मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ दारिमटारस्थित पूर्व–पश्चिम राजमार्गमा ३ वटा सवारी साधन ठोकिएर दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।
आइतबार दिउँसो भएको चितवनबाट बिरगन्जतर्फ जाँदै गरेको ना ६ ख २११९ नम्बरको यात्रुबाहक बसको टायर पड्किंदा बस अनियन्त्रित भई हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ८१८० नम्बरको मालवाहक ट्रकसँग ठोक्किएको थियो । त्यसपछि उक्त ट्रक समेत अनियन्त्रित भई काठमाडौंबाट बारा तर्फ आउँदै गरेको ना ७ ख १७७४ नम्बरको तेल बोक्ने खाली ट्याङ्करमा ठोक्किदा दुर्घटना भएको हो ।
मकवानपुर प्रहरीका अनुसार दुर्घटनामा परेर घाइते भएका मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य तथा मध्यम रहेको छ । सबै घाइतेलाई उद्धार गरी हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचारका लागि पठाइएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले उद्दार कार्यसँगै सवारीसाधन हटाउने काम गरिरहेको छ ।

