मकवानपुर । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाले आर्थिक वर्ष २०८१/८२ मा भए गरेका कार्यहरुकाे विवरण सार्वजनिक गरेको छ ।
भौतिक निर्माण, शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण, युवाको क्षमता अभिवृद्धि र सांस्कृतिक प्रवर्द्धनका क्षेत्रमा उल्लेखनीय उपलब्धी हासिल गरेको सार्वजनिक विवरणमा जनाएकाे छ । संघीय, प्रदेश र स्थानीय सरकारको सहकार्य, साथै वडाको आफ्नै पहल र बजेटमार्फत थुप्रै योजना सफलतापूर्वक कार्यान्वयन गरिएकाे सार्वजनिक गरिएकाे छ ।
“हामी काममा विश्वास गर्छौं” भन्ने नारालाई व्यवहारमा उतार्छौं भन्दै वडाध्यक्ष नवीन सिग्देलले सामाजिक संजाल फेसबुक मार्फत आर्थिक वर्ष २०८१/८२ मा वडा मार्फत कार्यान्वयनमा ल्याइएकाे ३२ वटा भौतिक योजना लगायतका काम सफलता पुर्वक सम्पन्न भएकाे जानकारी दिएका हुन् ।
वडाध्यक्षले सार्वजनिक गरेकाे सम्पन्न कार्यहरुमा बुद्धपथ, रजत जयन्ती सडक, हुप्र पूर्वी क्षेत्र, गर्दोही भित्री सडक, गिरी टोल, नगरविकास क्षेत्रलगायत स्थानहरूमा सडक कालोपत्रे, स्तरीकरण, ढल निकास र सडक पेटी निर्माण कार्य रहेका छन्। यसैगरी श्रमिक माविको नयाँ भवन, आधुनिक माविमा पर्खाल र क्यान्टिन निर्माण, श्रमिक पार्क तथा बालउद्यानको स्तरीकरण, नगरविकास क्षेत्रमा टाइल र मार्किङ र भुटनदेवी माविको प्रांगणमा निर्माण गरिएको घरेलु उत्पादन बिक्री तथा प्रदर्शनी भवन यस वर्षका प्रमुख उपलब्धिहरू रहेकाे उनले जनाएका छन् ।
सामाजिक र जनसरोकारका क्षेत्रमा पनि वडाकाे उपस्थिति उल्लेख रहेकाे उनले जानकारी दिए । डेङ्गु रोगविरुद्ध सचेतना कार्यक्रम, निःशुल्क मुटु तथा आँखाको शिविर, लागू औषधविरुद्ध अभियान, साइबर क्राइमसम्बन्धी तालिम, महिला हिंसा विरुद्धको १६ दिने कार्यक्रम, धूप बनाउने सीपमूलक तालिम, जेष्ठ नागरिकको धार्मिक भ्रमणलगायतका कार्यक्रमहरू वडावासीलाई प्रत्यक्ष लाभ पुग्ने गरी सञ्चालन गरिएकाे उनकाे भनाइ छ।
शैक्षिक क्षेत्रमा एक महिनासम्म सञ्चालन गरिएको बृहत् वडा स्तरीय खेलकुद महोत्सव वडाले आयोजना गरेको छ । उक्त खेलकुद महाेत्सवमा तीन हजारभन्दा बढी विद्यार्थी सहभागी भएकाे समेत उल्लेख गरिएकाे छ । उत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान गरिएको छ भने श्रमिक माविकाे छात्रवृत्ति कोषमा पाँच लाख रुपैयाँ सहयोग प्रदान गरिएको छ। बालमैत्री वडा घोषणा, पाठ्यक्रम प्रवोधीकरण, शैक्षिक अन्तरक्रिया, बुटवल र चित्लाङमा शैक्षिक भ्रमणजस्ता कार्यक्रमहरू पनि प्रभावकारी रूपमा सम्पन्न भएकाे वडाध्यक्षले सिग्देलले जानकारी दिए ।
वडाले कला, साहित्य र संस्कृतिको प्रवर्द्धनमा पनि सहयोग गर्दै आएकाे उनले बताए । गाईजात्रा विशेष हास्यव्यङ्ग्य कार्यक्रम, नवसर्जक महोत्सव, गजल र मुक्तक प्रतियोगिता तथा गायक जीवन शर्मा र बद्रि पंगेनी कलाकारहरूको प्रस्तुति आयोजनाले स्थानीय प्रतिभा र साङ्गीतिक चेतनालाई थप उत्साहित बनाएको उनले उल्लेख गरेका छन् । “विकास भनेको केवल भौतिक निर्माण मात्र नभएकाे बताउँदै अध्यक्ष सिग्देलले भने “हामी हेटौंडा-४ लाई समावेशी, आत्मनिर्भर र उदाहरणीय वडा बनाउन तत्पर छौं।”
वडाध्यक्ष सिग्देलले वर्षभरि भएका यी गतिविधिहरूमा सहयोग गर्ने सबै सरकारी निकाय, संघसंस्था, विद्यालय, समुदाय, कर्मचारी र वडावासीप्रति आभार समेत व्यक्त गरेका छन्। आगामी दिनमा वडालाई अझ पारदर्शी, सहभागी र जनमुखी बनाउँदै समावेशी र आत्मनिर्भर मोडलमा विकास गर्ने प्रतिबद्धता अध्यक्ष सिग्देलले जनाएका छन्।

मकवानपुर । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठन (WHO) का नेपालका प्रतिनिधि टोलिबिच छलफल भएको छ ।
प्रदेश स्वास्थ्य मन्त्री किरण थापा मगर, स्वास्थ्य सचिव डा. सुमित्रा गौतम, स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्र कुमार झा, तथा महाशाखा प्रमुखहरू सागर प्रसाद घिमिरे, डा. खगेश्वर गेलाल, किरण श्रेष्ठलगायतसँग विश्व स्वास्थ्य सगठन नेपालका प्रतिनिधि डा. राजेस सम्भाजिराव पाण्डव नेतृत्वको उच्चस्तरीय टोलीले दुई दिने प्रदेशस्तरीय समन्वय भ्रमण र छलफल गरेको हो । भ्रमण टोलीमा सिनियर हेल्थ पोलिसी एड्भाइजर डा. ग्याम्पो दोर्जे, डा. बिनोद गुप्ता, सुधन ज्ञवाली लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा मन्त्री थापाले प्रदेश सरकारले हालै सार्वजनिक गरेको सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका र प्रदेश स्वास्थ्य नीति डब्लुएचओ नेपाल प्रमुख डा. पाण्डवलाई हस्तान्तरण गर्दै संस्थागत सहकार्यलाई थप सुदृढ बनाउन आग्रह गर्नुभयो।
प्रादेशिक रणनीतिक योजना तर्जुमा, सबै नीतिमा स्वास्थ्यको कार्यान्वयन, एक जिल्ला एक स्वस्थ शहर, एक स्थानीय तह एक नमूना स्वास्थ्य संस्था, मानसिक स्वास्थ्य प्रवर्द्धन र आत्महत्या न्यूनिकरण, एक विद्यालय एक नर्स कार्यक्रम, अस्पताल सुधार आयोजना, आमा तथा नवजात शिशु सेवा, एक स्वास्थ्य संस्था एक ग्रामिण अल्ट्रासउण्ड, मेरो स्वास्थ्य मेरो जिम्मेवारी एक घण्टा मेरो लागि, उच्च रक्तचाप र मानसिक रोगको नि:शुल्क औषधि बर्षैभरी उपलब्ध गराउने, स्वास्थ्य बीमा कार्यक्रम, प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा विस्तार, सामुदायिक स्वास्थ्य स्वयं सेवक, नसर्ने रोग, जलन, मृगौलाको डायलासिस, बाँझोपनको उपचारलगायतको सेवा विस्तार, पुरुषहरुको प्रोष्टेट क्यान्सर जस्ता स्वास्थ्य कार्यक्रमको प्रगतिबारे समिक्षा गरिएको थियो ।
यसैगरी महिलाहरुको पाठेघरको मुखको क्यान्सर , स्तन क्यान्सरको स्क्रिनिङ र उपचार, नीजि सरकारी साझेदारीमा ड्रग्स र टक्सिकोलोजि सेन्टरको स्थापना, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट MBBS, MD को अध्यापन शुरुवात, नसर्ने रोगको रोकथाम र उपचारको लागि मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, ज्यान जोखिममा रहेका गर्भवती र सुत्केरी महिलाहरुको हवाइ उद्दार, आयुर्वेद औषधि उत्पादन केन्द्रबाट २१ प्रकारका औषधि उत्पादन, अस्पतालहरुमा तथ्याङ्को अभिलेखिकरण र प्रतिवेदन प्रणालीलाई डिजिटलाइजेसन, प्रदेशका दुग्रम स्थानमा विशेषज्ञ सहितको एकिकृत जनस्वास्थ्य अभियान बारे छलफल भएको थियो ।
यि स्वास्थ्य कार्यक्रममा स्क्रिनिङ, उपचारमा प्राथमिकता बारे छलफल भएको थियो । स्वास्थ्य कार्यक्रमहरुमा विश्वस्वास्थ संगठनले गर्ने सहकार्य र सहयोगको बिषयमा छलफल भएको थियो । मन्त्री थापाले विश्व स्वास्थ्य संगठनको सहयोग र सहकार्यको लागि धन्यवाद दिंदै यसलाई निरन्तरता दिन आग्रह गर्नु भएको थियो।
स्वास्थ्य मन्त्रालयको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा सचिव डा. गौतमले बागमती प्रदेशमा WHO ले पुर्याएको प्राविधिक र मानवीय सहयोगप्रति आभार व्यक्त गर्दै, प्रदेशका प्रमुख उपलब्धि, प्राथमिकताप्राप्त कार्यक्रमहरू, तथा आगामी आ.व. २०८२/८३ को रणनीतिक योजनाहरू प्रस्तुत गर्नुभएको थियो ।
विश्व स्वास्थ्य संगठन नेपालका प्रतिनिधि डा. राजेश सम्भाजिराव पाण्डवले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले गरेका उपलब्धी मुलक कार्यहरुको प्रसंसा गर्दै सबै नीतिमा स्वास्थ्यको प्रभावकारी कार्यान्वयन, स्वास्थ्य क्षेत्र रणनीतिक योजना, स्वस्थ सहरको अवधारणा आदिमा विश्व स्वास्थ्य संगठनको निरन्तर सहयोग रहने बताउनु भयो। यसका अतिरिक्त खोप र खोपबाट बच्न सकिने रोगहरु, नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणमा मिलेर काम गर्ने बारे छलफल भएको डब्लुएचओ का प्रदेश स्वास्थ्य अधिकृत हरि भुसालले जानकारी दिनुभयो।
मकवानपुर । हेटौंडा काठमाडौं जोड्ने छोटो दुरीको भैंसे-भिमफेदी-कुलेखानी-काठमाडौं सडक खण्ड अन्तर्गत कुलेखानी जलाशयको ड्याम मुनी सिमखेलामा बेलिब्रिज निर्माणकाे कार्य सुरु भएकाे छ । आइतबारबाट सिमखोलामा बेलिब्रिज जडान सुरु गरिएको हाे ।
गत वर्षकाे ११ र १२ असोजकाे अविरल वर्षासँगै आएको बाढीले सिमखाेलामा रहेकाे पुल क्षतिग्रस्त भएकाे थियाे । पहिले भएकाे पुलकाे दायाँबायाँ अर्थात् पहुँचमार्ग नै बगाएकाले बेलिब्रिज राख्न लागिएको हो । आइतबार बिहानदेखि जनशक्ति र उपकरण प्रयोग गरेर बेलिब्रिज जडानको काम भइरहेको छ । पुल एक सातामा निर्माण सम्पन्न हुने पुल भएर सवारीसाधन सञ्चालन गर्न बढीमा दुई साता लाग्ने यातायात पूर्वाधार निर्देशनालयले जनाएकाे छ ।
सिमखोलामा बेलिब्रिज हाल्नका लागि भैंसे-भीमफेदी सडकखण्डको घट्टेखोलामा रहेको १३ मिटर लामो र मान्डुखोलामा रहेको ५० मिटर लामो बेलिब्रिज झिकेर ल्याइएको छ । सिमखोलामा ६० मिटर लामो बेलिब्रिज हाल्नुपर्ने भएकाले २ वटा बेलिब्रिज झिकेर ल्याएको पूर्वाधार निर्देशनालयले जनाएकाे छ । साउनको पहिलो साता नै बेलिब्रिज हालेर सवारी साधन आउजाउ गराउने लक्ष्यका साथ काम भइरहेको बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।
बागमती प्रदेश सरकारले सिमखोलामा बेलिब्रिज निर्माणका लागि ठक्का आह्वान गरेकाे थियाे । यातायात पूर्वाधार निर्देशनालय हेटौंडा मार्फत सो पुल निर्माणका लागि ठेक्का आह्वान भएको थियाे । बेलिब्रिज निर्माणका लागि निर्देशनालयले १६ फागुन २०८१ मा टेन्डर आह्वान गरेको थियाे । माण्डु खोलाको बेलिब्रिज निकालेर ल्याउने र सिम खोलामा उक्त पुल अड्याउनका लागि निर्माण गरिने पक्की टेको र पहुँच मार्ग निर्माण गर्न टेन्डर आह्वान गरेकोमा गौरव इन्जिनियर्स प्रालिले एक करोड ८८ लाख रुपैयाँमा ठेक्का लिएको छ ।
गत असोज ११ र १२ गतेको अविरल वर्षासँगै कुलेखानी भरिएपछि ‘ओभर फ्लो’ रोक्न गेट खोल्दा इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामको तल्लो भागमा रहेको सिमखोलाको पुलसँगै सडक क्षतिग्रस्त बनेको थियो । घट्टेखोला र माण्डु खोलामा पक्कि पुल निर्माण गरेर सञ्चालनमा आइसकेकाेले त्यसस्थानमा रहेको बेलिब्रिज सिमखोलामा प्रयोगमा ल्याइएकाे बताइएकाे छ ।
सिमखाेलाकाे पुल बाढीकाे कारण क्षतिग्रस्त भएपछि गत असोजबाटै पुल भत्किएकाे स्थान भन्दा केही तलबाट खोलामा डाइभर्सन निर्माण गरेर सवारी सञ्चालनमा गरिएकाे छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा माइ काेरा च्यालेन्ज २०२५ आयोजना गरिएकाे छ । हिमालयन राइडर्स सोसाइटी हेटौंडाकाे आयोजना तथा हेटौंडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयकाे सहकार्यमा शनिबार हेटौंडामा उक्त च्यालेन्ज गरेकाे हाे ।
काेरा च्यालेन्ज साइकल यात्रमा हेटौंडा ४ स्थित भुटनदेवी माविबाट सुरु भइ पारिजातपथ,पशुपति मन्दिर, भुटनदेवि मन्दिर, बुद्धचाेक, कान्तिराजपथ, चौघडा, गैरीगाउँ, शिवम् सिमेन्ट, हटियाचोक, चिसापानी, कमाने, शान्तिनगर भैरवरोड बुद्धचोक हुदै होटल दरबार चौकीटोल पुगेर समापन गरिएकाे थियो ।
साइकल यात्रा ४ नं. वडाध्यक्ष नवीन सिग्देलले उद्घाटन गरी सुरु भएकाे थियाे । २७ किमिकाे साइकल यात्रामा २ सयजनाकाे सहभागिता रहेकाे हिमालयन राइडर्स सोसाइटी हेटौंडाका अध्यक्ष राजु थापाले बताए ।
साइकलमा हुइकिने ६ जनालाई सम्मान
जागिर, व्यवसाय तथा व्यक्तिगत कामकाे लागि साइकलकाे प्रयोग गरी वातावरण जोगाउन महत्वपूर्ण भूमिका निभाएको भन्दै हिमालयन राइडर्स सोसाइटी हेटौंडाले ६ जनालाई सम्मान गरेको छ । माइ काेरा च्यालेन्ज २०२५ काे समापन कार्यक्रममा १ जना पत्रकारसहित ६ जनालाई सम्मान गरिएकाे हाे ।
२४ वर्षदेखि निरन्तर दैनिक कामकाजकामा साइकल प्रयोग गरिरहेका पत्रकार गोविन्द न्यौपाने, ३० वर्षदेखि साइकल प्रयोगकर्ता हेटौंडा–६ रामनगर निवासी स्कुल अफ मेनेजमेन्टमा कार्यरत आइतमान मुक्तान, १४ वर्षदेखि साइकलकाे प्रयोग गर्दै आएका सिटी कलेज हेटौंडामा कार्यरत हेटौंडा–६ का रामप्रसाद पोखरेल, सिटी कलेजका शिक्षक सिन्धुपाल्चोक चौतारा निवासी लक्ष्मण तामाङ, १४ वर्षदेखि साइकल प्रयोग गर्दै आएका मकवानपुर क्याम्पसका प्राध्यापक जयराम गौतम र रिलायन्स सेकेन्डरी बोर्डिङ स्कुलमा अध्ययनरत हेटौंडा–५ पिप्ले निवासी दीक्षान्त सुवेदीलाई सम्मान गरिएकाे हाे ।
शनिबार उनीहरुलाई हेटौंडा–४ का अध्यक्ष नवीन सिग्देल, साइकल संस्कृति समुदाय नेपालका अध्यक्ष डा. तारालाल श्रेष्ठ र सोसाइटीका अध्यक्ष राजु थापामगरलगायतले सम्मानित गरेका हुन् ।
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–५ राजदमारबाट जुवा खेलिरहेका २२ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राती १ बजेको समयमा स्थानीय मिलन थिङको घरमा जुवा खेली रहेका उनीहरुलाई मकवानपुर प्रहरीले पक्राउ गरेकाे हाे ।
जुवा खेलिरहेकाे सूचनाको आधारमा इलाका प्रहरी कार्यालय फापरवारी र प्रहरी चौकी हात्तिसुडेबाट खटिएको प्रहरी टोलीले घरपेटी मिलनसहित मकवानपुरको बकैया, बागमती, हेटौंडा, रौतहट, सिन्धुली जिल्लासहितका २२ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपपुरले जनाएको छ ।
प्रहरीले मिलनसहित बकैया–४ जुरेलीका ५५ वर्षीय गेहेन्द्र बहादुर थिङ, बकैया–७ का ३८ वर्षीय रोहन लुङबा, हेटौंडा–१८ का ४५ वर्षीय कमल थापा, ३५ वर्षीय अशोक श्रेष्ठ, हेटौंडा–८ कमानेका ५३ वर्षीय फडिन्द्र प्रसाद घिमिरे, ३६ वर्षीय चित बहादुर पाख्रिन, हेटौंडा–१६, हटियाका ४६ वर्षीय रमेश महतलाई पक्राउ गरेकाे छ । यसैगरी हेटौंडा–९ लामसुरेका ३७ वर्षीय दिनेश लामा, हेटौंडा–४ का ५२ वर्षीय कृष्ण लामा, बागमती गाउँपालिका–६, पाथीभाराका ४५ वर्षीय शेर बहादुर राना, ३३ वर्षीय दिपक दोङ, झुरझुरेका ४६ वर्षीय रवि चौधरीलाई पक्राउ गरेकाे छ ।
यस्तै बागमती–७ का ४० वर्षीय राज कुमार फुयाल, २२ वर्षीय बिजय तामाङ, बागमती–५ का ३० वर्षीय अणराज राउत, रौतहट जिल्लाको गौर नगरपालिका–९ का ५५ वर्षीय ईश्वर चौधरी, रौतहट बोधिमाई–८ का ३५ वर्षीय बिजय साह कलवार, सिन्धुलीकाे मरिण गाउँपालिका–३ का ४९ वर्षीय बेनी बहादुर मुक्तान, मरिण गाउँपालिका–६ का ४३ वर्षीय उमेश माझी, कमलामाई नगरपालिका–१० का ५५ वर्षीय शेर बहादुर थापा र सिन्धुलीको दुधौली–२ का ३७ वर्षीय कैलाश धामी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट ३ सेट कौडा, ८ लाख ३६ हजार ४० रुपैयाँ नगद बरामद गरेकोले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।