पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै
मकवानपुर । पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव हालसम्म रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशको सबै भूभागमा तथा कोशी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ ।
मधेस प्रदेशलगायत कोशी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ । गण्डकी लुम्बिनी प्रदेशको केही ठाउँ तथा बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक-दुई ठाउँमा चट्याङ्गसहित मध्यमसम्म वर्षा भइरहेको छ।
आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको तराई भूभागमा साधरणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागको थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको केही स्थानमा चट्याङ्गसहित मध्यमसम्मको तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा चट्याङ्ग र असिना सहित हल्का वर्षा र हिमपातको सम्भावना छ । मधेस लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागको थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज राति कोशी प्रदेशका सबै भूभाग तथा देशको बाँकी हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्ने छ। देशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । मधेस प्रदेश तथा कोशी प्रदेशका तराई भूभागमा थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले नागरिकको स्वास्थ्य पहिलाे प्राथमिकता भएकाे बताउनु भएकाे छ । बुधबार हेटौंडामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेकाे कार्यक्रममा नागरिकको स्वास्थ्यभन्दा भौतिक पूर्वाधारलाई प्राथमिकता दिन नहुने उहाँले बताउनु भएकाे हाे ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न आरोह–अवरोह पार गर्दै हाल एमबीबीएस, एमडी तथा स्नातक तहका चारवटा विभिन्न संकायमा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको उहाँले बताउनुभयो। प्रतिष्ठान र हेटौंडा अस्पतालबीच कार्यक्षेत्रलाई लिएर देखिएको अन्योल र समस्या नीतिगत रूपमा समाधान गर्न ऐन संशोधन गरिएको उहाँको भनाइ थियो। ऐन संशोधनपछि दुवै निकायबीचको समन्वय र सहकार्य थप मजबुत भएको उहाँले बताउनुभयो।
उहाँले संघीयता कार्यान्वयनअघि जिल्ला अस्पतालहरूको अवस्था कमजोर रहे पनि अहिले बागमती प्रदेशका १३ वटै जिल्लाका प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा, आवश्यक जनशक्ति र आधुनिक स्वास्थ्य उपकरण थप गर्दै सेवा विस्तार गरिएको जानकारी दिनुभयो। हेटौंडा अस्पतालमा यसै वर्षदेखि मुटुरोग उपचारका लागि क्याथल्याब सेवा सञ्चालन गर्ने गरी बजेट र योजना तय गरिएको मुख्यमन्त्री थापामगरले बताउनुभयो। क्याथल्याब सञ्चालनमा आएपछि मकवानपुरसँगै मधेश प्रदेश र चितवनका बिरामीलाई मुटुसम्बन्धी उपचारका लागि काठमाडौं धाउनुपर्ने बाध्यता कम हुने उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी हेटौंडा अस्पतालमा एमआरआई सेवा थप गर्ने तथा आमा र शिशुको विशिष्टीकृत उपचारका लागि आवश्यक स्थान र भौतिक पूर्वाधार तयार पार्ने काम तीव्र पारिएको उहाँले बताउनुभयो। डायलिसिस मेसिनको अभावमा विगतमा बिरामीले सास्ती खेप्नुपरे पनि नयाँ मेसिन खरिद गरी सेवा विस्तार गरिएपछि अहिले बिरामीले लाइनमा बस्नुपर्ने अवस्था अन्त्य भएको मुख्यमन्त्रीले बताउनु भयो।
हेटौंडा अस्पतालमा बिरामीको चापअनुसार शय्या अभाव भइरहेकाले प्रतिष्ठानको प्रशासनिक कार्यालयलाई अन्य सरकारी भवनमा सारेर हाल प्रशासनिक प्रयोजनमा रहेको स्थानलाई समेत बिरामीको उपचारका लागि प्रयोग गर्ने योजना रहेको उहाँले बताउनुभयो। मुख्यमन्त्री थापामगरले डीपीआरअनुसार निर्माण भएका केही भवनका भित्री संरचना साँघुरा र असहज देखिएको भन्दै आर्किटेक्ट इन्जिनियर तथा प्राविधिक टोलीको सुझावका आधारमा आवश्यक सुधार गरिने बताउनुभयो।
बागमती प्रदेशको कुल बजेटमध्ये स्वास्थ्य क्षेत्रमा करिब ४।५ प्रतिशत मात्र बजेट विनियोजन भएकोप्रति असन्तुष्टि जनाउँदै उहाँले आगामी वर्ष स्वास्थ्य क्षेत्रको बजेट बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। “बाटो र पुल पनि आवश्यक छन्, तर नागरिकको स्वास्थ्य पहिलो प्राथमिकता हो,” उहाँको भनाइ थियो। प्रदेशका अस्पतालहरूमा आधुनिक स्वास्थ्य सेवा प्रणाली विकास भइरहेको जानकारी दिँदै मुख्यमन्त्रीले टेलिमेडिसिन, कागजरहित सेवाका लागि इलेक्ट्रोनिक मेडिकल रेकर्ड ९ईएमआर० तथा मोबाइल डिजिटल एपमार्फत अस्पतालका शय्या, ओपीडी र बिरामीको चाप प्रत्यक्ष अनुगमन गर्न सकिने व्यवस्था लागू गरिएको बताउनुभयो।
मुख्यमन्त्रीले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै शिक्षा तथा स्वास्थ्य सेवाको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ धानगोदाममा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
मंगलबार दिउँसो भीमफेदी–कुलेखानी– काठमाडौं सडकखण्डमा हेटौंडाबाट काठमाडौं जाँदै गरेको बा १२ च ४१६४ नम्बरको ल्याण्ड क्रुजरले काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०२–०१८ प ०४५९ नम्बरको जाभा मोटरसाइकललाई ठक्कर दिएको थियो। यसैगरी सोही दिशाबाट आउँदै गरेको बा ५४ प २५६६ नम्बरको होण्डा मोटरसाइकल अनियन्त्रित भई सडकको बायाँतर्फको नालामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
दुर्घटनामा जाभा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका–५ सिद्धार्थपथका करिब २५ वर्षीय महेश्वर घिमिरे खत्री घाइते भएका थिए। उनलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
होण्डा मोटरसाइकल चालक भारत घर भई हाल काठमाडौं महानगरपालिका–२८ माइतीघरमा बस्ने ३२ वर्षीय मुन्ना आलाम र मोटरसाइकलको पछाडि सवार सोही स्थानका ३१ वर्षीय चुन्नु आलम घाइते भएका छन्। उनीहरूको बायाँ हात र बायाँ खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको छ।
मकवानपुर । मकवानपुरकाे हेटौंंडाबाट स्राेत नखुलेकाे २१ लाख ४० हजार रुपैंयासहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । सोमबार बेलुका हेटौंडा उपमहानगरपालिका वडा नं. १ चौकीटोलबाट उनीहरुलाई नियन्त्रणमा लिइएकाे हाे ।
हेटौंडा-भिमफेदी सडक खण्ड अन्तरगत चौकिटोलमा बिरगंजबाट हेटौंडातर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१-००१ च ०२०९ नम्बरको गाडीलाई रोकी चेक जाँच गर्ने क्रममा कालो पोलोथिनको झोलामा राखी ल्याइएको १ हजार रुपैंया र ५ सय रुपैंया दरको गरी २१ लाख ४० हजार नगद फेला परेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
उक्त गाडी तथा नगद रुपैयासहित चालक धादिङ निलकण्ठ नगरपालिका वडा नं. ८ बस्ने ३२ वर्षीय बिजय खाती तथा साेही गाडीमा सवार मकवानपुर राक्सिराङ गाउँपालिका वडा नं.१ बस्ने ४० वर्षीय सिंहराम रुम्बालाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार दुवै जनालाई मकवानपुर जिल्ला अदालत हेटौडाबाट नेपाल राष्ट्र बैंक ऐन – २०५८ काे व्यवस्था अन्तर्गतकाे कसुरकाे मुद्दामा १५ दिनकाे म्याद थप भई अनुसन्धान भईरहेको छ ।
मकवानपुर । बागमती नदीले बगाउँदा १ जनाको मृत्यु भएको छ । बागमती–१ माझगाउँ बस्ने अन्दाजी ४० वर्षीय ईन्द्रबहादुर भोलनको बागमती खाेलाले बगाउँदा मृत्यु भएको हाे ।
जिल्ला प्रहरी कार्यालय मकवनापुरका अनुसार सिन्धुली जिल्लामा आफन्त कहाँ जान बागमती नदी तर्ने क्रममा भोलनलाई नदीले बगाएको थियो । प्रहरीले खोज तलास गर्ने क्रममा मंगलबार दिउँसो बागमती–१ हात्तिढुङगा स्थित खोलाको बिचमा रहेको ढुङगामा अड्किएको अवस्थामा शव फेला परेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।