मकवानपुर । मकवानपुर प्रहरीले टिपर सहित बेवारिसे अवस्थामा सालको काठ बरामद गरेकाे छ । जेठ ३० गते बागमती गाउँपालिका ४ झुरझुरे बजार स्थित सडकबाट बा ३ ख ६९५१ नम्बरको टिपरमा लुकाई छिपाई बेवारिसे अवस्था रहेकाे १५०.३३ क्यू फिट सालको काठ बरामद गरेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
टिपरमा सालको काठ लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय फापरवारी मकवानपुरबाट खटिएकाे प्रहरी टोलिले फापरवारी ४ झुरझुरे धरान चतरा बाटो छेउबाट तयारी अवस्थाका सालको चौकस, झ्याल, ढोकामा खाँच काटेको, चिरान र फेण्टा समेत गरी जम्मा १५०.३३ क्यू फिट सालको काठ सहित टिपर बरामद गरी नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले बताए ।
नियन्त्रणमा लिइएकाे टिपर तथा वेवारिसे अवस्थामा बरामद गरिएकाे १५०.३३ क्यू फिट सालको काठकाे सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको रिमालले जनाकारी दिए ।
मकवानपुर । मकवानपुरमा निषेधाज्ञा उल्लङ्घन गर्ने ५ सवारी साधन कारवाहीमा परेकाे छ । जेठ ३१ गते साेमबार मकवानपुर प्रहरीले निषेधाज्ञा उल्लङ्घन गर्ने मोटरसाइकल/स्कुटर, अटो, सानो गाडी गरी १९ वटा सवारी साधनको कागजपत्र नियन्त्रणमा लिएकाे छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बिभिन्न स्थानका चेकप्वाईन्टमा निषेधाज्ञा उल्लङ्घन गर्ने १९ सवारी साधनलाई नियन्त्रणमा लिइएकाेमा कोभिड- १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम ५ वटा सवारी साधनलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले बताए ।
यस्तै जेठ ३१ गते निषेधाज्ञाकाे अवधीमा पसल ब्यवसाय खोली संचालन गर्ने ४ जना कारवाहीमा परेका छन् । निषेधाज्ञाकाे अवधीमा पसल ब्यवसाय खोली संचालन गर्ने हेटाैडा ८ का किराना पसल, हेटाैडा ८ काे हार्डवेयर पसल हेटाैडा ९ काे तरकारी पसल, हेटाैडा ९ कै हार्डवयर पसल समेतका ४ जना प्रहरीले नियन्त्रणमा लिइएकाे हाे ।
उनीहरूलाई आवश्यक कारवाहीको जिल्ला प्रशासन कार्यालय मकवानपुर पठाईएकोमा जिल्ला प्रशासन कार्यालयबाट प्रत्येकलाई जनही ३ हजार रूपैयादेखि ५ हजार रूपैयाका दरले जरिवाना समेत भएको प्रवक्ता रिमालले जानकारी दिए ।
मकवानपुर । मकवानपुरमा सञ्चालित एम्बुलेन्समा जिपिएस जडान गरिएको छ । मकवानपुरका १७ वटा एम्बुलेन्समा जिपिएस ट्रयाकिङ जडान गरिएको हाे ।
गत जेठ १९ गते जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले स्वास्थ्य कार्यालय मकवानपुरलाई एम्बुलेन्समा जिपिएस जडान जडान गर्न निर्देशन दिएकाे थियाे । निर्देशन पश्चात जेठ ३१ गते साेमबार जिपिएस ट्रयाकिङ जडान गरिएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी लक्ष्मण घिमिरेले बताए ।
एम्बुलेन्स चालकले कोरोना महामारीको समयमा सेवा दिन नसकेको र विभिन्न बहाना बनाई पञ्छिन थालेको जनगुनासो पछि जिपिएस जडान गरिएको हो । १ लाख ५० हजारमा खरिद गरी १७ वटा जिपिएस जडान गरिएको घिमिरेले बताए । ‘हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाँउपालिका र मनहरी गाउँपालिकामा सञ्चालित एम्बुलेन्समा जडान गरिएको हाे’ उनले भने ।
जिपिएसको कन्ट्रोल गर्न जिल्ला प्रहरी कार्यालयलाई दिइएको छ ।
मकवानपुर । कोभिड हेल्प डेस्क मकवानपुरले आइतबार मानव सेवा आश्रमलाई सहयोग गरेको छ । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको संलग्नतामा निर्माण गरिएको हेल्थ डेस्ककाे समुह आश्रममै गई सहयोग गरेको हो ।
मउवासंघका महासचिव प्रमोद सिंह रानाभाटले संयाेजन गरिएकाे आश्रमको कार्यक्रममा हेल्प डेस्कबाट चामल, दाल र स्याऊ सहयोग गरिएको थियो । त्यसैगरी आइतबार नै हेल्प डेस्कले गौरीटार आइसोलेशनलाई पनि सहयोग गरेको छ । हेल्प डेस्कको टोली गौरीटार आइसोलेशनमा गई च्यावनप्रास, तेल, आयुर्वेदिक औषधी वितरण गरिएको थियो ।
मउवासंघका कार्यसमिति सदस्य रवि कडेल शर्माले संयोजन गरेकाे आइसोलेशनमा सहयाेग वितरण कार्यक्रममा कोभिड हेल्प डेस्क मकवानपुरका सचिवालय संयोजक कृष्ण कुमार गुप्ता, हेल्प डेस्कका सदस्य ज्ञानेन्द्र कार्की, मउवासंघका विशेष आमन्त्रित सदस्य भुपेन्द्र अधिकारी, व्यवसायी राजेन्द्र लामिछानेलगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी कोभिड हेल्प डेस्कबाट मनहरी गाउंपालिका, चकरीबाट ३ जना कोभिडका बिरामीहरुलाई अस्पतालसम्म ल्याउन निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको छ । यस्तै हेल्प डेस्कलाई आइतबार नगद ५ हजार रूपियाँ सहयोग प्राप्त भएको छ । मकवानपुरका प्रतिष्ठित गायक स्व. ज्ञानविर क्षेत्रीको स्मृतिमा श्रीमती कमला श्रेष्ठ क्षेत्री, छोराहरु कोसिस क्षेत्री र केतन क्षेत्रीबाट उपलब्ध गराइएको रकम हेल्प डेस्कका सदस्य शंकरलाल श्रेष्ठमार्फत हेल्प डेस्कका संयोजक कृष्ण कटुवाललाई हस्तान्तरण गरिएको हो ।

हेल्प डेस्कबाट बिरामी आमाको लागि अक्सिजन सहयोग लिदै आएका ठाकुरप्रसाद चौलागाईले पल्पसा आइसोलेशन सेन्टरमा रहेका कोभिड संक्रमितहरुलाई आइतबार एक बोरा हरियो मकै उपलब्ध गराएका छन् । यसै गरी द आर्ट अफ लिभिङ्ग नेपालबाट पिपिई २० थान, अक्सिमिटर ५ थान, ग्लोब्स ५ पाकेट, माक्स ५ पाकेट, एन ९५ माक्स ५० थान, फेस सिल २५ थान र साबुन ७२ थान सहयोग प्राप्त भएको सचिवालय संयोजक कृष्ण कुमार गुप्ता जानकारी दिए ।
द आर्ट अफ लिभिङ्ग नेपालका मकवानपुर जिल्ला संयोजक दामोदर प्रसाद अटलले उक्त सहयोग सामग्रीहरु आइतबार हस्तान्तरण गरेका हन् । सहयोगको लागि पहल गर्नुहुने हेल्प डेस्कका सचिवालय संयोजक गुप्तासहित हस्तान्तरण कार्यक्रममा मउवासंघका उपाध्यक्ष रामप्रसाद न्यौपाने, सदस्य बालकुमार मल्ल ठकुरी, द आर्ट अफ लिभिङ्गका नर्मदा अटल, सुजिना श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
यस्तै पल्पसा आइसोलेशन सेन्टर संचालनमा आएदेखि नै कृष्ण प्रणामी समाज मकवानपुरबाट भर्ना भएका सम्पूर्ण संक्रमित र व्यवस्थापनमा खट्ने स्वास्थ्यकर्मी, कर्मचारी तथा कामदारहरुको लागि बिहान र बेलुकाको खाना सहयोग हुंदै आएको मउवासंघ अध्यक्ष कृष्ण कटुवालले बताए ।
यसैगरी कोभिड हेल्प डेस्क मकवापुरको सचिवालय मकवानपुर उद्योग वाणिज्य संघबाट आइतबार ४२ जना कोभिड संक्रमितहरुसंग फोनमार्फत सम्पर्क गरिएकोमा ४ जना अस्पतालमा र ३८ जना घरमै रहेको सुरक्षित रहेकाे पाइएकाे छ । हेल्प डेस्कबाट नियमित रुपमा फोन सम्पर्क गरी संक्रमितको अवस्था बुझ्ने, राय सुझाव दिने, समस्या भएमा हेल्प डेस्कमा सम्पर्क गर्न र पल्पसा आइसोलेशन सेन्टरमा स्वास्थ्य लाभको लागि आउन पनि आग्रह गर्ने गरिएको संयाेजक गुप्ताले बताए ।
मकवानपुर । कोरोना महामारीका कारण खाद्यान्न अभाव झेलिरहेका मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाको अति विपन्न परिवारलाइ विद्यार्थीहरुको पहलमा खाद्यान्न सहयोग गरिएकाे छ ।
हेटौडाको सिद्धार्थ शिशु सदन बोर्डिङ्ग स्कुलबाट २०५४ सालमा एसएलसी पास गर्ने विद्यार्थीहरुको समुह “पहल”को सक्रियतामा राक्सिराङ्ग ७ काकड़ा बेसीगाउँका अति विपन्न ४२ परिवारलाई राहत वितरण गरिएको हो । खाद्यान्न अभाव भएर जंगली कन्दमुल खान बाध्य उक्त गाउँमा केहिदिन अघि मात्रै विषालु च्याउ खाएर १ जनाको मृत्यू र २ जना बिरामी भएकाे समाचार प्रकाशित भएकाे थियाे । उक्त समाचारपछि आफुहरुले खाद्यान्न सहयोग गरेको “पहल” समुहले जनाएकाे छ ।
गाउँपालिकाको अनुमती पश्चात अति विपन्न ४२ परिवारलाई प्रति परिवार २० किलो चामल, ५ किलो पिठो, चना, नुन, तेल, मस्यौरा लगायतका खाद्यय सामग्री सहयोग गरिएकाे हाे । खाद्यान्न वितरणका लागि हेटौंडा, काठमाडौं, अमेरिका, अष्ट्रेलिया, क्यानडा, डेनमार्क लगायतका देशमा रहेका समुहका सदस्यहरुले आर्थिक सहयोग गरेका थिए ।

यसअघी निषेधाज्ञाकाे समयमा हेटौंडाका २८ जना एकल महिला परिवार, हेटौंडा ५ सिंचाईटोलमा रहेको “हाम्रो घर” अनाथालय एवं गौरीटार स्थित कोभिड आईसोलेशन केन्द्रमा खाध्यान्न सहयोग गरिसकेको “पहल” समुहले वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरीका लागि अति आवश्यक मास्क सेनिटाईजरको सहयोग समेत गरेको थियो ।