मकवानपुर । पछिल्लो २४ घण्टामा थप ८ सय ८५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। यो सँगै नेपालमा ५३ हजार ८ सय ९८ जना संक्रमित उपचारपछि निको भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।
निकाे हुनेकाे संख्या कुल संक्रमितको ७३.४ प्रतिशत हो । देशका विभिन्न अस्पताल तथा आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएका गाैतमले बताए । नेपालमा पछिल्लो २४ घण्टामा १० कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
पछिल्लो २४ घण्टामा १ हजार ५ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको गौतमले जानकारी दिए ।
मकवानपुर । मेरो शेयरमा समस्या देखिएकाे छ। आज आइतबारदेखि बिक्री खुला भएको जनरल इन्स्योरेन्सको आइपीओमा आवेदन दिनेको चाप बढेपछि सिडिए एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरोशेयरमा समस्या आएकाे हाे ।
मेरो शेयरमा समस्या आउँदा सर्वसाधारणहरुले जनरल इन्स्योरेन्सको आईपीओ आवेदन दिन पाएका छैनन्। यस्तै लगानीकर्ताहरुले समेत मेराे शेयरबाट गर्नु पर्ने कामहरु समेत गर्न पाएका छैनन् । हरेक समय आईपीओ निष्काशन हुँदा लगानीकर्ताहरुले यस्तो समस्या भोग्दै आएका छन् ।
मकवानपुर । आज आइतबार सुन तथा चाँदीको मूल्य घटेको छ । गत शुक्रबार बढेको सुनचाँदीको मूल्य साताको पहिलो दिन घटेकाे हो ।
आज सुन तोलामा ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी चाँदी पनि आइतबार तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार १५० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जानकारी दिएकाे छ । शुक्रबार चाँदी तोलामा ४० रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार १६० रुपैयाँ तोकिएको थियो ।
मकवानपुर । जनरल इन्स्योरेन्स कम्पनी नेपालको ३० लाख कित्ता आईपीओ आजबाट विक्री खुला भएको छ ।
कम्पनीले ३० लाख कित्ता साधारण शेयर मध्य १ लाख २० हजार कित्ता कर्मचारीको लागि, १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेकोछ । साथै आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएका सि–आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट आवेदन गर्न सक्नेछन् ।
कम्पनीले निष्कासन गरेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषत भन्दा तल रहेको देखाउँछ । हाल कम्पनीको चुक्तापूँजि रू. ७० करोड रहेको छ । आईपीओ निष्कासन बाँडफाँट पश्चात पूँजि रू. १ अर्ब पुग्नेछ ।
नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासन गर्नको लागि कम्पनीले भदौ २४ गते अनुमति पाएको थियो । हालसम्ममा कम्पनीले ३९ ओटा शाखा कार्यालयहरुबाट बीमा सेवा दिंदै आएको छ ।
सबारी दुर्घटनामा दुई जनाको मृत्यु
Tags: No Comments
मकवानपुर । मकवानपुरमा शनिवार सबारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मनहरी गाउँपालिका वडा नम्बर ९ खरङ्गामा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको हो भने मकवानपुरगढी गाउँपालिका वडा नम्बर–२ गंगेभिरमा मोटरसाइकल दुर्घटना हुँदा अर्का एकजनाको मृत्यु भएको हो । हेटौंडाबाट मनहरी तर्फ जाँदै गरेको ना ४३ प ७२ नम्बरको मोटरसाइकल र चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको ना ५ ख ४६५२ नम्बरको ट्रक मनहरीको खरङ्गामा एक आपसमा ठक्कर खाँदा मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृत्यु हुनेमा बारा रतनपुरका ३० बर्षीय सूर्य स्यांतान रहेका छन् । उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मुत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल सवार बारा बस्ने १८ बर्षीया बिनिता स्यांतान घाइते भएकी छिन् । उनको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
यसैगरी मकवानपुरगढी गाउँपालिका वडा नम्बर–२ गंगेभिरमा शनिबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन्।
गढीबाट शिखरकटेरी तर्फ आउँदै गरेको ना ३९ प ९५४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार मकवानपुरगढी ३ धमिले बस्ने ४६ बर्षीय भरत पुडासैनीको मृत्यु भएको हो । उनको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मोटरसाइकल चालक मकवानपुरगढी ३ मक्रान्चुली बस्ने ४१ बर्षीय कुमार पराजुली घाइते भएका छन् । घाइते पराजुलीको हेटौँडामा रहेको सन्चो अस्पताल उपचार भइरहेको छ ।