मकवानपुर । मकवानपुरकाे मनहरी गाउँपालिकामा माेटरसाइकलले ठक्कर दिंदा १ जनाकाे मृत्यु भएकाे छ । बिहीबार राती मनहरी -७ लच्का स्थित पुर्व पश्चिम सडक खण्डमा मनहरीबाट सुनाचुरी तर्फ जादै गरेको बा ६२ प. १११४ नम्बरकाे माेटरसाइकलले पैदलयात्री महिलालाई ठक्कर दिंदा मृत्यु भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
नामथर वतन नखुलेको अन्दाजी ६०/६१ वर्षीय महिलाले बाटो पार गर्ने क्रममा उक्त माेटरसाइकलले ठक्कर दिँदा घाइते भएकाेमा उपचारकाे लागि हेटौंडा अस्पताल ल्याइएकाे थियाे । उक्त महिलाकाे बिहीबार राती नै डाक्टरले मृत घाेषणा गरेका थिए । महिलालाई ठक्कर दिए पछि फरार माेटरसाइकललाई इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक विशाल सापकोटासहितको टाेलीले खोजतलाश गर्ने क्रममा बिहीबार राती माेटरसाइकल मनहरी – ६ प्रतापपुरबाट नियन्त्रणमा लिएकाे हाे ।
माेटरसाइकल चालक मनहरी-६ प्रतापुर बस्ने ३२ वर्षीय मन्शु गुरुङलाई निजकै घरबाट उक्त माेटरसाइकलसहित नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । गुरुङ र माेटरसाइकललाई इलाका प्रहरी कार्यालय मनहरी ल्याई थप अनुसन्धान भईरहेको छ । मृतक महिलाको हालसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएकाे छ ।
मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडाबाट ५ हजार ७५० पत्ता लागूऔषध ट्रामाडोलसहित २ जनालाई पक्राउ गरेको छ । बिहीबार बिहान प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले मधेश प्रदेश ०२–००१ च १४३८ नम्बरको योद्धा पिकअप गाडीलाई जाँच गर्दा उक्त परिमाणमा लागूऔषधसहित २ जनालाई पक्राउ गरेकाे हाे ।
मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालयका अनुसार पक्राउ पर्नेमा बारा पचरौता नगरपालिका–७, बेनौलीका २५ वर्षीय तीर्थलाल पासवान र सोही स्थानका वर्ष २३ को सुनिल पटेल रहेका छन् । बारा जिल्लाको सिम्रौनगढबाट हेटौंडातर्फ आउँदै गरेको उक्त योद्धा पिकअप गाडीलाई सुरक्षाजाँच गर्ने क्रममा ५ हजार ७५० क्याप्सुल ट्रामाडोल बरामद गरिएकाे मकवानपुर प्रहरी प्रमुख विश्वराज खड्काले जानकारी दिए ।
चालक पासवान र सहचालक पटेल माथि शंका लागेर तलासी गर्दा गाडीको अगाडिको ईन्जिन भएको भागमा लुकाई ल्याएको अवस्थामा ट्रामाडोल ५ हजार ७५० थान (५७ हजार ५०० क्याप्सुल) बरामद भएको हाे । उक्त ट्रामाडोलको बजार मूल्य प्रतिपत्ता ७२ रुपैयाँका दरले ४ लाख १४ रुपैयाँ हुने प्रहरीले जनाएकाे छ ।
लागुऔषध ट्रामाडाल हेटौंडामै बिक्री वितरणका लागि ल्याइएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ । पक्राउ गरिएका २ जनालाई मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान कार्य भइरहेको मकवानपुर प्रहरीले जानकारी दिएकाे छ ।
मकवानपुर । मकवानपुरगढी गाउँपालिकाले विद्यार्थीहरुका लागि पढ्दै कमाउँदै (लर्निङ् बाई अर्निङ्) कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
पालिकाको आर्थिक बर्ष २०८१/०८२ को बार्षिक कार्यक्रम अनुसार कृषि विकासअन्तर्गत प्राविधिक विधामा अध्ययन गर्ने विद्यार्थीहरुका लागि पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्न लागिएको मकवानपुरगढी गाउँपालिकाले जनाएकाे छ । कृषि शाखाका प्रमुख गोपाल लम्सालका अनुसार उक्त कार्यक्रमका लागि ३ लाख बजेट बिनियोजन गरिएको छ ।
प्राविधिक विधा अध्यापन गराउने विद्यालयहरुलाई उक्त कार्यक्रम सञ्चालन गर्नका लागि चैत २७ गते दोस्रो पटक प्रस्ताव आवाह्न गरिएको उनले बताए । पहिलो पटक चैत ४ गते सूचना प्रकाशन गरिएको थियो । पालिकाले प्राविधिक बिषय ( कृषि बाली विज्ञान) अध्ययन गर्ने विद्यार्थीहरु, बाली बस्तु उत्पादन गर्ने जमिन भएको विद्यालयलाई विशेष प्राथामिकतामा राखेको छ । उक्त बजेट उत्पादन सामग्री, प्रविधि, सिचाई, यान्त्रिकरण क्षमता अभिवृद्धिलगायतका कार्यमा ८० प्रतिशत लगानी गर्ने शाखा प्रमुख लम्सालले जानकारी दिए ।
आवेदन परेकाबाट उत्कृष्ट प्राविधिक शैक्षिक संस्था छनोट गरी तत्काल कार्यक्रम सुरु गरिने उनले बताए । उत्पादन बिक्रीबाट आएको आम्दानीलाई ‘पढ्दै कमाउँदै’ कोषमा राखेर त्यसलाई ‘सिड मनी’का रुपमा प्रयोग गर्न सकिनेछ । त्यसलाई सिड मनिका रुपमा इच्छुक विद्यार्थीहरुले आफ्नो घरमा कृषि खेती गर्न चाहेमा आवश्यक बिउ, मल, प्रविधि समेत लिन सक्ने उनले बताए ।
शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडी भविष्यमा उद्यमी, व्यावसायिक, सीपयुक्त एवम् स्वावलम्बी नागरिक उत्पादन गर्न यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने पालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बताए ।
गत आर्थिक बर्षदेखि निमित बजेट गदै आएको र यस कार्यक्रमलाई प्रभावकारी रुपमा निरन्तरता दिइने उनको भनाई छ । गत आबमा मकवानपुरगढी–२ मा रहेको बंशगोपाल माध्यामिक विद्यालय (प्राविधिक शिक्षालय) यसै कार्यक्रमका लागि २ लाख बजेट उपलब्ध गराएको थियो । जसबाट विद्यालयले गड्यौला प्ल्यान्ट निर्माण गरेको थियो ।
शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडेर भविष्यमा स्वलम्बी नागरिक उत्पादन गर्ने मुख्य लक्ष्यसहित संघीय सरकारले यसअघि नै विद्यालय तहमा पढ्दै कमाउँदै कार्यक्रम लागू गरेको हो ।
संघ सरकारले कार्यक्रम सञ्चालनका लागि प्रतिविद्यालय २० लाखको दरले रकम खर्च गर्दै आएकोमा यसमा कति विद्यार्थी संलग्न छन् र यसको प्रभावकारिता कति छ ? भन्ने अझै एकिन भइसकेको छैन । विद्यालयको मुख्य उद्देश्य हातखुट्टा चलाएर सक्षम बनाउने अर्थात विद्यार्थीलाई गरिखान बनाउने रहेको छ ।
मकवानपुर । मकवानपुर प्रहरीले स्पेयर टायरभित्र लुकाएर काठमाडौं लगिदैं गरेकाे लागूऔषध ओनरेक्ससहित सुमाे चालकलाई नियन्त्रणमा लिएकाे छ ।
मंगलबार बाराबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ४५१ नम्बरको यात्रुबाहक सुमोलाई प्रहरीले सुरक्षाजाँच गर्ने क्रममा १ सय मिलिलिटरको २ सय २५ बोतल लागूऔषध ओनरेक्स बरामद गरेको हाे । हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटेस्थित चेकपोष्टकाे टोलीले उक्त लागूऔषध बरामद गरी सुमो चालक पर्सा बहुदरमाई नगरपालिका–९ का २४ वर्षीय मुम्ताज मियालाई नियन्त्रणमा लिएको छ ।
सुमोको हुटमा राखिएको स्पेयर टायरमा लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । जिल्ला अदालत मकवानपुरले मुम्ताजलाई ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएपछि मकवानपुर प्रहरीले बरामद गरेको लागूऔषध र सुमोसहित चालकलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ ।
मकवानपुर । नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखा, हेटौंडा- ४ द्वारा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा १६ जनाले रक्तदान गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाका सभापति किशन घिसिङ्गको अध्यक्षता एवं हेटौंडा उपमहानगरपालिका ४ नं वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यतामा भएकाे रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाका उपमन्त्री शिबहरि दाहालको बिशेष आतिथ्यता रहेकाे थियाे ।
उपशाखाको नियमित कार्यक्रमको रुपमा रक्तदान कार्यक्रमको आयोजना गरिएको उपशाखाका सभापती किशन घिसिङ्ले जानकारी दिए। विपद्को समयमा रेडक्रसको आवश्यकता र महत्त्व अझ धेरै रहेकोले केही समय भित्र युवा, विद्यार्थी तथा शिक्षकहरुको सहभागीतामा विपद् ब्यवस्थापन तथा प्राथमिक उपचारको तालिमको आयोजना गर्ने योजना रहेको उपशाखा सचिव हिक्मत श्रेष्ठले जानकारी दिए ।
रक्तदान कार्यक्रममा रेडक्रस मकवानपुर कार्यालय प्रमुख लक्ष्मण भट्टराईं , श्रमिक माविका विब्यस अध्यक्ष बिवेक कार्की, रेडक्रस मकवानपुरका पुर्व उपसभापति उमेश बास्कोटा तथा विभिन्न संघसंस्थाको प्रतिनिधि, युवा रेडक्रस सर्कलका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।