मकवानपुर । मकवानपुरकाे मनहरी गाउँपालिकामा ५ वटा पक्की पुल निर्माण सम्पन्न गरेको छ। गाउँपालिकाले आफ्नै स्रोतको करिब साढे ३३ करोडकाे लगानीमा उक्त पुल निर्माण गरेकाे हाे ।
शनिबार बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले निर्माण सम्मन्न ५ मध्ये २ वटा पुलको उद्घाटन गरेका छन् । ३ वटा पुलकाे गत वर्षनै उद्घाटन गरिएकाे थियाे । शनिरबार उद्घाटन गरिएका मध्ये मनहरी–३ मा रहेको ठाडोखोला पुल ८ दशमलव ४० मिटर चौडाइ र ९० मिटर लम्बाइको ३ स्पानकाे रहेकाे छ । जसको निर्माण हिराचन बानियाँ जेभीले ८ करोड ६७ लाख ५ हजार रुपैयाँमा गरेको हो। त्यस्तै हाँडी खोला पुल ३५ मिटर लम्बाइको १ स्पानको पुल हो, जसलाई भैरव नारायणम् जेभीले ५ करोड ३५ लाख ५१ हजार रुपैयाँको ठेक्का सम्झौतामा निर्माण गरेको हो।
पुल उद्घाटन कार्यक्रममा बानियाँले गाउँपालिकाकाे कामकाे प्रशंसा गर्दै हाँडीखोलाकाका कृषकले उत्पादन गरेका कृषि उपज बजारसम्म पुर्याउन सहज हुने बताए। ‘हाँडीखोलालाई पूर्व-पश्चिम राजमार्गसँग जोड्न प्रदेश सरकारमार्फत राप्ती खोलामा पुल बनायौं’ उनले भने । पालिकाकाे वडालाई जोड्न गाउँपालिकाले आफ्नै स्रोतबाट पुल बनाएकाे छ” उनले भने ‘लामिटार–मकरी सडक पिच गर्न प्रदेश सरकारमार्फत आवश्यक बजेट विनियोजन गर्न पहल गर्नेछु ।
प्रदेश सभा सदस्य बानियाँले २०८४ सालसम्म उक्त सडक जसरी पनि पिच गराएरै छोड्ने आश्वासन दिए । उनले हाँडीखाेलाकाे चकरीबाट हेटौंडा–१३ पदमपोखरी जोड्ने पुल निर्माणका लागि प्रदेश सरकारबाट बजेट व्यवस्थापन गरिने प्रतिबद्धता जनाए। वर्तमान शासन प्रणाली जनताको पक्षमा रहेको बताउँदै उनले भने ‘संघीयता र गणतन्त्र पछि विकासकाे सम्भावना प्रशस्त रहेकाे बताए।’
गाउँपालिकाकाे लामिटार–मकरी–चकरी–बेलडाँडा सडक अन्तर्गतका तीनवटा पुल गत वर्ष नै निर्माण सम्पन्न भई उद्घाटन समेत भइसकेकाे छ । तीमध्ये च्यापल खोला पुल (३ स्पान, लागत: ६ करोड २८ लाख ९८ हजार), ट्वाङ्ग्रा खोला पुल (२ स्पान, लागत: ६ करोड ४९ लाख ६० हजार) र मसिने खोला पुल (२ स्पान, लागत: ६ करोड ५९ लाख ५० हजार) रहेका छन् । यी तीनवटै पुलको निर्माण कार्य पनि बानियाँ हिराचन जेभीले गरेको थियाे ।
‘पुल निर्माण सकिएसँगै स्थानीयको दैनिक जीवनयापनमा सहजता आउने छ’ गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले भने ‘पुलका कारण किसानका कृषि उपजले बजार पाउने छ ।’ गाउँपालिकाले हेटौंडा–१३ हुँदै मनहरीका वडा नं. १ देखि ४ लाई जोड्ने वैकल्पिक मार्गको अवधारणाअनुसार २०७७ सालमै एकैपटक ५ वटा पक्की पुल निर्माणको बहुवर्षीय ठेक्का लगाएको थियो।

