मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्र बहादुर बानियाँ निर्वाचित भएका छन् । बुधबार हेटौंडामा भएको संसदीय दलको नेताकाे निर्वाचनमा बानियाँ २२ मतसहित दलको नेता चुनिएका हुन् ।
उनका प्रतिस्पर्धी बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले १४ मत प्राप्त गरे । एक मत बदर भएको थियाे । गत शुक्रबार बानियाँकै अगुवाइमा संसदीय दलका नेता तथा बागमतीका मुख्यमन्त्री लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो । उक्त प्रस्तावका सम्बन्धमा मंगलबार भएकाे मत विभाजनमा संसदीय दलको बहुमत अर्थात् २२ मतले पारित गरेको थियो ।
संसदीय दलको नेतामा बानियाँ र लामा दोस्रो पटक आमने सामने भएका हुन् । पहिलो पटक पुष २०७९ मा बानियाँलाई पराजित गर्दै संसदीय दलको नेतामा लामा निर्वाचित भएका थिए । लामाले २१ मत प्राप्त गर्दा बानियाँले १६ मात्रै मत पाएका थिए ।
४ मंसिर २०७९ भएकाे निर्वाचनमा लामा नुवाकोट क्षेत्र नं. २ प्रदेश सभा ‘ख’ बाट निर्वाचित भएका हुन् भने बानियाँ मकवानपुर क्षेत्र नं २ प्रदेश सभा ख बाट निर्वाचित भएका हुन् ।लामा हाल बागमतीका मुख्यमन्त्री तथा पार्टी केन्द्रीय सदस्य छन् भने बानियाँ कांग्रेस बागमती प्रदेश सभापति हुन् । दुवै जना कांग्रेस संस्थापन पक्षका हुन् ।

