मकवानपुर । प्राचीन संस्कृति र ऐतिहासिक सम्पदाकाे पनौती स्थित त्रिवेणीघाट क्षेत्रको संरक्षणका लागि पहल गरिएकाे छ।
काठमाडौं विश्वविद्यालयका आर्किटेक्चर संकायका स्नातक तह चौथो वर्षका विद्यार्थीहरूले त्रिवेणीघाट क्षेत्रको सांस्कृतिक सम्पदाको विस्तृत नक्साङ्कन तथा संरक्षणका सम्भावित प्रस्तावहरू तयार पारी पनौती नगरपालिकाकालाई हस्तान्तरण गरेका छन् ।
आर्किटेक्चर संकायका स्नातक तह चौथो वर्षका २६ जना विद्यार्थीको टोलीले त्रिवेणीघाट क्षेत्र संरक्षण प्रस्ताव पनौती नगरपालिका प्रमुख र उपप्रमुखलाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् । करीब ५ महिनाको सम्पदा अध्ययन, नापजाँच लगायतका काम पछि तयार पारिएको प्रतिवेदनको चित्रसहित पनौतीको लायकु स्थानमा प्रदर्शनी गरिएको थियो ।
विद्यार्थीहरूको टोलीले तयार पारेको प्रतिवेदनमा त्रिवेणीघाट क्षेत्रका मूख्य सम्पदाहरू – जस्तै ऐतिहासिक मन्दिरहरू, पुराना धारा–पाटी, प्राचीन वस्ती संरचना, घाट तथा धार्मिक आयोजनाका स्थानहरूको नक्साङ्कन गरिएको छ। यसैगरी उक्त क्षेत्र संरक्षणका लागि उपयुक्त निर्माण प्रविधि, हरित संरचना, संवेदनशील पुनःस्थापना उपाय, सामुदायिक सहभागिता तथा दीर्घकालीन व्यवस्थापन रणनीतिहरूसमेत समेटिएको आर्किटेक्चर संकायका स्नातक तह चौथो वर्षका विद्यार्थी अंकित श्रेष्ठले बताए ।
प्रस्ताव ग्रहण गर्दै पनौतीका नगरप्रमुख रामशरण भण्डारीले विद्यार्थीहरूबाट प्राप्त प्रस्तावलाई गम्भीरतापूर्वक लिइने र आगामी नगर योजना तथा बजेटमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले त्रिवेणीघाटको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व स्मरण गर्दै यस किसिमको प्राविधिक अध्ययनले संरक्षण अभियानलाई दिशा दिने विश्वास व्यक्त गरेका छन् ।
‘त्रिवेणीघाट संरक्षण सम्बन्धी प्रदर्शनी’ कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एवं पुर्वमन्त्री एकालाल श्रेष्ठले आर्किटेक्ट अध्ययनरत विद्यार्थीहरूको अथक मेहनत कार्यले पनौतीको समृद्ध इतिहासलाई संरक्षण गर्न मद्दत पुर्याउने बताए । यस प्रतिवेदनले पनौतीको यस क्षेत्रलाई विश्व सम्पदा सुचिमा समावेश गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
मकवानपुर । बागमती प्रदेशका प्रमुख दीपक प्रसाद देवकोटा अस्पताल भर्ना हुनु भएकाे छ । प्रदेश प्रमुख देवकाेटा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल,धापासी काठमाडाैंमा बिहीबार भर्ना हुनु भएकाे हाे ।
चिकित्सहरुको परामर्श बमोजिम प्रदेश प्रमुख देवकोटा अस्पताल भर्ना हुनु भएकाे प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले जानकारी दिए । प्रदेश प्रमखुकाे स्वास्थ्यमा बुधबार राती एक्कासी समस्या आएपछि उहाँ बिहीबार बिहानै काठमाडौं उपचारकाे लागि जानु भएकाे प्रदेश प्रमुख कार्यालयले जनाएकाे छ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश प्रमुख बिरामी भएर काठमाडौं जानु भएकाे विषयमा “अस्पतालमा भेटिएनन्” भनेपछि प्रदेश प्रमुखकाे सचिवालयले ग्राण्डी अस्पतालमा उपचाररत तस्बिर सार्वजनिक गरेको हाे भने विज्ञप्ति समेत निकालेकाे छ । प्रदेश प्रमुखकाे सचिवालयले प्रदेश प्रमुख अचानक बिरामी पर्नु भएकाेले अस्पताल भर्ना गरिएको विज्ञप्ति मार्फत जानकारी दिएको छ।

मकवानपुर । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको बैठकले नेपाली कांग्रेसकाे संस्थागत निर्णयलाईनै मान्यता दिइने स्पष्ट पारेकाे छ । संसदीय दलका नेता जगन्नाथ थपलियाका अनुसार काँग्रेस पार्टीसँग सहकार्य भएकाले संस्थागत निर्णयलाई आफूहरुले मान्यता दिने बताए ।
एमाले र नेपाली कांग्रेसबीच बागमती प्रदेशमा बनेको सहकार्यको सम्बन्धमा बैठकले स्पष्ट गर्दै भनेको छ, ‘यो सहकार्य कुनै व्यक्तिको निजी सम्बन्धको कारण होइन, दलगत सहमतिमा आधारित छ।’ बैठकले नेपाली कांग्रेस संसदीय दलभित्र देखिएको नेतृत्व विवादलाई उक्त दलको आन्तरिक प्रक्रिया भन्दै त्यसमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न नहुने स्पष्ट नीति लिएको छ।
बैठक पछि जारी विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेसभित्र उत्पन्न विवाद प्रजातान्त्रिक प्रक्रियामार्फत छिटो समाधान होस् भन्ने हाम्रो सुझाव हो ।’ एमाले संसदीय दलले आफ्नो सदस्यहरूले उक्त विषयमा कुनै अभिव्यक्ति वा क्रियाकलाप नगर्ने निर्णयसमेत गरेको उल्लेख छ। साथै बैठकले हालै सम्पन्न एमाले केन्द्रीय कमिमटीको नवौं बैठकमा भएका निर्णयहरूलाई पूर्ण समर्थन गर्दै ती निर्णयहरूको अक्षरशः कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।
संगठनात्मक अनुशासन, विचारको स्पष्टता र रणनीतिक एकतामा जोड दिँदै अगाडि बढ्ने निर्णय पनि बैठकले गरेको हो। हालका दिनमा सार्वजनिक सञ्जाल र केही माध्यमबाट कांग्रेस दलभित्रको समीकरण परिवर्तन गर्न एमाले मन्त्रीहरूको भूमिका रहेको भन्दै गरिएको प्रचारप्रति पनि बैठकले आपत्ति जनाएको छ। ‘एमाले मन्त्रीहरू समीकरण परिवर्तनमा संलग्न छन् भन्ने आरोपहरू पूर्णतः आधारहीन, निराधार र असत्य छन्।’ विज्ञप्तिमा भनिएको छ ‘बैठकले त्यसप्रति गम्भीर ध्यानाकर्षण गराएको छ।’
बैठकको अन्त्यमा कृषिको मुख्य सिजनमा बजारमा देखिएको रसायनिक मलको अभावलाई गम्भीर रूपमा लिँदै संघीय सरकारसँग तुरुन्तै मल आपूर्ति सुनिश्चित गर्न आग्रह गरिएको छ। ‘मलको अभावका कारण किसान मर्कामा परेका छन्, यसले उत्पादनमा ठूलो असर पार्न सक्छ,’ बैठकको निष्कर्षमा उल्लेख छ। नेकपा एमाले बागमती प्रदेश संसदीय दलले आफू जिम्मेवार विपक्ष र सहकार्य दलको हैसियतमा लोकतान्त्रिक मूल्य, स्थायित्व, सुशासन र जनताको हितमा अग्रसर भएर अघि बढ्ने पुनः प्रतिबद्धता समेत व्यक्त गरेको छ।

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्र बहादुर बानियाँ निर्वाचित भएका छन् । बुधबार हेटौंडामा भएको संसदीय दलको नेताकाे निर्वाचनमा बानियाँ २२ मतसहित दलको नेता चुनिएका हुन् ।
उनका प्रतिस्पर्धी बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले १४ मत प्राप्त गरे । एक मत बदर भएको थियाे । गत शुक्रबार बानियाँकै अगुवाइमा संसदीय दलका नेता तथा बागमतीका मुख्यमन्त्री लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो । उक्त प्रस्तावका सम्बन्धमा मंगलबार भएकाे मत विभाजनमा संसदीय दलको बहुमत अर्थात् २२ मतले पारित गरेको थियो ।
संसदीय दलको नेतामा बानियाँ र लामा दोस्रो पटक आमने सामने भएका हुन् । पहिलो पटक पुष २०७९ मा बानियाँलाई पराजित गर्दै संसदीय दलको नेतामा लामा निर्वाचित भएका थिए । लामाले २१ मत प्राप्त गर्दा बानियाँले १६ मात्रै मत पाएका थिए ।
४ मंसिर २०७९ भएकाे निर्वाचनमा लामा नुवाकोट क्षेत्र नं. २ प्रदेश सभा ‘ख’ बाट निर्वाचित भएका हुन् भने बानियाँ मकवानपुर क्षेत्र नं २ प्रदेश सभा ख बाट निर्वाचित भएका हुन् ।लामा हाल बागमतीका मुख्यमन्त्री तथा पार्टी केन्द्रीय सदस्य छन् भने बानियाँ कांग्रेस बागमती प्रदेश सभापति हुन् । दुवै जना कांग्रेस संस्थापन पक्षका हुन् ।
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ) ले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । मुख्यमन्त्री लामाले ३ जनालाई मन्त्री नियुक्त गर्दे तयारी गरेका छन् ।
आफ्नै दलका ५ जना मन्त्रीहरुले राजिनामा दिएर आफूलाई धोका दिएपछि मुख्यमन्त्री लामाले मन्त्रीहरु नियुक्त गर्न लागेका हुन् ।
लामाले अहिले नेपाली कांग्रेसबाट ३ जनालाई मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।
मन्त्री नियुक्त हुनेहरुमा गोबिन्द लम्साललाई आन्तरिक मामिला मन्त्रालय, सांसदहरु माया श्रेष्ठलाई सहकारी मन्त्रालय र गिता गुरुङलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मा दिने तयारी छ । नियुक्त गरिएका मन्त्रीहरुको आजै दिउँसो सपथग्रहण गर्नेगरी तयारी गरिएको छ ।
संसदीय दलकाे नेता माथि अविश्वासकाे प्रस्ताव दर्ता गर्न नेपाली काँग्रेसबाट ५ जनाले राजिनामा दिएपछि बागमती प्रदेशमा नेपाली काँग्रेस भित्र विवाद चुलिदै गएकाे छ । नेपाली कांग्रेस संसदीय दलको नेताबाट मंगलबार मात्रै लामाले विश्वास गुमाएका थिए । संसदलीय दलको नेता चयनकाे लागि बुधबार मतदान हुँदैछ ।