मकवानपुर । बागमती प्रदेशसभाको हिउँदे अधिवशेन १८ माघ (आज) बाट सुरु हुदैछ । प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले १८ माघको लागि अधिवेशन आव्हान गरेका हुन् ।
बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख देवकोटाले गत मंगलबार प्रदेशसभाको पन्ध्रौं अधिवेशन आव्हान गरेका हुन् ।
गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको हिउँदे अधिवेशन आव्हानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो । विपक्षी दलले माग गरे पनि सरकारसंग पर्याप्त ‘बिजनेस’ नभएपछि प्रदेश सभाको वर्षे अधिवेशन सकिएको ४ महिनासम्म प्रदेश सरकारले आव्हान गर्न सकेको थिएन ।
बागमती प्रदेशसभा सचिवालयमा ४ विधेयकहरु दर्ता भएका छन् । प्रदेश सरकारले विभिन्न ४ वटा संशोधन विधेयक दर्ता गराएको सचिवालयले जनाएको छ । १८ माघबाट सुरु हुने अधिवेशनका बैठकहरुबाट पारित गर्नेगरी ४ वटा संशोधन विधेयक दर्ता भएको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज कुमार गुप्ताले जानकारी दिए ।
उनका अनुसार प्रदेशसभाको हिउँदे अधिवेशनमा पेश हुनेगरी प्रदेश खेलकुद ऐनलाई संशोधन गर्न बनेको विधेयक, प्रदेश औद्योगिक व्यवसाय ऐनलाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसायी सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता भएको हो ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक यसअघि नै प्रदेशसभामा दर्ताका लागि पेश भएको भए पनि सभामुख भुवन कुमार पाठकले प्रतिष्ठानको पदाधिकारी नियुक्तिमा समस्या देखिएपछि उक्त विधेयक फिर्ता गरेका थिए ।
१६ असोज २०८१ राति १२ बजेदेखि प्रदेशसभाको १४ औं वर्षे अधिवेशन अन्त्य गरिएको थियो ।

