मकवानपुर । मकवानपुरमा शनिवार सबारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मनहरी गाउँपालिका वडा नम्बर ९ खरङ्गामा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको हो भने मकवानपुरगढी गाउँपालिका वडा नम्बर–२ गंगेभिरमा मोटरसाइकल दुर्घटना हुँदा अर्का एकजनाको मृत्यु भएको हो । हेटौंडाबाट मनहरी तर्फ जाँदै गरेको ना ४३ प ७२ नम्बरको मोटरसाइकल र चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको ना ५ ख ४६५२ नम्बरको ट्रक मनहरीको खरङ्गामा एक आपसमा ठक्कर खाँदा मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृत्यु हुनेमा बारा रतनपुरका ३० बर्षीय सूर्य स्यांतान रहेका छन् । उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मुत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल सवार बारा बस्ने १८ बर्षीया बिनिता स्यांतान घाइते भएकी छिन् । उनको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
यसैगरी मकवानपुरगढी गाउँपालिका वडा नम्बर–२ गंगेभिरमा शनिबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन्।
गढीबाट शिखरकटेरी तर्फ आउँदै गरेको ना ३९ प ९५४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार मकवानपुरगढी ३ धमिले बस्ने ४६ बर्षीय भरत पुडासैनीको मृत्यु भएको हो । उनको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मोटरसाइकल चालक मकवानपुरगढी ३ मक्रान्चुली बस्ने ४१ बर्षीय कुमार पराजुली घाइते भएका छन् । घाइते पराजुलीको हेटौँडामा रहेको सन्चो अस्पताल उपचार भइरहेको छ ।

