मकवानपुर । मकवानपुरकाे मनहरी गाउँपालिकामा ५ वटा पक्की पुल निर्माण सम्पन्न गरेको छ। गाउँपालिकाले आफ्नै स्रोतको करिब साढे ३३ करोडकाे लगानीमा उक्त पुल निर्माण गरेकाे हाे ।
शनिबार बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले निर्माण सम्मन्न ५ मध्ये २ वटा पुलको उद्घाटन गरेका छन् । ३ वटा पुलकाे गत वर्षनै उद्घाटन गरिएकाे थियाे । शनिरबार उद्घाटन गरिएका मध्ये मनहरी–३ मा रहेको ठाडोखोला पुल ८ दशमलव ४० मिटर चौडाइ र ९० मिटर लम्बाइको ३ स्पानकाे रहेकाे छ । जसको निर्माण हिराचन बानियाँ जेभीले ८ करोड ६७ लाख ५ हजार रुपैयाँमा गरेको हो। त्यस्तै हाँडी खोला पुल ३५ मिटर लम्बाइको १ स्पानको पुल हो, जसलाई भैरव नारायणम् जेभीले ५ करोड ३५ लाख ५१ हजार रुपैयाँको ठेक्का सम्झौतामा निर्माण गरेको हो।
पुल उद्घाटन कार्यक्रममा बानियाँले गाउँपालिकाकाे कामकाे प्रशंसा गर्दै हाँडीखोलाकाका कृषकले उत्पादन गरेका कृषि उपज बजारसम्म पुर्याउन सहज हुने बताए। ‘हाँडीखोलालाई पूर्व-पश्चिम राजमार्गसँग जोड्न प्रदेश सरकारमार्फत राप्ती खोलामा पुल बनायौं’ उनले भने । पालिकाकाे वडालाई जोड्न गाउँपालिकाले आफ्नै स्रोतबाट पुल बनाएकाे छ” उनले भने ‘लामिटार–मकरी सडक पिच गर्न प्रदेश सरकारमार्फत आवश्यक बजेट विनियोजन गर्न पहल गर्नेछु ।
प्रदेश सभा सदस्य बानियाँले २०८४ सालसम्म उक्त सडक जसरी पनि पिच गराएरै छोड्ने आश्वासन दिए । उनले हाँडीखाेलाकाे चकरीबाट हेटौंडा–१३ पदमपोखरी जोड्ने पुल निर्माणका लागि प्रदेश सरकारबाट बजेट व्यवस्थापन गरिने प्रतिबद्धता जनाए। वर्तमान शासन प्रणाली जनताको पक्षमा रहेको बताउँदै उनले भने ‘संघीयता र गणतन्त्र पछि विकासकाे सम्भावना प्रशस्त रहेकाे बताए।’
गाउँपालिकाकाे लामिटार–मकरी–चकरी–बेलडाँडा सडक अन्तर्गतका तीनवटा पुल गत वर्ष नै निर्माण सम्पन्न भई उद्घाटन समेत भइसकेकाे छ । तीमध्ये च्यापल खोला पुल (३ स्पान, लागत: ६ करोड २८ लाख ९८ हजार), ट्वाङ्ग्रा खोला पुल (२ स्पान, लागत: ६ करोड ४९ लाख ६० हजार) र मसिने खोला पुल (२ स्पान, लागत: ६ करोड ५९ लाख ५० हजार) रहेका छन् । यी तीनवटै पुलको निर्माण कार्य पनि बानियाँ हिराचन जेभीले गरेको थियाे ।
‘पुल निर्माण सकिएसँगै स्थानीयको दैनिक जीवनयापनमा सहजता आउने छ’ गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले भने ‘पुलका कारण किसानका कृषि उपजले बजार पाउने छ ।’ गाउँपालिकाले हेटौंडा–१३ हुँदै मनहरीका वडा नं. १ देखि ४ लाई जोड्ने वैकल्पिक मार्गको अवधारणाअनुसार २०७७ सालमै एकैपटक ५ वटा पक्की पुल निर्माणको बहुवर्षीय ठेक्का लगाएको थियो।
मकवानपुर । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक भएको छ । शुक्रबारको प्रदेशसभामा प्रदेश सरकारको आर्थिक सर्वेक्षण पेश गरिएको हो ।
उक्त सर्वेक्षण अनुसार चालु आर्थिक वर्षमा प्रदेशको आर्थिक वृद्धिदर ५.१८ प्रतिशत रहने अनुमान गरिएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रदेशको समग्र आर्थिक स्थितको प्रतिवेदन सभामा प्रस्तुत गरेका हुन् । उनले प्रस्तुत गरेको आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा बागमती प्रदेशको कुल ग्राहस्थ उत्पादन २२ खर्ब ३० अर्ब रुपैयाँ रहने प्रारम्भिक अनुमान गरिएको छ ।
प्रदेशले राष्ट्रिय तहको कुल ग्राहस्थ उत्पादनमा ३६.५२ प्रतिशत योगदान पुर्याउने संशोधित अनुमान रहेको छ । चालू आर्थिक वर्षमा पनि प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादनमा प्रदेश अगाडी रहने प्रारम्भिक अनुमान गरिएको छ । बागमती प्रदेशका नागरिकको प्रतिव्यक्ति आय २ हजार ६०२ अमेरिकी डलर रहेको छ । प्रदेशको कुल ग्राहस्थ उत्पादन उपभोक्ताको मूल्यमा २२ खर्ब ३० अर्ब रहने अनुमान गरेको छ ।
प्रदेश सरकारको चालु आर्थिक वर्षको फागुनसम्मको खर्च २५.६२ प्रतिशत पुगेको छ । चालु तर्फ ३५.२२ प्रतिशत खर्च भएको छ भने पुँजीगत तर्फ १९.९४ प्रतिशत मात्र खर्च गरिएको छ । सोही अवधिमा सरकारको कुल आय ४४ अर्ब ५६ करोड ५३ लाख रुपैयाँ रहेको छ । आर्थिक सर्वेक्षण अनुसार सवारी साधन करबाट प्रदेश सरकारले १२ अर्ब ५० करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेकोमा फागुनसम्म ७ अर्ब २२ करोड रुपैयाँ सङ्कलन भइसकेको छ ।
नेपाल राष्ट्र बैङ्कले सुरु गरेको प्रदेशगत मुद्रास्फीति प्रकाशन अनुसार, फागुन महिनामा बागमती प्रदेशको मुद्रास्फीति दर २.९८ प्रतिशत रहेको छ । नेपाल जीवनस्तर सर्वेक्षण अनुसार, बागमती प्रदेशमा गरिबीको रेखामुनिको जनसङ्ख्या १२.५९ प्रतिशत, बहुआयामिक गरिबी ७ प्रतिशत, गरिबिको गहनता ०.८९ प्रतिशत र फैलावट १२.६८ प्रतिशत रहेको छ ।
६ वटा समितिको प्रतिवेदन पेश
बागमती प्रदेशसभामा ६ वटा विषयगत समितिको प्रतिवेदन पेश गरिएको छ । प्रदेशसभाको शुक्रबारको बैठकमा ६ वटा संसदीय समितिको विषयगत वार्षिक प्रगति प्रतिवेदन पेश भएको हो ।
प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामा, सार्वजनिक लेखा समितिका सभापति श्रीराम लामिछाने, शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुरप्रसाद ढकाल, उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठ, अर्थ तथा विकास समितिका सभापति नुरज श्रेष्ठ र विशेषाधिकार समितिका सभापति मायादेवी शर्माले वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
यसैगरी प्रदेश चलचित्र विकास सम्बन्धी विधेयकलाई विषयगत समितिमा पठाउन बैठकले स्वीकृति प्रदान गरेको छ । बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश चलचित्र विकास सम्बन्धी विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावलाई सभामुख भुवनकुमार पाठकले निर्णयार्थ सभामा पेश गर्दा विषयगत समितिमा पठाउन सर्वसम्मत स्वीकृति भएको थियो ।
हेर्नुहोस प्रदेशको आर्थिक सर्वेक्षण
Economic Survey 2081-82_bgl63kdमकवानपुर । बागमती प्रदेश राजधानी हेटौंडा तथा मकवानपुर जिल्लाको दीर्घकालीन विकासलाई लक्षित गर्दै मुख्यमन्त्री बहादुर सिंह लामालाई प्रदेश गौरवको योजना बुझाइएकाे छ।
बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले प्रदेश गौरवको योजना समेटिएको विस्तृत पत्र मुख्यमन्त्रीलाई बुझाएका हुन् । सांसद श्रेष्ठले योजनाहरू बुझाउँदै आर्थिक वर्ष २०८२/८३ को बजेटमा समावेश गर्न समेत आग्रह गरेका छन् । प्रस्तावित गौरवका योजना हेटौंडा राजधानीको रूपमा सुशोभन गर्न, भौतिक पूर्वाधार विकास, सामाजिक सेवा प्रवर्द्धन तथा दिगो शहरी विकासका लागि अपरिहार्य रहेको उनले बताए ।
प्रदेशको प्रशासनिक भवन निर्माण, हेटौंडा–काठमाडौं सुरक्षित मार्ग (भीमफेदी–कुलेखानी), हेटौंडा बाइपास सडक (चुरियामाई–चोकिटोल), कर्रा नदी कोरिडोर, एकीकृत शहरी विकास योजना (टाउन प्लानिङ), प्रदेश सभा गृह निर्माण, हेटौंडा चक्रपथ निर्माण (PTMP अन्तर्गत), मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश विश्वविद्यालय लगाएतका योजनालाई आगामी आर्थिक वर्ष २०८२-८३ को बजेटमा आवश्यक रकम सहितको व्यवस्था गर्न उनले आग्रह गरे ।
श्रेष्ठले योजना पत्र पेश गर्दै प्रदेश राजधानी हेटौंडाको भौतिक संरचना अत्यन्तै कमजोर रहेको, प्रशासनिक सेवा सुविधाको अभाव रहेको, शहरीकरण अव्यवस्थित भएको, तथा शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा गम्भीर लगानीको खाँचो रहेको उल्लेख गरेका छन्। सांसद श्रेष्ठको प्रस्तुति र योजनाको औचित्यप्रति मुख्यमन्त्री लामाले गम्भीर चासो व्यक्त गर्दै प्रदेश सरकार विकासका आधारहरूमा स्पष्ट र कार्यान्वयनमुखी ढंगले अघि बढ्ने बताए। उनले भने, “हामी जनअपेक्षाअनुकूल बजेट ल्याउने तयारीमा छौं। यस्ता गम्भीर, यथार्थपरक र भविष्यदृष्टिकोणयुक्त योजनाहरूलाई प्राथमिकतामा राखिनेछ। केही योजना तुरुन्त कार्यान्वयनमा लैजान सकिन्छ भने केहीलाई चरणबद्ध रूपमा अघि बढाइनेछ।”
मुख्यमन्त्रीले योजना कार्यान्वयनका लागि प्रदेश योजना आयोग, सम्बन्धित मन्त्रालय र प्राविधिक निकायहरूसँग समन्वय गरेर योजना थप परिमार्जन, विस्तृत परियोजना प्रतिवेदन (DPR) तयारी र बजेट व्यवस्थापन गर्न निर्देशन दिने बताए।
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले राष्ट्रिय ललितकला प्रदर्शनी २०८२ को अवलोकन गर्नुभएको छ । बागमती प्रदेशको प्रथम महिला रुकमीणी देवकोटासमेतकाे उपस्थितिमा उहाँले आज राष्ट्रिय ललितकला प्रदर्शनी २०८२ को अवलोकन गर्नुभएको हाे ।
ललितकला प्रदर्शनी २०८२ अवलोकन गर्नुहुँदै प्रदेश प्रमुख देवकोटाले कलाकाे सम्मान र कलालाई प्रोत्सान आवश्यक भएको प्रतिकृया दिनु भयाे । प्रतिष्ठानद्वारा देशका सातवटै प्रदेशमा ‘प्रादेशिक ललितकला प्रदर्शनी’ सम्पन्न गरी ती प्रदर्शनीहरूबाट छनोट भएका देशभरका कलाकारले सिर्जना गरेका कलाहरुलाई प्रदर्शनीमा राखिएको छ ।
कलाकारहरुले परम्परागत, समसामयिक, आधुनिक चित्रकला, परम्परागत, समसामयिक, आधुनिक मूर्तिकला, वास्तुकला तथा लोककला, शिल्प-हस्तकला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलालगायतका करिव ६ सय कलाकारका ६ सय ५० कलाकृति समावेश छान् । अवलोकन कार्यक्रममा गण्डकी प्रदेश प्रदेश प्रमुखसमेतकाे उपस्थिति रहेकाे थियो ।
मकवानपुर । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशका व्यवस्थापक अरुण श्रेष्ठले अपाङ्गता भएका आफ्नै सन्तानलाई समेत अभिभावकले भेदभाव गर्ने गरेकाे बताएका छन् ।
अपाङ्गता भएका व्यक्तिहरुका लागि पहुँचयाेग्य सूचना सामाग्री तथा भाैतिक संरचना निर्माण सम्बन्धी अभिमुखिकरणमा उनले यस्तो बताएका हनु् । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशकाे आयाेजना तथा सामाजिक विकास मन्त्रालयकाे सहकार्यमा भएकाे उक्त कार्यक्रममा व्यवस्थापक श्रेष्ठले संयुक्त राष्ट्र संघकाे अपाङ्गता भएका व्यक्तिहरुकाे अधिकार सम्बन्धी महासन्धि २००६, अपाङ्गता भएका व्यक्तिहरुकाे अधिकार सम्बन्धी ऐन २०७४ मा भएकाे भेदभाव विरुद्दकाे हक लगायतकाे बारेमा प्रशिक्षण दिएका थिए ।
उनले राज्यले नै अपाङ्गता भएका व्यक्तिलाई सेवा सुविधा दिएकाे भए परिवार र समाजबाट अपहेलित हुनु नपर्ने बताए । अपाङ्गता भएका व्यक्तिहरुका् लागि पहुचयुक्त भाैतिक संरचना तथा संचार सेवा निर्देशिका २०६९ लागू भएकाे भएपनि भाैतिक संरचनाहरु अपाङ्ग मैत्री हुन नसकेकाे उनले जानकारी दिए । त्यस्तै श्रेष्ठले डिजिटल पहुँचयुक्त तथा पहुँच परीक्षण सम्बन्धी जानकारी दिदै सूचनाकाे पहुँच पुर्याउन प्रयाेगात्मक परीक्षण गराएका थिए ।
बागमती प्रदेशका मन्त्रालयहरु, नगरपालिका तथा गाउँपालिका एवं सरकारी निकायमा कार्यरत आइटी शाखाका प्रमुख एवं इन्जिनियरहरुकाे सहभागिता रहेकाे अभिमुखीकरण कार्यक्रममा सरकारी निकाय तथा सार्वजनिक संस्थानहरुले आफ्नाे भाैतिक संरचना बनाउन नीति तथा कार्यक्रममा व्यवस्था भए पनि सराेकारवाला निकायहरुकाे वेबसाइट, सूचना तथा जानकारीहरु पहुँचयाेग्य नहुने गरेकाे उनले बताए । ‘कार्यालयहरुमा अनलाइन फर्म भर्नका लागि सहज र सरल हुँदैन’ उनले भने ‘सरल भाषा, संकेत भाषा प्रयाेग गर्नुपर्ने लगायतका कुरामा ध्यान दिन सकेको देखिदैन ।’ वेवसाइट तथा डिजिटल प्रविधि अपाङ्ग मैत्री बनाउन हालसम्म नीति तथा कार्यक्रममा समावेश नै नभएकाे उनले जानकारी दिए ।
महासंघ नेपालका बागमती प्रदेश अध्यक्ष उपेन्द्र श्रेष्ठकाे सभाध्यक्षता, सामाजिक विकास मन्त्रालयका प्रशासकीय प्रमुख गाेपाल प्रसाद कडेंलकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशका व्यवस्थापक अरुण श्रेष्ठ, बागमती प्रदेश व्यवस्थापक सीता मल्ल ठकुरी लगायतकाे उपस्थिति रहेकाे थियाे ।