मकवानपुर । हेटौंडा उपमहानगरपालिकाकाे १५ नम्बर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने भएको छ । २२ माघ मंगलबार वडालाई बालमैत्री घोषणा गरिने भएकाे हाे ।
आइतबार वडाले पत्रकार सम्मेलनमार्फत् “बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” भन्ने मुल नाराका साथ बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गर्न लागेको जनाएको छ । बालमैत्री वडा घोषणा गर्न ताेकिएका ५१ वटा सूचक पूरा भएसँगै वडालाई मंगलबार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागिएकाे वडाध्यक्ष सुनिल मुक्तानले बताए ।
ताेकिएका ५१ वटा सूचक मध्ये ४५ वटा १०० प्रतिशत, ३ वटा ९७ प्रतिशत, २ वटा ९० प्रतिशत र १ वटा सूचक ८१ प्रतिशत नतिजा हासिलसँगै बालमैत्री वडा घोषणा गर्न लागिएको उनले जानकारी दिए । घरधुरी सर्वेक्षण २०७९ अनुसार वडामा २ हजार ३ सय ४५ घरधुरी रहेको छन् । यसैगरी वडामा ५ हजार ४ सय १६ महिला, ५ हजार ५ सय ६१ पुरुष, लैंगिक अल्पसंख्याक २ जना समेत गरी जम्मा जनसंख्या १० हजार ९ सय ७९ रहेका छन् ।
यस्तै १ हजार ६ सय २४ बालक र १ हजार ५ सय ५७ बालिका गरी ३ हजार १ सय ८१ बालबालिका रहेकाे वडामा सामुदायिक, संस्थागत विद्यालय र बाल विकास केन्द्रसहित १० वटा विद्यालय सञ्चालन रहेकाे उनले जानकारी दिए । २४ वटा बाल समूह र वटा बाल सञ्जाल क्रियाशील रहेकाेमा ६ सय जना बालबालिका आबद्ध छन् । यसका साथै विभिन्न संरचनागत समितिमा गरी ६ सय ४७ जना बालबालिका प्रत्यक्ष सहभागीता रहेको बताइएकाे छ ।
२६ मंसिर, २०७९ सरोकारवालाको उपस्थितिमा प्रतिबद्वता जाहेर गर्दै वडाले उक्त अभियान सुरु गरेको थियो । तत्पश्चात अभियानलाई आत्मासात गर्दै कार्यान्वयनको लागि प्रत्येक विद्यालय, टोल, समुदायहरुमा विभिन्न सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आएको वडाध्यक्ष मुक्तानले जानकारी दिए । ‘नेपाल सरकारले निर्धारण गरेका बाल अधिकारका महत्वपूर्ण पक्षहरु बालबचाऊ, बालसंरक्षण, वालविकास, र बालसहभागिता साथै यसको लागि संस्थागत विकासका समेत गरि जम्मा ५१ वटा सूचकहरु पूरा गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाको अन्तिम तयारीको अवस्थामा पुगेका छौ’ उनले भने ।
‘सूचक प्राप्तिको सन्दर्भमा सरोकारवाला निकायहरुसँग अन्तरक्रिया, अनुगमन तथा समीक्षा गरिएकोमा हाल बालमैत्री स्थानीय शासन कार्यान्वयन तथा दिगोपना कायम गर्नको लागि अन्तिम सूचक मापनको प्रतिवेदन, स्थितिपत्र, वडाको पञ्चवर्षीय रणनीतिक योजना समेत तयार भईसकेको छ’ उनले भने ‘जिल्लास्तरीय अनुगमन समितिबाट अनुगमन समेत भइसकेकाे सन्दर्भमा अभियानलाई सफल पार्न वडाका सम्पूर्ण वडावासीहरु लगायत विद्यालय, टोल विकास संस्था, नागरिक समाज, सबै सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले आ-आफ्नो स्थानबाट सक्दो साथ सहयोग दिनु भएको कारणले नै हामी घोषणाको अन्तिम चरणमा पुग्न सफल भएको हौं।’
मंगलबार वडालाई निकृष्ट बालश्रममुक्त, बाल विवाहमुक्त, बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा कार्यक्रम नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा आयोजना गरिने भएकाेले अभियानलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि आ-आफ्नो स्थानवाट साथ, सहयोग र सहभागिता र अभियानमा ऐक्यबद्धता जनाईदिनु हुन समेत वडाध्यक्षले आग्रह गरेका छन् ।
मकवानपुर । श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानको अध्यक्षमा सुर्यचन्द्र न्यौपाने चयन भएका छन् ।
प्रतिष्ठानको पाँचौँ साधारणसभा तथा दोस्रो अधिवेशनले न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । १७ सदस्यीय कार्यसमितीमा बाँकी चार सदस्य भने संस्थाको बैठकले मनोनित गर्नेछ ।
सर्वसहमतिमा चयन भएको कार्यसमितिको उपाध्यक्षमा इन्द्रप्रसाद नेपाल र पुरुषोत्तम आचार्य, महासचिव सुवास खनाल, सचिव भरत दुलाल, कोषाध्यक्ष शुभलक्ष्मी विक, सदस्यहरू ऋषिराम पोखरेल, अरुण खतिवडा, अनिता न्यौपाने, सन्तोष पौडेल, शान्ति प्रियवन्दना, रामबहादुर थापा र रामबाबु खतिवडा रहेका छन् ।
साधारण सभामा संस्थाका सचिव सुवास खनालले प्रस्तुत गरेको प्रतिवेदन र कार्यप्रगति प्रतिवेदन, कोषाध्यक्ष रामबहादुर थापाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।
नवनियुक्त अध्यक्ष सूर्यचन्द्र न्यौपानेले आफूले बनावटी ठूला योजना नबनाएको र संस्थाको भेलामा प्रस्तुत योजनाहरूलाई निष्ठापूर्वक अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा केदार न्यौपाने, प्रेम बहादुर पुलामी छिन्तु, मुनु सिग्देल, नेकपा एमाले जिल्ला अध्यक्ष श्रीधर पोखरेल, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० अध्यक्ष फुर्वादोर्जे लामालगायतको आतिथ्यता रहेको थियो ।
मकवानपुर । अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थलमा “श्रीमद् भागवत सप्ताह ज्ञानमहायज्ञ” सञ्चालन हुने भएको छ ।
अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थलको आदर्श वाक्य: आत्मालाई जागृत गरौँ, सनातन सत्यलाई अँगालौँ” भन्ने उदेश्यले ज्ञानमहायज्ञ सञ्चालन गर्ने अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थल हेटौंडा-१७, ठूलोगङ्गटेको विशेष साधारण सभाले निर्णय गरेको हो ।
ज्ञानमहायज्ञ कार्यक्रम आगामी ३० माघ देखि ७ फागुनसम्म सञ्चालन हुने प्रचार समिति संयोजक चुडामणि रुपाखेतीले जानकारी दिएव। महायज्ञ संचालनको लागि अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थलका अध्यक्ष कृष्णदेव भण्डारी संयोजक रहने गरि मूल समारोह समिति गठन गरिएको छ ।
महायज्ञ कार्यक्रम अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थल, अङ्गारेश्वर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, अङ्गारेश्वर टोल विकास संस्था, र अङ्गारेश्वर दूग्ध उत्पादक सहकारी संस्था लिको संयुक्त आयोजना गरिने रुपाखेतीले बताए ।
महायज्ञको लागि ७ वटा समिति गठन गरिएको छ । अर्थ समिति संयोजकमा धर्मराज अर्याल, प्रचार समिति संयोजकमा चुडामणि रुपाखेती, पुजा समिति संयोजकमा केशव भुजेल, अतिथि सत्कार तथा सम्मान समिति संयोजकमा माया राना, सरसफाइ समिति संयोजकमा ओम प्रसाद अधिकारी, समान खरिद समिति संयोजकमा शमशेर पुडासैनी,भण्डारण समिति संयोजक सिताराम वाइबा रहने गठन गरिएको हो ।
नियमित सत्सङ, आध्यात्मिक प्रवाचनको आरम्भ गरी सनातन धर्म, संस्कार संस्कृतिको जगेर्ना गर्ने, मन्दिर परिसरभित्र १० फिट अग्लो आधारस्तम्भमा १० फिट अग्लो महादेवको ध्यानावस्थाको मूर्ति स्थापना गर्ने, मन्दिर परिसरमा भएको सभाहललाई स्थरोन्नति गर्ने,मन्दिरको जग्गामा घेराबारा (पर्खाल) निर्माण गर्ने उदेश्यले महायज्ञ गर्न लागिएको प्रचार समिति संयोजक रुपाखेतीले बताए ।
मकवानपुर । सञ्चारिका समूह नेपाल मकवानपुर शाखाको तेस्रो अधिवेशनले पत्रकार निशा गुरुङको नेतृत्वमा नयाँ समिति चयन गरेकाे छ ।
समूहको मंगलबार हेटौंडामा भएको तेस्रो अधिवेशनबाट गुरुङको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएकाे हाे । अबको ३ वर्ष उनले नेतृत्व सम्हाल्ने भएकी छिन् । पत्रकार निशा रेडियो मकवानपुर र प्रदेश दैनिक पत्रिकामा हेटाैडामा कार्यरत छिन भने थाहा खबर अनलाइनमा मकवानपुर संवाददाताकाे रुपमा कार्यरत छिन । अधिवेशनले चयन गरेका अन्य सबै पदाधिकारहरु मकवानपुर तथा जिल्ला बाहिरका विभिन्न सञ्चार माध्यममा सक्रिय छन् । समूहको उपाध्यक्षमा जमुना थिङ, महासचिवमा मञ्जु मैनाली, सचिवमा अम्बिका बस्नेत, कोषाध्यक्षमा अन्जना न्यासुर चयन भएका छन् ।
यस्तै सदस्यमा सम्झना थापा, सुनिता विष्ट, स्मिता अर्याल, सुप्रभा चौलागाईँ, अस्मिता भट्टराई, रविना घिमिरे, आँचल तिमल्सिना र सुमिना चौलागाई चयन भएका छन् । सञ्चारिका समूह मकवानपुरकी निवर्तमान उपाध्यक्ष प्रिया पौडेलको अध्यक्षता एवम् सञ्चारिक बागमती प्रदेश अध्यक्ष सरिता दाहालको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र भएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष हरि हुमागाई, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी, प्रेस युनियनका सचिव बलराम पुडासैनी, प्रेस सेन्टर मकवानपुर अध्यक्ष एमपी शर्मा, समाजवादी प्रेस संगठन मकवानपुर अध्यक्ष शिव चौलागाई, स्वतन्त्र पत्रकार संघका मकवानपुर अध्यक्ष गोकुल अधिकारीको उपस्थिती रहेको थियो ।
मकवानपुर । निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा हेटौंडामा राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव हुने भएको छ ।
निर्माण व्यवसायी महासंघको सहयोगमा आगामी फागुन महिनामा दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ को आयोजना गर्न लागिएको संघले मंगलबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । १० वर्षपछि हुन लागेको दोस्रो संस्करणको महोत्सव ६ फागुन देखि १८ फागुन २०८१ सम्म हुने निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कंडेलले जानकारी दिए ।
महोत्सव तथा प्रदर्शनी निर्माण व्यवसायसँगै यस क्षेत्रको आर्थिक गतिविधिमा थप योगदान पुऱ्याउने उद्देश्यका साथ आयोजना गर्न लागेको उनले बताए । महोत्सव निर्माण सामाग्री उद्योगी, विक्रेता र उपयोगकर्ताबीच सोझो सम्पर्कको स्थापना गराई व्यवसाय वृद्धि गर्ने, उत्पादित बस्तुहरुको बजार प्रवर्द्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, निर्माण उद्योगी र व्यवसायीहरुका वीच समस्या, अवसर र चुनौतीबारे अन्तक्रिया गर्ने र स्थानीय औद्योगिक, निर्माणलगायत उत्पादन तथा सेवाहरुको विशेष प्रवर्धनमा सहयोग पुऱ्याउने उद्देश्यले आयोजना गरिएको अध्यक्ष कडेलले बताए ।
महोत्सवमा निर्माण उद्योग क्षेत्रको वर्तमान समस्या, चुनौति, अवसरका बारेमा छलफल, गोष्ठीलगायतका अन्तरक्रियात्मक कार्यक्रम समेत आयोजना गरिने छ । नेपालमा क वर्गका निर्माण व्यवसायी सहभागी भई सरोकारवालासमेतको सहभागितामा हुने छलफल, गोष्ठीका निष्कर्षहरु बाट नीति निर्मातालाई ध्यानाकर्षण गराइने कंडेलले बताए । महोत्सवमा निर्माण क्षेत्रमा प्रयोगमा आएका अत्याधुनिक उपकरणहरु र निर्माण सामाग्रीहरुको प्रदर्शनी, विक्री र प्रदर्शनीमा विशेष जोड दिइने अध्यक्ष कंडेलले जानकारी दिए ।
महोत्सव अवधिमा निर्माण उद्योग क्षेत्रका नयाँ सम्भावनाको खोजी, सान्दर्भिक गोष्ठी, अन्तक्रिया र कार्यशालालाई विशेष जोड दिइने छ भने निर्माण व्यवसायी, दर्शक, उपभोक्ताहरुका राय, सल्लाह तथा सुझावहरु संकलन गरिने बताइएको छ।
महोत्सवमा निर्माण उपकरण, निर्माण सामाग्री, औद्यौगिक उत्पादन, स्थानीय उत्पादन, हस्तकला सामाग्रीलगायत स्थानीय उत्पादन गरी ३५० स्टल रहने छन् । यस्तै गायन क्षेत्रको आइडल र मनोरञ्जनात्मक कार्यक्रमको प्रस्तुति समेत रहने बताइएको छ ।