मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा विरुद्ध दर्ता भएकाे अविश्वासकाे प्रस्तावमा सनाखत प्रक्रिया सुरु भएको छ ।
नेपाली काँग्रेस संसदीय दल बागमती प्रदेशकाे सोमबार दिउँसो १ बजेको लागि बोलाइएको बैठकमा सहभागी हुन कुनै पनि सांसदको दलको कार्यालयमा उपस्थित भएनन् ।
तर लामा र काँग्रेस बागमतीका सभापति इन्द्रबहादुर बानियाँ पक्षका सांसदहरुले छुट्टाछुट्टै बैठक बसिरह्यो । अहिले केहिबेर अघि साँझ ७ बजे बागमती प्रदेश सभा सचिवालयमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा विरुद्धकाे अविश्वासकाे प्रस्तावका सम्बन्धमा सनाखत प्रक्रिया सुरु भएकाे हो ।
उक्त सनाखत प्रक्रिया बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली काँग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाकाे सभाध्यक्षता तथा प्रतिनिधि सभा सदस्य एवं नेपाली काङ्ग्रेसका केन्द्रीय समिती सदस्य तथा बागमती प्रदेशका लागि केन्द्रीय पर्यवेक्षक राजेन्द्र कुमार केसीको पर्यवेक्षणमा बैठक बसिरहेको छ ।
दलको नेता तथा मुख्यमन्त्री विरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता भएपछि नेपाली काँग्रेस केन्द्रीय कमिटीले हिजाे आइतबार केसीलाई समस्या सुल्झाउने जिम्मेवारीका साथ हेटौंडा पठाएको थियो ।
मकवानपुर । मकवानपुर प्रहरीले ६ हजार ४४३ एम्पुल लागुऔषध डाईजेपामसहित ४ जना भारतीय नागरिक पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा देश भारत जिल्ला मोतीहारी गाँउ पाञ्चायत सुगौली पोष्ट थाना बन्जरीया ग्राम सुगौलीका २४ वर्षीय शेख गुल्जार, २५ वर्षीय बसिम अहमद, १९ वर्षीय नेसाब आलम र ४३ वर्षीय शेख सकुत रहेका छन्।
शनिबार कुलेखानी हुदै काठमाण्डौ जादै गरेको BR05PA9093 नम्बरको भारतीय स्कारपियो गाडीलाई रोकी चेक गर्दा उक्त गाडी भित्र बिभिन्न भागमा फल्स बटम बनाई ल्याईएको अवस्थामा डाईजेपाम २ हजार २२६ एम्पुल, नुर्फिन २ हजार ३५६ एम्पुल, प्रोमेथाईजिन हाईड्रोक्लोराईड १ हजार ८६१ एम्पुल गरी जम्मा ६४४३ एम्पुल र ट्रामाडोल ४९ ट्याबलेट फेला पारी बरामद गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ ।
शनिबार सशस्त्र प्रहरी बल नेपाल बिपद व्यवस्थापन बेस कुलेखानी र इलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएकाे प्रहरी टोलीले शनिबार बेलुका इन्द्रसरोवर गाउँपालिका – २ हेवीबाट उक्त लागुऔषध डाईजेपामसहित उनीहरुलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
उक्त लागुऔषध, सवारी साधन उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएकाे छ ।
मकवानपुर । साहित्य सङ्गम मकवानपुरको ३५७ औं सन्ध्या अप्सरा तिम्सिना स्मृति बिशेष आयोजना गरिएको छ । साहित्य सङ्गम र आँचल साहित्य कला पुञ्ज मकवानपुरले संयुक्त रुपमा शनिबार ३५७ औं नियमित सन्ध्या तिम्सिना बिशेष आयोजना गरेको हो ।
स्रष्टा तिम्सिनाको तस्बिरमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गर्ने कार्य संगै प्रगतिशील लेखक संघ बागमती प्रदेश अध्यक्ष शान्तिप्रिय वन्दनाले दिवङ्गत साहित्यकार अप्सरा तिम्सिनाको कृतित्व र व्यक्तित्वमाथि प्रकाश पारेकी थिइन् । नियमित सन्ध्यामा विजनेश सिग्देल, स्वस्तिका बानियाँ, मनोज मधुर, सानुभाइ विक, राजकुमार चौधरी, देवराज खरेल, यश लामा, गोकर्ण लामा, जनार्दन खनाल, राजकुमार लामिछाने, निरा शर्मा, सावित्री ढुङ्गाना, सानु खनाल र तुलसी घिमिरेलगायतले रचना वाचन गरेका थिए ।
त्यसैगरी नियमित सन्ध्यामा सङ्गमको अक्षयकोष निर्माणार्थ सहयोगीहरूलाई कदरपत्रसहित सम्मान समेत गरिएको छ । सङ्गमको अक्षयकोष निर्माण अभियानमा सहयोग गरी सम्मानित हुनेहरुमा रमेशमोहन अधिकारी, भरत लौडारी, दीपक दाहाल, सीताराम दाहाल, मधु ढुङ्गाना, रिदम घिमिरे, रिना आचार्य, गोविन्द चौलागाईं, राजकुमार बिक, पुरुषोत्तम लामिछाने,वकेशव श्रेष्ठ ‘ज्योति’ र देवीराम लामा रहेका छन् ।
अक्षयकोष निर्माण अभियानमा सहयोग गर्ने महानुभावलाई अन्य कार्यक्रममा सम्मान गरिने सङ्गम अध्यक्ष डीबी बर्तौलाले जानकारी दिए । उनका अनुसार ३५७ औं सन्ध्याकै अवसरमा साहित्यकार राजकुमार लामिछाने सङ्गमको अक्षयकोष निर्माणका लागि १७ हजार ७ सय १७ सहयोग गरेका छन् । २८ भदौ २०८० देखि सङ्गमले सञ्चालन गरेकाे अक्षयकोष निर्माण अभियानमा हालसम्म ८ लाख २३ हजार ७० रुपियाँ सङ्कलन भएको उनले बताए ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाध्यक्ष नवीन सिग्देलले भाषा साहित्यको उन्नयनमा निरन्तर लागिपरेकाे बताउँदै अप्सरा तिम्सिनाको स्मृति ग्रन्थ प्रकाशनमा सहयोग गर्ने बताए । ‘सङ्गमको अक्षयकोष निर्माणमा समेत वडाकाे साथ रहन्छ’ उनले भने । साहित्यकार तुलसी घिमिरेले सङ्गमले गुणात्मक कार्यक्रम गर्ने गरेकाे बताउँदै संस्थाको निरन्तर प्रगति भएकोकाे खुसी व्यक्त गरे । अक्षयकोष निर्माणमा सहयोग गर्ने तर्फबाट साहित्यसेवी मधु ढुङ्गानाले आफ्नो भनाइ राखेका थिए ।
सङ्गमका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षता तथा ४ नम्बर वडाध्यक्ष नवीन सिग्देलकाे प्रमुख आतिथ्यता तथा साहित्यकार तुलसी घिमिरेकाे विशेष आतिथ्यतामा भएकाे विशेष सन्ध्याकाे सहजिकरण सङ्गमका उपाध्यक्ष सानु खनालले गरेका थिए ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयले एसइई २०८१ मा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थी र विषय शिक्षकलाई सम्मान गरेकाे छ । शुक्रबार ४ नम्बर वडा कार्यालयकाे आयोजना र शैक्षिक गुणस्तर सुधार समितिकाे व्यवस्थापनमा विद्यार्थी र शिक्षकलाई सम्मानित गरेको हाे।
हेटौंडा – ४ नम्वर वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयबाट एसइई २०८१ मा जीपीए ४ सहित उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विषय शिक्षकलाई सम्मान गरिएकाे शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा – ४ का अध्यक्ष श्रीराम दाहालले जानकारी दिए । एसइईमा जीपीए ४ प्राप्त गर्ने नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयका विमर्श श्रेष्ठ र अनुषा उप्रेतीलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिएकाे हाे ।
त्यसैगरी वडामा संचालनमा रहेका सामुदायिक तथा संस्थागत गरी ६ वटा माविबाट जीपीए ३.२ भन्दा माथिको नतिजा ल्याउने विद्यार्थीलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मानित गरिएकाे हाे । यसैगरी विषयगत ९५ प्रतिशतभन्दा बढी विद्यार्थीलाई उत्तीर्ण गराउन सफल शिक्षकहरूलाई समेत सम्मान गरिएकाे छ ।
शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दाहाल सभाध्यक्ष, जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष ललित घलानको प्रमुख आतिथ्य तथा वडाध्यक्ष नवीन सिक्देलको विशेष आतिथ्यमा सम्मान कार्यक्रम भएकाे हाे ।
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चार जना मन्त्रीलाई पदमुक्त गरेका छन् । शुक्रबार राजीनामा दिएको भनिएका चार जना मन्त्रीलाई मुख्यमन्त्री लामाले पदमुक्त गरेका हुन् ।
बागमती प्रदेश सरकारबाट राजिनामा दिएका ४ जना मन्त्री पदमुक्त भएको मुख्यमन्त्री लामाले जानकारी गराएका छन् । शुक्रबार ह्वाट्सयापमार्फत राजिनामा बुझाएका ४ मन्त्रीलाई पदमुक्त गरिएकाे जानकारी मुख्यमन्त्री लामाले शुक्रबार नै प्रदेश प्रमुखलाई गराएका छन् ।
नेपाली काँग्रेसबाट मन्त्री बनेका संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेलाई पदमुक्त गरिएको मुख्यमन्त्री लामाले जानकारी गराएका छन् ।
बागमती सरकारमा मुख्यमन्त्रीसहित कांग्रेसबाट सरकारमा ८ जना सहभागी रहेकाेमा चार जनाले राजिनामा दिएका थिए । आफूलाई असहयोग गरेपछि मुख्यमन्त्री लामाले मन्त्रीहरुलाई पदबाट हटाएका हुन् ।
मुख्यमन्त्री लामाले नेपालको संविधान २०७२ को धारा १६९ (२) ख बमोजिम मन्त्रीहरुलाई पदमुक्त गरिएका हुन् । ४ जना मन्त्रीले राजिनामा दिएसँगै मुख्यमन्त्री बहादुर सिंह लामा विरुद्ध शुक्रबार ४ मन्त्रीसहित २१ जना प्रदेशसभा सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
अविश्वास प्रस्तावकाे सामना गर्छुः मुख्यमन्त्री लामा
बागमती प्रदेशका मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा तामाङले अविश्वासको प्रस्तावको सामना गर्ने बताएका छन् । शुक्रबार २१ सांसदको हस्ताक्षरमा संसदीय दलका नेता तामाङविरुद्ध अविश्वास प्रस्ताव पेस दर्ता भएसँगै उनले अविश्वास प्रस्तावकाे सामना गर्न आफू तयार रहेको बताएका हुन् ।
यसलाई आफूले ठुलो कुरा नठानेको र पार्टीभित्र भइरहने एउटा प्रक्रियाको रूपमा लिएको समेत उनले बताए । ‘म अविश्वासको प्रस्ताव फेस गर्न तयार छु । गठबन्धनको सरकार भएको अवस्थामा सहमति अनुसारको मुख्यमन्त्रीको समयावधि सकिएको भए मैले स्वाभाविक रूपमा राजीनामा दिनुपर्थ्यो र दिन्थें’ उनले भने ।
शुक्रबार सञ्चारकर्मीसँग उनले भने, ‘साथीहरूले दलको नेता फेर्न पर्यो भनेर अविश्वासको प्रस्ताव दर्ता गरेको मैले पनि थाहा पाएँ । यसलाई मैले ठुलो कुरा मानेको छैन यो पार्टीभित्रको कुरा हो । म प्रस्ताव सामना गर्न तयार छु ।’ बजेटको विषयलाई मुख्य मुद्दा बनाएर केही सांसदहरू आफूलाई असफल पार्न लागि परेको पनि उनले दाबी गरे ।