मकवानपुर । मकवानपुरकाे हेटौंडामा मंगलबारदेखि सुपथ मूल्यको खाद्यान्न बजार संचालनमा आएकाे छ । नेपालीहरूको महान पर्व दशैंलाई लक्षित गर्दै मकवानपुर उद्योग वाणिज्य संघले सुपथ बजार संचालनमा ल्याएकाे हाे ।
मकवानपुर अधिकृत बिक्रेता व्यवसायी संघ संयोजक रहेकाे सुपथ मूल्य बजारको उद्घाटन जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले गरिन् । बजार ११ असोज शनिबारसम्म बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन हुनेछ । हेटौंडा–२, पल्पसा सदन सुरू भएको बजारकाे अवधी कारोबारको अवस्था हेरी थप गर्न सकिने आयोजकले जनाएको छ ।
सुपध बजारमा १६ वटा स्टलमार्फत चिनी, नुन, तेल, साबुन, सर्फ, चिउरा, फुरनदाना, दालमोठ, भुजिया, जिरा, धनियाँ, मसला, चियापत्ती, पिठो जस्ता दैनिक उपभोग्य वस्तुहरू राखिएका छन् । दुग्ध विकास संस्थान र साल्ट ट्रेडिङ कर्पोरेसनका सामग्रीहरू समेत खरिद गर्न सकिने सुपथ बजारमा मासुजन्य तथा अण्डा अन्य परिकार समेत थप्ने तयारी भइरहेको मउवा संघले जनाएकाे छ ।
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ दारिमटारस्थित पूर्व–पश्चिम राजमार्गमा ३ वटा सवारी साधन ठोकिएर दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।
आइतबार दिउँसो भएको चितवनबाट बिरगन्जतर्फ जाँदै गरेको ना ६ ख २११९ नम्बरको यात्रुबाहक बसको टायर पड्किंदा बस अनियन्त्रित भई हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ८१८० नम्बरको मालवाहक ट्रकसँग ठोक्किएको थियो । त्यसपछि उक्त ट्रक समेत अनियन्त्रित भई काठमाडौंबाट बारा तर्फ आउँदै गरेको ना ७ ख १७७४ नम्बरको तेल बोक्ने खाली ट्याङ्करमा ठोक्किदा दुर्घटना भएको हो ।
मकवानपुर प्रहरीका अनुसार दुर्घटनामा परेर घाइते भएका मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य तथा मध्यम रहेको छ । सबै घाइतेलाई उद्धार गरी हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचारका लागि पठाइएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले उद्दार कार्यसँगै सवारीसाधन हटाउने काम गरिरहेको छ ।
मकवानपुर । आजबाट बडादशैको नवरात्र सुरु भएको छ । आज घटस्थापना गरि नवरात्रको सुरुवात गरिन्छ । शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरिन्छ ।
देवी दुर्गा माताका नौ रूपमध्ये पहिलो रूप शैलपुत्री हुन् । मार्कण्डेय पुराणअनुसार पर्वतराज हिमालयकी पुत्री भएकी कारण उनलाई हिमालयराजकी छोरी, पार्वती, सेती, हेमवती वा शैलपुत्री नामले चिनिन्छ । आश्विन शुक्ल प्रतिपदाको दिन शैलपुत्रीको पूजा तथा आराधना गर्ने प्रचलन छ ।
कथाअनुसार दक्ष प्रजापतिले आयोजना गरेको विशाल यज्ञमा भगवान् शंकर र शतिदेवीलाई निमन्त्रणा दिइएन । बाबुले गरेको यज्ञमा सहभागी हुन चाहनुभएकी शतिदेवीलाई श्रीमहादेवले रोके पनि उनी आफ्ना आमा र बहिनीहरूसँग भेट गर्न भन्दै यज्ञस्थल पुगेकी थिइन् । त्यहाँ उनलाई अपमान गरिएको र महादेवलाई नाना प्रकारले गाली गरिएको सहन नसकी शतिदेवीले यज्ञकुण्डमा आफैँलाई समर्पण गरिन् । यो घटनापछि क्रुद्ध महादेवले आफ्ना गणहरूलाई पठाई यज्ञ पूर्णतः ध्वस्त गरिदिनुभयो ।
यज्ञकुण्डमा देह त्याग गरेकी शतिदेवीले पुनर्जन्म लिएर हिमालयराजकी छोरीका रूपमा शैलपुत्री नामले परिचित भइन् । शैलपुत्रीको दाहिने हातमा त्रिशूल र बायाँ हातमा कमलको फूल रहेको चित्रण पाइन्छ ।
नवरात्रको पहिलो दिन स्नानादि नित्यकर्मपछि गंगाजल वा गाईको गहुँतले शुद्ध गरी रातो वस्त्र ओछ्याएर शैलपुत्रीको तस्बिर स्थापना गरिन्छ । शुद्ध मन, वचन र कर्मले पूजन सामग्री तयार गरी धान, चामल, जौँ, तिल, कुश, पञ्चामृत, अबिर, केशरी, सिन्दूर, फलफूल, पकवान्न, धूप, बत्ति, कपूर, फूलमाला आदि अर्पण गर्ने प्रचलन छ ।
पूर्व, उत्तर वा पश्चिम फर्केर शुद्ध आसनमा बसेर दियो प्रज्वलन गरी सङ्कल्प उच्चारणसहित ॐ देवी शैलपुत्र्यै नमः मन्त्र ११, २१ वा १०८ पटक जप गर्नुपर्ने शास्त्रीय उल्लेख छ । सङ्कल्पपछि गणेश पूजा गरी वरुण कलशमा ब्रह्माण्डका सम्पूर्ण देवी–देवताहरूको आवाहन गरी कलश पूजन सम्पन्न गरिन्छ ।
शास्त्रअनुसार शैलपुत्रीको पूजा गर्दा मानसिक शान्ति, पारिवारिक सुख, आध्यात्मिक उन्नति र शक्ति जागृत हुने विश्वास गरिएको छ ।
शैलपुत्री माताको पूजा गर्दा निम्न मन्त्र उच्चारण गर्नुपर्दछ :
वंदे वांच्छितलाभायाचंद्रार्धकृतशेखराम्
वृषारूढांशूलधरांशैलपुत्रीयशस्विनीम् ।।
पूणेंदुनिभांगौरी मूलाधार स्थितांप्रथम दुर्गा त्रिनेत्रा ।
पटांबरपरिधानांरत्नकिरीटांनानालंकारभूषिता ।।
प्रफुल्ल वदनांपल्लवाधरांकांतकपोलांतुंग कुचाम् ।
कमनीयांलावण्यांस्मेरमुखीक्षीणमध्यांनितंबनीम् ।।
वंदे वाद्द्रिछतलाभाय चंद्रार्धकृतशेखराम ।
वृषारूढां शूलधरां शैलपुत्री यशस्विनीम् ।।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा हास्यव्यङ्गय साहित्यकार भैरव अर्यालको ९० औँ जन्मजयन्ती मनाइएको छ । आइतबार साहित्य संगम मकवानपुर र सिस्नुपानी नेपाल मकवानपुरले रचना वाचन तथा परिचर्चा कायक्रम आयोजना गरी साहित्यकार अर्यालको जन्मजयन्ती मनाएकाे हाे ।
हेटौंडा–५ स्थित पुष्पलाल स्मृति पुस्तकालय परिसरमा रहेको भैरव अर्यालको शालिकमा माल्यार्पण गरिएकाे थियाे । साहित्य संगम मकवानपुरका सल्लाहकार निमेष निखिलले भैरव अर्यालको जीवनबारे परिचर्चा गरेकाे कार्यक्रममा चिरञ्जीवी लामिछाने र लक्ष्मी कँडेलले रचना वाचन गरेका थिए ।कार्यक्रमका प्रमुख अतिथि सिस्नुपानी नेपाल मकवानपुरका निवर्तमान अध्यक्ष हास्यव्यङ्गय साहित्यकार राजकुमार लामिछानेले अर्यालभित्र सरल भाषामा विशेष व्यङ्ग्य प्रस्तुत गर्ने प्रतिभा रहेको बताए ।
सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष सम्प्रस पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा साहित्य संगम मकवानपुरका अध्यक्ष डी.बी. बर्तौला, पूर्वअध्यक्ष सुवास खनाल, साहित्यसेवी मुक्तिगोविन्द वैद्य, साहित्यकार देवराज खरेल, पुरूषोत्तम आचार्य लगायतकाे उपस्थिति रहेको थियो ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा राष्ट्र निर्माणमा प्रगतिशील लेखनकाे भूमिका विषयक परिचर्चा कार्यक्रम आयोजना गरिएकाे छ । आइतबार प्रगतिशील लेखक संघ (प्रलेस) नेपाल बागमती प्रदेशकाे आयाेजनामा ७४ ओैं प्रलेस स्थापना दिवसकाे अवसरमा उक्त कार्यक्रम आयोजना गरिएकाे हाे ।
कार्यक्रमका वक्ता मानकुमारी पाख्रिनले हामीले लामाे समय देशकाे व्यवस्था परिवर्तन गर्नका लागि खर्च गर्याै तर आज पुरानै व्यवस्था र अवस्था हावी हुँदा जेन-जीकाे आन्दाेलनले निशव्द बनाएकाे बताइन् । मकवानपुरगढी गाउँपालिकाकाे उपाध्यक्ष उनले राजनीतिकाे सेराेफेराेमा सहित्य, समाज, कला संस्कृतिहरु सबै रहने बताइन् । ‘हामीले जनयुद्द गरेर ल्याएकाे परिवर्तन पश्चात बामपन्थीहरुकाे बाहुल्यता सँगै साहित्यकाे विकास भएकाे छ’उनले भनिन् ‘व्यक्तिगत तथा सांगठनिक रुपमा साहित्यकाे विकास उत्साहप्रद देखिए पनि प्रगतिशिल लेखनकाे उर्वरता कम भएकाे देखिन्छ ।’
साहित्यले निराश, जीवनदेखि हारेकाे मान्छे पनि बाच्नुपर्ने उर्जा जागृत गराउने उनले बताइन् । ‘प्रगतिशील साहित्यलाई जनमानसमा पुर्याउन, समाजकाे अन्तर्विराेधलाई पहिचान गरिनु जरुरी छ’ उनले भनिन् । प्रगतिशील लेखनले वर्गीय, लैङ्गिक, सामाजिक, राज्यव्यवस्थामा रहेकाे कुरीतिलाई उजागार गर्न जरुरी रहेकाे उनले बताइन् । ‘सफ्टवेयरलाई सुधार नगरेसम्म हार्डवेयर जति राम्राे भयपनि राम्राे नहुने रहेछ’ उनले भनिन् । साहित्यले समाजकाे सफ्टवेयरकाे काम गर्नु पर्ने उनले बताइन् ।
‘प्रगतिशील साहित्यकाे जग माक्सवादलाई मान्छाै तर यसले प्रगतिकाे सवालमा कुरा उठाएकाे देखिदैन’ नेपालीले भनिन् ‘वडादेखि केन्द्रसम्म हजाराै दलित महिलाले सरकार निर्माणकाे कार्यमा निर्वाचित भइ कार्य गरिरहेकाे छ तर साहित्य लेखनले त्यसलाई वेवास्ता गरिरहेकाे छ ।’ प्रगतीशील लेखन पनि अलमलमा परेकाे महशुस हुने गरेकाे उनले बताइन् । राजनीति सङ्लो नहुदा यसले राज्य र समाजका हरेक व्यवस्थामा प्रभाव पार्ने बताउँदै उनले भनिन् ‘साहित्य तथा प्रगतिशील गीतले समाजका समस्यालाई समाधान गर्न सक्छ ।’
कार्यक्रममा अर्का वक्ता घनश्याम घिमिरेले राष्ट्र निर्माण तथा प्रगतिशील लेखककाे भूमिकाकाे विषयमा आफ्नो भनाइ राखेका थिए । राष्ट्रमा भुगाेल पहिलाे प्रमुख तत्व हाे कि जनता पहिलाे हाे भन्ने कुराले महत्व राख्ने उनले बताए । उनले राष्ट्र भनेकाे पहिला जनता हाे, त्यसपछि भुगाेल हाे तर राष्ट्रकाे परिभाषा समयअनुसार फरक फरक हुने बताए । ‘प्रगतीशील विचार भन्दा पनि व्यवहार हाे । प्रगतिशील हुँ भन्ने तर व्यवहारमा लागू गर्न सक्दैन भने त्यसकाे काम छैन’ उनले भने ‘व्यवहारमा लागू गर्न नसक्ने सिद्धान्त र चिन्तन आवश्यक छैन ।’
कार्यक्रम प्रलेश बागमती प्रदेश अध्यक्ष शान्ति प्रीयवन्दनाकाे सभाध्यक्षता तथा साहित्यकार रमेश माेहन अधिकारीकाे प्रमुख आतिथ्यतामा भएकाे हाे ।