मकवानपुर । बितेको २४ घण्टामा १ हजार ३ सय २९ जना निको भएका छन् । याे सँगै हालसम्म देशभर कोरोना निको हुनेको संख्या ६४ हजार ६९ पुगेको आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम जानकारी दिए ।
यसै गरी बितेको २४ घण्टामा देशभर थप २ हजार २ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हाल कोरोना संक्रमितको कुल संख्या ८६ हजार ८ सय २३ पुगेको छ प्रवक्ता गाैतमले बताए । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमित २२ हजार २ सय १९ जना रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा १० हजार ३ सय २६ र होम आइसोलेसनमा ११ हजार ८सय ९३ जना रहेका गाैतमले जानकारी दिए ।
यस्तै बितेको २४ घण्टामा काठमाडौं उपत्यकमा १५९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ गरी कुल १५९९ जनामा संक्तमण पुष्टि भएको हो।
यसैबीच कोरोनाबाट आज थप ७ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको छ।
मकवानपुर । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय आजबाट पाँच दिनका लागि बन्द भएको छ । चार केन्द्रीय सदस्यसहित केही कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि आइतबारदेखि असाेज २२ केन्द्रीय कार्यालय पाँच दिनका लागि बन्द भएको हो ।
असोज १५ गते केन्द्रीय कार्यालयमा पीसीआर परीक्षण गरिएको थियो । परीक्षणमा केही केन्द्रीय सदस्यसहित कर्मचारीमा कोभिड–१९ पोजेटिभ देखिएका हो । आज आइतबार देखि आउँदाे असोज २२ गतेसम्मका लागि केन्द्रीय कार्यालय बन्द गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित सूचनामा जनाइएकाे छ ।

यद्यपि कांग्रेसले सोमबार बोलाएको केन्द्रीय कार्यसमिति बैठकबारे भने कुनै निर्णय गरिसकेको नसकेकोले अपराह्नसम्म बैठकबारे टुंगो लाग्न सक्ने बताइएकाे छ ।
चितवन। चितवनमा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ। भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुषको आइतबार बिहान ६:३५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए।
असोज १६ गते कोरोना सङ्क्रमणसहित उनी भरतपुर अस्पतालको कोभिड आइसीयूमा भर्ना भएका थिए। उनमा खोकी र स्वासप्रश्वासको समस्या देखिएको अस्पतालले जनाएको छ। यससँगै कोरोनाका कारण चितवनका मात्रै २४ जनाको मृत्यु भएको छ।
मकवानपुर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय आज बस्दैछ। अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको बैठकमा मन्त्री हेरफेर तथा पछिल्लो मन्त्रिपरिषदले गरेको केही नियुक्तिका विषयमा छलफल हुनेछ।
पार्टीभित्र छलफल गरेर मात्रै महत्वपूर्ण राजनीतिक नियुक्ति गर्ने भनिए पनि प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद्को पछिल्लो नियुक्तिअघि पटक-पटक छलफल भए पनि त्यसबारे समझदारी थियो वा थिएन भन्ने बाहिरिएको छैन। प्रचण्डले अहिलेसम्म आफ्नो धारणा सार्वजनिक नगरे पनि उनी निकट नेताहरूले असन्तुष्टि जनाइसकेको विषय बाहिरिएका छन्।
बिहीबारको मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्री डा.युवराज खतिवडालाई अमेरिकाको राजदूत, मुख्यसचिवमा शंकरदास बैरागी र निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतको राजदूत बनाउने निर्णय गरेको थियो।
भदौ २६ गते बसेको स्थायी कमिटीको बैठकले सरकारले महत्वपूर्ण निर्णय गर्नुपूर्व सचिवालयका सदस्यको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमतिको आधारमा गर्नुपर्ने निर्णय गरेको थियो। स्थायी कमिटिकाे निर्णय विपरित निर्णय भएपछि नेकपाभित्र गत भदौ अन्तिम साताबाट मत्थर भएको विवाद फेरि बल्झिन सक्ने अनुमान गर्न थालिएकाे छ।
यस्तै आजको सचिवालय बैठकमा मन्त्रिमण्डल हेरफेरबारे नेकपाअध्यक्षद्वयबीच अहिलेसम्म भएको छलफल र समझदारीबारे पनि छलफल हुने बताइएकाे छ।
मकवानपुर । वाणिज्य बैंकहरुले ग्राहकरुलाई आर्कषण गराउन विभिन्न योजनाहरु ल्याउने गरेका छन् । यसै मध्यकाे याेजना बैंकले ग्राहकहरुलाई बचत खाता खोल्दैमा बीमा सुविधा दिने गरेका छन् । बैंकले ग्राहकहरुलाई एटीएम कार्ड,मोवाइल/अनलाइन बैंकिङ्गको शुल्क, कर्जाको ब्याजदरमा छुट, उच्च व्याजदर, निशुल्क डिम्याट तथा मेरो शेयर खाता समेत खोल्न सकिने सुविधा दिइरहेका छन् । त्यसमध्येको आकर्षक योजना भनेको बीमा सुविधा रहेको छ ।
बचतकर्ताले बैंकमा खाता खोल्दैमा घातक रोगको उपचार खर्च, दुर्घटना बीमा,मेडिकल बीमा र म्यादी जीवन बीमाको समेत सुविधा दिइरहेका छन् । केहि समय अघि बैंकहरुले निशुल्क बीमा भन्दै बचत खाताको योजना सार्वजनिक गरेका थिए। तर बीमा समितिले बीमा निशुल्क नहुने भन्दै आपत्ति जनाएपछि बैंकहरुले निशुल्क भन्ने शब्द हटाएर बीमाको सुविधा सहितको बचत खाता सञ्चालन गरिरहेका छन् । बैंकहरुमा बचत खाता खाेल्दैमा जाखिम समेत बहन हुने भएपछि सर्वसाधारणहरु समेत त्यस्ता योजना तर्फ आकर्षित हुन थालेका छन् ।
कुन बैंकमा खाता खोल्दा कति/कस्ताे बीमा सुविधा ?
बाणिज्य बैंकहरुले खचतकर्ताहरुलाई अधिकतम २६ लाख सम्मको बीमा सुविधा दिइरहेको पाएको छ । जीवन तथा निर्जीवन बीमा कम्पनीहरुसंगको सहकार्यमा बैंकहरुले उक्त सूविधा दिइरहेका छन् ।
वणिज्य बैंकहरुले उनीहरुको वेवसाइमा राखिएको सूचना आधारमा सबै भन्दा धेरै कुमारी बैंकले २६ लाख रुपैयाँ सम्ममो बीमा सुविधा दिने गरेको पाइएको छ । कुमारीले सुरक्षा बचत खातामा सो बराबरको बीमा सुविधा दिन जनाएको हो ।
यस्तै दोस्रोमा एनआईशि एशिया बैंकले आफ्नो बचत कर्ताहरुलाई २१ लाख रुपैयाँ बराबरको बीमा सुविधा दिईरहेको छ । एनआईसी एशियाले बचत कर्तालाई दुर्घटना बीमा वापत १० लाख रुपैयाँ, घातक रोगको लागि १० लाख र मेडिकल बीमा वापत १ लाख रुपैयाँ बराबरको बीमा सुविधा दिईरहेको छ ।
सिद्धार्थ बैंकले पनि बचतकर्तालाई १४ लाख रुपैयाँ सम्मको बीमा सुविधा दिइरहेका छन् । सिद्धार्थले मेडिकल इन्स्योरेन्स, दुर्घटना बीमा र १८ घातक रोग विरुद्ध बीमाको लागि सो बराबरको रकम बचतकर्तालाई दिनेछ ।
सानिमा बैंकले ५० हजार रुपैयाँको मेडिकल बीमा, १० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा, ३ लाख रुपैयाँ बराबरको घातक रोगको बीमा र २५ हजार रुपैयाँ म्यादी जीवन बीमा गरी कुल १३ लाख ७५ हजार रुपैयाँको बीमा सुविधा दिइरहेको छ ।
यसैगरी सनराइज बैंकले बचत कर्ताको ५ लाख रुपैयाँको घातक रोगको बीमा र १ लाख रुपैयाँको मेडिकल बीमा सुविधा दिइरहेको छ । मेडिकल बीमाको रकममा २० हजार सम्म ओपीडी खर्च र ८० हजार रुपैयाँ सम्म हस्पिटल भर्ना भएमा उपचार खर्च पाउनेछन् ।
नविल बैंकले पनि बचत कर्तालाई म्यादी जीवन बीमा सहितको बीमा सुविधा दिईरहेको छ । बैंकले ७५ हजार रुपैयाँ बराबरको म्यादी जीवन बीमा,३ लाख रुपैयाँ बराबरको घातक रोगको बीमा गरी ३ लाख ७५ हजार रुपैयाँको सुविधा दिइरहेको छ ।
एनएमबी बैंकले घातक रोग विरुद्ध र दुर्घटना बीमा वापत १० लाख रुपैयाँ, एभेरष्ट बैंकले मेडिकल बीमामा १ लाख र दुर्घटना बीमा बापत ५ लाख गरी ६ लाख रुपैयाँ, हिमालयन बैंकले दर्घटना बीमा वापत ५ लाख, सिभिल बैंकले ५ लाख रुपैयाँको दुर्घटना बीमा र ५० हजारको मेडिकल बीमा सेवा दिनेछ । एनसीसी बैंकले पनि बचतकर्तालाई १० हजार रुपैयाँ बराबरको मेडिकल बीमा सुविधा दिइरहेको छ ।