक्रिया र कार्यशालालाई विशेष जोड दिइने छ भने निर्माण व्यवसायी, दर्शक, उपभोक्ताहरुका राय, सल्लाह तथा सुझावहरु संकलन गरिने बताइएको छ।
महोत्सवमा निर्माण उपकरण, निर्माण सामाग्री, औद्यौगिक उत्पादन, स्थानीय उत्पादन, हस्तकला सामाग्रीलगायत स्थानीय उत्पादन गरी ३५० स्टल रहने छन् । यस्तै गायन क्षेत्रको आइडल र मनोरञ्जनात्मक कार्यक्रमको प्रस्तुति समेत रहने बताइएको छ ।
बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख देवकोटाले प्रदेशसभाको पन्ध्रौँ अधिवेशन आह्वान गर्नु भएकाे प्रदेश प्रमुख कार्यायका प्रवक्ता देवेन्द्र सापकोटाले बताउनु भयाे । गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो । सदनका लागि पर्याप्त ‘बिजनेस’ नभएपछि विपक्षी दलले माग गरे पनि सरकारले बैठक राख्न सकेको थिएन ।
मकवानपुर । ‘विजुली माया व:न श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार’ २०८१ बाट कलाकार नीर शाह सम्मानित भएका छन् । मंगलबार भीम विराग संगीत साहित्य कला प्रतिष्ठानले हेटौंडामा सम्मान तथा सागीतिक कार्यक्रमको आयोजना गरी १६ औ पुरस्कार शाहलाई प्रदान गरिएको हो ।
प्रतिष्ठान अध्यक्ष केशवलाल श्रेष्ठ, साहित्यकार नगेन्द्र थापा, एलबी क्षेत्री लगायतले १ लाख राशीको पुरस्कारसहित गीतकार शाहलाई सम्मानित गरेका हुन् । मूलतः चलचित्र निर्माण, निर्देशन एवम् अभिनयमा समर्पित शाह २०३२ सालदेखि निरन्तर नेपाली गीत लेखनमा समेत सक्रिय स्रष्टा हुन । उनले नेपाली गीत संगीतमा पुर्याएकाे योगदानको कदर गर्दै पुरस्कृत गरिएको प्रतिष्ठानले जनाएको छ ।
नेपाली गीत लेखनको क्षेत्रमा विगत पाँच दशकदेखि निरन्तर कलम चलाउदै आएका कलाकार शाहका पर्खी बसें आउला भनी.., बादल बनाइदेऊ.., गहिराइमा डुब्दै नडुब .. लगायतका गीत चर्चामा छन् ।
व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी आमाको सम्मानमा २०६४ सालमा पुरस्कारकाे स्थापना गरेका हुन् । २०६४ सालमा अम्बर गुरुङलाई ‘विजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार’ प्रदान गरिएकाे थियाे । स्थापना हुँदा ५० हजार रुपैंया रहेकाे उक्त पुरस्कारकाे राशी २०६७ सालबाट बृद्धि गरी १ लाख रुपैंया पुऱ्याइएको छ ।
त्यसपछि प्रेमध्वज प्रधान- २०६५, भक्तराज आचार्य – २०६६, फत्तेमान राजभण्डारी- २०६७, शान्ति ठटाल- २०६८, दीप श्रेष्ठ- २०६९, प्रकाश श्रेष्ठ- २०७०, न्हुच्छेबहादुर डङ्गोल- २०७१, मीरा राणा- २०७२, कर्म योञ्जन- २०७३, चेतन कार्की- २०७४, दावा ग्याल्मो- २०७७, दीपक जङ्गम- २०७८, किरण प्रधान २०७९, राजेन्द्र थापा- २०८० पुरस्कृत भएका छन् ।
वरिष्ठ कलासाधक भीम विरागको सम्मानमा तरङ्ग साँस्कृतिक परिषद्को पहलमा ७ भाद्र २०५९ मा स्थापना भएको भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल नेपाली सङ्गीत, साहित्य र कला क्षेत्रकाे संस्था हाे । देश तथा विदेशमा रही नेपाली वाङमयकाे क्षेत्रमा उल्लेखनीय योगदान पुन्याउँदै आएका सर्जक, स्रष्टाहरूलाई सम्मानित एवम् पुरस्कृत गर्दै आएको यो संस्थाले मकवानपुरको माटोबाट वार्षिक रुपमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान समर्पण गर्दै आइरहेको प्रतिष्ठानले जनाकारी दिएकाे छ ।
प्रतिष्ठान आफैंले स्थापना गरेकाे भीम विराग राष्ट्रिय सङ्गीत पुरस्कार (२०७७), भीम विराग राष्ट्रिय साहित्य पुरस्कार (२०८०), भीम विराग राष्ट्रिय कला पुरस्कार (२०८०), भीम विराग राष्ट्रिय पत्रकारिता पुरस्कार (२०८१) प्रदान गर्दै आएकाे छ । यसैगरी प्रतिष्ठानले तुलसीमाया – शिवकुमारी सिर्जनशील नारी पुरस्कार ( सस्थापक मुक्तिगोविन्द वैद्य, २०६०), भीम – मथुरा बाल प्रतिभा पुरस्कार (संस्थापक विन्दुगोपाल गोर्खाली, २०६०), कमला भवानी सङ्गीत पुरस्कार (सस्थापक घनश्यामशङ्कर शर्मा, २०६५) प्रदान गर्दै आएकाे छ ।
यस्तै शीला नारी सङ्गीत पुरस्कार (संस्थापक आशीष श्रेष्ठ, २०६५), हर्षनर बज्राचार्य स्मृति स्वर्ण पुरस्कार (संस्थापक ज्योतिरत्न बज्राचार्य, २०६६), विजय बानियाँ स्मृति लोक सङ्गीत पुरस्कार (सस्थापक चुनु बानियाँ, २०७०), चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार (संस्थापक रामबहादुर पाख्रिन, २०७१), मङ्गलादेवी श्रेष्ठ स्मृति स्वास्थ्य सेवा पुरस्कार (संस्थापक देवप्रसाद श्रेष्ठ/दीपकप्रसाद श्रेष्ठ, २०७३), अजित सेन गुप्ता स्मृति भिन्न क्षमता पुरस्कार (संस्थापक रोशन सेन गुप्ता, २०७४ ) पुरस्कार समेत प्रदान गर्दै आएकाे छ ।